बिपी कोइरालाको आत्मबृत्तान्त ( पाठ )





भाग १
मैले कहिले पनि आफ्नो बारेमा लेख्ने प्रयास गरिन । मलाइ के लाग्दछ भने,अहिले पनि लाग्दछ,कि मैले त्यस्तो कुनै कुरो गरेको छैन जुन इतिहाँसको रेकर्डमा रहोस् । लामो अवधि सम्म जेलमा बस्नु पर्दा बसिबियाँलो गर्नको निम्ति मैले एक्दुइ चोटी प्रयत्न गरेँ आफ्नो बारेमा लेख्ने र आफ्नो बारेमा लेख्दा त्यस बखतको सामाजिक-राजनीतिक अवस्थालाइ पनि चित्रित गर्ने । त्यसो गर्दा मैले के पाएँ भने आफ्नो बारेमा भन्दा पनि म अरूको बारेमा पो लेख्न थालेँ । मैले करिब २/३ सय पेजजति लेखेँ जेलमा ।
       मैले आफ्नो बारेमा लेख्न नसकेको अर्को कारण के छ भने,मलाइ लाग्दछ,अझ त्यो समय आइसकेको छैन कि म आफ्नो बारेमा लेखौं । मलाइ निरन्तर के लागि रह्यो भने मेरो काम बाँकी नै छ । मेरो काम बाँकी नै रहँदै जीवनि लेख्न थाल्न बडो अप्रासंगिक लागिरह्यो । त्यसो हुनाले पनि मैले लेख्ने प्रयत्न गर्न सकिनँ र मसँग उस्तो सामाग्री पनि तैयार भएन ।
भाग २
       तर अब म लेख्ने प्रयत्न फेरी थाल्ने छु,यसै प्रकारले आफ्नो भनाइ टेपरेकर्ड गर्दैजाँदा आफ्नो बारेमा अलिकति सामाग्री प्रस्तुत गर्छु कि जस्तो लाग्दछ । मेरा साथीहरू र शुभचिन्तकहरूको पनि आग्रह छ म त्यसो गरुँ ।
यसो त सबैलाइ आफ्नो परिवारको बारेमा अभिमान होला र आफ्नो माता-पिताको बारेमा सबैलाइ गर्व होला । तर मलाइ के लाग्दछ भने मेरो परिवार विलक्षण थियो र मेरो आमा-बाबु पनि बडो विलक्षण ब्यक्ति हुनुहुन्थ्यो । मेरो हजुरबाको बारेमा त मैले हजुरआमाबाट मात्र सुनेको छु । उहाँ पनि एउटा विलक्षण ब्यक्ति हुनुहुन्थ्यो । उहाँहरूको ममाथि ठूलो प्रभाव परेको छ । हजुरबा रहजुरआमाको ममाथि प्रभाव परेको छ ।
मेरो पिताजी पहाड,गाउँको मानीस हुनुहुन्थ्यो । मलाइ लाग्दछ,वहाँ बालीग भए पछि दुम्जा छाडेर मदेश जानु भयो । त्यस पछि आफ्नै प्रयत्नले,आफ्नो आमाको प्रेरणाले वहाँले अध्ययन गर्नुभयो,फारसी र संस्कृत त बाहून परिवारको पृष्ठभूमी र परम्पराले छँदै थियो । अंग्रेजी सिक्नुपर्छ अहिलेको जमानामा भनेर त्यसबेला काठमाण्डु बस्दा खेरि बृटिश लिगेशनको एउटा मद्रासी क्लर्कलाइ ट्यूटर (शिक्षक) राखेर अंग्रेजी सिक्नु भयो । त्यसबेलामा सरकारी कामकाजको लागि फारसी पढ्नु पनि आवस्यक थियो । अन्तरराष्ट्रिय राजनैतिक समाचारहरूसँग पनि आफुलाइ बिज्ञ राख्नु पर्छ भनेर हिन्दुस्थानका पत्रपत्रिकाहरू मगाउनु हुन्थ्यो । मैले पिताजीलाइ किन विलक्षण भनेको भने त्यस बखत वहाँको कुनै विशेष पृष्ठभूमी थिएन,गाउँबाट आउनु भएको थियो । यी सबै गर्नको लागि कसरी प्रेरणा पाउनुभयो उहाँले ?
उहाँको जीवनमा २/३ कुरा बडो घतलाग्दा छन र त्यसको मेरो जीवनमा पनि बडो प्रभाव परेको छ । पछि पिताजीले व्यापार गर्नुभयो,निकै पैसा कमाउनुभयो । विराटनगरको स्थापना गर्नु भयो,पहिले विराटनगर बजार थिएन,रँगेली थियो । काली मन्दिर पनि उहाँले नै स्थापना गर्नुभयो । त्यसबेला भन्सार अड्डालाइ ठेक्कामा दिने चलन थियो । प्रायः देशभरिका भन्सार-अड्डाहरूलाइ ठेक्कामा लिनुभयो ।
एकचोटी उहाँ आफ्नो धुलावाडीस्थित बजार-अड्डाबाट रंगेलीतिर आउँदै हुनुहुन्थ्यो घोडामा । उहाँको बडो मन परेको नोकर उहाँको खाजा सेतो रूमालमा लिएर घोडाको पछि-पछि आइरहेको थियो । पिताजी भन्नुहुन्थ्यो,जंगल पार गरिसके पछि एउटा ठूलो फँटमा उहाँ पुग्नु भयो । उहाँको त्यो नोकर धेरै पछि परिसकेको थियो । उहाँले त्यसबखत एउटा आकाशवाणी सुन्नुभएछ,कसैले उहाँलाइ कृष्ण प्रसाद भनेर बोलाएको । उहाँले त्यहाँ घोडा रोकेर यताउति हेर्नुभएछ,चलमल केहि छैन ।जंगल पनि टाढा छ । एउठा ठूलो फाँट छ । अनि साँझ पर्न थालेको छ । ३/४ बजेको बखत हुँदो हो । उहाँ बडो  आत्मसन्तुष्ट मानिस हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो,मैले मैले गाउँबाट आएर लाखौंको व्यापार गरिरहेको छु । जे कुरो छुन्छु,त्यसमा मलाइ लाभ हुन्छ । खेती गरें त्यसमा लाभ हुन्छ,व्यापार गरेँ,अफिस कलकत्तामा छ । दुइवटा बिहे गर्नुभएको थियो । मेरो परिवार पनि मलाइ मान्दछन र मित्रहरू पनि मलाइ मान्दछन भनेर आफुलाइ उहाँ आत्मसन्तुष्ट रहँदै आउनु भएको थियो । हठात् उहाँले एउटा आवाज सुन्नुभयो, "कृष्ण प्रसाद तिमीले यी सबै कुरा आफ्नो निम्ति ग-यौ । तिमीले पैसा कमायौ, आफ्नो निम्ति, आफ्नो दुलहीको निम्ति, आफ्नो हीतको निम्ति । तिमी जो अहिले घमण्ड गरिरहेका छौ,त्यसमा घमण्ड गर्ने त केहि कुरा छैन । तिमीले के ग-यौ ? जवसम्म तिमीले अरूहरूको निम्ति केही गर्दैनौँ,तवसम्म त तिमीले कमाएको केही माने हैदैन । यी त कुनै पनि स्वार्थी व्यक्तिका निम्ति सन्तोषको कुरा हो ।"
उहाँ झल्याँस्स हुनुभएछ त्यो सुनेर । उहाँ भन्नुहुन्थ्यो " मैले त्यो  आवाज सनें भनेर । म त्यसलाइ कसरी ब्याख्या गर्छु भने उहाँको आफ्नै अन्तरात्माको एउटा पुकार थियो,एउटा प्रेरणा थियो । यो कुनै दैवी वाणी थिएन, आफ्नै हृदय भित्रको अर्धचेतनामा उहाँलाइ दोष-भावनाको अनुभूति भएको थियो,त्यहि बोलीरहेको थियो ।
उहाँ आउनु भयो राती र आमालाइ भन्नुभयो,"अहं,मैले केही कुरो गर्नु प-यो । " आमाले प्रोत्साहीत गर्नुभएछ । अनि उहाँका साथीहरू जसले उहाँलाइ मद्दत गरेका थिए हनुमानदास इत्यादि,उनिहरूलाइ भन्नुभएछ,अस्पताल खोल्नु प-यो,स्कूल खोल्नु प-यो । उनिहरूले चेताएछन्, "यो के गरेको ? सरकारले गर्ने काम तिमीले गर्ने हो ? यसको परिणाम राम्रो हुने छैन । "
तर पिताजीले भन्नु भएछ, " मैले त हिजो देववाणी सुनिसकेको छु,म त गर्छु । "
त्यस पछि उहाँ कलकत्ता जानुभयो,कलकत्तामा उहाँले विज्ञापन गर्नुभएछ,डाक्टर र शिक्षकको निम्ति । अनि एउटा डाक्टर र एउटा शिक्षक लिएर आउनु भयो । उहाँले स्कूल खोल्नुभयो र सैस्कृत पाठशाला पनि खोल्नुभयो । ६० जना जति विद्यार्थीहरू उहाँले खर्च दिएर पढाएर राख्नुभएछ । त्यसपछि एउटा अस्पताल खोल्नुभयो, त्यहि पछि सरकारले लिएर चलायो । बिराटनगरको पहिलो अस्पताल उहाँले नै खोल्नुभयो ।
शिक्षकको बारेमा एउटा बडो रोचक कुरा छ । त्यो शिक्षक आतंकवादी दल-अनुशीलन भन्ने एउटा आतँकवादी दलसँग सम्वन्धित थियो र त्यसमाथि सरकारी वारण्ट थियो । त्यसो हुनाले,उ केहि दिनको लागि भूमिगत भएर नेपाल बस्न चाहान्थ्यो । त्यो आयो शिक्षक भएर । त्यसका दुइटा छोराहरू थिए-हाबुली र सुबुली । मैले त्यसलाइ पछि भेटेको छु । त्यसले पिताजीसँग बृटिशको खिलाफ राजनैतिक चेतनाका कुरा गर्न थालेछ । हिन्दुस्थानमा जो आन्दोलन भैरहेको थियो त्यसले त्यसको बारेमा बताएछ,आतंकवादी आन्दोलनको बेमा बताएछ । पिताजी व्यापारको सिलसिफामा कलकत्ता गैरहनुहुन्थ्यो । बडो सोखिन हुनुहुन्थ्यो । उहाँको लुगा रेन्कीन भन्ने बृटिश टेलर थियो,त्यसकहाँ बन्दथ्यो । जुत्ता कलकत्तामा बृटिश बनौटको हुन्थ्यो । उहाँ बडो सोखिन हुनुहुन्थ्यो तर सोख गरेको देखाउनु हुन्नथ्यो । लुगा बरू खजमज्याएर लगाउनुहुन्थ्यो,जुत्तामा धुलो लगाइदिनुहुन्थ्यो । कलकत्तामा गएर उहाँलाइ चाख लाग्न थालेछ-जुलुस निस्केको,भाषण भएको कुरामा । भरतीय राष्ट्रिय आन्दोलनको कुरा जान्न पिताजी अघि स्टेट्स्म्यान किन्नुहुन्थ्यो,पछि अमृत बजार पत्रिका पनि लिन थाल्नु भयो ।
पिताजीले लिएर आउनुभएको बँगाली डाक्टर पनि बडो रमाइलो थियो । त्यससँगको एउटा रमाइलो घटना छ । जर्ज पाँचौं सन् १९९१ मा ठोरीको जंगलमा शिकार खेल्न  आएका रहेछन । पिताजी त्यहाँ पुग्नुभएको थियो । तिनको स्वगतमा त्यसबखत खटिएका पल्टनहरूलाइ हैजा इत्यादि नलागोस भनेर डाक्टरहरूलाइ निर्देशन थियो हेरबिचार गर्ने । त्यसो हुनाले हरेकलाइ डाक्टरले जाँचिकन मात्र त्यस क्याम्पमा पस्न दिइँदो रहेछ । यहाँबाट मोहन सम्सेरको मातहतमा पल्टन गएको रहेछ । यहि डाक्टर नियुक्त भएको रहेछ स्वस्थ्य परिक्षण गर्न । मोहन सम्सेरले भनेछन," तिमीलाइ कस्तो छ ? मेरो नाडी हेर त ? मेरो परिक्षण गर । "
डाक्टरले मोहन सम्सेरको परिक्षण ग-यो । हे-यो र अनि मात्र क्याम्प भित्र पस्न दिएछ । त्यस पछि उसले सबैलाइ हेर्न थालेछ,नजाँचिकन कसैलाइ जानै नदिने । उसले पूरै पल्टनलाइ जाँच्दा २/४ दिन लाग्न पनि सक्थ्यो । मोहन सम्सेरले ति सबैलाइ जानदेउ भन्दा डाक्टर मानेनछ । मैले त निर्देशन बमोजिम सबैलाइ जाँचेर पठाउनु पर्छ भनेर उसले जवाफ दिएछ । मोहन सम्सेरले सोधेछन, "कति समय लाग्ला सबैलाइ हेर्न ?"
डाक्टरले हिसाब गरेर भनेछ-"एक जनालाइ जाँच्न पाँच मिनेट लाग्छ । म यति घण्टा काम गर्दछु र यस प्रकारले १५ दिन पनि लाग्न सक्दछ ।"
त्यो मूखको छुच्चो मान्छे थियो । त्यसले त्यसो भने पछि मोहन सम्सेर गएछन ।चन्द्र सम्सेरनेर, उनि त नीलो परेछन जानै दिएन भनेर । चन्द्र सम्सेरले त्यस डाक्टरसँग खुशी भएजस्तो गरेछन-हो यस्तै इमानदार मान्छे चाहिन्छ ।कस्तो स्वतन्त्र मिजासको मान्छे रहेछ भनेर उसलाइ धाप दिएछन । त्यहि डाक्टरलाइ पिताजीले नियुक्त ग।नु भएको थियो । पछि-पछि सरकारसँग उसको नराम्रो पर्न थालेछ र उ नोकरी छाडेर बिहर सरकारको सेवामा उच्च पदमा नियुक्त भयो । म एक पटक त्यसकहाँ गएको थिएँ । पछि निर्वासीत जीवनको दुःखको बेलामा । उ पटनामा बस्दथ्यो र हामीलाइ बेला-बेलामा मद्दत गर्दथ्यो ।
पिताजीले नियुक्त गर्नुभएको शिक्षकसँगको एउटा घटना मेरो स्मृतिमा ताजा नै छ । हामी भागेर बनारस गएको बेलामा एक दिन एउटा अखवारमा के देख्यौं भने एकजनाका दुइटा छोराहरू मध्य एउटालाइ कालापानी र अर्कोलाइ प्राणदण्डको सजाय भएको छ । त्यो मानिस हाम्रो स्कूलमा काम गरिसकेको मास्टर रहेछ । पिताजीले भन्नुभयो," आज तँलाइ बडो अदभूत मान्छेकहाँ लिएर जान्छु । "
म सानै थिएँ त्यसबखत । बँगाली टोलामा काली मन्दिर नेरको गल्लीबाट गएर एउटा घरको माथ्लो तलामा गयौं । एउटा गुन्द्री बिछ्याएको थियो । त्यस गुन्द्रीमा त्यो बसीरहेको थियो । पिताजीलाइ देखेर भन्यो,"अहो खरदार साहेव ।"
पिताजीले दुखलाग्दो खर सुनेर आएको भन्नुभयो । उसले भन्यो,"मलाइ केही दुख लागेन । एउटा छोरा त काम लाग्यो देशको निम्ति र अर्को छोरो पनि मरे सरह नै भयो । बाँचेर आउने छैन र आए पनि मसँग भेट हुने छैन । तर तिनिहरूले देशको लागि त्यसभन्दा ठूलो काम के गर्न सक्तथे ?"
मलाइ अहिलेसम्म याद छ उसले भनेका कुराहरु । मलाइ पनि भूजा खान दिएको थियो त्यसले । अनि पिताजीको तारीफ गर्न थाल्यो-"तिम्रो पिताजी बडा ठूला मानिस हुन । तिमीले कहिले पनि आफ्ना पिताजीको गौरवलाइ नविर्सनु । "
हामी त्यहाँ आधा घण्टा जति बस्यैहोला । त्यसले आफ्ना छोरहरूका बारेमा ब्यक्त गरेका प्रतिकृया र त्यसपछि पिताजीका बारेमा भनेका कुराहरूले मलाइ बाहिर आएर त्यसको ठूलो प्रभाव प-यो । केवल आधा घण्टाको कुराले मलाइ जीवन पर्यन्त प्रभाव पा-यो । मलाइ प्रभाव प-यो त्यसको तरिकाबाट पनि । कोहि छैनन,दुइटा छोरा मात्र थिए । एउटालाइ फाँसी दिएको थियो र अर्कोलाइ कालापानीको सजाय, आफु एक्लो छ,गुन्द्रिमा बसेर भूजा खाइरहेको छ । ममाथि त्यसको अत्यन्त ठूलो प्रभाव परेको छ । उसले पिताजीका बारेमा आदर व्यक्त गरेको र मलाइ सचेत पारेको कुरालाइ मैले कहिल्यै पनि बिर्सन सकिन ।
प्रस्तुती -इन्द्र क्षेत्री
पिताजी चन्द्रगञ्जमा रहँदाको नै एउटा घटना छ जसले पिताजीको जीवनमा एउटा मह्त्वपूर्ण मोड ल्याएको थियो । चन्द्रगञ्ज भन्ने जयनगर पार गर्ने बित्तिकै एउटा बजार छ । त्यो पिताजीले बसाएको बजार हो ।  सिराहाको नजिकमा पर्ने त्यो एउटा भन्सार अड्डा थियो । त्यहाँ एउटा ठूलो पोखरीको छेउमा उँचा डिलमाथि कचहरी थियो र सडकको पारी हाम्रो घर थियो । त्यो मलाइ सम्झना छ । आमाले मलाइ सिँगरेर पठाउनुहुन्थ्यो त्यस कचहरीमा । सडक पार गर्दा धुलो लाग्छ भनि म सडकको छेउमा उभिइरहेको हुन्थेँ र त्यताबाट जाने मसैले मलाइ कचहरीमा पिताजीनेर पु-याइदिन्थ्यो । त्यो पनि मलाइसम्झना छ । कचहरीमा भएका छलफल र बहस म सुन्दथेँ तर बुझ्दिनथेँ । म त्यहाँ आकर्षणको केन्द्र हुन पुग्दथेँ । लुगालाटो राम्रो र पिताजीको कारणले पनि ।
       त्यहाँ एकचोटी ढाक्रेहरू आएका थिए जो हिउदमा पहाडबाट त्यो बाटो आउने जाने गर्दथे । ढाक्रेहरूको एउटा ठूलो हूल आइहेको थियो । पताजी सडकमा काँटाहरूमा केहि तौल्याइरहनुभएको थियो,तिनिहरू आएर त्यो हेरिरहेका थिए । जाडो थियो । उनिहरूका फाटेका लुगाहरू देखेर पिताजीलइ बडो ग्लानी भएछ । हामीकहाँ एकजना असर्फी मिश्र भन्ने थिए,अहिले पनि उनका छोरा मकहाँ आइरँख्छन । तिनलाइ पिताजीले भन्नुभयो-तिनिहरूलाइ नयाँ लुगा बनाइदेउ र एउटाको लुगा मलाइ ल्याइदेउ ।
       त्यहाँ पसल थियो र पसलबाट तिनिहरूका लागि नयाँ लुगा बन्यो । त्यो एउटा लुगाको पार्सल बनाउनु भएछ चन्द्र सम्सेरलाइ पठाउनको लागि । एउटा ब्यँग्य गरेर के चिठी लेख्नुभएछ भने सरकारले  आफुले लगाएको पोशाक र आफ्नो प्रजाको पोशाक हेर्नको लागि यो पार्सल पठाउँदै छु,यो खोल्दा गन्हाउला,त्यसो हुनाले सरकारले टाढै बसेर खोल्न लगाइ हेरीबक्सेला ।
       त्यसभन्दा पहिले उहाँले के गर्नु भएको थियो भने एउटा महिला समिति बनाउनु भयो- आमालाइ,हाम्रो कालीदास सरदारकी पत्नीलाइ राखेर । चन्द्र सम्सेरकी रानीलाइ त्यसको सँरक्षक बनाएर पठाउनु भएको थियो र उनले सहमति पनि दिएकी थीइन । मेरो आमा त्यस समितिको सचिव जस्तो हुनुभएको थियो । त्यसबेला चर्चित हुने आदर्शका कुराहरू कि,नारी र पुरूष भनेको रथका दुइ पाँग्रा हुन,एउटा पाँग्रा ठीक भएन भने रथै चल्दैन भन्ने कुराहरू पनि चिठीमा लेखेर पठाउनु भएको थियो र उनिहरू सहमत भएका थिए । त्यस पछि यो पार्सल पुगेको थियो । त्यहाँ यसको नराम्रो प्रतिकृया परेछ । पहिले देखि नै उनको व्यवहार राम्रो भएता पनि चन्द्र सम्सेरलाइ पिताजीका कामहरू मन परिरहेका थिएनन । तर चन्द्र सम्सेरले त्यसको तत्काल कुनै प्रतिकृया जनाएनन ।
       त्यसको धेरै दिन पछि दशैँको बेलामा पिताजी बिराटनगर  आउनुभएको थियो । तिनताका केशरबहादुर केसीका बाबु कर्णेल जीत बहादुर बिराटनगरमा बडाहाकीम थिए । उनलाइ पिताजी धेरै विश्वास गर्नुहुन्थ्यो र पिताजी पछिसम्म भन्ने गर्नुहुन्थ्यो-तिनले मलाइ धेरै मद्दत गरेका छन । पिताजी बिराटनगर जान लाग्नुभएको बेलामा उहाँलाइ गिरफ्तार गर्नु भन्ने आदेश आइसकेको रहेछ । पिताजीका धेरै ठेक्काहरू थिए,कुनैमा बाँकी थियो,कुनैमा हिसाब फर्छिएको थिएन । अनि त्यहि कुरामा समातेर राख्ने योजना रहेछ । तिनले पिताजीलाइ भनेछन-तिम्रो त कलकत्तामा धेरै ब्यापार छ,किन जाँदैनौं कलकत्ता ? धेरै भयो तिमी कलकत्ता नगएको । पिताजीले भन्नुभयो-कलकत्ता त जानु छ तर दशैँ सिद्धाएर जाने बिचार गरेको छु । उनले भनेछन-दशैँ त हरेक वर्ष आउँछ,दशैँ त अर्को वर्ष पनि आउँछ,ब्यापारलाइ राम्रो हुँदैन जाउ । पिताजीले उनको सँकेत बुझ्नुभएछ र भन्नुभएछ-एक पटक घर पुगेर जान्छु । अनि उनले भने-घर पनि किन जान्छौ ? मेरो घो डा छ लिएर जाउ ।
       तिनको घोडा लिएर पिताजी आफ्नो गोलामा पुग्नुभयो जहाँ धानको खरिद-बिक्रि हुन्थ्यो । त्यहाँ जति रूपैयाँ थियो,त्यो लिनुभयो । त्यसपछि हाम्रो एकजना नातेदारकहाँ जानु भयो र भन्नुभयो-मलाइ त बाहिर जानु प-यो अलिकति रूपैयाँ छ ? उनले अलिकति रूपैयाँ दिएछन । त्यसपछि पिताजी त्यहाँबाट हिँडेर मोग्लान पस्नु भयो । पिताजी हिँडनासाथ उहाँलाइ समात्ने पूर्जी जारी भयो । पिताजी जोगबनी पुग्नुभयो । अनि त त्यसदिन देखि त म पनि र हाम्रो परिवार सुकुमवासी सरह खानाबदोश जस्तो भएर हिन्दुस्थानमा बस्न थाल्यौं । पिताजीका गोलाहरू र अरू सबै कारोवारहरू उनिहरूले जफत गरे । पिताजीले धेरैसँग पैसा लिनु भयो । त्यो माफ गरिदिएछन । हाम्रो सबै सम्पत्ति जफत भयो ।
       यो विपत्ति हाम्रो परिवारमा मात्र सिमित रहेन । पुर्वमा एउटा गोर्खे भन्ने ठाउँ छ । त्यहाँको हाकीम हुनुहुन्थ्यो दीर्घराजको बुवा/हाम्रो काका । उहाँलाइ हथकडी लगाइ अड्डासार गरेर काठमाण्डौं ल्याउन थालेछन । अनि हाम्रो आमाको बाजे हुनुहुन्थ्यो उहाँलाइ पनि कतै पक्रेछन । उहाँ कसरी भाग्नुभएछ भने धनकुटा आएपछि उहाँ खाना पकाउन थाल्नुभएछ र निकै पैसा दिनु भएछ सिपाहीहरूलाइ जाँड रक्सी खान । उनिहरू टन्न खाएर लठ्ठीएर सुतेको मौका पारी उहाँ भाग्नुभयो । भाग्दा उहाँ तमोर नदीमा हाम फालेर पस्नुभएछ,हातखुट्टामा हथकडी सिक्रि लगाएकै दशामा नदीमा हाम फाल्नुभएको थियो । उहँ बगेर जानुभएछ र अब डुबियो भन्दाभन्दै एकछेउमा खुट्टा परेर अड्किनुभएछ । त्यहि अवस्थामा छेउ लागेर उहाँ धरान पुग्नु भएछ । धरानमा कउ लगाएर त्यो हथकडी-सिक्रि कटाउनुभएछ । अनि त्यहाँबाट भागेर जोगबनी पस्नुभयो । यसरि चारैतिरबाट भागाभाग गेरर हाम्रा मानिसहरू पिताजीनेर आइपुगे । हामी सबै केहि समय पछि बनारस पुग्यौं । ४५ जनाको डफ्फा थियो । ठूलो घर लिनुभयो त्यहाँ पिताजीले ठठेरीबजारमा । दुइटा ठूला चोकहरू र २०/२५ कोठाहरू भएको घर थियो त्यो । अनि त्यहाँ शुरू भयो हाम्रो १२ वर्षको बनवास जस्तो कठोर प्रवास ।
प्रस्तुति-इन्द्र क्षेत्री ।


हिन्दुस्थानमा त्यसताका भर्खर गान्धी आएका थिए,गान्धीको असहयोग आन्दोलनको तयारीको समय थियो । मेरो मनमा त्यसताकाका घटनाहरूको बडो ठूलो प्रभाव पर्न गएको थियो । त्यसताका ३/४ वटा महत्वपूर्ण घटना घटेका थिए विश्वमा । एउटा रूसी क्रान्ती थियो । त्यसको भावुक पक्ष प्रचारमा खूव आएको थियो-कि अव गरीवहरूको राज्य भयो,सर्वहाराको राज्य कायम भयो । अव त हलो जोत्ने मान्छे शाशनमा बस्छ,हत्केलामा ठेला नपरेको मान्छेलाइ स्वास्निमानीसहरूले बिहे गर्दैनन,सुन्दरता भन्ने त हातमा ठेला कति छ भन्नेबाट मानिन्छ । त्यस्ता किसिमका कुराहरूको चर्चा हुन्थ्यो । मेरो भावुक चरित्रलाइ त्यसले बडो छोयो ।
       अनि कमाल अतातुर्कको पनि खूव चर्चा थियो त्यसताका । त्यो ठूलो खलिफा थियो-टर्की साम्राज्यको । त्यसले टर्कीलाइ नयाँ रूप दिन कोशिश ग-यो । त्यसले कसरी निर्ममताका साथ पर्दा प्रथालाइ हटायो भने,लोग्ने मानीसहरू कालो फुर्को भएको रातो टोपी लगाउँथे,त्यसमाथि रोक लगायो, त्यो त पुरानो रूढीको प्रतिक हो भनेर । त्यसका ती सुधारहरूको विरोध भयो । विरोध गर्नेहरूलाइ त्यसले निर्मम दमन ग-यो । विरोध गर्नेहरूलाइ गोली हान्नेसम्मको आदेश थियो ।
       त्यस पछि अर्को,चीनमा पनि बडो ठूलो आन्दोलन चलेको थियो, सुन यात्सेनको नेतृत्वमा । त्यसको पनि हाम्रो घरमा बडो चर्चा हुन्थ्यो । अमेरिकाको पनि अर्कै चर्चा हुन्थ्यो हाम्रो घरमा । त्यहाँको टेक्नोलोजीको, आर्थिक विकासको सम्बन्धमा चर्चा भएको म सुन्थेँ । अर्को चर्चा हुन्थ्यो जापानको बारेमा । एशियाको मुलुक जापानले यसो ग-यो,उसो ग-यो भन्ने कुराहरू भैरहन्थ्यो । तर ती भन्दा सबैभनदा शक्तिशाली गान्धीको आन्दोलनको प्रभाव ममा परेको थियो । भारतमा दुइ-तीनवटा राजनीतिक धारहरू थिए-एउटा नरमबादीहरूको थियो,एउटा गान्धीको थियो र अर्को आतंकवादीहरूको थियो । ती सबै प्रवृत्तिहरूको बारेमा छलफल हुन्थ्यो हामीकहाँ । तीनवटै खालका मानीसहरू आइराख्दथे हामीहरूकाहाँ । प्रोफेसरहरू आउँथे,वकिलहरू आउँथे,हाम्रो घर केन्द्र भएको थियो-एक त नेपाली भएकोले र अर्को पिताजीको ब्यक्तित्वले गर्दा पनि । धेरै मानीसहरू भेटन आइराख्दथे र छलफल भैरहन्थ्यो । हाम्रो साथमा रामचन्द्र अधिकारी थिए मनमोहन अधिकारीका पिता । बडो बहस गर्नु पर्थ्यो उहाँलाइ । अखवारका भित्री मर्महरू केलाउने र व्याख्या गर्ने बानी थियो उहाँको । त्यसमा मा बडो ठूलो असर प-यो । यी सबै भावुक प्रकारका घटना थिए,मेरो स्वभावमा एक प्रकारको भावुकताको प्रधाव त्यसै कारणले पर्न गयो । र मलाइ लाग्छ भावुक स्वभाव हुनु जरूरी छ,त्यो सफा हुन्छ । ज्यादा यथार्थबादी मानिस त्यति सफा हुँदैन ।
       म बनारसमा नगरपालीकाको स्कूलमा पढ्थेँ । त्यस स्कूलको एउटा शिक्षक लँगडो थियो । त्यसको के कुण्ठा थियो कुन्नि,अलि क्रूर किसमको मानिस थियो । अलि कठोर थियो,पिट्थ्यो लठ्ठीले । शायद आफ्नो लँगडोपनले गर्दा त्यसमा एउटा कुण्ठा थियो । हामी तर्सिन्थ्यौं उदेखि । तर्से पनि हामी के गर्थ्यौं भने ४ बजे छुट्टी हुने बित्तिकै क्लासबाट निस्केर भन्थ्यौं-लँगड् धिन्,टकेका तीन,मारो जुत्ता साढे तीन । यस्तै-यस्तै भनेर जिस्क्याउँथ्यौं र भोलीपल्ट आएर फेरी उ पिट्ने काम गर्दथ्यो । त्यसबेला म क ख सिक्ने क्लासमा थिएँ । कालो पोतेर,शँखले चिल्लो पारेर लकडीको पाटीमा लेख्नु पर्थ्यो । माटोको भाँडोमा खरीलाइ पिँधेर,पानी हालेर बाँसको कलमले लेख्नुपर्थ्यो । अक्षर मेरो राम्रै थियो । मलाइ पढन भने मन लाग्दैनथ्यो-दश बजेदेखि चार बजेसम्म । ठूलदाजु मातृका प्रसाद दयानन्द स्कूलमा पढ्नुहुन्थ्यो । उहाँ त जाँदै जानुहुँदो रहेनछ पढन । उहाँ जहिले पनि हतार-हतार खाना खाएर-स्कूल पनि लाग्न थालिसक्यो ,खाना ढिलो भयो भन्दै झगडा गरेर हिँडनुहुन्थ्यो । तर स्कुल तिर हिँडेको मानिस कता-कता दिनभरी भौंतारिएर बेलुका चार बजेपछि थाकेर पढीवरि  आएजस्तो गर्नुहुन्थ्यो ।
       एक पटक महात्मा गान्धीको सभा भएको थियो अस्सीघाटमा । त्यो मलाइ एक-एक याद छ । अस्सीमा सार्वजनिक सभा-मैदानमा होइन,बगैँचामा भएको थियो । त्यसताका ठूला-ठूला मानिसहरूको पर्खालले घेरिएका बगैँचाहरू हुन्थे र त्यस्तै एउटा बगैँचामा गान्धीजीको सभा भएको थियो । गान्धीजीको मलाइ सम्झना छ,जवाहरलालजीको मलाइ सम्झना छैन । तर ठूल्दाजु भन्नुहुन्छ,जवाहरलालजी पनि आएका थिए त्यहाँ । त्यहाँ गान्धीजीले भनेको म सम्झन्छु-सरकारी स्कूल छोड,राष्ट्रिय स्कूलमा पढ र अरू पनि यस्तै प्रकारका कुरा गरे ।
       मलाइ त स्कुल छोडन मन लागेकै थियो,त्यसो हुनाले जुरूकक उठेर भनेँ-म आजदेखि स्कूल जान्न । हाम्रो ठीक जाँचको बेला थियो । ठूल्दाजु त मलाइ तान्दै हुनुहुन्थ्यो,मेरो कुर्ता समातेर तल । मैले त उठेर भनिदिएँ-हम नहीँ जायेंगे स्कूल,हम भी बहिस्कार करेंगे । मलाइ त पढन मन थिएन,त्यसो हुनाले मैले भन्दिहालें । एकछिन पछि त ठूल्दाजुले पनि उठेर भन्नुभयो-हम भी नहीँ जायेंगे । हामी दुइजना ठीटाहरू थियौं,म त एकदम सानो थिएं आठ वर्ष जतिको । मलाइ मञ्चमा लिएर गए,फूलमाला लगाइदिए । ठूल्दाजु भन्नुहुन्छ,त्यो जवाहरलालजीले मलाइ त्यसो गरेका थिए । त्यो मलाइ सम्झना छैन,गान्धीजीको भने मलाइ सम्झना छ । घर फर्कँदा ठूलदाजुलाइ चिन्ता भयो - अव यो थाहा पाए पछि पिताजीले के गर्ने हो भनेर । म गएँ । मैले त भएको कुरा भनिदिएँ । ठूलदाजु भने पिताजीको प्रतिकृया हेर्दै हुनुहुन्थ्यो,विश्वेश्वरले यसो ग-यो भन्नुभयो । पिताजीले राम्रो ग-यो भन्नुभयो । अनि मैले पनि गरेँ भनेर ठूलदाजुले भन्नुभयो । त्यसपछि अब हामीलाइ पढाउने कसले र अब पढने के भनेर समस्या  आयो ।
       एउटा गान्धी आश्रम स्थापना भएको थियो,युनिभर्सिटी जाने बाटोमा,कटरा भन्ने ठाउँमा । पछि त्यो अन्यत्रै स-यो । हामी त्यहाँ पढन गयौं । तर त्यहाँ हामी के पढ्थ्यौँ ? त्यहाँ पढाउने शिक्षकको जीउभरी लुतो नै लुतो थियो । त्यसैले उ छात्रहरूलाइ नीमको पात टिप्न पठाउँथ्यो । तर त्यस पाठशालाको एउटा आदर्श थियो । त्यहिँ मैले पहिलोपटक भेटेको थिएँ आचार्य कृपलानीलाइ । कृपलानी साइकलमा आउँथे । हामीलाइ दुधविनायकबाट प्रत्यक दिन करीव तीन माइल जानु र तीन माइल फर्कनुपर्दथ्यो हिँडेर । त्यसरी हामी त्यस स्कूलमा पढन थाल्यौं ।
       बनारसमा दुइजना अरू पनि नेपाली परिवारहरू थिए,एउटा दमनको पिता,केदारनाथ ढुँगाना । उनि पनि खद्दर लगाउने र राजनैतिक रूपमा निकै सचेत थिए । टाढाबाट हाम्रो उनिसँग नाता पनि पर्दथ्यो । अर्का थिए देवी प्रसाद सापकोटा । यिनका अतिरिक्त अरू पनि नेपाली परिवरहरू थिए जसले गर्दा हाम्रो नेपाली जमात थियो । नेपाली परिवरहरूको त्यस्तो राम्रो जमात भए पनि मलाइ भाषा सम्बन्धि अप्ठ्यारो पर्दथ्यो जो मेरो समक्ष सधैँ नै रह्यो । त्यसको कारण के छ भने घरभन्दा बाहिर हिन्दीमा कुरा गर्नु पर्ने स्कूलमा अँग्रेजीमा पढनुपर्ने र घरमा नेपालीमा कुरा गर्नुपर्दथ्यो । त्यसले गर्दा मलाइ भाषाको अलमल हमेशा परिरह्यो । र पछिसम्म त्यो अलमल रहि नै रह्यो ।
       हाम्रो जमातमा निरन्तर राजनैतिक बहस हुने गर्दथ्यो । भारतीय राष्ट्रिय आन्दोलन हाम्रो आन्दोलन होइन भन्ने एउटा बिचार थियो । पिताजीको दृष्टिकोण के थियो भने आन्दोलन हाम्रो पनि हो किनभने जुन राणाको एकतन्त्रीयता छ,त्यसलाइ संरक्षित गरेको छ बृटिश साम्रज्यबादले । त्यसो हुनाले बृटिश साम्राज्यबादको बिरूद्धको लडाइँ नेपालीहरूको निम्ति पनि हो भन्ने पिताजीको धारणा थियो । अरूहरूको धारणा त्यो थिएन । देवीप्रसादहरूको धारणा फरक थियो र यो विवाद पछिसम्म पनि थियो । पछि जव प्रजापरिषदका मानिसहरू जनान्दोलनका कुरा गर्न आए,त्यसको तर्फबाट चुडाप्रसाद शर्मा आएका थिए । मसँग धेरै बेरसम्म त्यस सम्बन्धमा कुरा गरेका थिए । उनको पनि त्यस्तै कुरा थियो-हामीलाइ यहाँको आन्दोलनसँग के वास्ता ? बृटिश साम्राज्यबाद सबभन्दा ठूलो बाधक छ नेपालको प्रजातन्त्रको निम्ति र भारतीय स्वतन्त्रता आन्दोलन भारतको स्वतनत्रताको निम्ति मात्र भैरहेको छैन भारतको प्रजातन्त्रको लागि पनि त्यो लडाइँ लडिँदैछ भन्ने हाम्रो परिवार,पिताजी र मलाइ लाग्दथ्यो । किनभने त्यसबेलाका भारतीय स्वतन्त्रता आन्दोलनका गान्धीजी जस्ता नेताहरू ठूला प्रजातन्त्रवादीहरू थिए ।
       हाम्रो बलककालका,करीव ८/१० वर्षको उमेरका कुराहरू सम्झँदा त्यो एउटा राजनैतिक पृष्ठभूमीको मलाइ सम्झना हुन्छ । अनि बनारसबाट हामी भागलपुरको एउटा गाउँमा गयौं । कसरी गयौं भन्ने पनि बडो अनौठो छ । हामीहरू बडो दुःखमा थियौं । दुःखका कुराहरू म यहाँ वर्णन गर्न खोजुँ भने असँभव नै होला जस्तो लाग्दछ । मलाइ एकदम सम्झना हुन्छ,हामीहरू गर्मीको बखतमा छतमा बसी भिजाएको चना खाएर छाक टार्थ्यौं । त्यतिका मान्छे थिए, आमाहरूले माटोको ठूल्ठूलो भाँडामा चना भिजाएर नून र गुँड हालेर-गुड सबैलाइ पुग्दैनथ्यो-सबैजनालाइ लहरै बसाएर खुवाउनुहुन्थ्यो । त्यहाँ पनि बडो रमाइलो गफ हुन्थ्यो । एउटा गफ मलाइ अहिले पनि सम्छना छ, रामचन्द्र अधिकारीको । उहाँ के भन्नुहुन्थ्यो भने-चना,थाहा छ,कस्तो महत्वपूर्ण अन्न हो ? मानिसको भोजनमा चाहिने सबै महत्वपुर्ण तत्व यसमा रहन्छ । जव औरँगवेबले शाहजहाँ आफ्नो बाबुलाइ थुन्यो,थुने पछि उसले भन्यो-तिमीलाइ एउटा मात्र अन्न खान दिन्छु के खान्छौ ? अनि शाहजहाँले चना खान्छु भनेछ । अनि चनाकै चीज-बिज खाएर उ कति वर्ष सम्म बाँच्यो । त्यसो हुनाले त्यो चनाको ठूलो महत्व छ ।
       त्यो चनाको,शाहजहाँको,मुमताज महलको र ताजमहलको सम्पुर्ण कुरा मेरो दिमाखमा रोमाञ्चक रूपमा,चनाको रोमाँस,शाहजहाँ,ताजमहल र मुमताजमहलको स्मुतिसँग गाँसीएर पछिसम्म रह्यो । त्यसो हुनाले त्यस बखतमा हामीलाइ दुख छ भन्ने कुराका भन्दा यी कुराहरूको बढता प्रभाव परेको छ मेरो दिमाखमा । त्यसै हुनाले मलाइ यी सबै कुराहरू रमाइलो सम्झनाको रूपमा आउँछन । खान पाइन,चना अनु परेको दुखको भन्दा त्यस्तो रमाइलो तवरले बसेको सम्झनाको प्रभाव परेको छ । 
       एउटा महात्मा थिए बासुदेव बर्मा । जो पछिसम्म हाम्रो परिवारको एउटा सम्मानित सदस्य जस्तो भएर बसे । हामी उनलाइ बाबुसाहेब भन्थ्यौं । ती शायद जँगबहादुरको परिवार सँग कुनै प्रकारले सम्बन्धित थिए । उनले पिताजीलनइ के भने भने – उनको बहिनिको केहि रूपियाँ उनिसँग जमा छ,बहिनि सानी छ,त्यसो हुनाले त्यो रूपियाँ लिएर खेती-पातीको व्यवस्था गर्न चाहानुहुन्छ भने दिन्छु । पिताजीलाइ यो सुझाव मन प-यो र कुराकानी गर्दै जाँदा अरूहरूले पनि त्यसमा केहि मद्दत गरेकोले भागलपुर जिल्लाको टेढी भन्ने ठाउँमा पिताजीले अलिकति जमीन किन्नुभयो । म ती बासुदेव बर्माबाट पनि बडो प्रभावित भएको छु ।
       हामी टेढी पुगेको मलाइ अहिले पनि सम्झना हुन्छ । धान काटिसकेको थियो,पहेँलो-पहेँलो,परालै-पराल पुरै वातावरणमा छाएको थियो । बडो सुन्दर थियो त्यो गाउँ । दुइपट्टी कोशी,बीचमा त्यो एउटा टापूजस्तो गाउँ थियो , त्यहाँ पुग्यौं । मचान जस्तो घर बनाएको थियो । ठूला-ठूला खम्बामा । माथिपट्टि बस्ने व्यवस्था थियो । अनि त्यहाँको जीवन शुरू भयो । पिताजीले त्यहाँ स्कूल चलाउन थाल्नुभयो । शिक्षकहरू पनि राख्नुभयो । हामीकहाँ काम गर्ने मानिस बाबुसाहेब भन्ने पनि आयो । उ पनि एउटा अद्भूत मानिस थियो । उ भन्थ्यो-म एउटा कुरा खान्छु,एउटा ठूलो रोटी बनाइदिनु,त्यो मात्रै खान्छु । त्यो शायद एउटा अभ्यास पनि गर्दै थियो । फाटेको लुगा सिएर लगाउँथ्यो । उ मलाइ असाध्यै माया गर्थ्यो । फाटेको लुगाको उ महिमा बताउँथ्यो । साँच्चै भनुँ भने मेरो बाल्यावस्था बनारसमा सिद्धिएको थियो । टेढी पुग्दा मेरो समक्ष नैतिक प्रश्नहरू उठन थालेको जस्तो लाग्दथ्यो । बाबुसाहेब मलाइ के भन्दथ्यो भने लुगाफाटो र बाहिरिया कुरा भन्दा भित्रको सुन्दरता,भित्रको चारित्रिक सुन्दरता पट्टी ज्यादा ध्यान दिनु पर्दछ,लुगाफाटोले मानिस सुन्दर हुँदैन । उ आफु पनि फाटेका लुगाहरू लगाउँथ्यो । उ भन्दथ्यो-फाटेका लुगाहरू लगाउँदा मलाइ धेरै फाइदा भैरहेको छ । किनभने लुगाको लुगा र हावा पनि छिर्ने । बन्द कोठामा झ्याल ढोका नभएको कोठामा बस्दा कस्तो हुन्छ शरीरलाइ ? मेरो शरीरलाइ फाटेको लुगा भनेको झ्याल ढोका जस्तै हुन्छ,कसैले यो पनि भन्न सक्दैन कि मसँग लुगा छैन,नाँग बस्नु पर्दैन । त्यो कुरा मलाइ घत लाग्यो । फाटेको लुगा भनेको झ्याल ढोका नभए जस्तो हो भन्ने कुरा ।
       कलासम्बन्धि कुराहरू हामी सुन्दथ्योँ घरमा । मलाइ लाग्दछ  अचेलका केटा-केटीहरूको त्यति ब्यापक सरोकार र अनावरण छैन । जस्तै ताजमहलको सम्बन्धमा चर्चा हुन्थ्यो,पिताजी र भान्दाइको बीचमा,त्यो हामी सुन्दथ्यौं । मलाइ ताज महल हेर्न मन लागेर आउँथ्यो । भान्दाइ भन्नुहुन्थ्यो-ताजमहलको पचास प्रतिशत सुन्दरता त त्यसमा प्रयोग भएका बस्तुहरूले गर्दा हो । ताजमहल त्यति सुन्दर त होइन जति अरू कतिपय मन्दिरहरू छन । कोणार्कको सूर्य मन्दिर,एलोराको कैलाश मन्दिर र दक्षिण भारतका मन्दिरहरू साधारण पत्थरबाट बनेका छन । तिनको मुकाबलामा ताजमहल के हो र ? ताजमहललाइ तिमिले कल्पना गर साधारण पत्थरको ताजमहलमा,त्यसको पचास प्रतिशत सुन्दरता सकिन्छ । त्यो त कलात्मक भएन । सुनको ताजमहल बनाइदिएर कलात्मक पक्ष बढने त होइन । मेरो दिमाखमा असर पार्ने हुन्थ ती कुराहरू,मेरो ७/८ वर्षको उमेरमा । टेढीमा मेरा एउटा शिक्षक थिए- रासबिहारीलाल कायस्थ । तिनि बडो सँवेदनशील थिए भाषाको सम्बन्धमा । तिनले मलाइ साहित्यको,भाषाको र बोलीको कुरा नजानिँदो तरिकाबाट बुझाउँथे । त्यहाँ हिन्दी पढनु पर्थ्यो । नेपाली त पछि मात्रै आउँछ । त्यसताका मैथिलीशरण गुप्ताको चर्चा थियो । उनको जयद्रथ बध र भारत-भारतीको चर्चा हुन्थ्यो । उनले प्रिय प्रवास लेखेका थिए । हामीलाइ उनि यी सबै बताउँथे । म तिनको एउटा उदाहरण दिउँ भन्ने लाग्दछ, अस्ति त्यसै पनि मलाइ उनको सम्झना भएर  आएको थियो । उनको छोरा म-यो भन्ने एउटा चिठी आएको थियो । मैले जवाफ दिन सकेको छैन । तिनले के भने भने जस्तै चाँडै,झट्टै,जल्दी र तुरून्तमा फरक हुन्छ । कसरी फरक हुन्छ भनेर बुझाउन उनले एउटा दोहो सुनाउँथे । कृष्णले बाँसुरी बजाए,बाँसुरी बजाउँदा राधाले सुनिन् । अब राधा,जो चाँडै दौडेर कृष्णकहां जाँदा कसरी जान्छिन भन्ने दोहा छ-

द्राक,झटित,द्रुत,तुल,छिप्र,सत्वर,उत्ताल,
तुरत चली चातुर, अलि आतुर,लखी नन्दलाल ।

अर्थात द्राक भनेको पनि चाँडै,तुल भनेको पनि चाँडै । अत्तालिएर जानु,छिटो जानु इत्यादि बिभिन्न शव्दहरू एउटै कुरालाइ अभिब्यक्त गर्न प्रयोग गरिएको छ । उनि यस्ता कुराहरू बताउँथे जसले मलाइ भाषाको प्रयोगमा सँवेदनशील बनायो । उनले मलाइ नाटकहरूको ज्ञान दिए । जस्तो महाभारतका कथाहरूमा आधारित जयद्रथ बध जस्ता नाटकहरू मञ्चन उनि गराउँथे र मलाइ जहिले पनि राम्रो पात्रको भूमिका दिन्थे । ती सबै कुराको पनि ममाथि असर परेको छ । हाम्रो पढाइ यसै प्रकारले चलिरहेको थियो । होस्टलजस्तो पिताजीले एउटा घर बनाइदिनु भएको थियो । खानपीनको लागि हामी घर जान्थ्योँ र अरू कुरा होस्टल सरह नै थियो । त्यसरी टेढीमा हामी बस्यौं ।
       त्यहि बखतमा एउटा घटना घटेको छ । असल हुँदा मूल्य चुकाउनु पर्दोरहेछ भन्ने कुरा मैले अनुभव गरेँ । हाम्रो घरमा मनरिया भन्ने एउटी काम गर्ने स्वास्नीमानिस बडो सुन्दर थिइ । उसको बारेमा मैले नरेनद्रदाइमा पनि लेखेको छु । होलीको बखत थियो । हाम्रो  आँपको बगैँचा थियो । ठूलो करीव १००/१५० जति आँपका रूखहरू थिए । हामी आँपको बगैँचामा खेलिरहेका थियौं । त्यो मुनरिया पनि आइ । होलीको बेला थियो । नरोत्तम अधिकारी,ढुण्डीराज र अरू ५/६ जना भएर हामी उसलाइ जिस्काउन थाल्यौं,अलिकति होलीको सुरमा जिस्कायौं । घरबाट हामी टाढा थियौं । त्यसो हुनाले कोहि अरूले सुन्ला भन्ने डर पनि थिएन । त्यहि बखतमा पिताजी बगैँचामा आइपुग्नुभयो । अनि उसले पिताजीलाइ हाम्रो कुरा लगाइ । यिनीहरू मलाइ के-के भन्छन,के के,मलाइ गाली गर्छन,फोहर कुरा गर्छन भनेर । अब पिताजीले सबैलाइ सोध्नुभयो के हो भनेर । होइन,केहि होइन भनेर सबैले इन्कर गरे । मलाइ सोध्नुभयो त मैले जे भनेको सुनाइदिएँ । अनि पिताजीले मलाइ दुइ थप्पड लगाउनुभयो । मलाइ त्यसको बडो चोट लाग्यो । अरूहरू हैन भनेर झुट बोलेर उम्के मैले साँचो बोलेर सजायेँ पाएँ । मैले त्यसबेला केहि बोलिन,  आँसु रोकेँ । मैले आमासँग त्यो कुरा गएर भनेँ र रोएँ पिताजीले पिटनुभयो भनेर । आमाले सम्झाउनुभयो तैँले त्यस्तो किन बोलेको त ? उहाँले मेरो कुरा बुझ्नुभएन । मैले भनेको के थियो भने साँचो बोलेको हुनाले मैले पिटाइ खानु प-यो । त्यस बखतदेखि मलाइ के लाग्यो भने साँचो बोल्नु छ भने त्यसको लागि मूल्य चुकाउन पनि तैयार रहनुपर्दछ ।
       मेरा नैतिक आधारहरू मेरा यिनै अनुभवहरू भए । पिताजी बडो स्वतन्त्रताप्रमी हुनुहुन्थ्यो । सधैँ साँझमा वादविवाद हुन्थ्यो । वादविवादमा कुनै विषय राखिएको हुन्थ्यो । मलाइ जहिले पनि वाद विवादमा  आफुलाइ विश्वास नलागेको विचार राख्न मनै नलाग्ने । म तर्क बढी दिन सक्दिनथेँ । उदाहरणका लागि हामी खद्दर लगाउँथ्यौं । एउटा डिबेटको मलाइ सम्झना छ ।हामी खद्दर लगाउँथ्यौँ, गान्धीबादी थियौं । बहस के भयो भने खद्दर  आर्थिक दृष्टिबाट ठीक कुरा होइन । ठूलादाजुले ठीक हैन भन्ने पक्षबाट बोल्नुभयो । म ठीक हो भन्ने पक्षबाट बोलेँ । मैले त्यहाँ भनेँ-हामी खद्दर लगाउँछौं-त्यसलाइ उहाँ किन ठीक होइन भन्नुहुन्छ ? गलत कुराको पक्षमा किन बोल्ने भनेर म तर्क गर्दथेँ । त्यो तबहस मात्रै हो भन्न सकिन्छ भनेर मलाइ सम्झाउँथे । म भन्दथेँ-बहस पनि त कुनै गल्ती कुराको हुन सक्दैन । मेरो धारणा जो त्यसबेला बनेको थियो, आजसम्म पनि मेरो त्यहि धारणा बनिरह्यो । तर ठूल्दाइ हर पक्षमा बोल्नसक्नुहुन्थ्यो । त्यसरि त्यहाँ हामीले बडो सुखको जीवन बितायौं ।
       त्यहाँको हाम्रो बगैँचामा हामी राम्रा-राम्र फूलहरू लगाउँथ्यौं । पिताजीले हामीलाइ बिहानै ३/४ बजेतिर उठाउनुहुन्थ्यो । नदीतिर लिएर जानुहुन्थ्यो । त्यहाँ दिशा-पिसाव गरेर,नुहाइ-धुहाइ गरेर,सूर्य स्तवन गरेर घर फर्केपछि कवायद हुन्थ्यो । एउटा नेपाली भूतपूर्व सैनिक राख्नुभएको थियो,त्यसले हामीलाइ ड्रिल गराउँथ्यो । अनि खाजा खाएर पढन जान्थ्यौं । हाम्रो दिनचर्या त्यसरी शुरू हुन्थ्यो । पिताजी पिट्नुहुन्नथ्यो,उठेन भने मूखमा पानी हाल्दिनुहुन्थ्यो । एउटा शिक्षकले पिट्थ्यो,जसले पिटेको थाहा पाए पछि –पर्दैन त्यससँग पढ्न भनेर हटाइदिनुभयो ।
       टेढीमा हामी ५/७ वर्ष बस्यौं । अनि कोशीको बाढीले सताउन शुरू ग-यो । करिब तीन महिना हामीले नाउमा बस्नु पर्दथ्यो । घरबाट भान्सामा जाँदा पनि नाउबाट,दिशा-पिसाब गर्न जाँदा पनि नाउबाट,कहिँजाँदा पनि नाउबाट जानुपर्थ्यो तीन महिनासम्म । अब कहाँ जाने भन्ने कुरा हुन थाल्यो घरमा ।
प्रस्तुतिः इन्द्र क्षेत्री                                                                   क्रमशः

भाग-५

मलाइ किन हो किन बनारस नै जान मन लाग्यो । तर बनारस जाने खर्च थिएन । बनारसमा पढने कुनै व्यवस्था थिएन ।जाने खर्च पनि चाहियो र एडमिशन गराउने पैसा पनि चाहियो । मलाइ गान्धीवादी स्कूलमा होइन कुनै सरकारी स्कूलमा नै पढने मन थियो, र बनारसमा हरिश्चन्द्र स्कूलमा मेरो ध्यान थियो ,त्यहि पढछु भनेर । पिताजी पठाउन सकिरहनुभएको थिएन । हाम्रो घर सबै ढल्ला जस्तो थियो,पानीले सबै बगाइदिएको थियो । पनी सुकेर गएपछि हैजा-टाइफाइडहरूको प्रकोप शुरू हुन्थ्यो । यी सबै संकट र कष्टहरू परिवारले खेप्नुपरिरहेको थियो ।
       हाम्रो बहिनी नलिनीले भनि-होइन सान्दाजु,तपाइँलाइ पढन जाने मन छ भने मसँग छ नि अलिकति सुन,त्यो तपाइँ लिएर जानुस । हाम्रो घरमा नलिनीसँग मात्रै सुन थियो,सानो टुक्रा कानमा । त्यस बखत नछुने मानीसलाइ छोयो भने सुन-पानी छर्कने चलन थियो । सुन-पानी छर्कनु पर्ने भयो भने उसलाइ खोजिन्थ्यो । अनि मेरो सानिमा,आमाकी बहिनी,उहाँ आउनु भएको थियो हाम्रो घरमा । उहाँले यति रमाइलो मान्नु भयो कि म यही घरमा बिहे गर्छु भन्न थाल्नुभयो । कोसँग भने शुशीलको बुवा बोधप्रसादसँग,मान्नु भएन बिहे गर्नु भयो । उहाँसँग एकतोला सुन थियो । दुवैजनाले लुकीकन आ-आफ्नो सुन दिए,यो लिएर जाउ र पढ भनेर,नलिनीको सुन लिएकोमा त कसैको आपत्ति थिएन । तर मेरो सानिमा-पिताजीको सालीसँग सुन लिएकोमा त पिताजीलाइ आपत्ति थियो र उहाँ एकदम रिसाउनु भयो । त्यसमा सानिमा पनि रिसाउनु भयो के म टाढाकी भएँ ?
       त्यहि सुन आमाले हराउला भनेर कछाडमा सीइदिनु भयो र त्यो लिएर म बनारस गएँ । त्यहाँ हाम्रो हजुर आमा काशीवास गर्नुहुन्थ्यो । त्यहाँ एउटा सुविधा के थियो भने दुइ छाक खान पाइहालिन्थ्यो,मैले स्कूलको फिस मात्र तिर्नुपर्थ्यो । पिताजीका पहिले देखिका दुइजना मित्रहरू थिए-एकजना थिए बनारस हिन्दु विश्वविद्यालयका अँग्रेजीका प्रोफेसर गणेशदत्त शास्त्री र अर्का थिए हरिश्चन्द्र स्कुलका इतिहाँसका शिक्षक सीताराम पन्त । दुबै पहाडिया थिए । पिताजीले उनिहरूलाइ चिठी लेखिदिनुभएको थियो र मलाइ भन्नुभएको थियो जरूरत परे सम्पर्क राख्नु । गणेशदत्त शास्त्री भन्दा पनि मलाइ सीताराम पन्तको धेरै भर हुन्थ्यो । किनभने म उनकै स्कूलमा पढथेँ । उनलाइ चिठी दिए पछि उनले भने-ठीक है स्कूल खुल्ने के दिन आना,मै तुम्हारा एडमिशन करादुँगा ।
       म गएँ स्कुल खुलेको दिन । एड्मीशनका लागि जाँच लिनुपर्ने भयो । मैले टेढीमा सात क्लास पास गरिसकेको थिएँ र आठ क्लासमा त्यहाँ पनि भर्ती हुन सक्थेँ । मलाइ डर के लाग्यो भने म यहाँ आठ क्लास सकदिन कि भनेर । मलाइ जाँच्नु पर्थ्यो तर सिताराम पन्तले के भन्यो भने मैले जाँचिसकेँ,सात या आठ क्लासमा राखे हुन्छ । हेडमास्टरले सात क्लासमा राखिदेउ भन्यो र म सात क्लासमा भर्ना भएँ ।
       अव भर्ती हुनासाथ मैले फिस तिर्नु प-यो । क्लास टीचरले भन्यो-भोली आएर फिस तिरीदेउ । अनि त्यहि दिन साँझ म सुन बेच्न गएँ । किशुनजीको दाजु बटुकजीलाइ र एकजना उदयराज शास्त्रीलाइ लिएर । उनिहरूले दुइ-चार ठाउँमा दौडाए यो भएन उ भएन भनेर । अनि चोकनेरको एउटा सुनारकहाँ लिएर गए ।त्यसले सुनलाइ काट्यो,काटेर आगोमा पोल्यो र मलाइ लाग्दछ करीब २३/२४ रूपियाँ उसले दियो होला । सवा तोला सुनको दाम । अब त्यहि रूपियाँ लिएर मैले स्कूलको फिस तिरेँ । र अलिकति किताब पनि किनेँ र मेरो पढाइ शुरू भयो । मलाइ त्यहाँ रमाइलो पनि लाग्न थाल्यो । तर यहि थियो कि म हजुर आमाकोमा बसेको थिएँ । र दुइछाक खान मात्रै पाउँथेँ । भात र दाल-तरकारी बाहेक अरू केहि हुँदैनथ्यो । उहाँ पनि दुखैसँग बस्नुभएको थियो ।
       फीस तिर्नु पर्दथ्यो साढे तीन रूपैयाँ । मैले सिताराम पन्तलाइ मेरो फिस माफ गराइदिन भनेँ । त्यहाँ पुअर-म्यान फण्ड थियो,त्यहाँबाट मेरो आधा फीस माफ भयो । तैपनि मैले एक रूपियाँ बाह्र आना फीस तिर्नु पर्थ्यो । बाहिर म अरू खर्च गर्दिनथेँ,कतै जान्नथेँ ।
       त्यहि बखतमा ठूल्दाजु पनि म भन्दा अघिनै पढन जानुभएको थियो दरभँगामा । पिताजीको एउटा बडो प्रिय डाक्टर थिए सप्तरीमा । उनले ठूल्दाजुलाइ छोराजस्तो राख्छु,पढनलाइ महिनाको पन्ध्र रूपियाँ दिन्छु भनेर पढाएका थिए । ठूलदाजुले भन्नुभयो-त्यसबाट एघार रूपियाँ म राख्छु,चार रूपियाँ तँलाइ दिन्छु । ठूलदाजुले त्यसरि मलाइ महिनाको चार रूपियाँ पठाउन थाल्नुभयो । अव त्यहि चार रूपियाँबाट फीस पनि तर्थेँ,कपी,इन्स्ट्रुमेण्ट बक्स,साबुन इत्यादि पनि किन्थेँ । लुगा म रेडिमेड किन्थेँ गान्धी भण्डारमा गएर । त्यहि लगाएर स्कुल जान्थेँ र जुन दिन फाट्यो फेरि गान्धी धण्डारमा गएर अर्को किन्थेँ,तर म सुकिलो बस्थेँ । हप्तामा एक दिन लुगा धुन्थेँ घाटमा गएर । अनि अरू बखतमा पट्याएर राख्थेँ । घर आए पछि बनारसी अँगोछा बेरेर बस्यो,एउटा चटाइ थियो त्यसैमाथि एउटा चादर ओढेर बस्यो,पढ्यो । म राम्रो विद्यार्थी थिएँ । राम्रोको अर्थ रूप होइन,मलाइ शिक्षकहरू पनि माया गर्थे र म सममान गर्थे । सम्मान त मलाइ अत्यन्त नै मिलेको थियो स्कूल भरिमा । मैले भनेको साँचो हो भन्थे । कसैले कुनै बदमाशी गरेको छ भने मलाइ सोध्थे । मैले १९२९/३० तिर त्यस स्कूलबाट दश क्लास पास गरेँ ।
       राजनैतिक आन्दोलनहरू हुँदा त्यहाँ हडताल हुन्थ्यो,धरना हुन्थ्यो र त्यसमा म अघि रहन्थेँ । ममात्रै थिएँ एउटा त्यस स्कूलमा खद्दर लगाउने । र अँग्रेजी पढाउने एउटा शिक्षक पनि थियो खद्दर लगाउने । त्यसले गर्दा पनि त्यहाँ मेरो सम्मान थियो । यद्यपि त्यो पूर्णतः अंग्रेजी स्ट्याण्डरको स्कूल थियो । त्यहाँ इण्टरस्कूल डिबेट हुन्थ्यो । त्यसमा म पहिला हुन्थेँ । मलाइ  आश्चर्य लाग्छ,दश-बाह्र वटा स्कुलहरूमा म बाहिरबाट आएको मानिस पहिला हुन्थेँ ।
       एकपटक यू.पी.को गभर्नर त्यहाँ निरिक्षण गर्न आयो । स्कूलमा वितरण हुने प्राइजहरू त्यसैको हातबाट वितरण गर्ने कुरा आयो । कार्यक्रम अनुसार एउटा कविता पढनु थियो । मलाइ नै किन हो किन अघि सारे गभर्नरको अगाडि कविता पढनु पर्छ भनेर । मैले एउटा कविता देखाएँ-पढछु भनेर । मलाइ त्यो पढने अनुमति प्रधानाध्यापकले दियो र मैले कविता पढेँ । त्यस कविताका केहि लाइनहरू अझ पनि मलाइ याद छ,एक देशभक्तिपूर्ण कविता थियो त्यो-
I vow to my country all earthly things above,
Entire and whole and perfect,service of my love.
       त्यो एकदम देशभक्तिपूर्ण कविता थियो र अँग्रेज गभर्नरको अगाडि पढनु थियो । अरू मास्टरहरू अलि-अलि आपत्ति गर्दै थिए तर हेडमास्टरले सुनेर भन्यो-ठीक है क्या हर्ज है ? अनि म गएँ,एउटा बृटिश गभर्नरको अगाडि,पूरै अँग्रेजी स्कूलमा,मैले त्यो पविता पढेँ ।
       अनि तिनैताका ,वब म दश क्लासमा पढ्दै थिएँ, र गान्धीबादी पनि थिएँ आतँकबादीहरूसँग मेरो सँगत भयो । आतँकबादीहरूसँग सैगतमा परेर त केहि गरेको होइन-एउटा रिभल्वर थियो,५/६ जनाको एउटा ग्रुप थियो । त्यो रिभल्वरलाइ राखेर हामी छलफल गर्थ्यौँ । कसरि क्रान्ती गर्ने,के गर्ने भनेर । त्यो एउटा रोमाण्टीक किशिमको काम थियो । म नेपाली भएको हुनाले उनिहरू के भन्थे भने-नेपालमे बहुत हथियार मिलते हैँ,तुम नेपाल से हथियार मगाना । तुम्हारी बडी उपयोगिता है । हम कैसे मगाएँगे,किससे मगाएँगे-भनेर मैले प्रश्न गर्दा –क्योँ चिन से बोर्डर मिलता है । भनेर जवाफ दिन्थे । मैले भने-चीनसे बोर्डर होने पर भी सब चीज यहाँसे नेपाल जाता है,चीनसे तो कुछ नहीँ आता है । मैले यसो भनेपछि उनिहरू भन्दथे-तो कुछ उपाय हो जायगा,यह तुम्हारे जिम्मे रहेगा । कस्तो रोमाण्टीक कुरा थियो ।
       हामी नेपाल आउने अवस्था थिएन । मेरो स्कूलको पढाइ सकियो र हजुर आमा पनि रहनुभएन । मेरो लागि समस्या थियो-अब कहाँ बस्ने ? मैले म्याट्रिक पास गरिसकेको थिएँ तर कलेजमा एडमिशन गराउने पैसा पनि थिएन । त्यहि बेलामा आतँकबादी सँगठनमा लागेकोले म समातिएँ । पहिलापटक म समातिएको थिएँ । १९३० को दशैँताका । म र ठूल्दाजु समातिएका थियौँ । एकाबिहानै पुलिसका मानिसहरू आएर लगे । मलाइ मैदागिन नेरको कोतवालीमा । ठूल्दाजुलाइ अर्को कोठामा मसाग छुट्याएर राख्यो । सोध-पुछ ग-यो पुलिसले । त्यसपछि जेल लग्यो,बनारस जिल्ला जेलमा । जेलमा हामी बेलुका पुग्यौँ । मेरा ती  आतँकबादी साथीहरू तर्सिएर टाढा-टाढा उभिइरहेका थिए-कोतवालीको कम्पाउण्ड भन्दा टाढा । फल र मिठाइहरू लीएर उभिइरहेको मैले कोतवालीको आफु थुनिएको झ्यालबाट देखेँ तर तिनिहरूले मसँग भेट्न पाएनन ।
       हामीलाइ लग्दा जेल भरिएको थियो । बनारसका त्यसबखतका सबै नेताहरूथिए जेलमा । श्रीप्रकाश,सम्पुर्णानन्दहरू । बांदरसेनाका ठीटहरू पनि थुप्रै थुनिएका थिए । जेलमा पुग्नासाथ त पहिले डाक्टरी परीक्षण हुंदोरहेछ । वयस्क भनेर ठूल्दाजुलाइ राम्रो ठाउँमा राख्यो,त्यहाँ श्रीप्रकाशहरू थुनिएका थिए । मलाइ त केटाकेटी भनेर नाबालक वार्डमा पठाइदियो । नाबालक वार्डमा पनि ठाउं थिएन,बाँदरसेनाका केटाकेटीहरूले भरीभराउ थियो । मेरो लागि त ठाउँ नै थिएन । अनि मलाइ एकान्त-कारावासको सेलमा राखे । हथकडी ठूल्दाजुलाइ पनि लगायो,मलाइ पनि लगाए । तर उहाँको संगत बाहिरसंग सम्पर्क भएका राम्रा मानीससंग भयो,मलाइ भने एक्लै बस्नुपर्ने भयो । त्यसरि हामीलाइ ३/४ महिनासम्म थुन्यो । ठाउं फोहरू छ,मलाइ घाउ भैरहेको छ । एउटा फलामको कराही छ,भात,दाल,परवरको तरकारी हालेर सेलभित्र छिराइदिएको छ । ढोकामा बाहिरबाट हेर्ने प्वाल मात्रै छ । दुइटा कैदीहरू कराएर भन्छन-कोन है उस ३ नं मे ?अनि ठट्टा गरेर हांस्छन ।
       त्यहाँबाट हामीलाइ लिएर गए मोतिहारी । हाम्रो वास्तविक मुद्दा त मोतिहारीमै थियो । हामीलाइ ट्रेनबाट लिएर गए । स्टेसनहरूमा खूव भीड हुन्थ्यो,हामीलाइ हेर्न। हामी गोरो,अग्लो र राम्रो ब्यक्तित्वका थियौं । यह लोग देवुरूष है भनेर श्रद्धाका फूलहरू पनि चढाउंथे । स्वामी श्रद्धानन्द भन्ने एउटा ठूला किसान नेता थिए । उनि पनि त्यसै ट्रेनमा यात्रा गर्दै थिए । उनले हामीलाइ फलहरू दिए । हामी त हिरो भएका थियौं । छम्-छम् सिक्रि बज्दथ्यो प्लेटफर्ममा हिंडदा । हामीलाइ थर्ड क्लास कम्पार्टमेण्टमा चारजना पुलिसहरूले लिएर गैरहेका थिए ।
       हामी मोतिहारी पुगेपछि हामीमाथी मुद्दा चल्यो । त्यस मुद्दामा एउटा मान्छेलाइ फांसी भयो । ४/५ जनालाइ जन्मकैद भयो । बसावन सिँह,योगेन्द्र शुक्ल,चन्द्रमा सिंहहरूलाइ पनि कैदको सजायं भएको थियो त्यसै मुद्दामा । त्यस मुद्दामा सनाखत परेड हुँदा २/३ सय विद्यार्थीहरूलाइ अदालतमा लिएर आएका थिए । मेरो हातको हथकडी खोलिदिएका थिए । एउटा चवुतरामा हमी सबैलाइ बसाएर रातो तूलले गोडा छोपिदिए पछि साक्षीहरूबाट चिन्न लगाए । आधा घण्टा लाग्यो तर तिनिहरूले चिनेको मान्छे देखाउन सकेनन् । म त्यहि एउटा शँकाको सुविधाबाट छुटेँ ।
       आतँकबादीहरूको एउटा हाँजिपुर ग्रुप थियो । त्यससंग मेरो सम्पर्क थियो । चन्द्रमा शुक्लहरूसंग मेरो सम्पर्क थियो । मोतिहारीमा चलेको डकैति मुद्दामा मेरो संलग्नता थिएन र मेरो विरूद्ध त्यो मुद्दा चल्न पनि सकेन । त्यस मुद्दाबाट छुटेर आएपछि मैले बनारसमा कलेजमा एडमिशन लिएँ । 
प्रस्तूतिः इन्द्र क्षेत्री ।                                                           क्रमशः


यसै बीचमा पीताजीको जीवन पनि बडो नाटकीय रूपले बित्यो । हाम्रो घरमा भोक-भोकै बस्नु पर्थ्यो,खाना थिएन । त्यसताका हाम्रो परिवार बेतिया थियो । कोही कहाँ,कोही कहाँ थिए । अखबार बेच्थे हाम्रा मान्छेहरू । अखबार बेचेर आएको पैसाबाट किनमेल गरि कुँडो बनाउँथे,धेरै पानीमा पीठो,तरकारी सबै थोक हालेर पकाएर खान्थे । मेरो भाइ थियो हरीहर उ हैजाले म-यो । उसलाइ घाट लैजान कात्रो किन्ने पैसा समेत छैन । छिमेकमा एउटा नेपाली परिवार थियो । घरमा आमा मात्र हुनुहुन्छ । पिताजी पनि बाहिरै हुनुहुन्थ्यो । मैले पनि अखबार बेचेको छु । सुशीलको पीता बोधप्रसाद एउटा दुकानमा काम गर्नुहुन्थ्यो । बेलुका अखबार बेच्न जानुहुन्थ्यो, म पनि जान्थेँ अखबार बेच्न । त्यो अवस्था थियो हाम्रो ।
पिताजीलाइ लागेछ अब सहन सकिँदैन । अब लेख्छु चन्द्र समशेरलाइ भनेर एउटा चिठी लेख्नुभयो-अब त धेरै भयो,म आउन पाउँ भनेर । त्यो हूलाकमा खसाउन जाँदा उहाँको मन फि-यो,चिठी नखसाएरै फर्कनु भयो । भोलिपल्टै खवर निस्क्यो अखबारमा-चन्द्र समशेर मरे,भीम सम्शेर प्रधानमन्त्री भए । अनि उनले खवर पठाए पछि पिताजी नेपाल फर्कनुभयो ।
मैले माथी टेढी दीपनगरको गाउँको कुरा गरेको थिएँ । टेढीका एक दुइ कुराको अरू मलाइ सम्झना छ । हामी नेपालीहरूको जो ४/५ वटा परिवारहरू थिए त्यो भारतीय समाजको समुन्द्रमा एक टापु जस्तो थियो । त्यहाँ भाषा नेपाली बोलिन्थ्यो,त्यहाँको चाडबाड नेपाली हुने,भतेर सबै नेपाली हुन्थ्यो । हाम्रा भारतीय मित्रहरू आउँथे र हाम्रो नेपाली विशेषतालाइ मन पराउँथे । त्यस संसर्गले हामीलाइ हिन्दी भाषा सिक्न प्रेरणा दियो ।
मैले दुइटा उपन्यास पढेँ । एउटा प्रेमचन्दको भर्खरे निस्केको कर्मभूमी भन्ने । यो एउटा मोटो उपन्यास थियो । र अर्को थियो विमाता भन्ने उपन्यास । त्यो पढेर म कति रोएँ । कर्मभूमी ठूलो थियो र त्यसका पात्रहरू पनि धेरै भएकाले अल्मलिइन्थ्यो । त्यसताका एउटा छलफल के थियो भने कर्मभूमी मौलिक कृति होइन,थ्याकरेको भेनिटी फेयरको अनुबाद जस्तो हो भन्दथे । हिन्दीका पत्रिकाहरू आउँदथे त्यहाँ-चाँद माधुरी इत्यादिहरू । म बडो तन्मयताका साथ पढ्दथेँ ती पत्रिकाहरू । त्यसताका पिताजीलाइ छातीको रोग भएकोले घरमै बसेर पढ्नुहुन्थ्यो । हामी नेपाली किताबहरू पाउंथ्यौं । नेपालमा जुन किताब छापिए पनि चन्द्र सम्शेरले त्यस बखतको परराष्ट्र बिभाग हेर्ने काजी मरीचमान मार्फत पठाउने गर्दथे र जतिपनि नेपाली किताबहरू नेपालबाट प्रकाशित हुन्छन् ,त्यो पिताजीलाइ पठाइदिनु भनि चन्द्र सम्शेरले अह्राएका थिए । पिताजीलाइ छातीको रोग निको  हुने औषधीहरू पठाइदिन्थे । चन्द्र सम्शेरलाइ पनि छातीको रोग लागेको हुनाले आफुलाइ फाइदा गर्ने आयुर्वेदिक औषधीहरू उनले पिताजीलाइ पनि पठाइदिन्थे ।
नेपाली किताबहरूका ठेलीका ठेली आउँथे प्रत्येकको दुइ-तीन प्रतिका दरले । चन्द्र सम्शेरले पिताजीलाइ आदर त गर्दथे तर नेपाल आउन दिँदैनथे । नेपाल आउनलाइ माफी नै माग्नु पर्छ भन्ने उनको हठ थियो । पिताजी पनि चन्द्र सम्शेरलाइ मान्नुहुन्थ्यो तर माफी माग्नुहुन्नथ्यो ।
त्यसो त मैले महाभारतका कथाहरू हिन्दीमा पनि पढेको थिएँ । जयद्रथ बध इत्यादि । तर सम्पुर्ण महाभारत मैले नेपालीमा नै पढेँ । उनले पठाइदिएको । त्यसलाइ, म सम्झन्छु, कति राम्रोसंग पढेँ अद्योपान्त । ठूलो टाइपमा छापिएको राम्रो जिल्द भएको किताब थियो । त्यसको तीन्-चार प्रति आएकोले एक प्रति त्यहाँको पुस्तकालयमा पनि राखिएको थियो । महाभारतमा मलाइ यसबाट अभिरूची पैदा भयो । मैले त्यसका साना-साना कुराहरूमा पनि बडो चाख लिएँ । जयद्रथ बध,हेरूम्बा सम्बाद,अर्जुन-इन्द्र संवाद,कर्ण इत्यादिका संवादहरूले मलाइ बडो प्रभावित गरेको थियो ।
अनि मैले पढेँ टाल्सटाय जो भर्खरै भर्खरै अनुबाद भएको थियो । टाल्सटायका साना- साना कथाहरू मैले पढेँ । जो नैतिकतामा आधारित हुन्थे । टाल्सटाय लेखकभन्दा पनि बढी नैतिकताबादीका रूपमा देखिन्थ्यो । यसप्रकार,साहित्यिक अभिरूची मेरो सानै उमेर देखि जागृत हुने एउटा वातावरण मलाइ घरमा प्राप्त भएको थियो ।
बनारसमा आएपछि मलाइ किताब किन्न मन लाग्दथ्यो । त्यहाँ मलाइ पैसाको अत्यन्त अभाव थियो । त्यसो हुनाले म पुस्तकालयहरूमा जान्थेँ । एउटा कारमाइकेल पुस्तकालय थियो,म त्यहाँ जान्थेँ । त्यहाँ मलाइ चाहिएका किताबहरू पाइन्नथ्यो । जस्तो म रूसी लेखकहरू,फ्रेन्च लेखकहरूको रचना मन पराउँथें । त्यो म त्यहाँ पाउँदिनथें । मलाइ अहिले सम्झना छ भिक्टर ह्युगोको एउटा किताबको,त्यसको दाम डेढ रूपैयाँ थियो । मैले ठूल्दाजुबाट जो पैसा पाउँथेँ, त्यसबाट बचाइ-बचाइ राखिकन मैले त्यसलाइ किनेँ किनभने त्यो किताब बनारसमा पाइँदैनथ्यो । कलकत्ताको थ्याकर एण्ड स्पींकलाइ चिठी लेखेर त्यो किताब मैले मगाएँ । त्यो किताब थियो ला मिजरेबल । त्यसलाइ पढेर म रोएको छु । ममाथी त्यसको ठूलो प्रभाव परेको छ । सुशिला पनि त्यसलाइ सबभन्दा उच्च कोटीको मान्दछे । म त्यसलाइ दुनियाँको महान् कुतिमध्यको एउटा मान्दछु । त्यसबेला म  आठ क्लासमा पढ्दथेँ । त्यसछि मैले गोर्कीका किताबहरू पढेँ । जो अलिकति कम्युनिष्ट प्रभावको थियो ।
म बनारसमा आएपछि मेरो मित्रता भयो शान्तीप्रिय द्विवेदीसंग । उनि ठूला समालेचक थिए,बडो संवेदनशील लेखक थिए । उनले मेरो साहित्यको बारेमा अभिरूची देखेर धेरै कुरा बताउन थाले । किताबहरूको बारेमा र लेखकहरूको बारेमा बताउन थाले । उनको संगतले गर्दा दुइ/तीन वटा हिन्दीका ठूला-ठूला महारथीहरूसंग सम्पर्क हुन थाल्यो । म तिनीहरूकहाँ जान्थेँ । मैथिली शरण गुप्ता,रामकृष्ण दास,जयशंकर प्रसाद, यिनीहरूको जमघट हुन्थ्यो रामघाटस्थित रामकृष्ण दासको घरमा । बडो भब्य र दरबार जस्तो घर थियो उनको । शान्तीप्रिय द्विवेदी तिनका मित्र,सहायक र लाइब्रेरियन जस्ता थिए,म उनैसंग त्यहाँ आउने-जाने गर्दथेँ । तिनिहरूको जमघटमा म पनि सामेल हुन्थेँ । म नेपाली भएकोले होला मलाइ विशेष ध्यान दिन्थे । जयशंकर प्रसादको एउटा दोकान थियो दालमण्डी नेर । उनि जर्दाहरू बेच्दथे, म त्यहाँ गैरहन्थेँ । एकजना बिनोदशंकर व्यास थिए,तिनीसंग पनि मेरो सम्पर्क थियो । त्यहि बखतमा रामकृष्ण दासले नयाँ किसिमका कथाहरू लेखेका थिए । उनले एउटा उपन्यास लेखेका थिए कँगाल । त्यो बडो चर्चित भएको थियो त्यसताका । जयशंकर प्रसादले आँसू भन्ने लेखेका थिए, त्यो मलाइ पनि कति राम्रो लाग्यो भने मैले त्यसलाइ कण्ठाग्र गरेको थिएँ । मैथिलीशरणका रचनाहरूबाट म पहिले नै प्रभावित थिएँ । त्यस साहित्यिक वातावरणले मलाइ निकै प्रोत्साहित ग-यो साहित्यमा । त्यसताका प्रेमचन्दको हँस भन्ने मासिक पत्रिका निस्कन्थ्यो । शान्तिप्रिय द्विवेदीले मलाइ हँसमा लेख्न भने । मैले भनेँ-"मेरो कुरा हंसमा कसरी छापिएला र ? "
"किन छापिँदैन,तिमी लेख छापिन्छ"-भनेर उनले मलाइ भने ।
त्यसपछि म प्रेमचन्दको अफसिमा गएँ एउटा कथा लिएर । उनि बडो नम्र र सिधा मानीस थिए । तिनले मेरो कथा हेरेर अलिकित काटकुट गरेर छापिदिए । जब त्यो छापिएर आयो,मलाइ कस्तो अद्भूत भएर आयो भने म त्यसको वर्णन गर्न सक्तिन । मेरो त्यो पहिलो रचना छापिएको थियो । त्यो पनि प्रेमचन्दको हंस जस्तो प्रतिष्ठीत पत्रिकामा । अब त्यो कसलाइ बताउँ,कसरी बताउँ, भन्ने लाग्न थाल्यो । कथाको शिर्षक शायद अतिथि भन्ने थियो ।
प्रस्तूतिः इन्द्र क्षेत्री ।                                                           क्रमशः

घरको वातावरणले पनि होला ममाथि पहिलो प्रभाव गान्धीजीको नै परेको थियो । बनारसमा एउटा संयोगबाट म मार्क्सबादी बिचारको सम्पर्कमा पुगेँ । त्यसको पनि एउटा रोचक घटना छ । म बम्बइ गएको थिएं । फर्कंदा बम्बइको केहि स्टेशन पर २/३ जना ट्रेनमा चढे र मेरै कम्पार्टमेण्टमा मेरै नजिक भएर बसेका थिए । उनिहरू मेरठ षड्यन्त्र केशको मुद्दासँग सम्बन्धित थिए-शायद डाँगे नै थिए । तिनीहरूले मसँग कुरा गरे-प्रश्न गरेजस्तो गरेर,सम्झाएको जस्तो होइन । साक्रेटीसको संवादको तरिकाबाट मसँग प्रश्न-उत्तर शैलीमा कुरा गरे । उनिहरूको त्यस संवादले ममाथी एउटा नयाँ कुरो गरिदिए जस्तो लाग्यो । भौतिक जगत,जीवन,दर्शन,मार्क्सबाद, र यस्तै कुराहरूको सम्बन्धमा एउटा नयाँ दृष्टिकोण मैले पाएँ । उनिहरू बम्बइबाट इलाहाबाद सम्म मसंग आएका थिए । मलाइ के लाग्यो भने यी नयाँ कुराहरू त मलाइ थाहा नै रहेनछ । बडो ठूलो जिज्ञासा मेरो मनमा उत्पन्न भयो मार्क्सबादको सम्बन्धमा । उनले मार्क्सबादको कुरा उति गरेनन् । उनले किन हो कुन्नि गान्धीका कुराहरू रोमाण्टीक हुन् यथार्थबादी होइनन् भन्ने कुरामा नै मसँग बेसी छलफल गरेका थिए ।

त्यस पछि कलेजको पढाइको लागि म बनारस आएँ र बनारसमा छितपूर लजमा डेरा लिएँ । त्यहीँ मेरो देवकान्त बरूवासँग सम्पर्क भयो । उनले मलाइ छितपूर गाउँको अवस्था विश्लेषण गर्दै कसरि आर्थिक असमानता छ,शोषण छ भन्ने कुरा बताउँथे । त्यसबखत अर्को एउटा मान्छे मेरो साथी थियो देशमूख भन्ने । अस्तिको पल्ट केमोथेरापीको लागि बम्बइ जाँदा त्यहि ग्रुपको मानिसलाइ मैले भेटेको थिएँ । स्वास्नी लिएर मलाइ भेट्न आएको थियो ।

त्यहाँ बस्दा मार्क्सबादको अध्ययन गर्नु पर्छ भनेर मैले एउटा स्टडी-सर्कल बनाएँ । त्यसमा धेरै मान्छे संलग्न थिए । त्यसमा देवकान्त बरूवा,अहिलेको कम्युनिष्ट नेता राजेश्वर राव र अरू पनि तीन-चार जना त्यस स्टडी- सर्किलमा आए । त्यस स्टडी-सर्किलको काम लुकेर गर्नु पर्थ्यो । लुक्नु जरूरी नभए पनि हामी लुकेरै गर्थ्यौँ । इञ्जिनियरिँग कलेजमा एउटा रेडियोबाट हामी मस्कोको प्रसारण सुन्थ्यौँ । रेडियोको चलन थिएन । इञ्जिनीयरिँग कलेजमा उनिहरूले एउटा कामचलाउ रेडियो बनाएका थिए । कानमा लगाएर सुन्नुपर्ने किसिमको । बुझ्न त राम्रो गरि बुझिँदैनथ्यो,तैपनि एउटा ध्वनि सुनेर खुशी हुन्थ्यौँ ।
त्यसरि मैले कम्युनिज्मको अध्ययन गरेँ र कम्युनिष्ट पार्टीसँग सम्पर्क बिकास गरेको थिएँ । मेरा अरू साथीहरू,देवेन्द्रहरू हाँसो उडाउँथे । अनि किताबहरू मगाउन थालेँ त्यस विषयका । त्यसबखतका किताबहरू,मार्क्सबादको सन्दर्भमा आधारभूत किताबहरू हामी पढ्न थाल्यौँ । स्टडी-सर्किलमा के नियम थियो भने एक जनालाइ कुनै किताब पढ्न दिएका हुन्थ्यौँ,उसले त्यो किताबका कुराहरू पढेर भन्दथ्यो र अरूहरूले त्यसका सम्बन्धमा प्रश्नहरू गर्दथे । म इन्चार्ज भएकाले बेसी किताबहरू पढ्दथेँ । त्यस बखतमा मैले बुखारिनको किताब पढेँ,ट्राटस्कीका किताबहरू पढेँ । त्यस बखतमा स्टालीनको त चर्चा नै थिएन । मार्क्सका,प्लेखानोभका किताबहरू पढीसकेको थिएँ । त्यसरी मैले मार्क्सबादको सम्बन्धमा आफ्नो जानकारी बढाएँ ।

त्यसबखत मेरठ षड्यन्त्र मुद्दा सबभन्दा हलचल उत्पन्न गर्ने घटना भएको थियो । त्यसमा हामी पनि संलग्न थियौँ । मेरठ डिफेन्स कमिटीहरू बनेका थिए । कम्युनिष्टहरू पैसा उठाउँथे मेरठ डिफेन्स फण्डको लागि । मलाइ काम दिए,विश्वविद्यालयको छात्रावासको कोठा-कोठामा गएर चन्दा जम्मा गर्ने । त्यसरी म अलि-अलि गर्दै मार्क्सबादी राजनीतिमा संलग्न भएको थिएँ । हामीले एउटा पत्रिका पनि निकाल्यौँ-दि सोसलिष्ट भन्ने । म थिएँ त्यसको सम्पादक । एउटा बरूचा भन्ने थियो आर्टिष्ट ।

तर मलाइ कम्युनिष्ट आन्दोलनका केही कुराहरूमा चित्त बुझेको थिएन । त्यसो त मार्क्सबाद मलाइ बडो क्रान्तीकारी दर्शन लाग्दथ्यो । मलाइ चित्त नबुझेका ती कुराहरू मेरो मनमा उठिराख्दथे । भारतको एउटा राष्ट्रीय आन्दोलन,त्यत्रो ठूलो यथार्थ,जसमा मेरो सम्पुर्ण परिवार पनि संलग्न थियो,म त्यस राष्ट्रिय आन्दोलनको दौराननै हुर्केँ,मेरो पीताजीको सक्रिय संलग्नता मैले देखिरहेकोलाइ,यो केही पनि होइन,यो बृटिशहरूले गराएको,गान्धी भनेको बृटिशहरूको दलाल-अचेतन दलाल,भन्ने कुरा म स्वीकार गर्न सक्तिनथेँ । अर्को कुरा,मार्क्सबादको सम्बन्धमा मलाइ ट्राटस्कीको अन्तर्राष्ट्रियताबादले प्रभावित पारेको थियो । मेरो आन्तरिक भावना त्यसको प्रभावमा थियो । मेरो मनमा मार्क्सबादको त प्रभाव रह्यो तर कम्युनिष्ट पार्टीले मलाइ प्रभावित गर्न छोड्यो ।

त्यस बखतमा छितपुरमा एउटा घर लिएर म बसेको थिएँ । राम्रो ठाउँ थियो । हामी दुइजनाले मिलेर त्यो घर लिएका थियौँ । म माथिल्लो तलामा र तल जयप्रकाश नारायणको भाइ राजा भन्नेले लिएका थिए । ती पनि मेरो क्लासमा थिए । एक दिन जयप्रकाश नारायण त्यहाँ आएका थिए भाइलाइ भेट्न । अनि उनको भाइ राजाले मलाइ सोधे-जयप्रकाश नारायणलाइ भेट्छौ ?

मैले त्यसभन्दा अघि जयप्रकाश नारायणलाइ अलि-अलि चिनेको त थिएँ तर खास परिचय थिएन । उनले मलाइ बडो प्रभाव पारे । धेरै क्लीष्ट भाषा प्रयोग नगर्ने,बडो सरल किसिमको व्यक्ति मलाइ लागे उनि । उनिसँग धेरै कुरा भयो । जयप्रकाश नारायणसँग मेरो छितपुरमा भेट हुँदा आमा त्यसबेला मसँगै हुनुहुन्थ्यो । बुनु सानी थिइ । सन् १९३४ को भूइँचालो ताकाको कुरा हो । जयप्रकाशजी माथि आए, आमालाइ भेटे । आदरका साथ कुरा गरे । उनको व्यवहारले मलाइ बडो प्रभावित ग-यो ।

त्यसताका उनि सोचिरहेका थिए सोसलिस्ट आन्दोलनको बिकासको बारेमा । अन्तर्राष्ट्रिय आन्दोलनको मातहतमा एउटा सोसलिस्ट पार्टीको सम्भावनाको सम्बन्धमा उनिहरू सोचिरहेका थिए । मार्क्सबाद भारतीय सन्दर्भमा कस्तो हुन सक्तछ भनेर त्यसताका छलफल चलिरहेको थियो । त्यस सम्बन्धमा मैले एउटा कार्यक्रम छलफलमा ल्याइरहेको थिएँ । त्यसैताका काँग्रेस सोसलिस्ट पार्टी गठन भयो । म त्यसको झण्डै शुरूको नै सदस्य थिएँ । मेरा अरू साथीहरूलाइ पनि काँग्रेस सोसलिस्ट पार्टीको कार्यक्रम मन प-यो । भारतीय राष्ट्रिय काँग्रेसद्वारा सञ्चालित राष्ट्रिय आन्दोलनबाट अलग नभै त्यसैको अँग रहन सकिने र साथै प्रगतिशील पनि रहन पाउने कुराले मेरो जमातका सबै साथीहरूलाइ त्यसले आकर्षित ग-यो । त्यसमा अच्युत पटवर्धन,देवेन्द्र,अवधेश्वर र अरू मेरा साथीहरूका साथै म भन्दा नयाँ पिँढीका साथीहरू पनि सामेल भए । त्यसमा सामेल हुने बित्तिकै मलाइ नेपाली भनेर नै होला,राम्रो स्थान दिए । लेख्ने कुराहरूमा मलाइ अघि सार्थे । जयप्रकाश र आचार्य नरेन्द्रदेवसँगको मेरो सम्पर्क धेरै बढ्न थाल्यो । कार्यक्रमहरूको बारेमा निकै बिचार-बिमर्श हुन्थ्यो । मेरो गतिविधि बिहारतिर बढी हुन्थ्यो । रामानन्द मिश्र,अवधेश्वरहरू जयप्रकाश पछिको बिहारका समाजबादी नेताहरू थिए,यीनिहरूसँग मेरो घनिष्ठता थियो । रामवृक्ष बेनिपुरी थिए,हाम्रो सम्पर्कका,जो त्यसबेला जनता निकाल्दथे । एकजना थिए जगतनन्दन सहाय जोसँग मेरो मित्रता भयो र जो म्याट्रिकदेखि एम ए सम्म सधैँ पहिला भैराख्दथे । ती पछि बिहारको पब्लिक सर्भिस कमिशनको अद्यक्ष पनि भए । ती मार्फत धेरै नयाँ किसिमका साहित्यहरू-प्रयोगात्मक साहित्यहरू मैले पढ्न पाएँ,उनि ल्याउँथे म पढ्थेँ । जस्तो,टि.एस.इलिएट,बब्स फ्लेचर,काफ्काका उपन्यासहरू,युलिसिस,जेम्स जायसको उपन्यास,ती सबै मैले उनको मार्फत पढ्ने मौका पाएँ । म ती किताबहरू किन्न सक्तिनथेँ । उनैले मलाइ उपलव्ध गराइदिए ।

भाषाको सम्बन्धमा मेरो समस्या के थियो भने,जो पछिसम्म पनि रह्यो,घरमा एकदम नेपाली बोल्नुपर्ने,घरभन्दा स्कूलमा सबै कुरा अँग्रेजीमा पढ्नुपर्ने र त्यसभन्दा बाहिर फेरि बजारतिर साथीहरूसँग हिन्दीमा बोल्नुपर्थ्यो । साथीहरूको घरमा जाँदा उनिहरू कोही भोजपुरी र कोही अवधी बोल्दथे । त्यो म जान्दिनथेँ । मलाइ एकपटक सानो उमेरको एउटा रमाइलो घटना याद आउँछ । एकजना शिक्षकले मलाइ सोधेका थिए-तिमी अँग्रेजी जान्दछौ ? मैले सोचेँ जस्तो ठाउँ-ठाउँमा भोजपुरी,अवधी,हिन्दी विभिन्न भाषाहरू बोलिन्छन उस्तै विभिन्न किसिमको अँग्रेजी पनि हुँदोहोला र मैले त्यही सम्झेर भनेँ-मलाइ त बनारसको अँग्रेजी मात्र आउँछ । मेरो कुरा सुनेर उनि हाँसेको मलाइ अझै सम्झना छ,ठीक छ बनारसको अँग्रेजी आउँछ भने ठीकै छ भनेर उनले मलाइ भनेका थिए ।

म टेढीमा हुँदा मैथिली बोलिन्थ्यो । बनारस जान्छु अवधि बोलिन्छ । त्यसो हुनाले मलाइ के लाग्यो भने हिन्दी ठाउँ-ठाउँमा फरक हुन्छ भने अँग्रेजी पनि फरक पर्दोहोला । त्यस्तो समस्या थियो मेरो भाषाको । मेरो भाषा राम्रो थियो । स्पष्ट र वजनदार । तर भाषाको शुद्दता राख्न गा-हो पर्थ्यो मलाइ-मेरो यो समस्याले । देवेन्द्रको अँग्रेजी शुद्ध थियो,त्यसले मलाइ धेरै सिकायो शुद्ध अँग्रेजी लेख्न ।

हामीलाइ स्कूलमा नेस्फिल्ड ग्रामर पढाइन्थ्यो । त्यो जस्तो वाहियात किताब केही नलाग्ने । त्यसले ग्रामर किन पढ्ने भन्छ भने भाषा शुद्ध बोल्न-लेख्न जानिन्छ रे । अनि पार्जिँग गर,के के गर भन्ने कुरा मलाइ पटक्कै मन नपर्ने पछि मलाइ ती सबै कुरा देवेन्द्रले बतायो । मेरा साथीहरू बडो प्रतिभावान थिए । त्यो ग्रुप नैतिक रूपमा उच्च,बौद्धिक रूपमा उच्च र हामीहरू आफु भन्दा माथिल्लो क्लासका दाँजोमा आउँथ्यौँ । मभन्दा सिनियर थियो एल.के. झा भन्ने,त्यो अत्यन्त नै प्रतिभावान विद्यार्थी थियो । हामीहरू छलफल गर्थ्यौँ,निकै उच्च र गहकिला विषयहरूमा ।

कलेजमा आएपछि बर्नार्ड शा मेरो अत्यन्त नै प्रिय भएको थियो । देवेन्द्रले उपहार दिएको थियो एकपटक बर्नार्ड शाका दुइ प्रिफेसेजहरू र ड्रामाहरूको किताब । मैले पूरा पढेँ,बडो राम्रो लाग्यो । एल.के.झा एउटा राम्रो लेखक भैसकेको थियो,आज इत्यादिमा लेख्दथ्यो । म पनि अलिकति लेख्दथेँ ।

त्यसै किसिमको वातावरणमा मैले बी.ए.पास गरेँ । बी.ए.पास गरेपछि पिताजीले फेरि मलाइ कलेजमा पढ्न पठाउनु भयो । पिताजी नेपाल फर्किसक्नु भएको थियो । मलाइ ३० रूपियाँ महिनाको जान्थ्यो,यथेष्ट हुन्थ्यो । देवेन्द्रलाइ ५० रूपियाँ जान्थ्यो,उसलाइ त बाँकी रहेको २० रूपियाँ कसरी खर्च गर्ने थाहा हुँदैनथ्यो ।

म कलकत्ता पढ्न गएँ । ल कलेजमा । मलाइ लेख्न मन लाग्दथ्यो,म लेख्दथेँ । मैले एम.ए.मा पनि प्रवेश लिएँ । कक्षामा गएँ तर जाँच दिन सकिन ।

म छुट्टीमा बिराटनगर आएको थिएँ । मेरो ससुरा झापामा बडा हाकीम हुनुहुन्थ्यो । उहाँ हात्ती चढेर आउनुभयो मलाइ सुशिलासँगको बिहाको प्रस्ताव लिएर । पिताजीसँग के-के खासखुस कुरा गर्नु भयो । शँकर घिमिरेका पिता पनि उहाँसँगै आउनुभएको थियो । शायद उहाँ असिस्टेण्ट हुनुहुन्थ्यो । पिताजीले भन्नुभयो-उसैसँग कुरा गर्नुहोस,मैले के भन्ने ? मलाइ उहाँहरूले भन्न आउनु भयो । मैले भनेँ-पिताजीले जे भन्नुहुन्छ मलाइ ठीक छ ।

एकपटक तपाइँ सुशीलालाइ हेर्नुस र भन्नुस-उहाँहरूले धेरै जिद्दी गर्नुभयो । म कलकत्तामै हेर्ने बन्दोबस्त गर्छु-भन्नु भएको थियो । त्यस पछि म कलकत्ता गएँ र सुशिलालाइ हेरेँ । सुशिला कम उमेरकी,दुब्ली,एकपटक कालाजार भएको रहेछ उसलाइ । पढ्न पनि धेरै नपढेकी,गोरी । हेरे पछि मलाइ बडो पछुतो भएर आयो । हेरिसकेको थिएँ,हुन्न भन्न पनि सक्तिनथेँ । अनि मैले जे भयो-भयो,विवाह चाँडै हुनुपर्छ भनेँ । पन्ध्र दिनभित्रै विवाह हुनुपर्छ भनेर मैले भनेँ । विवाहको समय अलि पर सार्ने कुरा हुन लाग्दा मैले टेलिग्राम पठाएँ-On the fourth or never. ४ तारीख मेरो प्रस्ताव थियो । विवाहको तिथि निश्चित भयो । तर मसँग विवाहको लागि पैसा थिएन । देवेन्द्रले भन्यो ४/५ सय रूपियाँ छ काम चलाउ ।

मैले कलकत्ताको डिपार्टमेण्ट शपमा गएर आफ्नो लागि एउटा कोट किनेँ । सुशिलाको लागि एउटा साडी किनेँ । त्यहाँ पढ्थे कोशु र तारिणी-मेरा भाइहरू । विवाह हुन लागेको छ मेरो-बनारस हिँड भनेर मैले उनिहरूलाइ लिएर पटना आएँ देवेन्द्रलाइ पनि लिन । मैले चिठी लेखेको थिएँ घरबाट कोही पनि नआउनु र कोही पनि आएन । पिताजी र आमा पनि आउनु भएन । हामी यति मात्रै बनारस गयौँ । हामी उनिहरूले भनेको घरमा पुग्यौँ । उनिहरूले त सम्झेछन जन्ती आयो । अनि त मेरो द्वारपूजा इत्यादि भयो । हामी त आयौँ,बस्ने व्यवस्था गर्नु प-यो भनेँ । एकदम पुरानो घरमा २/३ वटा कोठाहरू लिएको रहेछ,हामी त्यहीँ बस्यौँ ।

मैले आफ्ना साथीहरूलाइ बोलाउने बिचार गरेँ । मेरा पुराना साथीहरू रूस्टम सैटिन,गुर्दे,देवकान्त बरूवा,शिव मँगल सिँह सुमन इत्यादिहरू थिए । त्यहाँ बिचार भयो,यिनीहरूलाइ विवाहमा किन बोलाउने,पछी एउटा पार्टी दिनुपर्ला । अनि विवाह भयो बडो छोटकरी तरिकाबाट ।

विवाह भैसके पछि मैले करीव ३० जनालाइ पार्टी दिएँ । चोकको चित्रा सिनेमाको तलको एउटा रेस्टुराँमा,जो त्यसताका राम्रो मानिन्थ्यो । बडो सस्तो तर राम्रो पार्टी थियो । मेरा साथीहरू सबै आश्चर्य मानिरहेका थिए । उनिहरू भन्दथे किन यसरि विवाह गरेको ? गुर्देले भन्यो-क्या बात है क्योँ यह शादी की ? पढी-लिखी भी नहीँ है । पैसा मिले वह भी नहीँ है,इतनी छोटी है,सुन्दर भी नहीँ है । क्योँ शादी की ? आमाले त हेरेर भन्नुभयो-कस्तो उर्वशी जस्तीसँग बिहे गराम्ला भनेको त यस्तो भयो । विवाह गरेर हामी घर आउँदा पिताजीलाइ त बिरक्त लागेर मुख छोपेर सुत्नु भएको थियो । बनारसबाट विवाह गरे पछि हामी पटना पुगेका थियौँ । त्यहाँका मेरा साथीहरू जीतेन्द्र,जगत नन्दन सहाय र अरू मेरा राजनैतिक साथीहरूलाइ निम्ता दिएँ,पार्टी आयोजना गरेँ ।

तर पछी त कस्तो परिवर्तन आयो सुशिलामा भने सबभन्दा मन परेकी हाम्रो घरमा त्यही भएर आइ । सुन्दरताको दृष्टिमा त एकताका त्योभन्दा सुन्दर कोही छैन भनेर मेरा साथीहरू भन्दथे । एकपटक म हजारीबाग जेलमा छँदा मेरा साथीहरूसँग बहस हुँदा संसारमा सबभन्दा सुन्दर मानिस तिमीलाइ को लाग्दछ भनेर मेरो एउटा साथीले सोध्दा मैले सुशिलाको नाम लिएँ । त्यहाँ एकजना कुन्दन प्रसाद थिए,बडो योग्य र बडो असल,त्यस्ता मान्छे बडो कम्ति हुन्छन । उनले भने-कोइरालाजी, वह तो बहुत सुन्दर है,लेकिन दुनियाँमे उनको सबसे सुन्दर कहना अतिशयोक्ति होगी ।

को छ त त्यो भन्दा सुन्दर मान्छे ? हामीले चिनेका मानिसहरूमा को छ त्यो भन्दा सुन्दर ? भनेर मैले च्यालेञ्ज दिएँ,अनि घोरिएर सबै मसँग सहमत भए । सुशिलामा पछी त्यस्तो परिवर्तन आयो । मैले उसलाइ पढाउन थालेँ । उसलाइ योग पट्टी लगाएँ,व्यायाम गराएँ । तेलको मालिसबाट शरीरको रोगन बढ्यो । मैले बनाएँ उसलाइ यस प्रकारले । मलाइ मन परेका कविताहरू,साहित्यहरू उसलाइ सुनाउँथेँ,बुझाउँथेँ र पढाउँथेँ । अनि यसै प्रकारले मैले कानूनको अध्ययन पूरा गरेँ ।

विवाह र दाम्पत्य जीवनका बारेमा मेरा केही आफ्नै अध्ययन र आफ्ना अनुभवहरू रहेका छन् । मैले एउटा किताब पढेको थिएँ । रबर्ट ब्लूमको –म्यारेज । त्यो सोसलिस्ट पार्टीको नेता र एकपटक फ्रान्सको प्रधानमन्त्री भैसकेको थियो । मेले त्यसको Marriage (विवाह) भन्ने किताब पढेँ ।  जसको असर विवाह सम्बन्धी मेरो धारणामा परेको थियो । उ भन्दछ-विवाह र मानवीय यौन प्रवृत्ति अन्तरविरोधी कुराहररू हुन् । मान्छेको यौनप्रवृत्ति विषम यौन(heterogeneous) छ र विवाहको प्रवृत्ति एक पत्नित्वको हो । त्यसो हुनाले मानिसको यौनप्रवृत्ति र विवाहको संस्था परस्पर विरोधी कुराहरू हुन् । उसले सल्लाह के दिएको छ भने विषम-यौन समापन(exhaust) गर्नुपर्छ र विवाह पछी गर्नुपर्छ । मलाइ बडो घतलाग्दो लाग्यो त्यसको कुरा । विवाह आपसी समझदारीको कुरा हो,यौनको कुरा हैन । त्यसो हुनाले,एकदम स्वतन्त्रता हुनुपर्छ लोग्ने मानिस र स्वास्नी मानिसहरूलाइ-स्वतन्त्र सम्पर्क हुन दिनुपर्छ । विवाह ढिलो गरि हुनु पर्छ । जब दुइटालाइ संगी र सहयात्रीको ज्यादा जरूरत पर्छ र एउटा भरपर्दो मानिसको ज्यादा जरूरत पर्छ,त्यस बखतमा विवाह गर्नु पर्दछ । विवाहको संस्था र यौनप्रवृत्ति मिल्नु पर्छ भनेर त्यसले बडो घतलाग्दो विचार दिएको मलाइ लाग्यो ।

विवाहको सम्बन्धमा मेरो एउटा अनुभव रह्यो । मेरो मित्र देवेन्द्रको अर्कै अनुभव रह्यो । देवेन्द्रको बाबुले देवेन्द्रको विवाह ठीक गरे । विवाह हुने तय गरेपछि देवेन्द्र मसँग कुरा गर्न आयो,के गरौँ भनेर । मैले भनेँ-यस सम्बन्धमा मेरो एउटा विचार हुन सक्तछ,तिम्रो अर्को हुन सक्छ । तर विवाह भनेको त अँध्यारोमा हाम फाल्नु हो,न त्यो सुन्दरताको आधारमा सफल हुन्छ न त्यो कुनै यौन सामञ्जस्यको आधारमा सफल हुन्छ । कुनै एउटा कारणले त्यो सफल हुन्छ भन्न सकिन्न । मानिस एउटा विवाहीय किसिमको हुन्छ,अर्को विवाहीय किसिमको हुँदैन । त्यसो हुनाले विवाह भनेको अँध्यारोमा हामफाल्ने जस्तो कुरा हो भन्ने मलाइ लाग्दछ ।

देवेन्द्रलाइ समस्या के परेको थियो भने बाबुले जुन केटी ठीक गरेका थिए उसको विवाहको लागि,उसलाइ हेर्न भनि उसले एउटा साथीलाइ पठाएको थियो । केटी काली रहिछ,काली उसलाइ मन नपर्ने । अनि त्यहि समस्या परेपछि उ मसँग सल्लाह लिन आएको थियो । मेरो विवाह भैसकेको थियो । त्यस सन्दर्भमा मैले उसँग भनेको थिएँ-विवाह गर्ने हो भने यो कस्तो छ,के छ भन्ने होइन,उर्वशीसँग विवाह भयो भने पनि तिमी छिटै निराश हुने छौ । त्यसो हुनाले विवाह गर्ने हो भने जस्तोसँग विवाह गरे पनि हुन्छ । एकपछि अर्को गरेर मेरो र देवेन्द्रको विवाह भयो,उसको पूर्ण विफल भयो,मेरो एकदम सफल भयो । यो यथार्थमा अँध्यारोमा हाम फाले जस्तै भयो । 
प्रस्तूतिः इन्द्र क्षेत्री ।                                                           क्रमशः

अनि त्यहिताका सोसलिस्ट आन्दोलनको पनि कुरा चल्यो । पहिला त अनेक राजनीतिक समूहहरू थिए,कम्युनिष्टहरू पनि थिए त्यस आन्दोलनमा । जयप्रकाशजीको नेतृत्वमा काँग्रेस सोसलिस्ट पार्टी गठन भए पछि एउटा छुट्टै सुसंगठीत सोसलिस्ट आन्दोलन चल्न थाल्यो । त्यहाँ गान्धीबादी र समाजबादीहरूमा मतभेद जस्तो थियो र मतभेद पछीसम्म रह्यो । गान्धीको सम्पुर्ण भाषा धार्मिक किसिमको हुने,रामराज्यको कुरा गर्ने,बर्ग संघर्षलाइ नमानेर बर्ग समन्वयको कुरा गर्ने,पूँजीपतिलाइ ट्रस्टी हो पनि भन्ने । यी सबै धारणाहरू मार्क्सबादी सिध्दान्तको खिलाफ थिए । यसमा गान्धीजीसंग सोसलिस्टहरूको मतभेद थियो । यद्यपि गान्धीजीलाइ बडो आदर गर्थे,नेता मान्दथे समाजबादीहरू । जवाहरलाल नेहरू बीच-बीचमा कुरा गर्न गइरहन्थे जयप्रकाशजीसँग । मलाइ त्यो व्यवहार राम्रो लाग्यो ।

म यसै बीचमा दार्जलिँग गएको थिएँ वकालत गर्ने बिचारले । वकालतमा जो ठूला ठूला वकिल छन् तिनको कुरा मलाइ थाहा छैन तर साना वकिलहरूले युवा वकिलहरूसँग जुन प्रकारले कुराकानी गर्छन् त्यो मलाइ मन परेन । संवैधानिक कानूनको प्रश्नमा वा राजनैतिक प्रश्नहरूमा जो छलफल हुन्थ्यो त्यसमा मलाइ चाखलाग्ने तर सम्पत्ति सम्बन्धि झगडामा मलाइ मन लाग्दैनथ्यो । मैले एउटा तिब्बतिको मुद्दामा ब्रिफ तयार गरेको सम्झना छ । त्यो एउटा ठूलो ब्यापारी थियो । मैले पहिला फिस पाएकै त्यसैको केसमा हो । त्यस बखतमा मेरा सिनियर थिए-हरीप्रसाद प्रधान । उनले मलाइ केहि पैसा आउने केसहरू दिएका थिए । तर मलाइ कोर्ट जान मन लाग्दैनथ्यो ।

त्यसताका म हिन्दीमा लेख्ने गर्दथेँ । सूर्यविक्रम ज्ञवालीले मलाइ दार्जलिँगबाट लेखे-तपाइँ हिन्दीमा लेख्नुहुन्छ त्यो त राम्रो होइन । तपाइँ नेपालीमा किन लेख्नुहुन्न ? त्यसपछि मलाइ नेपालीमा लेख्नुप-यो भन्ने लाग्यो । मैले इन्द्रवदन भन्ने एउटा कथा लेखेँ नेपालीमा । त्यसको बडो चर्चा भयो । त्यसमा एउटा नयाँ प्रयोग गरेको देखियो । त्यस कथाको मूख्यपात्र एउटी स्वास्नीमानिस छे । उनको एउटी सानी छोरी छ । उसको दुलाहा वर्ष दिनको निम्ति कतै बेपत्ता भएको  छ । त्यस स्वास्निमानीसको बिहानदेखि बेलुकीसम्मको एकनासको नीरस दैनिक जीवनको चित्रण छ । छेउको अर्को घरको बार्दलीमा एउटा लोग्नेमानिस बस्दोरहेछ,त्यो नै उसको अभिरूचीको विषय भएको रहेछ । त्यसबाट उत्पन्न भएको मनोबैज्ञानिक असरको मैले विश्लेषण गरेको थिएँ । त्यो कथा शारदा भन्ने मासिक पत्रिकामा निस्क्यो जसलाइ सम्पादन गर्थे सिद्विचरण श्रेष्ठ । मेरो उनिसँग पहिलो भेट इन्दिराको विवाहमा उनि आएको बखतमा भएको थियो ।

मैले दार्जलिँगमा करिव १५/२० वटा कथाहरू लेखेँ । अनि त्यहिताका द्वित्तीय महायुध्द शुरू भयो । त्यस महायुध्दको तयारी भन्दा अघि वहस हुन्थ्यो स्पेनिश लडाइँको । स्पेनको गृहयुध्द-फ्र्याँकोको बिरूध्दको स्पेनिश रिपब्लिकको लडाइँको चर्चा खूब हुन्थ्यो । हामीहरू पूर्ण रूपमा प्रजातन्त्रबादीहरूको पक्षमा थियौँ । मैले त एकचोटी इन्टरनेशनल बृगेडमा पनि जान एप्लिकेशन दिएको थिएँ । जवाहरलालजीले हिन्दूस्तानबाट पनि एउटा बृगेड पठाउने बिचार प्रकट गरेका थिए । मैले आफुलाइ त्यसमा जान दिन अनुरोध गरेको थिएँ । तर त्यो बृगेड गएन म पनि जान पाइन । त्यो एउटा भावनात्मक प्रभाव पार्ने घटना थियो । त्यस सम्बन्धमा जहाँ जाँदा पनि म निकै बहस गर्थेँ,छलफल गर्थेँ । यस्तो लाग्दथ्यो त्यसबेलाका किताबहरू,समाचारहरूका विश्लेषण गर्दा कि यो तैयारी हो ठूलै युध्दको ।

तिनताकाका राजनैतिक साहित्यहरूमा हिटलरको अभ्युदयको विषय आउँथ्यो । मुसोलिनीको पनि चर्चा थियो । उ त पहिले सोसलिस्ट थियो,पछि डिक्टेटर भयो । हिटलरको बारेमा हरेक कुरा म पढ्थेँ । कम्युनिष्टहरू भन्थे-एउटा ठूलो युध्द हुन्छ,त्यसको निम्ति हामी तैयार रहनुपर्छ ।

जब म दार्जिलिँगमा थिएँ त्यहिताका टँकप्रसाद आचार्यहरू समातिएका थिए । महायुध्द शुरू भैसकेको थियो । महायुध्द शुरू भैसक्यो भन्ने बित्तिकै मैले त्यसबाट उत्पन्न हुने परिस्थितिहरूको विश्लेषण गरी निधो गरेँ-देशको राजनीतिमा उत्रने । मलाइ लाग्यो,अब देशमा राजनीतिक सँघर्षमा मैले लाग्नु पर्छ,वकालत गरेर बस्ने होइन ।

हाम्रो सँघर्षको द्वन्द्व कस्तो थियो भने हिटलरसँग पनि एकदम बिरोध र ,फेरि अँग्रेजी साम्राज्यसँग पनि ठूलो बिरोध् थियो । तर माहयुध्दको सन्दर्भमा त बृटिश साम्राज्यबादले नै हिटलरको मुकाबिला गरिरहेको थियो । युरोप भित्र त केवल अँग्रेजहरू नै सशक्त रूपमा हिटलरसँग लडिरहेका थिए । हामीहरू हिटलर पनि हारोस भन्थ्यौँ एकातिर भने अर्कोतिर अँग्रेजहरू पनि नरहुन् भन्थ्यौँ । त्यस बखत मैले एउटा लेख लेखेको थिएँ । त्यसमा मैले लेनिनलाइ उल्लेख गरेको थिएँ-यस साम्राज्यबादी लडाइँलाइ गृहयध्दमा परिणत गर्नुपर्छ भनेर । त्यो पटनाको सर्चलाइटमा छापिएको थियो ।

मैले केहि समय बिहारको मजदूर क्षेत्रमा काम गरेको छु । मलाइ पठाउँथे,म जान्थेँ-म समातिन्थेँ । दरभँगाको नजिकमा,दरभँगा र समस्तिपूरको बीचमा एउटा स्टेशन छ मुक्तापूर,त्यहाँ एउटा ठूलो जूट मील थियो । त्यहि दरभँगा जिल्लामा एउटा सुगर मील थियो,त्यहाँ पनि म काम गर्थेँ । दरभँगामा जो पुलिस अफिसर थियो,त्यो बृटिश थियो र लेबर पार्टीमा सहानुभूति राख्ने । उसले मलाइ समातेर लगे पछि बोलाएर मसँग बहस ग-यो । के भन्न थाल्यो भने म पनि लेबर पार्टीको हुँ । हामीहरू पनि त्यहि कुरा भन्दछौँ जो तिमीहरू भन्दछौ । तर हिटलरले जितेपछि त तिमीहरूलाइ पनि सजिलो पर्दैन । मलाइ राम्ररी सम्झना छ,मैले भनेँ-त्यो तिमीहरूको युरोपीयन समस्या हो । तर हाम्रो स्वतन्त्रताको पनि त समस्या छ ।

त्यहाँबाट छुटेपछी म पहिला गएँ जनकपुर,सन् १९४२ को भारत छोडो आन्दोलनको समयमा म बिराटनगरमा थिएँ । धेरै मानिसहरू भागाभाग गरेर नेपाल पसेका थिए । पिताजीले उनिहरूलाइ पनि त्यहाँ बसोबास गराउने सुरक्षित राख्ने व्यवस्था गर्नु प-यो भन्नुभयो । भागेर आएका धेरै मानिसहरू मुजफ्फरपुर र मोतिहारीबाट आएका थिए । जनकपुरमा हाम्रो एउटा राइस मिल रहेको थियो । पिताजी त्यहाँ भागेर आएका मानिसहरूलाइ राख्ने-बस्ने व्यवस्था गर्न उता लाग्नुभयो । म पटना हिडेँ । पटना पुगेको भोलिपल्टै बिहान मलाइ समाति हाले । बिराटनगरबाट मैले पटना आउन खोज्दा गाडी बन्द थियो,गाडीका लाइनहरू उखालिएका थिए । कहीँ हिँडेर कहिँ ट्याक्सी लिएर बल्लतल्ल म पटना पुगेको थिएँ । पटनामा कुनै साथी थिएन । कोही समातिएका थिए,कोही भागेका थिए,कोही भूमिगत भएका थिए,कोही पनि भेटिएनन् ।

त्यसपछि म आरा गएँ । आरामा देवेन्द्र पनि भागेको रहेछ । आरा पुग्नको लागि मैले एक्कामा जानु परेको थियो पटनाबाट । अनि गाउँमा गएँ देवेन्द्रको । हामीहरूले अहिलेको बेलामा केहि गर्नु पर्छ भनेर मेरा साथीहरूसँग सम्पर्क राख्न म हिँडेको थिएँ । त्यस आन्दोलनमा जयप्रकाशजीहरूसँग म सम्पर्क राख्न खोज्दैथिएँ कि म समाती हालिएँ ।

त्यसबेला म पटनामा कालीबाबुकहाँ बसेको थिएँ । देवेन्द्र फरार नै थियो । मलाइ समात्न पुलिस बिहानै आएको थियो । मलाइ समात्दा मैले सोचेँ,देवेन्द्रलाइ खवर पठाउनु प-यो,खवर पठाएँ तर देवेन्द्रलाइ समात्न भनि पुलिस त्यहि बखत पुगिसकेको रहेछ । उसले पनि मलाइ त्यहि  खवर पठाएको रहेछ । पुलिस स्टेशन जाँदा त देवेन्द्र र म सँगसँगै प-यौँ । म्याजिस्ट्रेटले आदेश गर्नु पर्ने रहेछ जेल पठाउनको लागि । त्यस दिन आइतबार परेकोले सबै अड्डा-अदालतहरू बन्द थिए । एउटा जिल्ला म्याजिस्ट्रेट भन्दा मुनिको अफिसरकहाँ पुलिसले लिएर गएर भन्यो-यी दुइजनालाइ जेल पठाउनु प-यो ।

त्यस अफिसरले हामीलाइ जेल पठाउने आदेश गर्दा भन्यो-"मेरा तमाम सहानुभूति तपाइँहरू प्रति छ,मलाइ अफसोस छ-मैले तपाइँहरूलाइ जेल पठाउनु परेको छ । मैले गर्न सक्ने कुरा यत्ति मात्र छ-म तपाइँहरूलाइ ए क्लासमा राखिदिन्छु । म त्यति मात्र गर्न सक्छु तर मेरो पूरा सहानुभूति तपाइँहरूसँग छ । "

अनि हामीलाइ बाँकेपुर जेल पठाइदियो । त्यस जेलमा डा.राजेन्द्रप्रसाद पनि थुनिएका थिए । त्यस जेलको अस्पतालको एउटा कोठालाइ सफा गरेर राजेन्द्रबाबुको निम्ति दियो र अर्को एउटा ठूलो हल खाली गरेर दुइवटा बेड राखिदिएको थियो । त्यसको एउटा बेड मलाइ दिएको थियो । ती कोठाहरू राम्रा थिए । मलाइ केन्द्रिय सरकारको बन्दी भनियो । राजेन्द्र बाबु र म मात्र त्यहाँ केन्द्रिय सरकारका बन्दी थियौँ । देवेन्द्र पनि त्यहि जेलमा बन्दी थियो । मलाइ त राम्रै लागिरहेको थियो । साथीहरू पनि धेरैजना आइरहेकै थिए । खाना पनि राम्रै थियो । राजेन्द्रबाबुसँग हाम्रो बहस पनि खूब चल्यो । हामी त ससोसलिस्ट थियौँ । हामीलाइ त त्यसै पनि दम्भ जस्तो थियो आफ्नो नयाँ किसिमको बिचारधाराको । राजेन्द्रबाबु अलि धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । उहाँको साथमा एउटा मथुराबाबु थिए,मेरो क्लासफेलो । उहाँहरू ज्यादा रामायण र महाभारत पढ्नुहुन्थ्यो । रामायणमा पनि जो गाउँहरूको वर्णन हुन्थ्यो,अयोध्या,किस्किन्धा के के भन्ने । ती ठाउँहरूको अचेल के नाउँ छ,कति टाढा छ,योजन भनेको कति हुन्छ भनेर छलफल गरिरहनुहुन्थ्यो । एकपटक राजेन्द्रबाबुले भन्नुभयो-"ल हामीलाइ पढेर बताउ समाजबाद के हो ?"

त्यसबखत एउटा किताब मलाइ खूब मन परेको थियो । स्ट्रेचिले लेखेको-थ्योरी एण्ड प्राक्टीस अफ सोसलिज्म । त्यो लेबर पार्टीको सरकारमा मन्त्री पनि भएको थियो । दिउँसो खाइपीइ सकेर आराम गरिसके पछि बगैँचाजस्तो थियो,त्यहाँ बसेर त्यस किताबको आधारमा हामी छलफल गर्थ्यौँ । दुइ-चार जना अरू पनि त्यसमा सामेल हुन्थे ।

गर्मी आयो । गर्मी आए पछि जेल निरीक्षणको लागि गभर्नर आएको थियो । पहिले राजेन्द्र बाबुकहाँ गयो । म केन्द्रिय सरकारको बन्दी भएकोले मकहाँ पनि आयो । मेरो परिचय लिँदा म नेपाली हूँ भन्ने थाहा पाए पछि भन्यो-"तिमी यी मानिसहरूसँग कसरी मुछिन पुगेको ?" मैले भनेँ-"मलाइ थाहा छैन म किन समातिएँ ?" "त्यसो भए के तिमी देश फर्कन चाहान्छौ ?" भनेर उसले सोध्यो । "हुन्छ म जान्छु"-भनेर मैले भनेँ । "त्यसो भए तिमी एउटा एप्लिकेशन लेख"-भनेर उसले मलाइ भन्यो र जेलको सुपरिटेण्डेण्टलाइ भन्यो-"सुपरिटेण्डेण्ट यिनको एप्लिकेशन मनेर पठाउ र म त्यसमा आवस्यक कार्बाही गर्छु । मतिर फर्कँदै फेरि भन्यो-"तिमी यि मानिसहरूसँग नमुछिनु ।"

राजेन्द्रबाबुलाइ उसले सोधेको थियो-"कोठा भित्र ज्यादै गरम छ,तपाइँ बाहिर सुत्न चाहानुहुन्छ ?" राजेन्द्रबाबुले भने-"तिमी सक्छौ भने व्यवस्था गर तर म इच्छुक छैन ।" उसले जेलरलाइ त्यसको व्यवस्था गर्न भनेर गयो । उ गैसके पछि राजेन्द्रबाबुले मनेर आएर भने-" यो के भनेको तिमीले ? नेपाल गयौ भने त मार्छन त्यहाँ तिमीलाइ । यो तिमी गर्दै नगर । त्यहाँ त बर्बर शासन छ । तिमी फर्केर गयौ भने त्यहाँ ति तिमीलाइ मारिदिन्छन् । " म चूप लागेर बसेँ । अनि राती भयो । राती उनको खाट बाहिर लगे । राजेन्द्रबाबुले सोधे-"कोइरालासाहब नहीँ आरहे बाहर ?" जेलरले भनेछ-"गभर्नर ने तो उनके बारेमे कोही अर्डर नहीँ किया है ।" "तब तो हम भी नहीँ आयँगे बाहर ।" भनेर राजेन्द्रबाबुले भन्नु भयो । त्यस पछि त त्यहाँबाट टेलिफोन हुन थाल्यो गभर्नर कहाँ । भोलीपल्ट गभर्नरकहाँ बाट आदेश आयो-मलाइ पनि बाहिर सुत्ने व्यवस्था गर्नु भनेर । यस्तो बिचार पु-याउने ब्यक्ति हुनुहुन्थ्यो राजेन्द्रबाबु । उहाँको कोठामा पँखा जडान गर्ने गभर्नरको आदेश थियो तर त्यस्तै पँखा मेरो कोठामा पनि नजोड्ने हो भने मलाइ पँखा चाहिँदैन भन्नुभएकोले मेरो कोठामा पनि पँखा जडान भयो । पछी मलाइ हजारीबागमा सारे । त्यहाँ पनि मलाइ राजेनद्रबाबुसँगै राखे ।


म हजारीबाग जेलमा छँदै गान्धीजीले अनशन गरेका थिए । बम्बैको आगा खाँ प्यालेस भित्र गान्धीजी नजरबन्द थिए । यहिँबाट उनले अनशन शुरू गरे । अनशन गर्दा कत्रो चिन्ताजनक स्थिति थियो भने ब्रिटिश सरकारले उनि मरे भने के गर्ने भन्ने कुराको पूर्व सतर्कता लीइरहेको थियो । उनको अन्तिम सँस्कारको लागि चन्दनको लकडी इत्यादिको व्यवस्था भैसकेको थियो । राजेन्द्रबाबुले मसँग भनेका थिए-अब गान्धीजी बाँच्दैनन् । यस लडाइँको बेलामा उनको मर्ने-बाँच्ने प्रश्न उठ्नु बडो असामियक हो ।

यस बीचमा बिहारका ठूला-ठूला नेताहरूसँग हजारीबाग जेलमा मेरो नजिकको सम्पर्क कायम भयो । श्रीकृष्ण सिँह, अनुग्रह नारायण सिँह  र अरू धेरै समाजबादी नेताहरू त्यहाँ थुनामा थिए । ए क्लास बन्दीहरूलाइ हजारीबाग जेलमा राखेका थिए र सी क्लासका बन्दीहरूका लागि पटनामा नै हजारौँ मान्छे थुनामा राख्ने ठूलो क्याम्प खडा भएको थियो । तिनीहरूलाइ त्यहिँ थुन्दथे । हामी ए क्लासका बन्दीहरूलाइ हजारीबाग थुनामा राखेका थिए ।

जेलमा हाम्रा साथीहरू थुप्रै थिए । उनिहरूसँग बहस हुन्थ्यो,छलफल हुन्थ्यो,झगडा पनि हुन्थ्यो । मलाइ उनिहरू मान्थे पनि तर मलाइ उनिहरू बडो क्रोधी छ भन्दथे । मलाइ दुइजना छुट्टै मानिस दिएका थिए । पनिया जसलाइ पिपा पनि भन्दछन,खाना बनाउनको लागि र कोठाको सरसफाइको लागि । खाना बनाउने मान्छे पहिल्यै ग्राण्ड होटलको कूक रहेछ,त्यसले खाना बनाउँथ्यो,एउटा बाल्टी जस्तो चुल्होमा उ खाना पकाउँथ्यो । उसले खाना बनाउन पनि सिकायो । मुर्गमुसल्लम इत्यादि बिभिन्न प्रकारका खानाहरू उ बनाइरहन्थ्यो ।

एकदिन म डाक्टरलाइ देखाउन गएको थिएँ । साधारण किसिमको सिकायत थियो । तर डाक्टरले मलाइ रोजै एउटा कुखुरा,स्याउ,फलफुल,दुध दुइ पाउण्ड इत्यादि दिनुपर्छ भनेर लेखिदियो । म एक्लै सबै खान सक्दिनथेँ । एकपटक ९ अगस्टको कुरा हो । गान्धीजीले भारत छोडो आन्दोलन शुरू गरेको दिवस थियो । त्यस दिवसलाइ मनाउन कुनै न कुनै प्रकारको बिशेष काम हुनुपर्छ भनेर सबैले झण्डा लगाउने निश्चय भएको थियो । म पहिले निस्केँ,नुहाइ-धुवाइ तैयार भै झण्डा लगाएर यो नगर है नगर भनेर त्यहाँका अरू कैदीहरूलाइ भनिरहेको थिएँ । त्यहिबेलामा जेलको अँग्रेज क्लर्क निरिक्षण गर्दै मनेर आइपुग्यो । ममात्र झण्डा लगाएर बसेको थिएँ । अरूले लगाएका रहेनछन । मलाइ देखेर उसले सोध्यो-कस्तो हुनुहुन्छ ? तपाइँको स्वास्थ्य कस्तो छ ? तर अचानक उसको आँखा मैले लगाइरहेको झण्डामाथी परेपछि सोध्यो-"जेलर कुनै राजनीतिक चिन्ह लगाउने अनुमति कुनै कैदीलाइ हुनसक्छ ?" उसले भन्यो-"हुँदैन सर ।" उसले मलाइ भन्यो-"कोइरालाजी तपाइँले यो हटाउनु पर्छ ।" मैले भनेँ-"हुँदैन म यो हटाउँदिन ।" अनि उसले भन्यो-"त्यसो भए तपाइँ दण्डीत हुनुहुनेछ ।" मैले भनेँ "म दण्डीत हुन तयार छु तर यो हटाउँदिन ।" त्यतिबेला सम्म भीड लागिसकेको थियो । मेरा थुप्रै अनुयायीहरू थिए । नवयुवकहरू जति सबै मेरो अनुशरण गर्दथे । ती सबै जम्मा भैसकेका थए । उसले जेलरलाइ भन्यो-"जेलर उहाँलाइ एकान्त काराबासमा राख ।" मलाइ त्यति मायाँ गर्ने मानिसले अचानक त्यति कठोर आदेश दिइरहेको थियो । मलाइ लैजान खोज्दा जेलका सारा युवा कैदीहरू हल्ला गर्न थाले । हामीलाइ पनि लैजाउ हामी पनि जान्छौँ । त्यसपछि त्यो निरिक्षण गर्दै श्रीकृष्ण सिँहकहाँ पुगेछ । उनले सोधेछन्-"यो हल्ला के कुराको हो ?" अनि त्यस अँग्रेजले उनलाइ सबै कुरा बताएछ । कोइरालाले यो-यो गरे भनेर । श्रीकृष्ण सिँहले भनेछन्-"तर तपाइँ यो त अनावस्यक समस्या खडा गर्दै हुनुहुन्छ ।" "तर एउटा कैदीलाइ जेलको अनुशासन भँग गर्न म दिन्न"- भनेर उसले भनेछ । उनले फेरी भनेछन्-"तर यसबाट त एउटा अनावस्यक समस्या मात्र उत्पन्न हुन्छ ।"

उनिहरूको बीचमा के-के कुरा भयो तर जेलभित्र एउटा ठूलो हँगामा भयो । हँगामा भैसके पछि मलाइ लग्न त लगेन तर राती खाना खाइसके पछि मलाइ कोठामा ताल्चा लगाएर बन्द गरिदिए । मेरो छुट्टै कोठा भएकोले म खूब पढ्थेँ । मलाइ त्यसरि थुनेकोमा भयानक प्रतिकृया भयो । मलाइ थुनेकोमा रोष त थिँदै थियो,भोलीपल्ट ढोका खोल्नासथ एकदम हूल गर्दै सबै आए । पगडी भन्ने घण्टी बजाउँदा जेल बाहिरको फोर्स भित्र आउनुपर्ने रहेछ । सशस्त्र प्रहरी भित्र प्रवेश ग-यो र पुलिसले भित्र जम्मा भएको भीडमाथी लाठीचार्ज शुरू ग-यो । लाठीचार्ज हुन लाग्ना साथ फेटा बाँधो-फेटा बाँधो भनेर सबै कराउन थाले । सारा मानिसहरू धोतीको फेटा बाँध्दै जम्मा हुन थाले । त्यस भीडलाइ शान्त गर्न जेल अधिकारीहरूलाइ निकै गाह्रो परेको थियो । त्यो एउटा रमाइलो घटना म सम्झन्छु ।

मेरो घाँटीको समस्या पनि त्यसैबेला देखि शुरू भयो । मेरो अपरेशन भयो,टटा इन्स्टीच्युट अफ क्यान्सरमा,पछि म छुटेपछि ।
 
मलाइ बृटिशहरूसँगको अनुभव बडो राम्रो छ । जेलमा पनि बसेको छु । मेरा साथीहरू अहिलेको भारतीय जेलमा पनि बसेका छन् । चक्र र सुशीलहरू नै पनि बसेका छन् । मेरो आफ्नो अनुभव के छ भने बृटिशहरू  अफिसर भएको जेलमा भने  उनिहरू ज्यादा न्यायोचित हुन्थे । कठोर पनि हुन्थे तर न्यायोचित हुन्थे । जस्तो त्यस क्लर्कसँगको झगडाकै मलाइ अनुभव छ । जेलमा बस्दा मेरो स्वास्थ्य सप्रेको थियो । हामीलाइ कुनै किसिमको अभाव हुन दिएको थिएन । किताबहरू हेर्न दिएको थियो । मसँग भएको स्ट्रेचीको थ्योरी एण्ड प्राक्टीस अफ सोसलिज्म उसले हेर्छु भनेर मसँग लिएको थियो । त्यस बखतमा महिनाको एक दिन जेल भित्रै बजारको व्यवस्था थियो,बाहिरका दोकानहरु जेलभित्र साबून,टूथपेष्ट इत्यादि सामानहरू बिक्रि गर्न ल्याइन्थे । हामी आफ्नो आवस्यकताका सामानहरू किन्न पाउँथ्यौँ ।

त्यहाँका हाम्रा साथीहरू थिए – युगलप्रसाद शर्मा,जगजीवन राम,सत्यनारायण सिन्हा,रामवृक्ष बेनीपूरीहरू । एक पटक रामवृक्ष बेनीपुरीसँग मेरो एउटा घटना घटेको थियो । त्यसमा मेरै दोष थियो । मैले नुहाउनको लागि पानी तताउन बसाएको थिएँ । चुल्हो मेरो थियो । अरूको त साझा चुल्हो थियो । मेरो अलग्गै थियो । रामवृक्ष बेनिपुरीले मैले तताउन बसाएको पानी झिकेर आफ्नो पानी तताउन बसाएछन् । मैले एकछिन पछि आएर हेर्दा त मेरो पानीको भाँडो चुल्होमा थिएन । मैले पत्ता लगाउँदा त्यो पानी रामवृक्ष बेनिपुरीले तताउन बसाएका रहेछन्,मेरो भाँडो झिकेर । मलाइ रीस उठिहाल्यो र लात्तीले हानेर उनले तताएको भाँडो हुत्याइदिएँ । त्यसमा बेनिपुरी पनि रिसाए । यसै भनेको भए पनि हुन्थ्यो,लात्तीले किन हुत्याएको भनेर उनि रिसाए । त्यसले एउटा उत्तेजना सिर्जना ग-यो । मैले जे भन्यो मान्ने र मारपीट पनि गर्ने तैयार हुने खालका युवकहरू थिए । तर एकजना पुनम बाबुले मेलमिलाप गर्नुपर्छ भनेर दबाव दिए । उनले भने- "तिमी त बिदेशी होउ । यहाँको राजनीतिमा तिमीलाइ साथमा लिएर त हुँदैन,रामवृक्ष बेनिपुरीको त यहाँ महत्व छ ।" उनले हामी दुवैजनालाइ सम्झाएर मेलमिलाप गराए । पछि रामवृक्ष बेनिपुरी मकहाँ आए-"क्योँ कोइराला,इस तरह से नाराज क्योँ हो गए ?" हामी दुवैजनाको सम्बन्ध फेरि जस्ताको तस्तै भयो । तर त्यस्ता किसिमका उत्तेजनाहरू त्यहाँ उत्पन्न भैरहन्थे । नत्रभने सामान्यतः त्यहाँ हामीहरू बढी खुशी थियौँ ।

अनि सन् १९४५ मा जुन दिन म जेलबाट छुटेँ,पिताजीको पनि त्यहि दिन देहान्त भयो । पिताजीको चिठी मैले जेलमा पाएको थिएँ । म छुट्छु भन्ने खवर पिताजीले पाइसकेपछि म छुटेकै दिन उहाँको देहान्त भयो । मलाइ छाडेको थियो पटनामा स्थानबद्ध गरेर । म कालीबाबुकहाँ आएर बसेँ – सिधै स्टेशनबाट ओर्लेर । ठूलदाजुले गिरिजालाइ पठाउनुभएको थियो मलाइ भेट्न । गिरिजा त्यसबेला बनारस राजघाटमा एनी वेसेन्ट कलेजमा पढ्थ्यो ।

हामीलाइ बडो परेशानी थियो बस्नलाइ-कालीबाबुकहाँ बस्नु परेको थियो । देवेन्द्रलाइ आगरामा स्थानबद्ध गरेको थियो । पछि देवेन्द्रले घुमाइ-फिराइ आफ्नो स्थानबद्धता पटनामा सा-यो ।

द्वित्तिय महायुद्ध सकिन लाग्दा मलाइ कम्युनिष्टहरूले निकै कोसिस गरेका थिए आफ्नो साथमा लिनको लागि । त्यहिँ,म जेलमा छँदाखेरि दुइवटा किताब छापेको थियो,बडो दार्शनिक किसिमको । एउटा दातावालाले लेखेको थियो-सोसलिज्म रिकन्सिडर्ड ( Socialism Rconcidered) र अर्को थियो मिनु मसानीले लेखेको गान्धीज्म रिडिस्कभर्ड (Gandhism Rediscovered)ती किताबहरूले मलाइ बडो प्रभावित गरे । ती किताबहरू मैले फेरि पढ्न पाए हुन्थ्यो भन्ने म ठान्दछु । ती किताबहरूले मेरो बिचारमा ठूलो परिवर्तन ल्याए । कसरि गान्धी एउटा क्रान्तिकारी हुन् र भारतको सन्दर्भमा प्रगतिशील समाजबाद गान्धीले कसरि दिएका छन् भन्ने ती किताबहरूमा सिद्ध गर्ने प्रयत्न भएको छ । गान्धीलाइ पुरानो धारणाबाट नहेरेर,मार्क्सबादी बिचारप्रणालीको आधारमा अध्ययन गरिएको छ । समानान्तर रूपमा समाजबादको धारणा काम नलाग्ने भैसकेको छ,त्यसमा स्वतन्त्रताको अपहरण हुन्छ भन्ने कुरा मिनु मसानीले राम्रोसँग देखाएका छन् ।

कम्युनिष्टहरू मलाइ सञ्चालित गर्न खोज्दैथिए,आइरहन्थे रोजरोजै बिहान बेलुका म बसेको ठाउँमा । मनमोहन अधिकारी थुनिएका थिए,तिनी छुटे । तिनलाइ पनि मनेर पठाए । त्यस बखतमा एउटा किताब थियो-मार्क्स क्रिसम्यानको । मैले मनमोहनलाइ त्यो पढ्न दिएँ । युगोस्लाभियाको कुरा चल्थ्यो । त्यसबखत सम्म म पक्का कम्युनिष्ट बिरोधी भैसकेको थिएँ । पहिले देखि नै मेरो मनमा कम्युनिष्टहरूको बिरोधको भावना जमीसकेको थियो । महायुद्धको जमानामा यिनीहरूले बृटिशहरूलाइ साथ दिएका थिए । त्यस युद्धलाइ पहिले यिनीहरूले साम्राज्यबादी युद्ध भनेका थिए-हिटलर र स्टालीनको मेल भए पछि । त्यस पछि हिटलरले रूसमाथि आक्रमण गरेपछि "पिपुल्स वार" भने । म त्यस विषयमा उनिहरूको कटु आलोचक थिएँ । त्यसो हुनाले,मसँग आजित भएर मेरो बिरोध गर्न थाले,मलाइ गाली गर्न थाले ।

यसै बीचमा मेरो स्वस्थ्य बिग्रँदै गयो,जति इलाज गरे पनि असर नगर्ने । रगत वान्ता गर्न थालेँ । अखिल भारतीय काँग्रेस कमिटीको मिटिँग सन् १९४५ को अक्टुबर तिर बम्बैमा हुन थालेको थियो र राजेन्द्रबाबु काँग्रेस दलको अद्यक्ष थिए । उनले मलाइ लिएर गए । उनि जहाँ बसे,मलाइ पनि त्यहिँ राखे । डाक्टरहरूलाइ चिठी लेखिदिएका थिए । त्यसपछि मलाइ टाटा मेमोरियल हस्पिटलमा भर्ति गराइदिए । बेलायतमा नाइट भैसकेको एकजना डाक्टर थिए डँकन भन्ने,तिनलाइ चिठी लेखिदिए । त्यहाँ मेरो अप्रेसन भयो । म बम्बैमा शायद छ महिना जति बसेँ । आफ्नो चिकित्साको सिलसिलामा ।

१०
सन् १९४६ मा हिन्दुस्तान स्वतन्त्र हुने तर्खरमा थियो । तर कस्तो किसिमको स्वतन्त्रता भन्ने बडो ठूलो बहस चलेको थियो । हिन्दुस्तानको बिभाजन भएर स्वतन्त्र हुने कि अबिभाजित रहेर स्वतन्त्र हुने भन्ने बहसको मूल प्रश्न थियो । तिनताका बेलायतमा कन्जर्भेटीव दल चुनाव हारेर एटलीको लेबर दल शासनमा आएको थियो । बेलायतको त्यति सामर्थ्य थिएन,साम्राज्यलाइ कायम राख्ने । हिन्दुस्तानमा दुइटा भावना थियो-एउटा गान्धीजीको भावना,जसलाइ समाजबादीहरू पूरा समर्थन गर्दथे र अर्को अफिसियल काँग्रेसको भावना । गान्धीको बिचारमा बिभाजित भारतलाइ हामीले स्वीकार गर्नु हुन्न,बरू जिन्नाकै कुरा मानेर जिन्नालाइ नै अधिकार सुम्पिए पनि हुन्छ तर बिभाजित भारत मान्न हुँदैन भन्ने थियो । सोसलिष्टहरूको के धारणा थियो भने यी अँग्रेजहरू यो एउटा चाल गरिरहेका हुन । १९४६ मा सरकारमा आउने कुरा भैरहेको छ त्यसबेला यस्ता धारणाहरू थिए । म त सोसलिष्ट जमातमा थिएँ र गान्धीको लाइनलाइ समर्थन गर्थेँ ।

त्यहि बखतमा द्वित्तिय महायुद्ध पनि सकियो । एउटा नयाँ वातावरण हाम्रो भूभागमा आयो । धेरै नेपालीहरू १९४२ को आन्दोलनको सन्दर्भमा समातिएका थिए-ब्रिटश भारतमा । जस्तो दार्जिलिँगमा धरणीधर शर्मा,सुर्य विक्रम ज्ञवाली र अरू कतिपय मानिसहरू । बनारसमा पनि धेरै नेपालीहरू समातिएका थिए । सुर्य प्रसाद उपाध्यय,डिल्ली रमण रेग्मी र म भएँ-यसै प्रकारका धेरै मानिसहरू समातिएका थिए । जुध्द समशेरको बारेमा सबैलाइ थाहा थियो,उनि जिद्दि र कठोर शासक थिए,जो नयाँ परिस्थिति बिकाश भएको छ,त्यसलाइ नबुझ्ने । पद्म समशेर अलि नरम किसिमका मानिस थिए । पहिले पनि उनका कुराहरू अलि उदार नीति  हुनुपर्छ भन्ने थिए । मलाइ खुशी पनि लागेको थियो उनि प्रधानमन्त्री भएपछि । मैले उनि प्रधानमन्त्री भएपछि उनलाइ चिठी पनि लेखेको थिएँ कि अब तपाइँले अधिकार पाउनु भयो,अव प्रजातन्त्र दिन पनि थाल्नु पर्छ,जनताको राजनीति थाल्नु पर्छ । त्यसबखत,क्यान्सरको इलाजको लागि म बम्बै बसेकै बेलाका यी कुराहरू हुन् । त्यसपछि,म बम्बैबाट फर्केर पटना आएपछि मलाइ लाग्यो,ब्रिटिशहरू जाने तरखरमा त छन् तर कुन  अवस्थामा जान्छन,कसरि जान्छन्,के-के हुन्छ भन्ने कुरा यकिन भएको थिएन । शायद एउटा अर्को सँघर्ष गर्नु परोस्,भन्ने पनि धारणा थियो,त्यो गान्धीको बिचार र गान्धीकै नेतृत्वमै हुन सक्ने सँभावना पनि देखिन्थ्यो ।

त्यहि बखतमा मैले ४ अक्टोबर १९४६ मा एउटा बक्तब्य दिएँ र के भनेँ भने नेपालमा द्वित्तिय महायुद्ध पछि नयाँ परिवर्तन स्वतन्त्रताको लागि आएको छ,त्यसलाइ,त्यस अवसरलाइ हथ्याउनको निम्ति ब्यापक आधारमा नेपालीहरूको एउटा प्रजातान्त्रीक सँगठन बन्नु पर्दछ । ज-जसको यस्तो बिचार छ मसँग सम्पर्क राख्नु भनेर मैल त्यस बक्तब्यमा भनेको थिएँ । त्यसको बडो राम्रो प्रतिकृया भएको थियो । सर्चलाइटमा त्यो छापिएको थियो सम्पादकको चिठीको रूपमा र अरू पनि एक-दुइ वटा अखवारहरूमा अलिकति छापिएको थियो । मेरा सोसलिष्ट साथीहरू थिए-जयप्रकाश नारायण,राम मनोहर लोहिया इत्यादि । यिनीहरूसँग एक-दुइ वटा कुरामा मैले छलफल पनि गरेको थिएँ । मलाइ के लाग्दथ्यो भने हाम्रो प्रजातान्त्रीक आन्दोलन,जो हामीले आरम्भ गर्न खोजेका थियौँ,त्यसमा भारतीय काँग्रेस कमिटीको,सोसलिष्ट नेताहरूको सहानुभूति छ किनभने गान्धीको मातहतमा जो आन्दोलन चलेको थियो भारतमा,त्यसको एउटा अन्तरराष्ट्रिय पक्ष पनि थियो,जसमा जहाँकहिँ पनि जनताको स्वतन्त्रताको आन्दोलन हुन्छ,त्यहाँ तिनिहरूको सहानुभूति हुन्छ । त्यसो हुनाले मलाइ लागेको थियो,उनिहरूको सहानुभूति हामीलाइ प्राप्त हुन्छ र मेरो उनिहरूसँग ब्यापक चिनजान पनि थियो । मेरो त्यस आह्वानको ब्यापक प्रतिउत्तर मैले पाएँ । मलाइ चिठीहरू आए,मलाइ मान्छेहरू भेट्न भनि आए र नेपालबाट लुकी-लुकीकन पनि आए ।

त्यपछि मैले भन्ठानेँ यसलाइ अब सँगठनात्मक स्वरूप दिनु प-यो । त्यसको लागि म बनारस आएँ । बनारसमा मैले कृष्णप्रसाद भट्टराइ,गोपाल प्रसाद भट्टराइलाइ भेटेँ । गोपाल प्रसाद भट्टराइले काशी बिद्यापीठबाट पत्रकारिताको अध्ययन पूरा गरेका थिए र उनि बडो खद्दरधारी पनि थिए,उनले बडो उत्साह देखाए । एकजना अर्का ब्यक्ति बालचन्द्र शर्मालाइ पनि भेटेँ । उनलाइ राजनीतिसँग वास्ता थिएन । भर्खर-भर्खर एम.ए. पास गरेका थिए र सर्भिस खोजिरहेका थिए । मैले तिनीसँग पनि कुरा गरेँ । दार्जिलिँगमा हिन्दू-मुश्लिम दँगा भएको थियो त्यसबेला,त्यहाँका मारवाडीहरू र अरू ब्यापारिक समुदायले नेपालीहरूले सँरक्षण दिन सक्छन्,सुरक्षा प्रदान गर्न सक्छन् भनिकन नेपालीहरूको एउटा जमात बनाउन सहायता गरेका थिए । एउटा ठूलो घर पनि लिएका थिए तिनिहरूले,उनिहरूको अफिसमा दुइवटा टेलिफोनहरू थिए,पूरा साधन सम्पन्न थिए । तिनिहरूले मलाइ चिठी लेखे एकचोटी आउनुस,हामीहरू तपाइँलाइ पनि मद्दत गर्छौँ भनेर । त्यसमा डी.एन.प्रधान थिए त्यसको सेक्रेटरी । रूद्र गिरी कलकत्तामा बस्दथे,उनको काकाको कलकत्तामा भएको ब्यापारको प्रतिनीधि भएर । तिनीसँग अलिकति पैसा हुने गर्दथ्यो । एम.डी.परियार भन्ने थिए एकजना । यि सबै थिए मेरा सम्पर्कमा आएका तर अधिकाँश मानिसहरू दार्जिलिँगकै थिए । महावीर सम्सेरका साला एकजना र रूद्र गिरी नेपालका थिए । 

अनि त्यसै बखत मेरो सम्पर्क भयो महावीर सम्सेरसँग । महावीर सम्सेरको सालाले भने कि जनरल महावीर सम्सेर मलाइ भेट्न खोज्दैछन् । महाविर सम्सेर बडो उटपटाँग किसिमका मानिस थिए । जब बृटीशहरू हट्न थाले भारतबाट,बृटिश सरकारलाइ उनले भनेका थिए-मलाइ बर्मा,आराकान तिरको एउटा टापु देउ म त्यहाँको राजा बन्छु । पैसा पनि उनिसँग यथेष्ट थियो । उनलाइ अलिकति सँगीतमा अभिरूचि थियो । भायोलिन सिक्थे । बडो  शानसँग बसेका थिए । तिनमा सम्पत्तिको ठुलो अहँकार थियो । कलकत्ताको हुमायुँ प्लेस भन्ने सिनेमा हल उनकै थियो । अर्को चाखलाग्दो कुरा के थियो भने उनि जुन घरमा बसेका थिए,त्यो वारेन हेस्टिँग्स बसेको घर थियो, हेस्टिँग्स रोडमा,जुन घरमा वारेन हेस्टिँग्स बस्दथ्यो त्यहि घर उनले लिएका थिए । म गएँ तिनिसँग भेट्नलाइ । उनि त एकदम शाही ठाँटले बसेका थिए । मलाइ धेरै बेर पर्खाइ सकेपछि उनको सालाले माथि खवर लेखेर पठाएछन-Your Excellency, B.P. Koirala is seeking an audience with You .

उनले त्यो कुरा मलाइ नदेखाएर लेखेका थिए जो पछि उनले मलाइ भने । महावीर सम्सेरले मलाइ माथि बोलाए । बोलाएर मलाइ के भने-तपाइँलाइ पैसाको जरूरत पर्छ म पैसाको इन्तजाम गर्छु,दिन्छु । मेरा एउटा भाइ छन् सुवर्ण सम्सेर । हामीहरू दुइजनाको सल्लाह के छ भने जति खर्च गर्दछु, जति दिन्छु, उनले पनि त्यत्तिकै दिने । त्यसो हुनाले तपाइँ आफ्नो काम गर्नुस् ।

त्यस बखतमा यही सब कुरा चलिरहेका थिए । एउटा कमिटी बनेको थियो कलकत्तामा र एउटा कमिटी बनेको थियो बनारसमा । बनारस कमिटी एकदम फाकामस्तिमा भएका मानिसहरुको थियो । पैसा बिनानै चलेको थियो । त्यसबेला सम्म देवी प्रसाद सापकोटा बाँचेकै थिए । उनि पिताजीका समकालिन थिए । हामीले भन्ठान्यौँ,त्यसको सभापति देवी प्रसाद सापकोटालाइ बनाउँ । सेक्रेटरी शायद गोपाल प्रसाद भट्टराइलाइ बनाउने बिचार भएको थियो । त्यो एउटा पार्टी बनाउनै तैयारी गर्नको लागि बनाउने कमिटी जस्तो हुने थियो ।

मेरो त्यसबखत जयप्रकाश नारायणसँग राजनैतिक भन्दा पनि घनिष्ट सम्बन्ध थियो कलकत्ता जाँदा जुन ठाउँमा बस्दथेँ,जयप्रकाशजी पनि त्यहिँ बस्दथे त्यहाँ मार्बल हाउस भन्ने थियो,मारबाडीको हामी प्राय त्यहिँ बस्दथ्यौँ । अर्को मेरा साथि थिए राममनोहर लोहिया । त्यस बखत उनि बडो लोकप्रिय थिए । गान्धीजीसँग बडो नजिक थिए । उनको असाध्यै ख्याति थियो । मैले सोचेँ-उनको सहयोग लिँदा हाम्रो आन्दोलनको प्रचार पनि हुन्छ,हामीलाइ एउटा ढाल जस्तो पनि हुन्छ । उनले भने-म मद्दत गर्छु ।

जयप्रकाशजीसँग त्यस विषयमा कुरा भयो । उनले भने-ठीक है । जयप्रकाशजी त उति धेरै वचन दिँदैनथे । लोहियाको एकदम सहयोगी व्यवहार हुन्थ्यो । जस्तो-चलो,विश्वेश्वर,कफि पिने चलेँ-भनेर कहिलेकाहिँ राती ९ बजे लिएर बाहिर हिँडथे बाह्र बजेसम्म,दुकान बन्द हुन लाग्दासम्म । अनेक किसिमका गफसफ गरेर बस्थे । सुत्न फेरी बिहान अबेलासम्म सुत्तथे । उनलाइ सुत्न कुनै छुट्टै कोठा पनि नचाहिने । मारबाडीहरूको गद्दिजस्तो ठूलो गद्दि हुन्थ्यो त्यसैमा सुत्दथे । धेरै किताबहरू पढेको देखिदैनथ्यो । तर पत्र-पत्रिकाहरू खूब पढदथे । धेरै गम्भीर खालका किताबहरू तिनले पढेको म देख्दिनथेँ । त्यस बखतमा तिनी सोसलिष्ट पार्टीको बिदेश सचिव थिए । उनको पृष्ठभूमी के थियो भने जब उनि जर्मनिबाट आएका थिए,जवाहरलाल नेहरूले उनलाइ आफ्नो साथमा लिएर काँग्रेस पार्टीको बिदेश बिभाग हेर्न दिएका थिए । सोसलिष्ट पार्टी बनेपछि उनि त्यसको शीर्षस्थ नेता पनि भए र बिदेश बिभागको सचिव पनि भए । उनले मलाइ हरेक किसिमको मद्दत गरेका थिए ।

अब पार्टी बनाउने कुरा चलेपछि सम्मेलन कहाँ गर्ने भन्ने कुरा उठ्यो । कलकत्तावालाहरूले भने-सम्मेलनको खर्च हामी बेहोर्छौँ,त्यसो हुनाले त्यो कलकत्तामा नै हुनुपर्छ । म सम्मेलन बनारसमा नै गर्न चाहान्थेँ । तर बनारसवालाहरूले खर्च बेहोर्न सक्तैनथे । र समर्थ पनि थिएनन् । अन्त्यमा सम्मेलन कलकत्तामै गर्ने निश्चय भयो ।

केहि ब्यक्तिहरूको सम्वन्धमा ,म यसै प्रसँगमा भनि हालूँ,ब्यक्तिगत स्पर्शका कुराहरू छन्,जस्तै बालचन्द्र शर्मा । पछि तिनको कस्तो विकृत मनोवृत्ति भयो । जब मैले पहिलोपल्ट उनलाइ भेटेँ,उनलाइ राजनीतिमा पटक्क अभिरूची थिएन । उनका दाजु र भाउजु थिए उनका साथमा । त्यहि बखतमा उनले एउटा नियुक्ति पाए । उनको एउटा सहपाठी अल्युमिनियम फ्याक्ट्रीको मालिक रहेछ । त्यसको इलेक्ट्रोनिक सेक्टरको लागि एउटा म्यानेजर चाहिएको रहेछ । मैले तिनिसँग अघिल्लो दिनको साँझमा कुरा गरेको थिएँ । मेरो कुरा सुनेपछि उनलाइ बडो दुविधा जस्तो भएछ । उनले भने-दुइ-चार दिनको समय दिनुस् । उनले नियुक्ति लिए,अफिस सजाए,फर्निचरहरू किन्न लगाए र काम शुरू गरे । अनि तीन-चार दिन पछि उनले भने-म भोली तपाइँलाइ जवाफ दिन्छु,मेरो अफसमा तपाइँ आउनुस् ।

मलाइ उनको अफिस कहाँ थियो भन्ने थाहा थियो । म गएँ । उनको एउटा सेक्रेटरी पनि थियो र उनि बाजाफ्ता अफिसमा बसिरहेका थिए । उनले भने-मैले तपाइँको कुरा राम्ररीसँग सोचेँ । यसरि नोकरी गर्नु भन्दा त देशको लागि केहि गर्नु पर्छ भन्ने लाग्यो ।

अनि त्यस पछि उनि अत्यन्त निष्ठाका साथ राजनीतिमा लागे । किशुनजी त त्यति होइन तर गोपालजी फेरी अर्को कर्मठ किसिमको मानिस थिए । किशुनजी एम.ए.मा पढ्नु हुन्थ्यो । उहाँले भन्नुभयो-म पनि पढाइ छोड्छु,म पनि तपाइँको साथमा काम गर्छु । बटुक प्रसाद उपाध्यायको अभिरूचि रहेछ अखवार निकाल्ने,उहाँ युगावाणी निकाल्ने काम थाल्नु भयो । 

 
११
गणेशमानजीको सम्वन्धमा पनि बडो रोचक अनुभव छ । उहाँ जेलबाट भागेर जानु भएको थियो,उहाँ त एउटा रोमाण्टिक ब्यक्तित्व भैसक्नु भएको थियो । भागेर गएकोले-बृटिश शासन भएकोले भारतमा पनि उहाँलाइ समात्ला भन्ने थियो । त्यसो हुनाले लुकेर बस्नुहुन्थ्यो । उहाँ नीलो पाइण्ट,नीलो जर्किन र दुबैतिर पकेटहरूमा कागजपत्र,अखवारहरू र एकदम जिँग्रिँग परेको कपाल लिएर साइकलमा बेतहाशा हिँडनु हुन्थ्यो । उ, गणेशमानजी भन्ने मात्रै देखिन्थ्यो,एक ठाउँबाट अर्को ठाउँमा भौँतारिइ रहनुहुन्थ्यो । उहाँ कलकत्ता र बनारसको बीचमा यात्रा गरिरहनुहुन्थ्यो । मलाइ लाग्छ अरू केहि त्यस्तो महत्वपूर्ण काम गर्न सक्नुभएको थिएन । म्रैले इच्छा गरेँ भेट्नु प-यो गणेशमानजीसँग । बनारसको ठठेरीबजारमा एउटा नेवार ब्यापारी थिए देवशँकरलाल । अहिले यहाँ मीरा होममा काम गरेर अलग बसेका छन उनि । तिनले हामीलाइ खूब मद्दत गरेका थिए । तिनकहाँ आउनुहुन्थ्यो गणेशमानजी । मैले उनलाइ भनेँ-मलाइ एकपटक भेटाउ गणेशमानजीसँग ।

हामीलाइ पैसाको त्यसताक बडो सँकट थियो । मैले कलकत्ता जानु पर्थ्यो पैसा उठाउनको लागि । पटनाबाट बनारस आउँदा देवेन्द्रसँग पैसा लिनु पर्थ्यो,बनारसबाट पटना वा कलकत्ता जानु पर्दा पैसा हुँदैनथ्यो । गोपालजीका दाजुहरू,बटुकजी-नारायणजीहरूले चाँदीमा फाटका गरेर एकपटक खूब कमाएका थिए । जाँदा के देख्दछु भने घरमा कार्पेट छ,फर्निचर छ,भाइलाइ पढाउन भनेर बैँकमा ६ हजार रूपैयाँ राखिदिएको छ । खानपीन राम्रो छ,मलाइ चाँदीको थालमा खुवाएका थिए । म पनि छक्क परेँ-यो सब कसरी भयो ? अनि उनिहरूले भने-हामीले चाँदीको फाटकाबाट अलिकति पैसा कमायौँ । तर त्यसको केहि दिनपछि जान्छु त सब बिकिरहेको छ,खर्च कम हुँदै गएको छ । फेरि जस्ताको तस्तै भैरहेको छ । त्यो पनि मलाइ बडो रमाइलो लाग्थ्यो । जाँदा मलाइ बडो माया गर्दथे उनिहरू । चियासम्म मगाउनलाइ पनि आपस्तमा कानेखूशी गर्दथे- क्या तुम्हारे पास पैसा है ? कोइरालाजी आय हैँ तो अच्छी चाय पिलाना चाहिए । म त्यो सुनिराख्दथेँ,दुलहीलाइ भनेको र दुलहिले पनि अलि खासखूस कुरा गरेको । पैसा भयो भने सारालाइ बोलाएको छ,सबै थोक खुवाएको छ । छैन पैसा भने फाँकामस्ति पनि गरेको छ । फेरि त्यस्तो परेको कुनै किसिमको दुःख दर्द र तकलिफ पनि छैन । त्यो चरित्र मलाइ निकै मन परेको छ उनिहरूको ।

मैले गणेशमानजीसँग भेट्ने इच्छा त गरेँ तर त्यसले गर्दा देव शँकरलाललाइ बडो हाँसो उठ्दो समस्या परेको थियो । गणेशमानजीले कहाँ भेट्ने ? बीपीले उनिकहाँ जानु भएन किनभने त्यसमा बीपीको दर्जाको बिचार राख्नु पर्ने,गणेशमानजीले बिपीकहाँ भेट्न आउनु भएन,गणेशमानजीको पनि दर्जाको बिचार गर्नु पर्ने । त्यहि उधेडबुनमा उनले तीन-चार महिना बिताइदिए । कहाँ भेट्ने ? मलाइ झोँक चल्यो,मैले भनेँ-यसमा दर्जाको के कुरा छ, म तिमिकहाँ आउँछु त्यहिँ भेट्न सक्छु । गणेशमानजीलाइ लाग्दो रहेछ-म किन बीपीकहाँ जाउँ ? उनि नै म कहाँ आउनु पर्छ । अनि मैले देव शँकरलाललाइ भनेँ-यी सबै फजुलका कुरा छोड,मलाइ गणेशमानजीसँग भेटाउ ।

त्यसपछि गणेशमानजी कलकत्ता गएको बेलामा र म पनि कलकत्ता भएको बेलामा एउटा होटलमा एकै पटक दुबैजना पस्ने भनेर उनले प्लान गरेछन् । तर मलाइ भेट्ने भनेर गणेशमानजी कलकत्ता जान पनि नहुने । चित्तपुर रोडमा एउटा नेवार ब्यापारीकहाँ गणेशमानजी बस्नु हुन्थ्यो र म मार्बल हाउसमा गएर बसेको थिएँ । उनले चित्तपूररोडको एउटा पञ्जाबी रेष्टुराँमा बेलुका ४ बजे चिया खानको लागि बोलाएका थिए । र मलाइ ठीक ४ बजे पुग्न भनेका थिए । गणेशमानजीलाइ पनि त्यसैगरि ठीक ४ बजे पुग्न भनेका रहेछन् । म अल्लि चाँडै पुगेँ,५-१० मिनेट चाँडै । उनलाइ अप्ठ्यारो प-यो-तपाइँ पहिले आइदिनु भयो,गणेशमानजी अझ आइपुग्नु भएको छैन । गणेशमानजी नजिकैमा हुनुहुँदो रहेछ,४ नबजुञ्जेल ओहोर-दोहोर गरिरहनुभएको रहेछ । उहाँ आउनु भयो अनि कुराकानी भयो । गणेशमानजीमा त्यसको कत्रो प्रभाव प-यो भने उहाँ अझै पनि त्यो कुरा सुनाउनुहुन्छ । उहाँ अलिकति सचेत हुनुहुन्थ्यो आफ्नो मानको,म त्यो पनि थिइन । उहाँलाइ मेरो बारेमा के-के लागिरहेको थियो,मैले भेटेपछि उहाँमा मेरो व्यवहारको ठूलो असर परेछ । म बडो साधारण किसिमबाट कुरा गरिरहेको थिएँ । उहाँले आफ्ना कुराहरू राख्नु भयो । मैले आफ्ना कुराहरू सुनाएँ । गणेशमानजी मेरा कुराहरूबाट निकै प्रभावित हुनुभएछ । उहाँ भन्नुहुन्छ-तपाइँले त्यस किसिमबाट त्यस्तो व्यवहार गर्नु भयो नम्रताकासाथ,म त नतमस्तक भएँ । मलाइ त लाग्दथ्यो म ठूलो काम गरेर आएको म जान्नेँ ।

अनि मलाइ अर्को मान्छेलाइ ठीक गर्नु थियो,डिल्लीरमण रेग्मी,अर्का अप्ठेरा मानीस । उनका आन्द्रामा ट्युबरकुलर एडिक्सन भएको थियो । उनि बिरामी जस्तो भएर सारनाथमा बसेका थिए,मैले उनलाइ भेट्दा भन्न थाले-म त बिरामी छु अरू केहि गर्न सक्दिन । बरू मेरो ओखति गराउने इन्तजाम गरिदिनु प-यो कलकत्तामा । हुन्छ कलकत्तामा म इलाजको इन्तजाम गरिदिन्छु । राजेन्द्र बाबुसँग उनको पहिले पनि सम्पर्क रहेछ । त्यसबखतमा अन्तरिम सरकार काम गरिरहेको थियो भारतमा । डा.घोष बँगालका मूख्यमन्त्री थिए । डिल्लिरमणलाइ लिएर म राजेन्द्र बाबुकहाँ गएँ । राजेन्द्रबाबु त्यसबखत अन्तरिम सरकारमा खाद्यमन्त्री भएर बसेका थिए । जवाहरलालजी मन्त्रीपरिषदको उपाद्यक्ष थिए र माउण्ट बेटन अद्यक्ष थिए । राजेन्द्रबाबु सदाकत आश्रम पटनामा आएका थिए । म रेग्मीलाइ लिएर उनिकहाँ गएँ । मैले भनेँ-उहाँ बिरामी हुनुहुन्छ,कलकत्तामा उहाँको इलाजको व्यवस्था हुनुपरेको छ । डाक्टर राजेन्द्रबाबुले एकछिन उनिसँग अलग्ग कुरा गर्छु भनेर उनले अलग्गै कुरा गरे । पछि मैले थाहा पाएँ,राजेन्द्रबाबुले उनलाइ सोधेछन्-तिमीलाइ पैसाको जरूरत पर्छ ? उनले पैसाको जरूरत पर्छ भनेका रहेछन र त्यहि पैसाको कुरा गर्न अप्ठ्यारो पर्छ भनेर डा. राजेन्द्रबाबुले मेरो अघिल्तिर कुरा नगरेर उनिसँग एक्लै कुरा गरेका रहेछन । तर यी कुराहरू कुनै रेकर्डमा राख्न उचित हुन्छ कि हुन्न म भन्न सक्दिन । राजेन्द्र बाबुले पैसाको केहि इन्तजाम गरेछन् र एउटा चिठी लेखिदिए डा. विधान चन्द्र राय र बँगालको मूख्यमन्त्री डा.घोषलाइ । उनि त्यसपछि कलकत्ता गए र ओखति गराइवरि निको भएर आए ।

१२
अब हामीले राजनैतिक सम्मेलन गर्नु पर्ने भन्ने कुरा हुन थाल्यो । डा.राममनोहर लोहियालाइ प्रचारको प्रवीणता थियो । उनले मलाइ सुझाउ दिए-कस्तो किसिमको बक्तब्य हुनुपर्छ,प्रचार कस्तो हुनुपर्छ ? प्रेस बोलाउनु प-यो इत्यादि कुराहरू । कलकत्तामा सम्मेलन गर्ने कुरा निश्चित भयो । डा.लोहियाले भने-म पनि आउँला,मलाइ पनि आमन्त्रित गर्नु ।
मैले अरूहरूलाइ पनि भेटेको थिएँ,कुराहरू भएका थिए । त्यसबखत मैले जवाहरलालजीकी बहिनी विजयलक्ष्मी पण्डितलाइ पनि भेटेको थिएँ । उनि मन्त्री थीइन यू.पी.मा । उनिसँग पनि राम्रो कुरा भएको थियो । आचार्य नरेन्द्रदेव त भइहाले,जयप्रकाशजी पनि भइहाले,राममनोहर लोहिया इत्यादि सबैलाइ लेखेको थिएँ । शुभकामनाहरूको लागि र आउनको लागि ।
कलकत्तामा हामीले मिटिँग गर्दा अत्यन्त थोरै मानिस उपस्थित भए । नेपालबाट मानीसहरू त आए तर कन्फ्रेन्स हलमा आएनन् । को मान्छे के हो,को हो भनेर अलग्गै बसे । जस्तो महानन्द सापकोटा आएका थिए-उनि अलग्गै बसे । मुक्ति अधिकारी भन्ने पोखराका,उनि पनि आएका थिए,सप्तरीका पनि केहि मानिस आएका थिए तर कन्फ्रेन्समा आएनन्,उपस्थित भएनन् । हामी जो बाहिर देखिए चिनिएका थियौँ,ती मात्रै सम्मिलित भए सम्मेलनमा ।
सम्मेलन भयो र भइसके पछि संगठनको नाउँ राख्ने,रोज्ने,पदाधिकारीहरू निर्वाचित गर्ने सम्वन्धमा बहस हुन थाल्यो । पहिला झँझट त्यसैमा खडा भयो । मलाइ त्यसको अनुभव नै थिएन । डिल्लीरमण रेग्मीले अद्यक्ष आफु हुनुपर्छ भने । रेग्मीलाइ मेले आफ्नो एउटा साथीकहाँ राखेको थिएँ । म एउटा फुलको व्यापारीकहाँ बसेको थिएँ । गणेशमानजी देवशँकरकहाँ बस्नुभएको थियो । अरूहरू पनि सबै त्यसै किसिमले बसेका थियौँ । हामीहरू बसेर कसलाइ सभापनि बनाउने भनी छलफल गर्दा रेग्मीको नाउँ कसैले सिफारिश गरेन । उनले कुनै प्रभाव नै पारेनन् । एक त विरामी छु सञ्चो छैन भनिरहन्थे । नाम सिफारिश मेरो भयो स्वभावतः,किनभने म नै सबै दौडधुप गरिरहेको थिएँ । गणेशमानजीले दिनुभयो टँक प्रसादजीको नाउँ । मलाइ पनि लाग्यो,एउटा सद्भावनाको सँकेत पनि हुन्छ,जेलमा पनि छन्,बरू म कार्यवाहक अध्यक्ष भइदिउँला । तिनी नै अद्यक्ष बनुन् भनेँ मैले पनि र त्यहि बमोजिम भयो ।
अनि सेक्रटरीको कुरा आयो । सेक्रेटरीको लागि बालचन्द्रको नाउँ आयो र उनि नै भए । अब सँगठनको लागि पैसाको कुरा आयो । महावीर समशेरले म लोहियासँग भेट्छु भने । लोहिया एकजना मेनन भन्ने थिए,तिनकहाँ बसेका थिए । मैले हुन्छ भट्नुस भनेँ । महावीर सम्सेरले पच्चिस हजार रूपैयाँ लोहियालाइ दिए,हामीलाइ दिन भनेर । हामीलाइ सिधा नदिएर लोहियालाइ दिए । यो बडा ध्यान दिनुपर्ने कुरा थियो । तर त्यो पनि मलाइ कुनै चिन्ताको कुरा लागेन । शायद हामीसँग रहेको भए उट्पट्याँग कामहरूमा खर्च हुने थियो । मलाइ भारतीय नेताहरूसँग सम्पर्क बढाउनु थियो,त्यसो हुनाले त्यो गरेजस्तो लाग्छ ।
त्यसपछि सुवर्णजीले खवर पठाए-म बिपीसँग भेट्छु भनेर । म बस्दथेँ मार्बल हाउसमा । जयप्रकाशजीलाइ पनि भेट्छु भने । मैले भनेँ-हुन्छ म जयप्रकाशजीलाइ पनि बोलाइ राख्छु ।
जयप्रकाशजी आएक् थिए कलकत्ता । मैले उनलाइ पनि मार्बल हाउसमा बोलाएँ । सुवर्ण सम्सेर आफ्नो मोटरमा त्यस मार्वलहाउसमा आए । मलाइ याद छ,म माथिबाट हेरिरहेको थिएँ,उनी आफ्नो मोटरमा आएका थिए । तिनको मोटरलाइ एउटा ठेलागाडीको धक्का लागेको थियो,मोटरलाइ छेउमा पार्क गर्न लाग्दा । हामीहरूले बिभिन्न विषयहरूमा कुरा ग-यौँ । उनले पनि पचीस हजार रूपियाँको चेक दिए जयप्रकाशजीलाइ,यहि भनेर कि यो रपियाँ नेपाली काँग्रेसलाइ दिनू । मलाइ यो राम्रो लागेन । तर मैले के ठानेँ भने उनिहरू भारतका नेताहरूसँग राम्रो सम्वन्ध कायम होस भनेर त्यसो गर्दै थिए । अब भारत स्वतन्त्र हुन्छ भन्ने लागेर,त्यहि बिचारले उनिहरू ती भारतीय नेताहरूलाइ प्रभावित पार्दै थिए । तर यसो गरेर पनि हामीसँग पचासहजार रूपियाँ त भयो नि ।
त्यहि बखतमा एउटा एशियन सोसलिष्ट कन्फ्रेन्सको विचार आइराखेको थियो । धेरै सोसलिष्ट पार्टीहरू खडा भैसकेका थिए । बर्मामा सोसलिस्ट पार्टी सरकारमा थियो । सोसलिस्ट शक्तिशाली थिए त्यहाँ । भारतमा पनि बडा बलिया थिए सोसलिस्टहरू । प्रथम महानिर्वाचन भएको थिएन । तर सोसलिस्टहरू सरकारमा आउलान जस्ता थिए । त्यसबेला अरू-अरू ठाउँहरूमा पनि सोसलिस्ट आन्दोलन राम्रो अवस्थामा थियो । एशियन सोसलिस्ट कन्फ्रेन्सको बारेमा लोहियाले नै विचारको सुत्रपात गरेका थिए । लोहियाले मलाइ भने-यस विचारलाइ मूर्त रूप दिन तिमी वर्मा जाउ ।

उनको उद्देस्य के थियो भने हिन्दुस्थानी गयो भने त हिन्दूस्थानले गराएको जस्तो हुन्छ,म नेपाली गएँ भने बर्मा-हिन्दुस्थान भन्दा बेग्लै हुन्छ । त्यसो हुनाले यस विचारमा हाम्रो तर्फबाट छलफल गर्न तिमी जाउ भनेर लोहियाले भने ।
मैले-म जान्छु भनेँ । त्यसवखत नेपालको पासपोर्ट पाउने कुरै थिएन । बर्मीजहरूले मलाइ एक किसिमको भिसा दिन सक्थे । म कलकत्ता गएँ । उनिहरूले मेरो परिचय पत्र बनाइदिएका थिए र त्यसको आधारमा म बर्मा गएँ ।
हिन्दुस्थान पछिको मेरो पहिलो अन्तरराष्ट्रीय सम्पर्क भएको वर्मा थियो । बर्माका सबै शिर्षस्थ नेताहरूसँग मेरो भेट भएको थियो । त्यहाँ एउटा असजिलो परिस्थिति विद्यमान थियो । केहि समय अघि अन स्वांग मारिएका थिए । उनको पूरा मन्त्रीमण्डल मारिएको थियो । एउटा सँकटकालीन स्थिति विद्यमान नै थियो । कम्युनिष्टहरूले कब्जा गर्लान जस्तो स्थिति थियो । उ नु प्रधानमन्त्री थिए । रक्षा र गृह मन्त्री बा स्वे थिए । उनि सबभन्दा बलिया थिए । चाउ मीन थिए । ने विन कमाण्डर इन चिफ थिए । उनिहरू सबैसँग भेट भएको थियो । कुरा गर्दा आफ्ना सबै कुरा सिद्दाइसके पछि हुन्छ,हामी यो सबै गरौँला । तर अहिले हामीहरू यशियन सोसलिष्टहरूको आतिथ्य गर्न सक्दैनौँ किनभने कम्युनिष्टहरूसँग सँघर्ष गरिरहनु परेको छ । यो सँकट समाप्त भैसके पछि हामी आतिथ्य गरौँला । यो बडो राम्रो विचार हो भनेर उनिहरूले मलाइ भने । म बर्मामा छँदै कम्युनिष्टहरूको एउटा विशाल सभा भएको थियो । जसमा उनिहरूले घोषित गरेका थिए-हामी यो सरकारको विरूद्धमा युद्ध शुरू गर्ने छौँ ।
यशियन सोसलिष्ट कन्फ्रेन्स बारेको कुरा सकिए पछि मैले आफ्नो कुरा राखेँ । हामी नेपालमा सँघर्ष गर्छौँ । यो सँघर्ष सशस्त्र हुनेछ । त्यसमा तपाइँहरू हामीलाइ मद्दत गर्न सक्नुहुन्छ कि भनेर मैले सोधेँ । त्यहाँ एउटा उ ह्वाँ आंग भन्ने थिए । ती पछि चिनमा राजदूत भए । उनि पहिलो पटक आफ्नो बिदेश विभाग सँगठीत गर्दै थिए । उनि बिदेश बिभागका प्रमूख थिए । त्यहि बखतमा बा स्वेले तीन-चार जना आफ्ना निजी मान्छेहरूलाइ पनि बोलाए । जसमा ने वीन थिए । उ ह्वा ह्वाँग भन्ने थिए । अरू पनि केहि मान्छेहरू थिए । उ कोको भन्ने अध्यक्ष थिए । तिनीहरूले भने-हामी हतियार दिन तैयार छौँ । कस्तो हतियार चाहिन्छ तपाइँहरूलाइ ?
अब मलाइ थाहा नै थिएन कस्ता हतियारहरू चाहिएलान । मैले त खालि सैद्दान्तिक अवस्था राखेको थिएँ उनिहरूका समक्ष । उनिहरूले भने-हामी हतियार त धेरै दिन सक्दैनौँ । अलिकति नाम मात्रको दिन सक्छौँ र अलिकति हामी जुन दाममा किन्छौँ त्यहि दाममा दिन्छौँ ।
नेपाली काँग्रेसको तर्फबाट हतियारहरूको सम्भाब्यताको कुराहरू बारे उनिहरूसँग छलफल गर्दा उनिहरूले भने-त्यसो भए हामी कमाण्डर इन चिफलाइ पनि बोलाउँछौँ र अरू पनि त्यस सम्वन्धमा जान्ने मानिसहरूलाइ बोलाउँछौँ ।
त्यस पछि छलफलको लागि दुइजना बडो महत्वपूर्ण मानिसहरूलाइ उ बा स्वेले बोलाए । ती थिए उ ह्वा उँग र बा स्वे । उनिहरूले पनि भने-कस्तो हतियार तिमीहरूलाइ चाहिन्छ ? मलाइ त त्यसबेला हतियारहरूको कुनै ज्ञान थिएन । अनि आफ्नो बेसमेण्टमा मलाइ लगेर एक-दुइ वटा हतियारका नमूनाहरू देखाए । मैले भनें-हामीलाइ त हलुका किसिमका हतियारहरू चाहिन्छ । यस सम्वन्धमा जान्ने मानिस पछि पठाउँला । अहिले त म सम्भावना पहिल्याउन मात्र आएको हूँ ।
उनिहरूले आस्वासन दिए कि तिमीहरूको क्रान्तिकारी सँघर्षको लागि हामी मद्दत गर्छौँ । मलाइ अहिले मितिको सम्झना छैन म त्यहाँ कहिले गएँ भन्ने सम्वन्धमा । यसको क्रमबद्दता एकपटक हेर्नुपर्ला ।
कलकत्ताको सम्मेलनद्वारा नेपाली राष्ट्रीय काँग्रेस (बनारसवालाहरूको कमिटी) र नेपाली प्रजातान्त्रीक काँग्रेस(कलकत्तावालाहरूको कमिटी) मिलेर नेपाली काँग्रेस बन्यो । म त्यसको कार्यवाहक अद्यक्ष पनि भएँ । तर मेरा केहि जवाफदेहीहरू सोसलिष्ट पार्टीका थिए । म त्यसको विद्यार्थी समूहको इञ्चार्ज थिएँ । ती कामहरू मैले टुँग्याउनु परेको थियो । ती सबै कामहरूबाट फुर्सद लिएर मैले सकृय रूपले नेपालको राजनीतिमा लाग्ने निर्णय गरेको थिएँ । मेरो काम थियो,विद्यार्थीहरूको बीचमा आएको फाटोलाइ मिलाउने । म त्यो मिलाउने सिलसिलामा अघि लाहोर पनि गैसकेको थिएँ । त्यहाँ झगडा पनि भयो । मलाइ नबुझेर केहिले बरोध पनि गरे । जयप्रकाशले मेरो समर्थन गरेका थिए । अरूणा आसफ अलिकी बहिनी थिइन पूर्णीमा बनर्जी । उनले नेतृत्व माथी आरोप पनि लगाइन । एउटा विद्यार्थी जस्तो मान्छेलाइ मिलाउने काममा पठाएको भनेर ।
त्यस पछि बिहारमा पनि मेरा दुइ-चार काम थिए । समाप्त गरेँ । सबैसँग बिदा लिन्छु भनेर गएँ ।
१३
त्यसै बखतमा बिराटनगर आन्दोलन शुरू भयो । १९४७ मार्चको कुरा हो । जनवरी २५ मा नेपाली राष्ट्रिय काँग्रेस बन्छ र मार्चमा त्यो आन्दोलन शुरू हुन्छ । त्यो आन्दोलन गिरिजाको नेतृत्वमा भएको थियो । मजदूरहरूको केहि खास अधिकारहरूको प्राप्तिका लागि भएको थियो । त्यहाँ वास्तवमा मजदूरहरूको कुनै अधिकार थिएन । मील मालिकले जे मन लाग्यो गर्थ्यो । गिरिजाहरू त्यस मीलमा कारिन्दाको काम गर्थे । गिरिजा,तारीणी,मनमोहन अधिकारी,युवराज यिनीहरू सबै त्यस मीलका कर्मचारी थिए । त्यहाँ मजदूरलाइ निकै थिचोमिचो गरेर राखेका थिए त्यस मीलका दुइ-चार जनाले । मजदूरहरूको बस्ने व्यवस्था खराब थियो । पानीको कुनै व्यवस्था थिएन उनिहरूको क्वार्टरमा । ती सबैको माग राखेर उनिहरूले हडताल शुरू गरेका थिए । पूर्णतः मजदूर हकहीतमा त्यो आन्दोलन शुरू भएको थियो । उनिहरूले ट्रेड युनियन बनाउन पाउने अधिकारको पनि माग गरेका थिए । त्यो माग राजनैतिक अधिकारको थियो । तर पहिलो राजनैतिक कार्वाही त्यो भएको थियो नेपालको भूमीबाट । त्यसले कत्रो स्पन्दित ग-यो देशलाइ र कति अनुकुल प्रतिकृया भयो त्यसको । अनि मलाइ पनि टेलिग्राम आयो,तपाइँ आउनु प-यो भनेर । किनभने यो कार्वाही त राजनैतिक स्वरूपको थियो । सरकार र मील मालीकहरू सँयुक्त भए र यता मजदूरहरूलाइ जनताको ब्यापक समर्थन थियो ।
       त्यसबखत बिराटनगरमा जनरल राम सम्सेर बडा हाकीम थिए । अनि म पुगेँ । हामीहरूले राष्ट्रीय काँग्रेसको तर्फबाट पूरा समर्थन ग-यौँ । त्यसको राजनैतिक महत्व यसकारणले मात्र थिएन कि ५-७ हजार मजदूरहरूले हडताल गरेका थिए । त्यो नेपालको भूमीमा खुल्ला रूपले निर्धक्क भएर सरकारको अवज्ञा गरेर गरेको पहिलो आन्दोलन थियो । गाउँ-गाउँबाट मान्छेहरू आए । हडताल गरेका ५-७ हजार मजदूरहरूलाइ ख्वाउनु पर्ने स्थिति थियो । साराले चामल दिए,दाल दिए,पैसा दिए र हडताल चल्यो । पद्म समसेर त्यसबखत प्रधानमन्त्री थिए ।
       मनमोहन अधिकारीले म कम्युनिष्ट पार्टीको तर्फबाट बोल्छु भनेका थिए । कम्युनिष्ट पार्टी त्यसैबखत देखि देखा परेको छ । मैले यो किन भन्न खोजेको भने कम्युनिष्ट पार्टी पछि जन्मेको होइन । नेपाली काँग्रेसकै हाराहारी उसको प्रादुर्भाव भएको छ । भारतको कम्युनिष्ट पार्टीले पनि मनमोहनलाइ खुला दिलले समर्थन गरेको थियो । जस्तै दार्जलिँगबाट माहिला बाबु थिए । पछि उनि भारतीय संसदको सदस्य पनि भए । उनि पनि आएर बोलेका थिए । नेपाली काँग्रेसलाइ सोसलिष्टहरूले मद्दत गरेका हुन् तर त्यसको कुनै वरिष्ठ नेता आएको थिएन ।
       सरकार अल्मलिए जस्तो थियो । कुनै कार्वाही पनि गर्दैन,केहि पनि गर्दैन । हामीहरू जुलुश प्रदर्शन गराइरहेका थियौँ । मानिसहरू गाउँ-गाउँमा सम्पर्क गर्दै थिए । पूरा देश त्यसबाट आन्दोलित जस्तो भएको थियो । अनि पछि सरकारले सेना पठायो । यति दिन सरकार किन पर्खिरहेको थियो भन्ने कुरा पछि स्पष्ट हुन आयो । सेना त्यहाँ पुगेको भोलिपल्ट बिहानै सबैलाइ समात्यो । सबभन्दा पहिले तारिणीलाइ समात्यो,गिरिजालाइ समात्यो अनि म समातिएँ । त्यहि दिन बिहान म त्यो जूट मीलको मूख्य द्वारमा पिकेटिँगमा जाने भएको थिएँ । ठूल्दाजु त्यसबेला बिराटनगरबाट जोगबनी तिर लाग्नुभयो । हामी समातियौँ । त्यो गर्मीको बेला थियो मार्च अप्रिलको बेला ।
       समातेको दिन हामीलाइ बडा हाकीमकहाँ लिएर गयो । बडा हाकीमकहाँ चौरमा राखिदियो र बडा हाकिमले त्यहाँ वायरलेसबाट काठमाण्डु सम्पर्क गर्न थाल्यो,हामीलाइ के गर्ने कसो गर्ने भनेर । उनिहरूलाइ आफैँले कुनै निर्णय गर्ने आँट पुगिरहेको थिएन । हामीहरू ६ जनालाइ गिरफ्तार गरेको थियो । मलाइ,गिरिजा,तारिणी,बिकु,मनमोहन र युवराजलाइ । समातेर ४ घण्टा राख्यो बडा हाकीमकहाँ । त्यहाँ हामीलाइ चिया पनि दिएको थिएन पानी पनि दिएको थिएन । बडा हाकीम् भेट्न पनि आएन । हदराज थियो त्यसले एक बाल्टी चिया बनाएर ल्यायो । मैले हदराजलाइ त्यहाँ पहिलो पटक भेटेको थिएँ ।
       त्यहाँबाट सशस्त्र सिपाहीहरूको डफ्फाले हामीलाइ फुर्से लिएर गयो । फुर्सेमा एउटा काठ गोदाम थियो । हामीलाइ त्यहि काठ गोदाममा राती राखे । दीर्घराज शायद त्यहाँ थियो । उसले फलफुल,बिस्कुटहरू,चिया,बट्टाका दुधहरू ल्याइपु-याएको थियो । त्यहाँबाट हामी बिहानै चिया खाएर हिँड्यौँ । धनकुटा पुग्न फुर्सेबाट दिनभरीको बाटो हिँड्नु थियो । पहाडमा हिँड्ने कसैको बानी थिएन । बीच बाटोमा पुगेपछि म त अलिकति थाकेको थिएँ,युवराज त बेहोश नै भयो । बडा हाकीम बस्ने ठाउँनेरको कुरा हो त्यहाँ एउटा टक्सार घर थियो । अघि त्यहाँ एउटा टक्सार रहेछ । त्यसका त्यहाँ फलामका ठूल्ठूला प्रेसहरू थिए । त्यहाँ हामीलाइ एउटा कोठामा राखे । अगाडी पट्टी दिशा गर्ने एउटा छाप्रो थियो । टक्सार बजार भित्रै थियो । त्यहाँबाट जता जान पनि पायक पर्थ्यो । हाम्रो बारेमा सरकारको रूख त्यति स्पष्ट भैसकेको थिएन । हामीलाइ आपसमा कुरा नगर भन्थे तर हामी निर्धक्क कुरा गर्थ्यौँ । एउटा बडो उत्साहको वातावरण थियो ।
       हाम्रो त्यस आन्दोलनको सम्वन्धमा सरकारले के गर्ने कसो गर्ने भन्ने तय गरिसकेको थिएन । हाम्रो आन्दोलन चालू राख्ने कुरा थियो । ठूल्दाजु गएको गएकै हुनु भयो । उहाँ त्यसपछि राणाहरूको साशन अन्त भएपछि मात्रै नेपाल फर्कनु भयो । गणेशमानजी पुग्नु भएको थियो म छँदै । उहाँ रोजै बिराटनगर पुग्नुहुन्थ्यो । मैले भनेँ-गणेशमानजी तपाइँ यसरि नहिँड्ने गर्नुस,तपाइँ माथि जेलबाट भागेको आरोप त छँदै छ ।
            अनि गोपालजी,हाम्रा महामन्त्री बालचन्द्र, उनिहरूले मिटिँग गरेछन् । उनिहरूलाइ पनि समातेछ । हामीलाइ समातेर चलान गरिसके पछि हाम्रो परिवारका अरू पनि धेरै मानिसहरू समातिए । आमालाइ,मेरा बुहारीहरूलाइ पनि समाते । यी सबैलाइ समातेर धनकुटा चलान गरे । धनकुटामा यी सबैलाइ राख्ने ठाउँ थिएन । त्यसो हुनाले हामीलाइ उनिहरू पुग्ने दिनमै काठमाण्डुको लागि चलान गरियो । उनिहरू बेलुका पुग्ने थिए,हामीलाइ त्यस दिन बिहानै चलान गरिहाले ।
       यस आन्दोलनको ठूलो प्रचार र चर्चा नेपालमा र हिन्दुस्तानमा पनि भयो । हामीलाइ समातेको,आमालाइ समातेको,इन्दिरा र नलिनीलाइ पनि समातेको थियो । उनिहरूलाइ पनि त्यहि ठाउँमा राखे धनकुटामा जहाँ हामीलाइ राखेको थियो । त्यहाँ दुइवटा कोठाहरू थिए । एउटामा स्वास्नि मानिसहरूलाइ र अर्कोमा लोग्ने मानिसहरूलाइ राखेछन् । अनि हामीलाइ त्यहाँबाट पैदलको बाटो काठमाण्डु तिर लिएर हिँडे,पहाडै-पहाडको बाटो लिएर गए,मधेशको बाटो लगेनन् । त्यसले कत्रो ठूलो प्रचार ग-यो भने बाटोमा त ओइरो लाग्यो मानिसहरूको । जहाँ हामी बस्थ्यौँ हेर्नलाइ भीड लाग्थ्यो । हामीहरू जहाँ बस्थ्यौँ, हामीहरू के कुरा गरिरहेका छौँ भनेर हेरिरहेका हुन्थे । त्यो हामीसँग जाने जुन सैनिक मेजर थियो त्यो बडो रमाइलो मान्छे थियो । त्यसले बराबर यसै गरि मानिसहरूलाइ अड्डासार गरेर काठमाण्डु लगिराख्नु पर्दो रहेछ । त्यसले बस्ने बासको व्यवस्था गर्नको लागि जहाँ-जहाँ बास बस्नु पर्थ्यो त्यस गाउँमा बिहा गरेको रहेछ । त्यसो हुनाले घुमाइ फिराइकन उ आफ्नै ससुरालीमा बास बस्न पुग्दो रहेछ । मैले उसलाइ त्यस सम्वन्धमा कोट्याउँदा भन्यो-तपाइँ जस्ता मानिसहरूलाइ लिएर हिँड्दा अन्त कहाँ बास बस्ने ? उसका दुलहीहरू पनि त्यहिँ बस्दथे । उसले घर लिएर जाने होइन माइतै बस्दा रहेछन् । त्यसको साथमा एउटा बुढो क्याप्टेन पनि थियो । त्यसले मलाइ धेरै कुरा बतायो । हिँड्ने तरिका पनि बतायो । दौडेर हिँड्यो भने छिटै थाकिन्छ । एकपल्ट एउटा परको गाउँलाइ देखाएर उसले भन्यो-उ त्यहाँ गएर भात खाने । मैले सोधेँ-कहिले पुगिएला त्यहाँ ?
"विस्तारै हिँड्नु भयो भने एक बिहानको बाटो हो कुदेर हिँड्नु भयो भने दिनभरीको बाटो हो ।"
त्यो पनि रमाइलो कुरा थियो । विस्तारै हिँडेको छ भने नथाकेर हिँडीरहिन्थ्यो । धेरै छिटो हिँडेको छ भने ठाउँ-ठाउँ थकाइ लागेर बस्नुपर्ने हुन्थ्यो ।
त्यस बखतमा एउटा ठूलो माउण्टेनीयर थियो, सिफ्टन भन्ने, त्यो सगरमाथा उक्लने प्रयत्नमा पनि गएको थियो । बाटोमा त्यो भेट भएको थियो । उसले मलाइ पहाड कसरी हिँड्नु पर्छ भनेर बतायो । छिटो नगर विस्तारै हिँड अनि आफै तिम्रो शरीरमा स्वतः स्वाँस र पाइलाहरूको बीचमा सामञ्जस्य स्थापित हुन्छ । त्यो सामञ्जस्य स्थापित हुनासाथ सजिलोसँग हिँड्न सकिन्छ । दगुर्दै हिँड्यो वा रूक्दै हिँड्यो भने त्यो सामञ्जस्य खल्बलिन्छ र थाकिन्छ । त्यसलाइ ध्यानमा राखेर पछीसम्म पहाडमा हिँड्दा जहाँ रूक्नुपर्ने ठाउँ हुन्थ्यो रूक्थेँ र अरू ठाउँमा विस्तारै हिँडीरहन्थेँ ।
त्यस यात्राको राजनैतिक फाइदा के भयो भने हामीले नेपाली काँग्रेसको परिचय दिन पाएका थियौँ । ठाउँ-ठाउँमा हामीहरूले आफ्नो विचार राख्ने मौका पायौँ । कहीँ-कहीँ दही लिएर आउँथे मानिसहरू, ठेकीमा जमाएको । कस्तो गन्हाउने भने खानै पनि नसकिने पहाड तिरको दही । हामी मधेश तिरको दही खानेहरूलाइ त खानै गाह्रो पर्ने । मायाँ गरेर ल्याउँथे ती सामाग्रीहरू । फलफुलहरू लिएर आउँथे,आफ्नो बारीको अम्बा इत्यादि लिएर आउँथे ।
हामी छ जनाको सामानहरू बोक्ने छ जना भरियाहरू थिए । १२-१५ जना सिपाहीहरू थिए । त्यस पछि हामीहरू थियौँ । यी सबै ग्वारग्वार्ति हिँड्दा त सबैको ध्यान यसै पनि हाम्रो तर्फ आकर्षित भै रहन्थ्यो । गाउँलेहरूलाइ डर के हुन्थ्यो भने यी सबै बसे भने त ख्वाउनै पर्छ । हामी के आग्रह गर्थ्यौँ भने पैसा दिएकै छ खाएको पैसा तिर भनेर । एउटा कुरा के पाएँ भने पहाडमा भयानक गरिबी रहेछ । तरकारी पाइँदो रहेन्छ । मासु भात या नून भात खानु पर्ने हामीले । कहीँ-कहीँ निगुरोको डाँठको तरकारी बनाउँथे । कति गाउँतिर, जस्तै रूम्जाटारको म सम्झन्छु,मानिसहरू उभिएर हामीलाइ सोध्थे-हामी के गरौँ ? हामी आफ्नो कुरा भन्थ्यौँ । बाटोमा एउटा गुरूँगसेनीको घरमा हामी वास बसेका थियौँ । कस्तो मायाँ गरेकी थिइ उसले भने जस्तो कसैले आफ्ना छोराहरूलाइ गर्छ ।
हामी विस्तारै-विस्तारै तीन हप्तामा काठमाण्डु आइपुग्यौँ । अलि हतारिएर हिँडेको भए १५ दिनमा आइपुग्थ्यौँ । हामी विस्तारै-विस्तारै हिँड्थ्यौँ ज्यादा हतार गर्दैन्थ्यौँ । त्यस तीन हप्ताको यात्राले पहाडमा हाम्रो निकै ठूलो राजनीतिक प्रभाव पा-यो । हाम्रो जति पनि सम्पर्क थियो,मधेश तिर थियो । हाम्रो यो तीन हप्ताको यात्राले नेपाली काँग्रेसको सम्पर्क पहाडतिर कायम गर्न हामीलाइ धेरै मद्दत ग-यो । हामीसँग हिँड्ने सिपाहीहरू पनि हामीसँग प्रभावित थिए । सिपाहीहरूसँग पनि हाम्रो मित्रता जस्तै भयो । हामी रमाइलो कुरा गर्दै हिँड्थ्यौँ । यसै प्रकारले आइ पुग्यौँ बनेपा । बाटोमा दुम्जा पनि परेको थियो । दुम्जामा एउटा बडो रमणीय ठाउँको मलाइ अझै सम्झना छ । एउटा डाँडा माथिको कोटेश्वर महादेवको थान ।
बाटोमा हामीले बडो दरिद्रता देख्यौँ । त्यसलाइ लिएर हामी आफ्ना नीतिहरूको सम्वन्धमा छलफल गर्थ्यौँ । हाम्रो राजनैतिक आन्दोलनको आर्थिक पक्षबारे हामी छलफल गर्थ्यौँ । म त समाजबादी छँदै थिएँ अरूहरूले पनि त्यस सम्वन्धमा आफ्नो धारणा स्पष्ट गर्दथे ।
१४
       काठमाण्डु पुग्नु भन्दा अघि हामीलाइ बनेपा राखे । बनेपामा एउटा सानो खोला छ । बनेपा बजारबाट त्यो खोला पार गरे पछि एउटा सत्तल आउँछ,त्यहाँ हामी पुग्यौँ । न्वाएर खाना खायौँ,त्यहाँबाट हामीलाइ बानेश्वरको पाटीमा ल्याइपु-याए । निकै पुरानो पाटी थियो त्यो । अहिले जहाँ ट्राफिक पुलिस उभिन्छ,त्यसैलाइ बानेश्वरको पाटी भन्दथे । त्यहीँ हामीलाइ ल्याएर राखे । हामीले भन्यौँ-हामीलाइ यहाँ किन राखेको ? काठमाण्डुमा जहाँ हामीलाइ पु-याउनु छ,पु-याउ । उनिहरूले भने-हामीहरू जहाँ अर्डर हुन्छ,त्यहाँ राख्दछौँ । सरकारले के तय ग-यो भने हामीलाइ पद्म सम्सेरको दरबार बिशाल नगरमा भोलिपल्ट खुवाएर लिएर आउनु ।
       हामी आइपुगेको खवर शहरमा पनि फैलिएछ । विद्यार्थीहरू आए,हामीलाइ भेट्न भनेर । उनिहरूले के सोधे भने-तपाइँहरूलाइ कसरी सबैले भेट्ने ? हामीलाइ त बाटो पनि थाहा थिएन,कताबाट हामीलाइ लिएर जान्छ । उनिहरूले भने-तपाइँहरूलाइ बत्तिसपुतलिको बाटो लिएर जानेछन् । तपाइँहरू आग्रह गर्नुहोला डिल्लीबजारको बाटो जान्छौँ भनेर र चारखाल अड्डाको बाटो लिएर जान अनुरोध गर्नुहोला । तपाइँहरू खाना खाएर विद्यार्थीहरू स्कूल जाने समय पारेर आउने कोशिस गर्नुहोला,बिहानै जान नमान्नुहोला अनि त्यहाँ हामीहरू जम्मा हुनेछौँ । अनि हामीलाइ विहान हुनासाथ ल अव तैयार पर्नु प-यो,शहर तिर जानु प-यो भनेर सिपाहीहरूले भन्दा अँहँ हामी त खाइवरीकन मात्र जान्छौँ भनेर हामीले जिद्दी ग-यौँ ।
       फेरि खवरहरूको ओहोर-दोहोर भयो । हामीले खाना खाइसके पछि उनिहरूले हामीलाइ बत्तिसपुतलीको बाटो लग्न थाले । मैले भनेँ-हामी त्यो बाटो जाँदैनौँ,डिल्लीबजारको बाटो जान्छौँ । उनिहरूले हामीलाइ चित्त बुझाउन धेरै गरे तर हामी मानेनौँ । शायद उनिहरूलाइ निर्देशन थियो होला हामीलाइ धेरै थिचोमिचो नगर्नु । फेरि उनिहरूले आपसमा छलफल गरे र हामीलाइ १० बजेतिर डिल्लीबजारकै बाटो लिएर गए । हामी चारखाल पुग्यौँ । मानिसहरू डराएर यताउति हेरिरहेका थिए । कोही हाम्रो अगाडि देखा नै पर्देन्थ्यो । चिनेकाले पनि नचिने झैँ गर्दथे । गर्मी थियो अप्रिलको । हामीलाइ लिएर बिशालनगर दरबारको ढोका अगाडि लगेर उभ्याए । दिउँसो करीव १२ बज्न लागेको थियो । मानिसहरूको ठसाठस भीड जम्मा भैसकेको थियो । दरबारको अगाडी एउटा कपुरको रूख थियो । त्यहीँ हामीलाइ उभ्याइरहेको थियो । हाम्रा सामानहरू भूइँमा थुपारिरहेको थियो । मानिसहरू अलि टाढा-टाढा उभिएका थिए । विद्यार्थीहरू पनि टाढै उभिएका थिए । अनि मलाइ के लाग्यो भने यहाँ कस्तो डर पसेको रहेछ मान्छेहरूमा । चिनेका मानिसहरू पनि कुरा गर्न अघि सरिरहेका थिएनन् । कोही चाइँचुइँ केहि गर्दैनन् । अनि मैले भनेँ-हामीलाइ कति बेर सम्म घाममा उभ्याइ राख्ने हो ? मेरो नजिक उभिएको ढोकेले भन्यो-के थुनुवालाइ महाराजको ढोका आउने बित्तिकै खोलिन्छ ?
       अलि फोहोर गाली गर्दै उसले त्यसो के भनेको थियो,मैले त्यसको गालामा फटाफट दुइ थप्पर लगाइदिएँ । मलाइ यति रिस उठीरहेको थियो कि मेरो सुटकेशमा अड्काइरहेको लठ्ठी लिन म झुकेँ त्यसैले पिट्छु भनेर । तर मनमोहनले त्यो लठ्ठी समातेर मलाइ रोके । उ त अवाक प-यो । प्राइम मिनिष्टरको ढोकेलाइ सबैको अगाडी कैदीले पिटीदिएको । यो देखेर विद्यार्थीहरू पनि अलि सुरिए । उनिहरू अलि नजिक आए । मैले भनेँ-तिमीहरूले के हेरिरहेको ? किन आएको ? उनिहरूले भने-हामीलाइ के निर्देशन छ ? मैले भनेँ-त आउ न त नजिकमा कुरा गर । उनिहरू सबै ग्वार्र नजिक आए,कुरा गर्न थाले ।
ढोकाका सिपाहीहरू सबै जिल्ल परिरहेका थिए । अब उता दरबार भित्र त मिटीँग भैरहेको रहेछ । मोहन समसेर पनि त्यस बैठकमा रहेछन् । प्रधानमन्त्रीसँग छलफल गरिरहेको हाम्रो बारेमा । हामीलाइ थुन्नु पर्छ,के गर्नु पर्छ,कसो गर्नु पर्छ इत्यादि बैठक गरेर छलफल गरिरहेका रहेछन् । प्रधानमन्त्री पद्म समसेरको अलि उदार दृष्टीकोण थियो । मोहन समसेर अलि कठोर कारवाही हुनुपर्छ भन्दा रहेछन् ।
       त्यो बीचमा मैले ढोकेलाइ पिटेको खवर पुगेछ । अनि मोहन समसेरले त यो सुन्ने बित्तिकै हाम्रो ढोकेलाइ दरवारको ढोकामा सबैको अगाडी पिट्ने त्यसलाइ चाहिँ यहीँ थुनेर कोर्रा लगाउनु पर्छ भनिरहका रहेछन् । पद्म समसेरलाइ अलि अप्ठ्यारो परेछ । के भएको रहेछ,बुझ्नु प-यो । कतै आफ्नै मान्छेबाट अन्याय भएको त छैन भनेर उनको आफ्नो पत्यारको एउटा बुढो कप्तानलाइ पठाएछन्,बुझेर आइज के भएको रहेछ भनेर । उसले ढोकामा पुगेर बुझिसुनिकन के रिपोर्ट गरेछ भने पिटेको हैन ढोकेले मूख छोडेकोले जाउ यहाँबाट भनेर अलिकित घचेटी मात्र दिएको रहेछ । मैले भाषण दिएको रिपोर्ट पनि पुगेछ । अनि एकछिन पछि प्रधानमन्त्रीको हजुरिया जनरल आए । अव तपाइँको चियासिया खाने बेला भयो । विद्यार्थीहरूको समक्ष म भाषण दिइरहेको थिएँ । विद्यार्थीहरू तिर फर्केर तिमीहरूले पनि सुनिहाल्यौ नि अव जाउ भनेर उसले भन्यो ।
       त्यहि घरको अगाडी आठपहरिया पल्टन बस्थे । पाँच हजार आठपहरिया पल्टन बस्थ्यो । त्यस घरमा नअटाएर अलिकति पल्टन त्यहि छेउको अर्को घरको पटाँगिनिको अगाडीको घरमा बस्दथे । हामीलाइ त्यहि घरको माथिल्लो बुइँगल तलाको कोठामा लगेर राखे । खाना एकदम फर्स्ट क्लास,खाने भाँडाहरू बृटिश क्रोकरी । क्रोकरीमा दुध । एकदम राम्रो दुध आउने । मासु दरवारबाटै आउने । खाना बनाउने भान्से पनि खूव असल थियो । ओड्ने थिएन भनेर ओड्ने पनि आयो खद्दरको ।  
       त्यहाँ अरू कुराको त्यति दुःख थिएन । तर समस्या के थियो भने बाहिरको कुनै सम्पर्क भैरहेको थिएन । त्यस्तै बेलामा एकपटक सुर्य प्रसाद उपाध्याय आइपुग्नु भयो । अचम्म सँग डाक्टर बनेर । पद्म सम्सेरका डाक्टर थिए महेन्द्र प्रसाद । उनि आइराख्दथे । सुर्य प्रसादजी उनकै सहायक भएर मनेर आइपुग्नु भयो त्यहाँ । सुर्य प्रसादको बाबु भीम सम्सेरको दरबारिया भएकोले सुर्यबाबुको पनि पद्म सम्सेरसँग त्यहि किसिमको सम्पर्क थियो । उहाँले मलाइ पद्म सम्सेरले केहि गर्न नसक्ने विवशताको कुरा बताउँदै अब म पनि हिन्दुस्थानमै जाने भएँ भन्नुभयो । जयप्रकाशजीलाइ चिठी लेखिदिनुस म लिएर जान्छु भन्नु भयो,मैले हुन्छ भनेँ । मलाइ मनमोहनले रोके । कस्तो मान्छे हुन कस्तो तपाइँ किन लेख्नुहुन्छ ? तपाइँको चिठीको कस्तो उपयोग गर्छन्, के-के गर्छन् । ती त आखिर दरबारका मान्छे न हुन् । तीनको हातबाट तपाइँ जयप्रकाशजीलाइ चिठी किन पठाउनु हुन्छ ?
       अनि मलाइ लाग्यो,मनमोहनले भनेको पनि ठीकै हो । मनमोहनले मलाइ चिठी लेख्नै दिएनन् । ठेल्दा-ठेल्दै मैले अनि सुर्यबाबुलाइ भनें-भोली-पर्सि तिर आउनुस,म लेखौँला । तर त्यस पछि उहाँ आउनुभएन हिन्दुस्थान जानु भएछ । हामी थुनिएको बेलामा विद्यार्थीहरूले केहि गरिरहेको जस्तो लागिरहेको थियो । एकपल्ट केहि विद्यार्थीहरूले एउटा जुलुश लिएर आए हामी थुनामा रहेको ठाउँसम्म । हामीलाइ थुनेको ठाउँबाट पद्म सम्सेरको दरबार भित्र मानिसहरू आए-गएको देखिन्थ्यो । केशर सम्सेर आएको देखिन्थ्यो,सबै आएगएको देखिन्थ्यो । विद्यार्थीहरूको जुलुश आएर नारा लगाइरहेकै बखत मोहन सम्सेर आफ्नो रातो मर्सिडिज बेञ्ज कारबाट भित्र आए । जस्तो किसिमको मर्सिडिज कारमा हिटलर हिँड्थ्यो । रातो किसिमको कारमा । ठीक त्यस्तै कारमा मोहन सम्सेर पनि हिँड्थे । उनको गाडी त्यस जुलुशले गर्दा रोकियो । म विद्यार्थीहरूसँग कुरा गरिरहेको थिएँ । उनका आठपहरियाहरूले विद्यार्थीहरूलाइ हटाएर मोटर पार गराए । गाडी भित्र पुगेको एक्कै छीन भित्र विद्यार्थीहरूलाइ आठपहरियाहरूले अकस्मात चुट्न थाले । कस्तो चुटाइ गरे भने भयानक किसिमले । मैले भनेँ-तिनीहरूलाइ किन चुट्छौ ? चुट्छौ भने यहाँ आएर चुट । यहाँ मैले पो त बोलेको छु,ती सुन्नेहरूलाइ किन चुट्छौ ? त्यसको केहि असर भएन । उनिहरूले विद्यार्थीहरूलाइ भयानकसँग कुटेर धपाइदिए ।
       त्यस घटना पछि हामीलाइ त्यहाँबाट हतार-हतार गरेर अर्को ठाउँमा सार्न थाले । त्यो त दरबारको मूख्य मार्ग थियो । अन्त राख्ने ठाउँ पनि थिएन । जेलमा राख्न पनि सकेनन् । नक्खु जाने बाटोमा नारायण सम्सेरको घरको दक्षिण पट्टी जुद्द सम्सेरले आफ्नो छोरीको लागि भनि बनाएको एउटा राम्रो घर थियो । त्यसको पछिल्तिरको लङ खालि गरेर त्यहिँ हामीलाइ राख्ने व्यवस्था गरे । हामी छ जनाको लागि सबै कुराको राम्रो बन्दोबस्त गरेको थियो । खानपीनको धेरै राम्रो व्यवस्था थियो । दुध,टीनका बिस्कुटहरू सबै कुरा भान्सामा आउँथे । जुत्ता ओभरकोटहरू सबै जसलाइ चाहिन्थ्यो नयाँ पाइन्थ्यो । सिपाहीहरूलाइ बोलाउने बटन थियो । हामीलाइ घरको आँगन भन्दा बाहिर जान दिँदैन्थे । मानिसहरूलाइ भेट्न पाइँदैन्थ्यो । कहिले काहिँ चिनजानका मान्छेहरू दक्षिणकाली जाने-आउने बेलामा परबाट देखिन्थ्यो । दीर्घराजहरूलाइ पनि त्यताबाट गएको देखिन्थ्यो तर भेट्न भने दिएको थिएन ।
       जेलमा किन हो कुन्नि मलाइ बडो झोँक चल्थ्यो । त्यो अनावस्यक नै हुन्थ्यो । एक दिन के भयो भने मेरा थालमा खाना पस्केर ल्याउँदा मैले थाल राम्रोसँग पुछेको देखिन । त्यसमा अलिकति कालो फोहोर जस्तो देखेँ । हामी खाने ठाउँभन्दा अलि पर एउटा क्याप्टेन उभिइरहेको थियो । कस्तो फोहोर थालमा खान दिएको भनि रिसाएर मैले थाल हुत्याउँदा त त्यो थाल उतै क्याप्टेन पट्टी नै हुर्रिएर खस्यो । खाना छरिएर उसको कपडामा पनि छिटा प-यो । अनि त त्यो रिसायो यो ठीक भएन भनेर । सिपाहीहरूको सामने त्यसको अपमान भएको बुझिनु स्वभाविक पनि थियो । तर मैले त्यसलाइ अपमानित गर्ने नीयतले त्यसो गरेको थिइन । झोँकमा त्यस्तो भएको थियो । कुरा त्यति चर्किएन । सिगरेट खानेहरूका लागि त्यसबेलामा पाइने सबभन्दा राम्रो सिगरेट डुम्रिया जति खाए पनि पाइने । एकजनाले ५० खिल्ली सम्म खान लागेका थिए । बढ्ता भयो भनेर मैले भनेँ-एक जनाले २० खिल्ली भन्दा बढी नखाने । मलाइ खाना खाए पछि बिहान-बेलुका गरेर दुइ वटा चाहिन्थ्यो । मैले धेरै नखाने भन्दा तारिणी भन्थ्यो-पाइरहेको कुरा सान्दाजुले किन बन्द गराइदिएको ?
       हामीहरूले आफैले चिया बनाउने पालो बनाएको थियौँ । मनमोहनको पालोमा जहिले पनि केहि न केहि बिगारिहाल्थ्यो । कहिले भान्सामा केहि गर्दा औँला काटिएर आउँथ्यो । चियाको ट्रे बोकेर आउँदा हात रगताम्य भैरहेको हुन्थ्यो । औँला थिचिरहेको पनि हुन्थ्यो तर त्यसले न ठीकसँग चिया बनाउन सक्थ्यो न आफ्नो हिफाजत गर्न सक्थ्यो । कस्तो भर नपर्दो भने कुनै पनि काम उसले ठीकसँग गर्दैन्थ्यो । उसको हात र दिमाखको बीचमा कुनै सामञ्जस्य नै नरहे जस्तो देखिन्थ्यो । बडो मिलेर बस्ने स्वभावको थियो । सबै बडो रमाइलोसँग बसेका थियौँ । मैले उनिहरूलाइ लेख्ने-पढ्ने कुरामा प्रेरित गर्थेँ । उता हिन्दुस्थानमा हामी प्रति सहानुभुति राख्नेहरूले पनि किताबहरू पठाउन थालेका थिए । राजेन्द्र बाबुले मलाइ एउटा किताब पठाएका थिए-"इण्डिया डिभाइडेड" । मेरा लागि उपहार भनेर आफ्नै हस्ताक्षरमा किताबमा लेखेका थिए । जयप्रकाशजीले पनि केहि किताबहरू पठाएका थिए,अरूहरूले पनि केहि किताब पठाएका थिए । सबै किताबहरू म पाउँथेँ । हाम्रो जेलर अलि आधुनिक बिचारको थियो । हामीलाइ अखबारहरू दिने गरेको थियो । हाम्रो हेरबिचार राम्रोसँग भैरहेको थियो ।
       त्यसैमा मेरो घाँटीको बिमारी फेरि शुरू भयो । म बिरामी परेँ । सबै त्यसबाट चिन्तित भए । हिन्दुस्थानका नेताहरू पनि त्यसबाट चिन्तित भएका थिए । गान्धीजी कहाँ कृष्ण प्रसाद भट्टराइ र बालचन्द्र शर्मा गए,मेरो बारेमा उनको सहानुभुति लिन । राम मनोहर लोहिया पनि सकृय थिए मलाइ जेलबाट छुट्कारा दिलाउन । गान्धीजीले प्रधानमन्त्री पद्म सम्सेरलाइ मेरो छुट्काराको सम्वन्धमा चिठी लेखेका थिए । त्यो चिठी लिएर कृष्ण प्रसाद भट्टराइ र बालचन्द्र शर्मा नेपाल जाँदै छन् भनेर अखबारमा छापियो । त्यो समाचार छापिना साथ मलाइ जेलबाट छुटकारा दिइहाले चिठी नआउँदै । मलाइ पद्म सम्सेरले पछी भनेका थिए-"मैले गान्धीले भनेको आधारमा तपाइँलाइ छोडेको हैन मैले आफ्नै निर्णयबाट तपाइँलाइ छोडेको थिएँ ।" म छुटेर हिन्दुस्थान गएँ आफ्नो इलाजको लागि । मेरा अरू ५ जना साथीहरू त जेलमा नै थिए । इलाजको लागि बाहिर जाना साथ फेरि मैले पार्टी भित्रको आफ्नो काम शुरू गर्न थालिहालेँ । अनि बिवाद शुरू भयो पार्टीको नेतृत्वलाइ लिएर ।

१५
पिताजी सात्वीक रूपमा नास्तिक (नन कन्फर्मिस्ट) हुनुहुन्थ्यो । धर्मको मामिलामा पनि धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो तर कर्मकाण्ड तर्फ हुनुहुन्थेन । उहाँ सुधारवादी हुनुहुन्थ्यो । यथार्थमा उहाँ क्रान्तिकारी हुनुहुन्थ्यो । राजनीतिलाइ मात्र सम्हाल्ने हैन शिक्षा र सामाजिक जीवनका अरू पक्षहरूलाइ पनि राजनीतिमा लागेको मानिसले सम्हाल्नु पर्छ भन्नुहुन्थ्यो । उहाँ कता-कता गान्धीजीको जस्तो बिचारधारा राख्नुहुन्थ्यो । उहाँको अनुहार पनि कता-कता गान्धीजीको जस्तो देखिन थालेको थियो । पछि-पछि उस्तै पलेटी कसेर बस्नुहुन्थ्यो, उस्तै अनुहार र व्यवहार ।
       एक-दुइवटा घटनाहरू म सम्झन्छु उहाँको सम्वन्धमा-हामीहरू निर्वासनमा बस्दा पनि चन्द्र सम्सेरसँग उहाँको सम्वन्ध मैले भनिसकेको छु, कसरी चन्द्र सम्सेरले उहाँलाइ किताबहरू पठाउँथे,औषधीहरू पठाइदिन्थे । पिताजीलाइ बडो अभिरूची थियो दासताको समाप्तिमा-कमारा-कमारीहरूको मुक्तिमा । हामीहरूकहाँ अघि धेरै कमारा-कमारीहरू थिए । मलाइ दुइ-चार जना कमारा-कमारीहरूको अझै पनि सम्झना छ । हामीहरूको निकै काम गर्ने कमारा-कमारीहरू थिए । पिताजीको सेवा पनि गर्थे । एक-दुइ कमारीहरू पिताजीलाइ माया गर्थे जस्तो लाग्थ्यो । पिताजी पनि उनिहरूलाइ मायाँ गर्नुहुन्थ्यो । एउटी इन्द्रवदन भन्ने कमारी थिइ । मलाइ कता-कता त्यसको सम्झना छ,तिनीहरूलाइ हेरिरहन्थेँ तर सबभन्दा ठूलो दुःख उनिहरूको के थियो भने उनिहरूको कुनै पारिवारीक जीवन हुँदैन्थ्यो । पिताजीले चन्द्र सम्सेरलाइ यो दास प्रथा उन्मुलन हुनुपर्छ भनेर भनि पठाउनुहुन्थ्यो । मलाइ लाग्छ शायद यो १९२४ तिरको कुरा हो जव चन्द्र सम्सेरले निश्चय गरे दास विमोचनको-अमलेखको । उनले काजी रत्नमानको मार्फत पिताजीलाइ लेखे-यो दास विमोचन तिमीलाइ कस्तो लाग्यो ? चन्द्र सम्सेर त्यस्तो सम्वन्ध राख्दथे पिताजीसँग । उनको इच्छा के थियो भने पिताजी आउनुहोस नेपाल तर दबेर आउनुहोस ।
       पिताजीको एउटा घटना मलाइ मार्मिक लागेको थियो । मलाइ एउटा ठूलो घाउ भएको थियो । म त्यसबखत सात-आठ वर्षको थिएँ होला । बनारसमा थियौँ । हामी टेढी गैसकेका थिएनौँ । बस्ने ठाउँमा घाउ भएको थियो । हामीहरू होमियोप्याथिक औषधी खान्थ्यौँ त्यो सस्तो पनि पर्थ्यो । त्यसले निको भएन । कस्तो भैदियो भने म हिँड्नै नसक्ने भएँ । मेरो एउटा भतिजा थियो,अभिनाश । त्यो बडो हृष्ट-पुष्ट थियो । त्यसले मलाइ बोकिकन गोदौलियामा एउटा डाक्टर थियो त्यसकहाँ पु-याएको थियो । त्यहाँ डाक्टरले औषधी दियो । उताबाट फर्कँदा त रन्केर ज्वरो आयो-कडा ज्वरो । बस्ने ठाउँ सुन्निइ सकेको थियो । निको भएन भनेर फेरि डाक्टर देखाउने कुरा भयो । अब डाक्टरलाइ फिस दिने पैसा थिएन । त्यसमा पिताजीको एकजना मित्र थिए-गणेशदत्त शास्त्री । उनले भने-फिस हामी तिरौँला,डाक्टर बोलाउनु पर्छ । अनि डाक्टर आए सिभील सर्जन । सिभील सर्जनले भन्यो-२४ घण्टा भित्र अपरेशन भएन भने त्यो त माथी पनि फैलिन्छ । यसले खतरा हुन्छ । अपरेशन गर्नु पर्छ, एनेस्थेसिया दिएर । एनेस्थेसियाको लागि शायद ७५ रूपैयाँ लाग्थ्यो त्यो हामीहरूले बेहोर्नु पर्थ्यो । फिस तय भयो । अपरेशन गर्ने निश्चित भयो तर एनेस्थेसियाका लागि त्यो ७५ रूपैयाँ कसरी जुटाउने भन्ने कुरा आयो । आमा र बडा आमा समेतका साथ त्यस विषयमा छलफल भैरहेको थियो कि त्यो ७५ रूपैयाँ कताबाट कसरी जुटाउने भनेर । त्यसैबेला मैले भनेँ-होइन पर्दैन एनेस्थेसिया । म सहन सकिहाल्छु नि ।
       अनि अपरेशन भयो । घरैमा आएर अपरेशन भयो । एक कोपरा जति त्यसको पीप र रगतहरू निस्कियो । मलाइ कस्तो दुखिरहेको थियो भने बेहोश हुँला जस्तो भैरहेको थियो । पहिले पीपहरू जाउञ्जेल सम्म त म सहँदै थिएँ तर ड्रेसिँग इत्यादि गर्न थाले पछि त मलाइ असह्य हुँदै गयो । मलाइ त –बहादुर छ,यस्तो छ,उस्तो छ भनेर सबैले हिक्मत बढाउने कुरा गरिरहेका थिए । एकजनाले नाडी हेरिरहेको थियो । बल्ल-तल्ल मेरो त्यो अपरेशन मैले सहेँ । मलाइ याद छ,त्यो डाक्टरले अपरेशन सकेर जाने बखतमा भनेको कि यो जस्तो साहसी मानिस मैले देखेको थिइन । मलाइ दुखेर आपत थियो ।
       त्यसपछि सधैँ एउटा कम्पाउण्डर आउँथ्यो ड्रेसिँग गर्नको लागि । भयानक पिडादायी ड्रेसिँग हुन्थ्यो । त्यसबखत कस्तो अविकसीत तरिका थियो ड्रेसिँगको भने भयानक दुखेर आउँथ्यो । त्यसको लागि मेरो तारिफ पनि निकै भयो तर मलाइ अत्यन्त दुखिरहेको थियो । त्यो सहेर म बसिरहेको थिएँ । अपरेशन पछि गोडा नहल्लियोस भनेको थियो । त्यस्तो अपरेशन हुँदा पनि कस्तो सहन सकेको भन्दथे । एक-दुइ चोटी त म बेहोश नै हुँला जस्तो भएको थियो । अँध्यारो देखेजस्तो भएको थियो । त्यो घाउ त निको भयो तर के भएको रहेछ भने घाउ त निको भयो बाहिर मात्रै भित्र त निको भएन्छ । मलाइ दुखिरहन्थ्यो ।
पिताजी त्यसबखत कलकत्ता जानुभएको थियो केहि काम पाइन्छ कि भनेर । आमा बनारसमा हुनुहुन्थ्यो । मलाइ पनि कलकत्ता हेर्न मन लागेको थियो । कलकत्ता जाउँ ? भनेर आमासँग सोधेँ । आमाले हुन्छ भन्नुभयो । हामी ठठेरीबजारमा जुन घरमा बसेका थियौँ त्यसैको अर्को कोठामा एउटा बिरामी बसेका थिए । उनको लागि जो फलफुल आउँथे त्यसबाट मलाइ पनि पठाइदिने गरेका थिए । मेरो घाउ त निको भैरहन्थ्यो तर मलाइ दुखिरहन्थ्यो ।
       पिताजीकहाँ जानुप-यो भन्ने कुरा आउँदा पिताजीका एउटा नेवार जौहरी मित्र थिए । उनि जुवाहरातको कामको लागि बनारस आएका थिए । कलकत्ता र बम्बैमा उनको कारोबार थियो । तिनको नाम म बिर्सिरहेको छु । उनले पछि पनि हामीलाइ मद्दत गरेका छन् । तिनले भने म पु-याइदिन्छु,टिकट किनेर म पु-याइदिन्छु । तिनैसँग म गएँ कलकत्ता ।
       पिताजी बस्नुभएको थियो सुब्बा तारानाथकहाँ-कवि थिए उनि । उनको ठूला दरवारहरूसँग सम्पर्क थियो । उनि के गर्दथे भने यहाँको कुनै दरवारको केटी वा केटासँग हिन्दुस्थानको कुनै दरवारमा विवाह गराइदिने र त्यसबाट उनले जो कमिशन इत्यादि पाउँथे त्यसैबाट उनि निर्वाह गर्दथे । उनि एउटा घर लिएर बसेका थिए कलकत्तामा । पिताजी त्यहिँ बस्नुभएको थियो । उनका दुइवटी दुलही थिए । जेठी दुलही त अलि बिरामी जस्ति थिइन् । कान्छी राम्री,असल र काम गर्नमा नोकर्नि जस्ति थिइन । जेठी दुलही फलफुलको रस खाने चाँदीका भाँडाहरूमा । कान्छी भान्सामा बसिरहने । पिताजी त्यहिँ बस्नु भएको थियो । कलकत्ता पुगेपछि जुन गल्लीमा बस्नुहुन्थ्यो त्यसको नाम मलाइ याद रह्यो तर कति नम्बरको घरमा बस्नुहुन्थ्यो त्यो मलाइ याद रहेन । राती हामी पुग्यौँ हावडा स्टेशनमा । त्यसपछि उनले सोधे कति नम्बर हो घरको ? मलाइ गल्लीको नाम मात्रै आयो । उनले रिसाउँदा त त्यो पनि बिर्सौँला जस्तो भएर आयो । घर त कुनै प्रकारले पुग्नै परेको थियो । ट्याक्सीमा हामी गयौँ । ट्याक्सीबाट ओर्लेर त्यस गल्लीको एकछेउ देखि अर्को छेउसम्म कराउँदै हिँडेँ म-पिताजी,पिताजी भनेर । पिताजीले सुन्नुभएछ,झ्याल खोलेर हेर्नुभयो । हामी फेरि त्यसै गरि पिताजीलाइ कराउँदै फर्क्यौँ । पिताजीले सोध्नुभयो-को हो ? अनि मलाइ देखेर आश्चर्य मान्दै ढोका खोलेर भित्र लग्नु भयो ।
       पिताजी त्यहाँ बडो दुःखका साथ बस्नुभएको थियो । कसरी बस्नुभएको थियो भने किश्तिलाइ घाँटीमा फिता लगाएर झुण्डाएर अनेक प्रकारका मालसामानहरू राखि हरेक माल दो-दो पैसा भनेर कराउँदै फुटपाथमा बेच्ने गर्नुहुन्थ्यो । अनि कहिले बाउला भरि माला झुण्ड्याए जस्तो बिभिन्न किसिमका मालसामानहरूको माला झुण्ड्याएर फुटपाथमा,ट्राममा बेचेर हिँड्नुहुन्थ्यो । हिँड्दा-हिँड्दैको ट्राममा त्यसो भन्दै चढ्ने,उत्रने,बेच्ने काम पनि गर्नुहुन्थ्यो । त्यसबाट जे-जति पैसा आउँथ्यो,आफ्नो काम चलाउनु पर्थ्यो । त्यस्तो अवस्थामा हुनुहुन्थ्यो पिताजी । म उहाँको हिक्मतको नमूनाको रूपमा त्यो सम्झन्छु ।