21.12.10

जाँडबार, पत्रकार र मण्डिखाटार

-इन्द्र क्षेत्री

हाम्रो एउटा संस्कृति के छ भने हामी छोराले अरूकी छोरी भगाएर ल्यायो भने उत्सव मनाउँछौँ,जलेसा निकाल्छौँ जबकि छोरी भागेर गइ भने मातम् मनाउँछौँ,रूवाबासी गर्छौँ । अघिल्लो घटनाले हाम्रो छाती चौडा हुन्छ,पछिल्लो घटनाले नाक काटिन्छ । बुहारी भित्र्याउँदा आरती उतारिन्छ-छोरी अन्माउँदा अश्रुधारा बगाइन्छ । यो मानवीय स्वभाव हो । बुहारी भित्राउँदा एउटा नयाँ सदस्य थपिन्छ,छोरी अन्माउँदा पुरानो सदस्य गुमिन्छ ।

 पारस-रूबेल प्रकरणमा पनि कमोबेश यही मानसिकताले काम गरेको छ । रूबेल चौधरीलाइ  एकजना सामान्य बँगाली नागरिकको रूपमा लीइएन । सरकारले उनलाइ एकजना भिआइपी को रूपमा लियो,मिडियाले भयँकर माफियाको रूपमा चित्रण ग-यो भने सर्वसाधारणले छोरी भगाउने गु ण्डा-मवालीको रूपमा । गोली पारसले चलाए-गाली रूबेलले खाए-बदनामी सुजाताको भयो । टाइगर
 टप्स जाँडबारको धमाकाले मण्डिखाटार हल्लियो । दिनदहाडै गोलीबारी गर्ने मानिस नायक ठहरियो । धैर्य अपनाएर सभ्यता प्रदर्शन गर्ने एकजना आम मानिस पछि महाको खलनायकमा  परिणत भयो ।

पारसले बिज्ञप्ति मार्फत फ्याँकेको राष्ट्रियताको मुद्दा उनको जघन्य अपराध लुकाउने अचुक ओखति सावित भयो । मानौँ, त्यहि एउटा गुलियोले राष्टियताका भोका नेपालीहरूको पेट भरियो । पारसका सय खत् माफ भए । उनको पक्षमा पूरै राप्रपा नेपाल परिचालित भयो । सबैजसो मिडिया हाउसहरूले सुजाताको ज्वाइँका अपराध-अन्वेषणमा किर्तिमानै कायम गरे । वादी रूबेल चौधरी बिभिन्न गैरकानूनी कृयाकलापमा संलग्न रहेको भनेर धारावाहिक लेखहरू छापिए । यस दौरानमा ठूल्ठूला मिडिया हाउसका अपराध सम्बाददाताहरूको ब्यस्तता र उनिहरूको अन्वेषण हेर्न लायकको थियो । हाम्रा पत्रकारहरूको फेब्रिकेशन कौशल प्रसंशायोग्य मान्नुपर्दछ । उनिहरूको खोज पत्रकारिता देखेर सर्वसाधारणको त के कुरा नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा समेत चकित परेको बताइन्छ ।
रूबेल चौधरीले अवैध भ्वाइप कल बाइपास गरेर करोडौँ कुम्ल्याएको,सुडान सैन्य सामाग्री खरीदमा करोडौँको घोटाला गरेको,राष्ट्रसँघको समेत दुरूपयोग गरेर सँस्था चलाएको भनेर मिडियाहरूले यसरि सिलसिलेबार सनसनी  फैलाए कि शुरूमा पारसतिर सोझिएको मानिसहरूको आक्रोश यूटर्न गरेर रूबेल चौधरीतिर मोडियो । भयानक गोलीकाण्डबाट बाल-बाल बचेको छिमेकी देशको पीडित नागरिक एकाएक कुख्यात माफियामा रूपान्तरित भयो । उसलाइ उपप्रधानमन्त्री सुजाता कोइरालाको एकलौटी ज्वाइँ बनेर देश लुट्न आएको लुटेराको रूपमा चित्रण गरियो । हेर्दा-हेर्दै पुर्व युवराज पारस शाह,राजतन्त्र र राजाबादीहरू राष्ट्रियताका रखवालाको रूपमा उभ्याइए-सुजाता कोइराला,कोइराला परिवार र नेपाली काँग्रेसलाइ भयँकर देशद्रोही देखाउन खोजियो ।
एकजना सामान्य नागरिकले यति ठूलो दवाव थाम्न सक्ने कुरै थिएन । रूबेल चौधरीले जाहेरी त दिएनन् नै उनले बयान समेत फेरे । परिणाममा पारस शाह स-सम्मान रिहा भए । यस प्रकरणमा सरकारले यथोचित कदम चालेको देखिन्छ । पीडित रूबेल चौधरीले पारस बिरूध्द उजुरी नगरेर यस घटनालाइ सामान्यीकरण गर्न खोजेको आभास मिल्दछ । नेपाली काँग्रेस र एमालेले अपराधीलाइ कार्बाही गर्नुपर्ने धारणा बाहिर ल्याए, जुन स्वागत योग्य कुरा हो । यस प्रकरणमा मात्र होइन मुलुकमा दैनिक घट्ने हरेक घटनामा जिम्मेवार दलहरू बोल्न आवस्यक हुन्छ । 
यस बीचमा नेपालको सञ्चार जगत पूरै प्रतिगामी सावित भएको छ । मिडियाले पूर्व युवराज पारस शाहलाइ समर्थनै गरेको त होइन तर पीडित रूबेल चौधरीको बिरूध्द अप्रमाणित कुराहरूमा यसैबेला सनसनी सिर्जना गरेर पारसले मच्चाएको गोलीकाण्ड र उनको बिगतको कलँकीत छवी ओझेलमा पार्ने काम भयो । त्यसबाट पुनरूत्थानबादीहरूले केरामिन प्राप्त गरे । राप्रपा नेपाल र राजाबादीहरूले पारसको पक्षमा गरेको जनपरिचालन,ठाउँ-ठाउँमा भएका बन्द र प्रदर्शनका अतिशयोक्तिपूर्ण कभरेजले घटनालाइ फितलो बनाउन मद्दत ग-यो ।
रूबेल चौधरी दुधले नुहाएको नहुन सक्छन् । सञ्चार जगतले दावी गरे अनुसार उनि बिभिन्न गैरकानूनी कारोबारमा लागेको हुन सक्ने संभावनालाइ पनि नकार्न सकिँदैन । तर स्वयम् सुजाता कोइरालालाइ पनि बिगतमा धमिजा,लाउडा,रातो चन्दन तस्करी आदि काण्डमा मुछिएको तर ती कुनैपनि आरोपहरू प्रमाणित हुन नसकेको सन्दर्भलाइ हेर्दा उनको ज्वाइँ माथि लागाइएका अभियोगहरूको सत्यता बारेमा पनि शँका गर्ने ठाउँ रहन्छ । तर रूबेल चौधरीले गरेका भनिएका कृत्यहरू प्रमाणीत भएमा बर्बाद हुने सुजाता कोइराला नै हुन् । हल्लिने मण्डिखाटार नै हो । यसबारेमा उनले बुद्दिमत्तापूर्ण ढँगले डील गर्न सक्नुपर्दछ । यति धेरै होहल्ला भैसकेको अवस्थामा रूबेल चौधरीमाथी अनुसन्धान हुनै पर्छ र दोषी पाइएमा कानूनको दायरामा ल्याउनै पर्दछ । र त्यसको पहल स्वयम् सुजाता कोइरालाबाट हुनुपर्दछ ।
देशमा  आफ्नो बारेमा फैलिएको सनसनीका सन्दर्भमा सुजाता कोइरालाले देखाएको व्यवहार र दिएको प्रतिकृयाले धेरैलाइ आश्चर्यमा पारेको छ । घटना पूरै राजनीतिकरण गरिएको,प्रतिवादीको पक्षमा एउटा राजनैतिक पार्टी नै लागेको,मिडिया जगतले गडेका मुर्दा उधिनिरहेको र आफ्नो बिरूध्दमा ब्यापक जनमत तयार भैरहेको अवस्थामा विमानस्थलमा पत्रकारहरूसँगको उनको प्रस्तूति बिल्कूलै भद्दा र प्रभावहीन देखियो । यसबाट उनको निर्दोषिता,परिस्थितिको आँकलन गर्न सक्ने उनको क्षमता र उनका सल्लाहकार-सहयोगीहरूको बरियाँतको दक्षता र नीयत माथि शँका गर्ने प्रसस्त ठाउँ रहेको स्पष्ट हुन्छ । यहि असक्षमताको परिणाम स्वरूप सिँगो नेपाली काँग्रेस पार्टी मुछिने,अपराधीहरूले उन्मुक्ति पाउने,पुनरूत्थानबादीहरूका आँखा चम्कने र कोइराला वँशको विरासत धूलधुसरित हुने उपक्रम भैरहेको छ । सुजाता कोइरालाले आफु बिरूध्द लागेका एउटा पनि अभियोगको प्रतिवाद ढँगले गरेको पाइँदैन । आफ्नो क्षमताले भ्याउँदैन भने हल्का रूपले प्रस्तुत हुनु भन्दा सहयोगीहरूको सहयोग र सल्लाहकारहरूको सल्लाह लिन हिच्किचाउनु हुँदैन । ऐरे-गैरेलाइ सल्लाहकार-सहयोगी बनाउने र ऐन मौकामा धोका खाने क्रम पनि रोकिएकै राम्रो हो उनका लागि ।
समयलाइ आफ्नो अनुकुलमा हिँडाउन सक्ने गिरिजा प्रसाद कोइरालामा भएको क्षमता स्वभावतः सुजातामा छैन तर  इतिहाँसले कोइराला वँशको विरासत उनैको काँधमा हालिदिएको सत्य हो । उनले त्यो विरासत नेपालीहरूको नासो हो भन्ने कुराको हेक्का राख्न सक्नुपर्दछ र त्यो विरासत बोक्न सजिलो छैन भन्ने कुराको शिक्षा आफ्नै पिताबाट लिन जरूरी छ । त्यसलाइ जोगाउन अतिशय साहस,धैर्य,बुद्दिमत्ता र कौशलको जरूरत पर्दछ । यो पूरै प्रकरणमा अहिलेसम्म मिनेन्द्र रिजाल बाहेक कुनै पनि नेताले उनको पक्षमा बोल्न मुनासिब ठानेका छैनन् । यो हेक्का छ उनलाइ ? यति सामान्य कुरालाइ प्रत्युत्पादक नै हुने गरि यति ठूलो दवाव सिर्जना गर्नु पर्ने के जरूरत थियो ? कोइराला परिवार-नेपाली जनता,लोकतन्त्र र नेपाली काँग्रेससँग अक्षुण्ण रूपले गाँसिएको छ । सुजाता,उनका छोरा-बुहारी,छोरी-ज्वाइँ अथवा आसे-पासेहरूका कारण यस वँशको प्रतिष्ठामा आँच आउने काम भयो भने त्यो क्षम्य हुँदैन ।

No comments: