20.4.10

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु


—ईन्द्र क्षेत्री
१–यो जीत राजाको पनि हो पञ्चको पनि हो
०४६ मा नेपालमा प्रजातन्त्रको पुनःस्थापना पछि खुलामञ्चमा आयोजित विजय सभामा गिरिजा प्रसाद कोइरालाले भने “यो सबैको जीत हो,हाम्रो पनि,राजाको पनि र पञ्चको पनि जीत हो” । अनि उनि माथी ढुँगा–मुढा वर्षिन शुरू भयो । चर्को हूटिँग गरियो । स्थिति अनियन्त्रित हुन थाले पछि उनले आफ्नो मन्तब्य बीचमै रोक्नु पर्ने अवस्था आयो । भीडलाई शान्त पार्न गणेशमानजीले हस्तक्षप गर्नु परेको थियो । सतही रुपमा हेर्दा ४९ दिन चलेको जनआन्दोलनद्धारा आएको परिवर्तनलाई गिरिजा प्रसादले होच्याएका थिए,शहिदहरुको एक प्रकारले अपमान भएको थियो ।
 उनको यस मन्तब्यलाई लिएर ०४६ को जनआन्दोलन र प्रजातन्त्र प्रतिको उनको निष्ठामा समेत प्रश्नहरु उठाईए । पत्र–पत्रिकाहरुले गिरिजा प्रसाद पञ्चायत प्रवेश गर्न चाहान्थे भनेर सम्म लेखे । उनले यसको प्रतिवाद गरेको वा स्पष्टिकरण दिएको कतै देखिएन तर घटनाक्रमहरुले उनको भनाईको स्वतः पुष्टि गरे । उनले बोलेको सो कुरा प्रजातन्त्रका विश्वब्यापी मान्यताहरुको सरल नेपाली अनुवाद थियो । ०४६ मा पुनःस्थापित प्रजातन्त्रको चौघेरा भित्र राजा पनि थिए र पञ्चहरु पनि अटाए । गिरिजा प्रसादमा भएको ईतिहाँसलाई नढाँट्ने यो खूवी धेरै कम राजनेतामा हुन्छ ।
२–माले,मसाले र मण्डले एकै हुन
०४६ को परिवर्तनलाई मसाल ( सँयुक्त राष्ट्रिय जनआन्दोलन सँयोजन समिति) ले अस्विकार गरेको थियो । तत्कालीन नेकपा मालेले आधा समर्थन गरेको थियो । राजा र शाही नेपाली सेनाले अन्तसम्म अप्ठ्यारो पारेकै हुन । जनआन्दोलनले मिल्काएका पञ्चहरु आºनो रजगज बलात् खोसिएकोमा तिल्मिलाउने नै भए । यस्तो परिस्थितिमा परिवर्तनलाई व्यवस्थित गर्ने कुरा कम चुनौतिपूर्ण थिएन । सबैखाले विरोधीहरुबाट समान स्तरको असहयोग भोगेका तत्कालिन प्रम कृष्ण प्रसाद भट्टराईको असजिलो एकातिर थियो भने देशका विभिन्न भागमा गिरिजाबाबु स्वयम् तथा काँग्रेसका नेता–कार्यकर्ता माथि तत्कालीन नेकपा माले र नेकपा मसाल कार्यकर्ता द्वारा गरिएका दर्जनौँ साँघातिक हमलाहरु पञ्चायतकाल विर्साउने खालका बर्बर थिए । त्यसताका माले र मसालका कार्यकर्ताहरू अहिलेको वाइसिएल भन्दा कुनै पनि मानेमा कम मैमत्ता थिएनन । वामपन्थीहरूमा एउटा मनोबैज्ञानिक कमजोरी हुन्छ । उनिहरूमा परिवर्तन आफ्नो कारणले सँभव भएको भन्ने भ्रम हुन्छ र त्यसको प्रथम उपभोक्ता पनि आफैँ हुनु पर्छ भन्ने आग्रह हुन्छ । भलै त्यसमा उनिहरूको भूमिका सिमान्त नै किन नहोस । लोकतन्त्रमा त्यस्तो कुरा सँभव नभएपछि वितण्डा मच्चाउन शुरू गर्छन । यिनै भोगाइका आधारमा गिरिजा प्रसाद कोइरालाले उतिबेला गरेको उपरोक्त टिप्पणी सैद्धान्तिक आधारमा पनि सटीक थियो ।
०४६ को परिवर्तन मनमोहन अधिकारी,राधकृष्ण मैनाली, सीपी मैनाली र निलाम्वर आचार्य जस्ता व्यवहारिक वाम नेताहरुको व्यक्तिगत सहयोगमा नेपाली काँग्रेसले सँस्थागत गरेको कुरा लुकेको छैन । नेकपा एमालेले ०५१ को मध्यावधि चुनावमा सबैभन्दा ठूलो दलको रुपमा उदाए पछि मात्र ०४६ को परिवर्तनलाई आत्मसात गरेको हो । तत्कालीन मसाल( वर्तमान माओबादी ) ले ०४६ को परिवर्तनको विरुद्ध बन्दुक नै उठायो । राजाले प्रजातन्त्रको हरण गर्नुमा माओबादी बन्दुकको महत्वपूर्ण योगदान रहेको छ । उग्र वामपन्थले अन्ततः दक्षिण पन्थको र अति दक्षिण पन्थले प्रकारान्तरले उग्र वामपन्थको सेवा गर्दछ । माओबादीको बन्दुकले राजा बलिया भए,राजाको कदमले माओबादी बलीया भए । यी दुवै खाले तत्व लोकतन्त्र विरोधि तत्वहरू हुन । यहि सैद्धान्तिक तथ्यलाई गिरिजा प्रसाद कोईरालाले उजागर गरेका हुन । उनले बोलेको त्यो वाक्याँशको सान्दर्भिकता अहिले झन बढेर गएको छ । उनको निधन लगत्तै राजाबादीहरु सल्बलाउन थालेका छन्,माओबादी विद्रोहको तैयारीमा छ ,एमाले भित्र छायाँ युद्ध चलिरहेको छ,काँग्रेस भित्रको परिवर्तन विरोधी भूत जागेको छ । एक पछि अर्को गर्दै मुलुकमा उग्र वामपन्थ र अति दक्षिण पन्थको चलखेल बढेर गएको छ । लोकतन्त्र र लोकतान्त्रीक सँस्थाहरु किनारामा धकेलिएका छन् । दुर्भाग्य हो,यो चक्रले हामीलाई सजिलै छोड्ने सँकेत देखिएको छैन ।
३–कफिको गिलांसमा आएको तूफान
०४८ मा गिरिजा प्रसाद कोईराला प्रधानमन्त्री भएको महिना दिन नहुंदै नेकपा एमालेले देशै ठप्प पार्ने गरी कर्मचारीलाई आन्दोलनमा उता¥यो । सरकारले काम शुरु गर्न नपाउंदै एमालेले प्रधानमन्त्रीको राजिनामा माँग गर्दै प्रम र मन्त्रीहरु सहभागी कार्यक्रमहरु बहिस्कार गर्ने रणनीति अपनायो । एमालेको त्यो असान्दर्भिक आन्दोलनले सयौं कर्मचारीको जागिर खासेर देशलाई करोडौंको नोक्सानी दिँदै विना उपलव्धि सकियो । त्यसै गरि मदन भण्डारी र जीवराज आश्रीतको दासढुँगा दुर्घटनामा परि मृत्यु भए पछि उसले देश भरि मच्चाएको वितण्डा नेपालीहरूको मस्तिष्कमा एउटा दुःस्वप्न बनेर रहेको छ । एमालेले अहिले माओबादीले गरेजस्तै बिना कारण दिनहुंजसो गरिरहने आन्दोलनहरुलाई गिरिजा प्रसाद कोईरालाले “कफिको गिलांसमा आएको तूफान”को सँज्ञा दिएका थिए । हुन पनि उसले गरेका सबै आन्दोलनहरु बिना उपलव्धी तुहिए । अहिले बन्द,हडताल र प्रदर्शनको विरुद्धमा कलम चलाईरहेका प्रदीप नेपाललाई आफ्नै ईतिहांसबाट ग्लानी हुंदो हो शायद ।
४–ग्राण्ड डिजाइन
कोइरालाले नेपालको प्रजातन्त्र विरुद्ध “ग्राण्ड डिजाइन”ले काम गरेको बताएका थिए । यद्यपि उनले यो डिजाइन कसले,कसरी र काहाँबाट सञ्चालन गरेको छ भन्ने कुरा खुलाएनन तर बुझ्नेले राम्ररी बुझे । काँग्रेसमा छत्तिसे समूहको सिर्जना, मध्यावधि निर्वाचन,काँग्रेसको अप्रत्याशित हार, माओबादीको सशस्त्र युद्ध,एमालेको विभाजन, दरबार हत्याकाण्ड,होलेरी काण्डमा सेनाको असहयोग,काँग्रेसको विभाजन हुंदै राजा ज्ञानेन्द्रको कदम सम्म आई पुग्दा त्यो डिजाइनको स्पष्टै चित्र उपस्थित हुन्छ । उपरोक्त घटनाहरु नेपालको प्रजातन्त्र समाप्त पार्नमा जिम्मेवार रहेको कुरामा द्धिविधा रहेन । ग्राण्ड डिजाइनको नाल–नक्सा थाहा पाएका गिरिजा प्रसाद कोईरालाले दोश्रो जनआन्दोलनको क्रममा परेको अन्तरराष्ट्रिय दवाव र आन्दोलनकारी कतिपय शक्तिहरुको कामज्वरोलाई दृढतापूर्वक बेवास्ता गरेर सो डिजाइनलाई परास्त गरेरै विश्राम लिए । उनको निधन पछि सो ग्राण्ड डिजाइन फेरी सकृय हुने हो कि भन्ने भय बढेर गएको छ ।
५–यो सरकारलाई फू गरेर ढालिदिन्छु
०५१ को मध्यावधि चुनावमा नेकपा एमाले सबैभन्दा ठूलो दलको रुपमा उदाए पछि उसले ९ महिना अल्पमतको सरकार चलायो । अल्पमतको सरकारलाइ सबैले समर्थन गरे । तर उसले त्यसलाइ दुइ तिहाइ बहूमत प्राप्त भएको ठान्यो । लोकतन्त्र र सँवैधानिक सिमाहरुको उलँघन गर्ने कुरामा प्रचण्ड सरकार भन्दा कुनै पनि मानेमा मनमोहन सरकार कम्ता थिएन । एमालेकरण भयो भनेर विरोध हुँदा “गर्दिउँ एमालेकरण” भनेर सत्ता कब्जाको शैलीमा धम्क्याउने यीनै माधव नेपाल र यीनकै गोयबल्स सञ्चार मन्त्री प्रदीप नेपाल हुन् । अहिले मूसा भए भनेर भएन, त्यतिखेर यिनी हात्ती थिए । सर्वोच्च अदालतले एमाले सरकारलाई हिटलरी शासनसँग तुलना गरेको छ । एमालेको अतिले सिमा नाघे पछि गिरिजा प्रसाद कोईरालाले नौ महिने एमाले सत्ता ढाली नै दिए । त्यस पछि गिरिजा प्रसादलाई किनारामा धकेलेर गरिएका सत्ता प्रयासहरु ईतिहाँसमा कालो धब्बा बनेर रहेका छन् । अनाडिहरूले देश डुबाउने देखिए पछि अन्ततः ०५५ मा गिरिजा प्रसाद अघि सरेर राष्ट्रिय सरकार मार्फत डुब्दो नैयाँ पार लगाए ।
६– म यो भन्छु– म जे बोल्छु त्यो गर्छु,जे गर्छु त्यो बोल्छु
गिरिजा प्रसाद कोईरालाको यो भनाई उनको ब्यक्तित्वको स्वघोषणा हो । उनको एकलब्य अडान र दृढ निश्चयको द्योतक पनि । उनले जे बोले त्यो पूरा गरे । कसैले नपत्याएको प्रतिनीधि सभाको पुनःस्थापना यसको प्रतिनीधि उदाहरण हो । जस्तो सुकै विपरित परिस्थितिमा पनि आºनो अडान र उद्देस्यमा अविचलित रहे । यहि नै उनको विशिष्ठता थियो । मौसम अनुसार रँग बदल्ने उभयचर राजनीतिज्ञहरुका बीच उनि अलग ब्यक्तित्वका धनि थिए ।
७– म पछाडि फर्कन जान्दिन
दशक लामो सँघर्षपूर्ण जीवनकालमा गिरिजा प्रसाद जेल परे,प्रवासीए,पीटाई खाए,ढुँगा–मुढा सहे,कालो झण्डा देखे,जुत्ताको माला खेपे र गाली गलौज उनले जति कसैले ब्यहोरेन तर उनले कसै प्रति दुराग्रह राखेको वा अमिच्छे बोलेको देख्न र सुन्न परेन । जीवन भर पछाडि फर्केर हेरेनन,प्रजातन्त्र प्रतिको निष्ठा कहिल्यै फिका परेन,लोकतान्त्रीक महायात्रा अविराम अगाडि बढि रह्यो । लोकतन्त्र प्रतिको अटुट आस्थाकै कारण यो सँभव भएको हो । कतिले उनलाई दलभित्र अधिनायकबाद लादेको वा परिवारवादलाई प्रश्रय दिएको आरोप लगाउँछन । तर यसमा सत्यता छैन । उनि तीन पटक नै चुनाव जितेर पार्टी सभापति भएका हुन । उनको निर्णयलाई केन्द्रिय समितिले सहजै अनुमोदन गथ्र्यो । यसलाई अधिनायकबाद लादेको भन्दा उनि प्रतिको विश्वासको रुपमा लिँदा बढी यथार्थवादी हुन्छ । राजनीतिमा परिवारको ठूलो भूमिका हुन्छ । तर गिरिजाबाबुको निधन सँगै काँग्रेस नेतृत्वमा देखिएको कृष्ण प्रसाद कोईराला वँशको अभावले प्रष्ट हुन्छ कि उनले परिवारबादलाई प्रश्रय दिएनन । यथार्थ के हो भने गिरिजा प्रसाद कोईराला ब्यक्तिगत रुपमा पार्टी भित्र र जनतामा कहिल्यै पनि अल्पमतमा थिएनन । भिन्न-भिन्न कालखण्डमा विभिन्न शक्तिहरूले उनलाई कृतृम ढँगले अल्पमतमा पार्न र किनारामा धकेल्न गरेको प्रयास नै देशको दुर्गतिको कारक हो ।
८–लोकतन्त्र,शान्ती,मानवाधिार र स्वतन्त्र,समृद्ध,सार्वभौम नेपाल
नेपाली काँग्रेसको सिद्धान्त राष्ट्रियता,प्रजातन्त्र र समाजबादलाई स्व.गिरजिा प्रसाद कोईरालाले मौलिक ढँगले सुत्रिकृत गरेका थिए । उनि जनआन्दोलन ०६२/०६३ को दौरान गर्जिए “लोकतन्त्र,शान्ती,मानवाधिकार र स्वतन्त्र,सार्वभौम,समृद्ध नेपाल यी मेरा चार प्रिन्सिपल हुन,यि चार सिद्धान्तका बिरुद्ध कसैसँग सम्झौता गर्दिन,राजासँग पनि” । यिनै चार सिद्धान्तलाई केन्द्रबिन्दुमा राखेर उनले जँगलमा रहेका माओबादीहरुलाई शान्तीपूर्ण राजनीतिमा समाहित गराए भने २४० वर्ष सम्म लोकतन्त्रको मार्गमा अवरोधको रुपमा रहेको राजतन्त्रलाई शान्तीपूर्ण रुपमा बिदा गरे ।
९– दुई नदीहरु
दोश्रो जनआन्दोलनको क्रममा कमाण्डर गिरिजा प्रसाद कोईरालाले भनेका थिए “नेपालमा प्रजातन्त्रबादी र बामपन्थी नदी वारी–पारी बगिरहेका छन्,राजाले बुद्धि पु¥याएनन भने यी दुई नदी एउटै धारमा मिसिन सक्छन् । त्यस पछि यसलाई दुनियांको कुनै ताकतले रोक्न सक्ने छैन ।” अन्ततः त्यहि भयो । राजाले बुद्धि पु-याएनन् । १२ बुंदे दिल्ली दोभानमा यी दुबै नदीको सँगम भयो । मूर्ख राजाको राजपाठ बगायो । माओबादीको हतियार खोसियो ,कांग्रेसको सिद्धान्त गयो, एमालेको भविष्य लुटियो । नेपाल नयाँ युगमा प्रवेश ग-यो । तर सँविधान बनाउने समय सकिँदै गर्दा यी सबै शक्तिहरूको आ–आफ्नो गुमेको चीज प्रतिको मोह पुनःजागृत भएबाट देश लुटिने अवस्थामा पुगेको छ । यस्तो बेला भीष्म पितामह गिरिजा प्रसाद कोइरालाको महाप्रस्थानले चिन्ता थपेको छ ।
१०–सहमति,सहकार्य र एकता
देशमा शान्ती स्थापना गरेर लोकतान्त्रीक विधि मार्फत मानीसका आधारभूत अधिकारहरुको प्रत्याभूति गर्दै एउटा वास्तवमै स्वतन्त्र,सार्वभौम र दुनियाँको दाँजोमा सम्पन्न र सुखी नेपाल निर्माण गर्ने उनको सपना थियो । यसको लागि उनले सहमति,सहकार्य र एकताको बाटो पहिल्याए । मुलुकमा द्धीगो शान्ती स्थापना र लोकतान्त्रीक सँविधान निर्माणका लागि उनि जीवनको अन्तिम पल सम्म प्रयासरत रहे । ज–जसले समयको पदचाप सुने,उनिहरु उनको यो मार्गमा लामबद्ध भए,ज–जसले युगको आवाज सुनेनन् उनिहरु पाखा लागे,सकिए । बिपी कोईरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीतिको नीहितार्थ पनि सहमति,सहकार्य र एकता नै हो । फरक के भयो भने राजाले बिपीको मेलमिलापको भाषा बुझ्न सकेनन,गिरजा प्रसादले त्यति सरल भाषा नबुझ्ने राजालाई गद्दिच्यूत गरेर कहिल्यै नविर्सिने पाठ पढाए ।

No comments: