6.11.09

आहालको कमल– माओबादी दल

—ईन्द्र क्षेत्री
राष्ट्रपतिको कदमबाट नागरिक सर्वोच्चतामा हनन भयो भन्दै ६ महिना अघि सरकार र शान्तीप्रकृयाबाट बिच्किएको एनेकपा माओवादीले अन्ततः त्यसैको बहालीको लागि भनेर दोश्रो चरणको आन्दोलनको शुरुवात गरेको छ । यो आन्दोलन प्रारम्भमा शान्तीपुर्ण देखिएको भए पनि नेताहरुका हाउभाउ र कार्यकताहरुको मुड् हेर्दा यसले सितिमिति विश्राम लिने छाँट देखिँदैन ।

प्रथम चरणको आन्दोलन अन्तरगत उसले नागरिक सर्वोच्चताको अभ्यास हुने थलो मानिएको सँविधान सभा अवरुद्ध गर्दै आएको छ । यसै कारण बजेट पारित हुन नसक्दा फुत्ति–फुत्ति परेको सरकारको माओवादीको चालु आन्दोलनका कारण सातो–पुत्लो उडेको छ । माओवादीले कठपुतली भनेको यस सरकारको विघटन र आफनो नेतृत्वमा राष्ट्रिय सरकारको गठन नभए सम्म आन्दोलन नरोकिने भनेको छ । स्थानीय निकायहरु र जिल्ला प्रशाशन कार्यालयहरु कब्जा गर्ने क्रम शुरु भैसकेको छ । त्यत्रो जोर–सोरका साथ प्राप्त गरेको सरकारबाट अपदस्थ हुँदा दश हजार मान्छे राजधानी उतार्न नसकेको यो दलले राजधानीमा अढाई लाख जनता उतार्ने धम्कि दिएको छ । बाबुराम भट्टराईले दावी गरे जसरी ढाई लाख जनता राजधानीमा उतार्न यो पार्टी सफल भयो भने यो सरकार मात्र होइन नेपालको लोकतन्त्र, राजनैतिक दलहरु र वर्तमान राज्यसत्ताको अस्तित्व समेत समाप्त हुने निश्चित छ । जनआन्दोलनको यस खाले सुनामीलाइ प्रहरी, सैनिक वा कुनै अन्य शक्तिले रोक्न सकेको ईतिहाँस कमसेकम नेपालमा त छैन नै लोकतन्त्र वहाली रहेका अधिकाँश मुलुकमा पनि पाउन गा-हो छ । त्यसमाथि ति अढाई लाख आन्दोलनकारीको पृष्ठपोषण बीस हजार जनसेनाले गरिरहेको अवस्थामा त सामान्य दमन सम्म सँभव देखिँदैन । स्टालिनले सोभियत सँघमा,पोल पोटले कम्पुचियामा र ली पेँगले तियानमेन स्क्वायरमा मच्चाए जस्तो नरसँहार मच्चाउने प्रवृत्ति,नीति,जनमत र साहस नेपालको वर्तमान राज्यसत्तासँग छैन । तर यी सवै तत्व एनेकपा माओवादीसँग छ । फिल्ड कमाण्डर बाबुराम भट्टराईले भनेको पु-याए भने नेपालको भविष्य भयावह दृष्टिगोचर हुन्छ ।

एनेकपा माओवादी सिद्धान्ततः मालेमावादी र व्यवहारतः स्टालीन,पोलपोट र ली फेँगको वरदपुत्र हो । माओवादीहरु माक्र्सवाद–लेनिनबाद र माओबिचारधारालाई सारसँक्षेपमा लेनिनको “सत्ता प्राप्तिको मार्गमा नाजायज केहि हुँदैन” र माओको “बन्दुकको नालबाट सत्ता प्राप्त हुन्छ” भन्ने उक्तिका रुपमा बुझ्दछन भने स्टालिन,पोलपोट र ली फेँगको माक्र्सवादी फलामे सर्वसत्ता टिकाउनको लागि “जुनसुकै प्रकारको हथकण्डा” अपनाउन आवस्यक छ भन्ने फर्मुलामा पुर्ण प्रतिवद्ध छन । लोकतान्त्रीक दुनियाँमा दुर्नामी कमाएका यीनै साम्यवादी महापुरुषहरुका लालकिताव,इतिहाँस,साहित्य र महात्म्यद्धारा प्रत्येक माओवादी क्याडरको मस्तिष्क परिपोषीत गरिएको छ । उसँग मर्न र मार्न किञ्चित नमान्ने विशाल कार्यकर्ता पङ्ति मात्र होईन राजधानीमा उत्रिन सक्ने ढाईलाख समर्थकहरु पनि उपलव्ध छन । देशलाइ वैधानिक रुपले वन्धक बनाउन सक्ने सबैभन्दा बढी सभासदहरु त छँदै छन,विश्वले अनुमान सम्म गर्न नसकेको भयङ्कर नरसँहार मच्चाउन सक्ने मानसिक र सामरिक क्षमता राख्ने जनसेना पनि हाईएलर्टमा राखिएको छ । शान्ती प्रकृयामा प्रवेश गरेर उसले विगतमा विभिन्न माध्यमबाट जम्मा गरेको अथाह पूँजीलाइ वैधानिक बनाइ सकेको छ । त्यसदेखि यता ९ महिना सरकारमा रहँदा र त्यसको अघि–पछि गरेर विभिन्न वैधानिक–अवैधानिक श्रोतबाट प्रयाप्त अर्थ सँकलन गर्न उ सफल भएको अनुमान गरिएको छ । त्यस्तै नेपालको गरीवि,अशिक्षा,उत्पिडन,अन्याय र पक्षपातले ग्रस्त सामाजीक पृष्ठभूमी उसको लागि अत्यन्तै उर्वर छ । “तमासे,रमिते,ईस्र्यालु, निकम्मा र सवै प्रकारका नकारात्मक तथा अतिवादी तत्वहरु उसका लागि सधैँ सहायक सिद्ध हुँदै आएको कुरा प्रष्टै छ । अव्यवस्था र भद्रगोलकै बीचबाट क्रान्ती सम्पन्न हन्छ” भन्ने मान्यता राख्ने यो दल हिलोमा मात्र फुल्न सक्ने कमलको फुल हो । आहाल बाहिर जसको जीवन सँभव नै छैन ।

माओवादीले शुरु गरेको यस आन्दोलनलाई सरकार परिवर्तनको सामान्य खेलको रुपमा मात्र लिनु गल्ति हुनेछ । यस कार्यको लागि उसलाई सडकमै पुग्नुपर्ने कुनै दरकार छैन । इमान हातमा लिएर बिक्न लालायीत दल र विधायकहरुको कमि नेपालमा छैन । झारपात बटुलेर माधव नेपाल प्र म बन्न सक्छन भने चाहेमा प्रचण्ड सदनबाटै प्र म बन्न नसक्ने खण्डनै छैन । यो कुरा बुझ्न सत्ताधारी दलहरुले जति ढिलो गर्छन त्यति नै उनिहरुको हात तल पर्दै जाने छ । माओवादी निर्णायक युद्ध हान्ने मनसायमा पुगिसकेको हुन सक्ने कुरा आँकलन गर्न सकिन्छ । राष्ट्रिय सेना कब्जा गरेर सरकारबाटै सत्ता कब्जा गर्ने मन्सुबामा राष्ट्रपतिको प्रतिरोधका कारण असफल भएपछि भयानक विद्रोहबाट सत्ता कब्जा गरिने घोषणा पटक–पटक सुनिएकै कुरा हो ।

एनेकपा माओवादीले जनयुद्धको वेला ध्वस्तप्रायः भएको माआले सुझाएका बन्दुकको नाल र त्यसलाई पडकाउने लाल सेना अहिले सुदृढ पारेको छ भने लेनिनको सत्ताप्राप्तीको मार्गमा सब जायज हुन्छ भन्ने गैरमाक्र्सवादी अफिम पनि निर्धक्क बाँडिरहेकै छ । यहि अफिमले लठ्याएर लेनिनले रुसी जनताको चीर हरण गरेका थिए । नेपाली उखानमा यसलाई “मान्छे टिपेर मान्छे हिर्काउने” भनिन्छ । यसरि मान्छे टिपेर मान्छे हिर्काउने कलामा माओवादी लेनिन भन्दा पनि पारँगत देखिएको छ । उसले जातीय र क्षेत्रीय स्वायत्तताको नाममा घोलेको विषको कुप्रभाव देखिइसकेको छ भने अहिले सँघियताको नाममा जुन जातीय–क्षत्रीय रुपरेखा पेश गरेको छ त्यो पनि अफिम भन्दा कम घातक छैन । अहिले नेपाली समाजमा देखिएको भयानक विभाजन र असहिष्णुताले यो कुरा प्रमाणीत गरिसकेको छ । स्मरणीय छ,अहिलेसम्म अभ्यास भएका कुनै पनि देशका मालेमावादी सरकारहरुले जातीय स्वराज दिने त कुरै छाडौँ त्यसको उच्चारण सम्म गरेको पाइँदैन । यो सैद्धान्तिक र व्यवहारिक दुबै दृष्टिकोणले गैर–माक्र्सवादी र गैर लोकतान्त्रीक कुरा हो । त्यसै गरि उसले उठाएको अर्को मुद्धा आत्मनिर्णयको अधिकारले नागरिकलाई पृथक राज्य खडा गर्ने, अन्य राज्यमा विलय हुने र क्षमता भए आफुमा विलय गराउने सम्मको असिमित अधिकार प्रदान गर्दछ । विश्वब्यापीकरणको यस युगमा यस्तो राज्य विखण्डन, पृथकतावाद र साम्राज्यवादलाई प्रश्रय कसरि दिन सकिन्छ ? यहि हकको प्रयोग गरेर सिक्किम र जम्मु–कश्मिर भारतमा विलय गराइए भने कोसोभो सर्वियाबाट र इरिट्रिया ईथ्योपियाबाट अलग्गिए । नेपालको जुन भू–राजनैतिक अवस्था छ,त्यसले अरु कुनै भू–भागलाई आफूमा गाभ्ने होइन कि आफैँ विखण्डित हुने वा विलय हुने सँभावना बढी हुन्छ । नेपाल रुसी साम्राज्य,माओवादी बोल्सेभिक र प्रचण्ड भि आइ लेनिन होइनन । लेनिनले तत्कालीन सन्दर्भमा पूर्वी युरोप,ककेसस र मध्य यशियाली राष्ट्रहरुलाई कब्जा गर्ने उद्देस्यले तत्कालीन रणनैतिक औजारका रुपमा प्रयोगमा ल्याएको नारा नेपालको लागि उपयुक्त हुने कुनै गुञ्जायस छैन । स्वायत्तता र आत्मनिर्णयका लागि लेनिनकै साम्राज्यमा बाल्टिक गणराज्यहरु र अफगानिस्तानले तीसौँ वर्ष सँघर्ष गर्नु परेको र ककेसस गणराज्यहरु लगायत अफगानिस्तान, माल्दोभा र चेचेन्यामा अझै पनि घातक द्धन्द्ध जारी रहेको कुरालाई नजर अन्दाज गर्न मिल्दैन । सँशोधनवादी ट्याग लगाईएको चिनिया रिजिमले समेत आत्मनिर्णय र स्वायत्तताको लागि सँघर्षरत तिब्बति जनताको छातीमा अधिनायकवादी बूट बजारीरहेको छ भने आफनो स्वतन्त्रता र समृद्धिमा रमाइरहेका ताइवानीहरुको गर्धनमा तरवार बनेर हरपल खडा रहेको छ । त्यसै गरि हङकँगेली जनताहरु कतिवेला कहर वर्षिने हो भनेर भयाक्रान्त छन ।

लोकतन्त्र र सामेलीकरण त आधारभूत रुपमै माक्र्सवाद विरोधी एजेण्डाहरु हुन । तर यी मुद्धाहरुलाई पनि माओवादीले बिटुलो पारिसकेको छ । यूरोपीयन साम्यवादको इतिहाँस र माक्र्सवादी सत्ता रहेका उत्तर कोरिया,लाओस,भियतनाम र क्यूबाका वर्तमान अनूभवहरुले पनि हाम्रो देशमा माओवादीले उछालेका चल्तिका नाराहरु तत्कालीन लाभको लागि प्रयोग गरेको पुष्टी हुन्छ । सँघियता,नागरिक सर्वोच्चता र सामेलीकरण जस्ता विषयहरु विशुद्ध रुपले लोकतान्त्रीक विषयहरु हुन । यी कार्यसुचीहरुलाई लोकतान्त्रीक दलहरुले यथासमयमै उपयुक्त ढँगले सम्बोधन गर्न सक्नु पथ्र्यो । तर त्यो भएन । उनिहरुको यस निकम्मापनको फाइदा माओवादीले उठायो । वास्तवमा यी एजेण्डाहरुले नागरिकलाइ स्वतन्त्र र अधिकार सम्पन्न बनाउँछन । मुख्यतः सँघियताले नागरिकलाई स्वायत्तता प्रदान गर्दछ भने नागरिक सर्वोच्चताको सिद्धान्तले विधीको शाशनको वकालत गर्दछ । लोकतन्त्रले जनतालाई दास सम्झिने सबै खाले निरङ्कुशता र अधिनायकवादको वर्खिलाप र प्रतिनीधिमुलुक शाशन प्रणाली र नागरिक स्वतन्त्रताको प्रत्याभुति दिन्छ । यसको ठीक विपरित मालेमावादको मेरुदण्ड नै सर्वहाराको अधिनायकत्व,एकदलीयता र साम्यवादी सर्वसत्तावाद हो ।

यति हुँदाहुँदै पनि माओवादी आफनो उद्देस्यमा सतत् अगाडि बढिरहेको छ,नेपाली जनता ताली ठोकीरहेका छन । जाती जनजातीहरुले जातीय स्वायत्तताको आशामा,मधेशले आत्मनिर्णयको आशामा,नागरिक समाजले नागरिक सर्वोच्चताको आशामा,राष्ट्रवादीहरुले राष्ट्रीय एकताको आशामा, पूँजीपतिहरुले सुरक्षाको आशामा,पीछडिएकाहरुले सामाजिक न्यायको आशामा र आम जनताले अमन–चयनको आशामा ! माओवादीबाट सबैले सबै कुराको आफु अनुकुल आकाँक्षा पालेर आ–आफना डम्फु बजाइरहेका छन । यसलाई मास हिस्टिरिया नभने के भन्ने ? विचित्र छ नेपालमा ! यी सबै आशाहरु पूरा गर्ने हो भने माओबादीसँग नौलो जनवाद हुँदै समाजवाद र साम्यवाद स्थापनाको लागि बलिदान दिएको र अझै कुर्वानी दिन तम्तयार रहेको आफनो विशाल स्वप्न–पङतीलाई दिनको लागि रहन्छ के ? देशलाई द्धन्द्धको यत्रो भुमरीमा जाक्ने र बन्धुत्व,सहिष्णुता र मानवतावादको हुर्मत लिने यत्रो किर्तिमान कायम गर्न सफल मालेमावादलाई कहाँ पठाउने ? सबैले बुझ्न जरुरी के छ भने यस्ता परस्पर विपरीत वर्ग र समुदायका परस्पर विपरित आशा र आकाँक्षाहरुको परिपुर्ति एउटा निरँकुशता,एकदलीयता र अधिनायकवादमा विस्वास राख्ने नितान्त एक्लिएको दलबाट सँभव हुँदैन । हैनभने या त माओवादी धनकुवेर हुनु प-यो या नेपाली जनता गुमराहमा ! नेपाली जनता भ्रममुक्त छन र माओवादी धनकुवेर हुन सक्दैन भने यो आन्दोलन टाँय–टाँय फिस्स हुने दिन टाढा छैन । यदि हामीलाई यो मास हिस्टिरियाले समातीरह्यो भने लोकतन्त्र,नागरिक सर्वोच्चता र सँघियता होइन माओवादी अधिनायकवाद,एकदलीय सर्वोच्चता र बन्दुकको राज उपभोग गर्न तयार भएर बसे हुन्छ ।

६ नोभेम्बर २००९ । बेल्जीयम ।

2 comments:

Edited By: Pathak Saathi said...

फटाहाहरुको क्रन्दन हो यो लेख....., माओबादीले राम्रो गरेको देख्न नसक्ने मनोरोगी हौ तिमीहरु......, माओबादीले उठाएको मुक्ति आन्दोलन तिमीहरुको मृत्यु शन्देश बन्दै छ ...., छटपटी लाग्न सुरु भैसक्यो तिमीहरुलाई......,

कृष्ण पौडेल (Krishna Paudel) said...

विचारपूर्ण लेख ।