14.1.11

सभ्यता,शान्ति र हिँसा


ईन्द्र क्षेत्री

समाज विकाशको क्रममा भौगोलिक अवस्थिति, जीजिविषाको अनुकुलता,श्रोतहरुको उपलव्धता तथा मानव नश्ल र सोचको विविधता सँगै मानिसका फरक जीवनशैली,विस्वास,परम्परा,मान्यता र सँस्कृतिहरु विकसित भए । मानव जातीको व्यवस्थित बसोवाससँगै मानव समाज विभिन्न गण,कबिला,सम्प्रदाय, जाती,धर्म हुँदै वर्ग,सिध्दान्त,समूह,राज्य र बादहरुमा बिभाजित भयो । उसमा रहेको क्षमता,बिचार,आस्था,विस्वास,चाहना र हैसियत आदिको विविधताका कारण समाजमा क्रमशः बहूआयामिक द्धन्द्धहरुको जन्म भयो । यीनै द्धन्द्धहरुको कारणबाट मानव जातीले भयानक अशान्ती र युद्धविभिषिकाहरुको प्रकोप भोग्न बाध्य भैरहेको छ ।,राज्यप्रणाली,समाजव्यवस्था,विधिविधान र विनियमहरुको बन्दोबस्त समाजमा रहेका यिनै द्धन्द्धहरुको कुशल व्यवस्थापन गरेर युध्दको त्रासदीबाट जोगिन र शान्ती प्राप्त गर्नको लागि गरिएका उपक्रमहरु हुन् । धर्म,सिध्दान्त र बादहरुको उत्पत्ति युध्द र अशान्तीबाट समाजलाई जोगाउने उद्देस्यका साथ भएको हो । सबै धर्म,दर्शन,सिध्दान्त,शास्त्र र बादहरुको अन्तिम निचोड शान्ती हो । शान्तीको लागि धर्मको प्रादुर्भाव भएको हो । दर्शन,सिद्धान्त र बादहरुको लक्ष्य पनि शान्ती प्राप्ति नै हो ।
 राज्य

अध्यात्मबादले परिकल्पना गरेको शान्ति आत्म-अनुशासन र आत्मपरित्यागसँग सरोकार राख्दछ । यस्तो शान्ति नितान्त बैयक्तिक र एकाँगी किसिमको हुन्छ । यस किसिमको शान्तिले मानव सभ्यतालाई गति प्रदान गर्न अब सक्दैन । अर्कातिर कार्ल मार्क्सले ब्यक्तिलाइ एउटा स्वचालित यन्त्र वा आर्थिक एकाइ मात्रको रुपमा परिकल्पना गरेका छन् । दुनियाँभरका मार्क्सबादीहरुले उनको त्यो परिकल्पनालाई व्यवहारमा परिणत गर्न भरमग्दूर प्रयास गरे र गरिरहेका छन् तर त्यो परिकल्पना व्यवहारमा कहिँ पनि सफल हुन सकेको छैन र सफल हुने संभवना पनि छैन । यसले पनि हामीलाई कुनै मद्दत गर्न सक्दैन ।

अहिले हामीले प्रत्याशा गरेको शान्तिले शक्ति,श्रोत,सम्पदा,सत्ता,सम्वृद्धि,स्वतन्त्रता र न्यायपूर्ण वितरण प्रणालीको पँप्तिसँग निकटता राख्दछ । अर्थात धर्म र अध्यात्मबादले निर्दिष्ट गरेको आम शान्ति र मार्क्सबादले सुझाएको पराधिन शान्ति हामीलाई अहिले आएर अप्रयाप्त भएको छ । अहिले दुनियाँमा शान्ति सँगसँगै स्वतन्त्रता र सम्वृद्धि अन्योन्याश्रित ढँले जोडिन पुगेको छ । सम्वृद्धि बिनाको शान्तिको कुनै औचित्य छैन । स्वतन्त्रता बिनाको शान्ति पनि खोक्रो हुन्छ । स्वतन्त्रताको प्रत्याभूति लोकतन्त्रबादले दिन्छ ।

उता सम्वृद्धि भन्ने बित्तिकै बिकाश र प्रगतिको प्रसँग स्वतः जोडिन आउँदछ । बिकाशको लागि उत्पादनमा जोड दिनु पर्ने हुन्छ । उत्पादित वस्तु र सेवाको विनिमय र वितरण प्रणालीले आर्थिक गतिविधिमा तिब्रता दिन्छ । यहिँनेरबाट शान्तिको शास्त्रीय मान्यतामा बिवाद प्रारम्भ हुन्छ । लोकतन्त्रबादीहरुले स्वतन्त्रता,ब्यक्तिगत स्वामित्व,सहअस्तित्व र सम्वृद्धिमा जोड दिन्छन् भने मार्क्सबादीहरुले सामुहिक स्वामित्व,श्रोतसाधनको न्यायपूर्ण वितरण र त्यसमा राज्यको नियन्त्रणको वकालत गर्दछन् । उनिहरुको मान्यतामा मान्छे राज्यरुपी एमानको मेशिनको एउटा पूर्जा मात्र हो जसले निर्दिष्ट चक्र र गतिमा कृयाशील रहनु पर्दछ । प्रथम र द्धित्तिय विश्वमा यसबारे छिनोफानो भैसकेको भए पनि आर्थिक रुपले पिछडिएका तेश्रो विश्वका मुलुकहरुमा यो बहस कायमै रहेको छ । नेपाल अहिले मूलतः यहि बिवादमा रुमल्लिएको छ । एकथरिले खाइपाई आएको स्वतन्त्रता र सम्वृद्धि गुमाउन चाहाँदैनन् । उता अर्काथरिलाई सुकिलामुकिलाहरुको रजगज नखोसी निद्रै परेको छैन ।

अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार मानिसको आवस्यकता र चाहनाले उत्पादनलाई प्रोत्साहित गर्दछ भने उत्पादनले उपभोक्ता पँक्ति निर्माण गर्दछ । उपभोक्ताले गुणस्तर र स्वभाविक पहूँच खोज्दछ । वस्तु र सेवाको आपूर्ति र माँगले त्यसको मूल्य निर्धारण गर्दछ । दूरदर्शि पूँजिपति,दक्ष कामदार र सजग उपभोक्ताको व्यवस्थित कृयाकलापले बजार सकृय हुन्छ । चलायमान बजार र प्रगतिशील अर्थतन्त्र सम्वृध्दिका परिसूचक हुन्छन् । स्वतन्त्रत वातावरणमा मात्र ब्यक्तिको प्रतिभाको पहिचान र दक्षताको प्रयोग संभव हुन्छ । मानिसको शिक्षा,तालीम,लगन,गुणवत्ता,प्रतिभा,सोचनशीलता आदिले उत्पादनमा, उत्पादनले,बजारमा,बजारले बिकाशमा,बिकाशले अर्थतन्त्रमा र अर्थतन्त्रले जीवन स्तरमा महत्वपूर्ण भूमिका खेल्दछ ।

प्रविधिको बिकाश र उत्पादनको प्रचुरताले मानिसको जीवन स्तरमा गुणात्मक परिवर्तन लेराउँछ । त्यो परिवर्तनले जीवनलाइ सुविधा सम्पन्न तुल्याउँछ । तवमात्र वास्तविक शान्ति प्राप्त हुन सक्ने कुराको कल्पना गर्न सकिन्छ । यस कुरामा माक्र्सबादीहरुको पनि बिरोध छैन । तर यसो हुनको लागि अन्तरिम खालकै भए पनि शान्ति हुनु अनिवार्य हुन्छ भन्ने कुरा शायद उनिहरुलाई मान्य छैन । त्यसैले त नेपालमा बजार र पूँजीको प्रयाप्त बिकाश नहुँदै वितरणमा बढ्ता जोड दिइयो । न्यायोचित वितरण प्रणालीका लागि भनेर हतियार उठाइयो,१० वर्ष मुलुक युध्दमा होमियो । युध्दको कारणले बिकाश ठप्प भयो,अलिअलि बनेका पूर्वाधार पनि नष्ट भए । यसले गर्दा बिकाशको गति रोकियो । हामीले शान्तिको सट्टा सास्ती पायौँ । हिँसा सँस्थागत भयो,हामीमा रहेको नम्रता हरायो र हामी असभ्यताको हदसम्म कर्कश भयौँ ।

न्यायपूर्ण वितरण प्रणाली आर्थिक सम्वृद्धिमा मात्र संभव हुन्छ भन्ने कुरालाई हामीले नजरअन्दाज गरिरहेका छौँ । हामीसँग उपलव्ध भएका सिमित श्रोत र साधनहरुको परिचालनमा हामीले अनावस्यक ढँगले टाँग अडाइरहेका छौँ । उदाहरणको रुपमा जलश्रोतलाई लिन सकिन्छ । अर्को प्राकृतिक श्रोत पर्यटनको प्रवर्धनमा पनि हाम्रो हिँसा प्रियताले वाधा पु¥याएको छ । मुलुकको शान्तिसुरक्षाको बिथोलिएको अवस्था र औद्योगिक अशान्तिको कारण उद्योगधन्दा मृतप्रायः छ । हामीसँग अत्यन्तै सिमित प्राकृतिक श्रोत र साधनहरु उपलव्ध छन् भन्ने कुरासँग हामीलाई मतलवै छैन । न तेल छ,न खानी छन् ,न ग्याँस छ न त समुद्र नै छ । यस्तो अवस्थामा हामीले द्रूत गतिमा बडो बुद्धिमत्ता पूर्वक बिकाश योजनाहरु बनाउनु पर्ने हो । आकाश छुँदै गरेका दुई महान अर्थतन्त्रका बीचमा परेको हाम्रो भुसुनो अर्थतन्त्रले यो तालले पार पाउन सक्दैन । आर्थिक सम्वृद्धिका लागि शान्ति पहिलो शर्त हो । दरिद्रताको वितरणले पूर्ण शान्ति हाँसील हुन सक्दैन । बिडम्बना छ, सम्वृद्धिमा हैन कि जोरजबरजस्ती र बन्दूकको छायाँमा हामी शान्तिको खोजी गरिरहेका छौँ । मानिसको बैयक्तिक स्वतन्त्रताको हरण गरेर कहिँ पनि शान्ति संभव हुँदैन ।

यथेष्ट प्रयासहरुका बावजूद मानव समाज अहिले पनि शान्ति देखि त्यति नै पर छ जति आदिम कालमा थियो । जीवन र जगतका सम्बन्धमा अध्यात्मबाद र भौतिकबादका आºनै अवधारणा र प्रस्तावनाहरु छन् । अध्यात्मबादले मानिसलाई एक हदसम्म हिँस्रक हुनबाट दुरुत्साहित गर्दछ । तर भौतिकबादले शान्ति स्थापनाको दिशामा हिँसालाई अपरिहार्य मान्दै आएको छ । चाहे त्यो पूँजीबाद होस अथवा समाजबाद, शान्तिको लागि सत्ता र सत्ताको लागि हिँसाको अपरिहार्यता स्विकारिँदै आएको छ । यहि नै अशान्तिको प्रमूख कारण हो । सामन्तबाद र मार्क्सबादको न्युक्लियस नै हिँसा हो । सेना,हतियार र भारदारहरुको बलमा शासनारोहण गर्ने र दमनका भरमा गद्दीमा टिकीरहने सामन्तबादको सिको गरेर सत्ता बन्दूकको नालबाट प्राप्त हुन्छभन्ने मूलमन्त्रका साथ माओबादको बिकाश भएको हो । बन्दूक हिँसाको प्रतीक हो । प्रजातन्त्रबादमा चाहिँ सिद्धान्ततः बन्दूक अर्थात हिँसाको प्रयोग राज्यले मात्र गर्न सक्दछ भन्ने मान्यता छ । लोकतन्त्रबादले सत्ता प्राप्तिको माध्यम बन्दूकलाई होइन बरु जनताको अभिमतलाई मानेको छ तर व्यवहारमा कुनै न कुनै बहानामा आवस्यकता र औचित्य हेरिकन प्रजातन्त्रबादीहरुले पनि हिँसाको प्रयोग गरि नै रहेका छन् । यसरि कुनै न कुनै रुप र बहानामा प्रयोग भैरहेको बन्दूक वा हिँसाले शान्ति दूरगम्य भैरहेको छ ।  शक्ति,सिद्धान्त र सत्ता प्राप्ति र त्यसको रक्षाको माध्यम हतियार र हिँसा भैदिनाले मानव सभ्यता विकृत हुँदै गईरहेको छ । 

No comments: