19.12.10

धोवी-धुलाइ



हाम्रो बुवाहरू हुनुहुन्थ्यो ११ भाइ । जेठो बा जिम्मावाल र माहिलो चाहिँ मुखिया हुनुहुन्थ्यो रे जमानामा । हामी उहाँहरूलाइ जेठो बुवा-माइलो बुवा नभनेर जिम्माल बा,मुखिया बा नै भन्थ्यौँ । ठाइँला मुनिका सबैलाइ हामी कान्छो बुवा भनेर पुकार्छोँे । अब एकजना बुवा मात्र जीवित हुनुहुन्छ,साइँलो बुवा-८८ वर्ष ।

मुखिया बा को छोरा हुनुहुन्थ्यो हाम्रो कुलको जेठो सन्तान-यामे दाइ अर्थात याम बशादुर क्षेत्री । उहाँ अलि मन्द बुद्दिको हुनुहुन्छ । लप्पन-छप्पन नजान्ने,सिधा कुरा गर्ने र अलि-अल बचकाना स्वभावको । हामी पाठशाला जाने बेलासम्म पनि उहाँ स्कूल जानुहुन्थ्यो । १३ वर्ष सम्म १० कक्षामा पढ्नु भयो रे तर टेस्ट पास गर्न सक्नु भएन भन्ने हामीले सुनेको सानैमा । त्यसो हुनाले हाम्रो बुवा-आमाहरूले उहाँलाइ अलि पर्गेलेर व्यवहार गर्नुहुन्थ्यो-उहाँको नाम लिनु पर्दा याम बहादुर भनेर नाम लिएको मैले सुन्दिनथेँ-सबैले यामे लाटो भन्थे । गाउँलेहरू पनि त्यसै भन्थे । मलाइ उहाँको नाम नै त्यहि हो भन्ने लागेको थियो । पढ्न नसके पछि मुखिया बाले उहाँलाइ गाइ-बस्तु र खेतिबारी तर्फ लगाउनु भएको थियो ।


हाम्रो खलकको निजि बन छ बाघे डाँडोमा । बाघको वासस्थान भएको हुनाले त्यसको नाम बाघेडाँडो रहन गएको रे । त्यो बनको रखवारी र उपयोग यामदाइले गर्न थाल्नु भयो । तल सालघारी छ,घना जँगल छ खर्को । जहाँ हाम्रो परिवारको अलिकति अलग निजी बन पनि रहेको छ । गाइ-बाख्रा चराउने,घाँस-दाउरा बटुल्नेहररू र पात टिप्न आउने आइमाइ मान्छेहरूलाइ धपाउने काममा उहाँ बडो जागरूक हुनुहुन्थ्यो । उहाँ जँगलको सिरानमा बसेर ठूल्ठूला ढुँगा पल्टाएर मान्छे धपाउनु हुन्थ्यो । त्यसले गर्दा त्यो बन मुखियाको हो भन्ने धारणा बन्न गयो सर्वसाधारणमा । त्यसको उपभोग पनि बढ्ता उहाँले नै गर्नुहुन्थ्यो । अरू दाजु-भाइका दरसन्तानले उपभोग गरे भने पनि लघार्नुहुन्थ्यो रे । अतः त्यसको नामनै मुखियाको पाखो भन्ने रहन गयो । ११ भाइकै संयुक्त स्वामित्वमा रहेको भए पनि हामी जान्ने हुँदा त्यो बनलाइ मुखियाको पाखो भनिन्थ्यो र यामेदाइको एकछत्र राज थियो । तर अहिले चाहीँ त्यस्तो छैन ।


कच्चा बुद्दि न हो, पुतलीका हूल देख्दा मैले आमालाइ सोध्दथेँ-यत्रा धेरै पुतली कहाँबाट आएका ? आमाले भन्नुहुन्थ्यो- उ त्यो बाघेडाँडा उताबाट । आकाशमा क-याँग-कुरूँगका लश्कर देख्दा छक्क परेर मैले आमालाइ सोध्थेँ । उहाँ भन्नुहुन्थ्यो- बाघेडाँडा पारीबाट । साँझ पख आकाश छोप्ने गरि धमिरा उड्थे । ती पनि त्यहीँबाट रे । खेतमा आमासंग रोपाइँमा जान्थेँ,खोलामा मान्छे बगाउने पानी देखेर म छक्क पर्थेँ । यति ठूलो गाढ कहाँबाट आएको होला भनेर गम खान्थेँ । उहाँले त्यो पनि त्यहि डाँडा उताबाट आएको भन्नुहुन्थ्यो । यसबाट मलाइ सबै कुरा उतैबाट आउँछ भन्ने पर्न गयो । रातीमा घ्यार-घ्यार बाघ डुक्रिन्थ्यो-उ बाघेडाँडोमा बाघ करायो भन्नुहुन्थ्यो । मध्य रातीमा ड्याम्म-ड्याम्म बन्दूक पड्केको सुनिन्थ्यो- उहाँ भन्नुहुन्थ्यो बाघेडाँडोमा बन कुखुरा मारे । यी कुराहरूले गर्दा बाघेडाँडो प्रति ममा ठूलो कौतुहलता जागृत भएको थियो । मैले घरबाट त्यो डाँडो नियाली रहन्थेँ । बाघडाँडोको शिखरमा जँगल थिएन, नाँगो थियो । मान्छेको टाउको खुइलिए जस्तो । त्यहाँ मान्छे हिँडेको देखिन्थ्यो-टिमिक-टिमिक । मैले को हो भनेर सोध्थेँ-आमाले यसै भन्दिनुहुन्थ्यो यामे लाटो हो भनेर । मलाइ एकपटक त्यहाँ जाने रहर थियो । सबै कुरा उत्पत्ति हुने मूहान कस्तो होला भन्ने लाग्थ्यो । मैले सपनामा त्यहाँ गएको देखिरहन्थेँ । डाँडा पारी अर्कै रूमानी दुनियाँ देख्दथेँ,ठूलो तलाउ हुन्थ्यो,नीलो पानी हुन्थ्यो,स-साना टापू देख्देथेँ,थरि-थरिका पुतली,रँगी-बरँगी चराहरू,अग्ला-अग्ला उत्तिस र लप्सीका रूख,लटरम्म आँप र अँगुर फलेको देख्दथेँ । बन कुखुरा हुन्थे,तलाउको पानीमा सान्साना माछा पौडीरहेका,आकाशमा क-याङ-कुरूङ् उडिहेका हुन्थे । र यामे दाइ त्यहाँ टहलीरहेको देख्दथेँ । मेरो दिमाखमा तीनै सपनाको आधारमा बाघेडाँडा उताको दुनियाँको एउटा स्वप्नील छवी कुँदिएको थियो ।


बाघेडाँडाको वल्लो ढलानमा हाम्रो खरबारी छ,अरूको पनि छ । त्यसलाइ लामखोरिया भन्छन । एक दिन आमा संगै पछि लागेर म पनि त्यहाँ गएँ । आमा घाँस काट्न थाल्नु भयो । मलाइ माथी डाँडाको टुप्पोमा जाने रहर तिब्र भएर आयो । म लागेँ उकालो । त्यहाँबाट ५-७ मिनेटमै माथी पुगिने रहेछ । म त्यहाँ पुगेँ । उता पट्टी हेर्छु त कहाली लाग्दो भीर रैछ । डरलाग्दा पहरा र अन्धकार जँगल । म त हरस्सै भएँ । मेरो सपना भन्दा बिल्कूल विपरित । मलाइ ज्यादै पछुतो भयो-बाघे डाँडाको त्यस्तो कुरूप दृष्य देखेर ।


त्यहाँ गोठालाहरू ओहोर-दोहोर गरिरहेका थिए-तर मेरा आँखाले यामेदाइ लाइ खोजिरहेका थिए । उहाँ बाख्रा बनतिर लगाउन जानु भएको रहेछ-एकछिमा आउनु भयो । देख्ने बित्तिकै मैले उहाँलाइ भनि हालेँ- “यामे लाटा ।“ मलाइ लागेको थियो यामेदाइले मायाँ गर्नुहुनेछ । तर ठीक उल्टो भयो । के भनिस ? भनेको के सुनेको थिएँ-उहाँको भयानक बज्रमुक्का मेरो कलिलो अनुहारमा बज्रीहाल्यो । मैले सर्वस्व अँध्यारो देखेँ त्यहाँ थुप्रै ताराहरू देख्न पुगेँ । कान टिनिन्न कराए,पृथ्वी फनन्न घुम्यो,मूखबाट ह्वाँsss के निस्केको थियो – म त डङरङ्गै भूइँमा पछारिएँ । मलाइ उठाउने कोही भएन । यामेदाइ राता-राता आँखा पारेर,अनुहार बिगारेर पहाड जस्तो उभिएर मुर्मुराइ रहनु भएको थियो । उहाँको क्रोध देखेर मेरो हंसले ठाउँ छोडीसकेको थियो । अलि होश फर्के पछि यसो उठेको थिएँ-फेरी भन् त ? भन्ने शव्दका साथ घन भन्दा जब्बर लात मेरो पेटमा बिस्फोट भयो । म त कुक्रुक्क परेर ढुनमुनाउँदै फेरि लडेँ । अब चाहीँ मरिने भैइयो भन्ने लाग्यो र म गुहार माग्ने हेतुले जोरसँग रून थालेँ -ह्वाँssssह्वाँssss !


मेरो मरणान्तक रोदन आमाले सुन्नु भएछ,म तलतिर घिस्रिँदै थिएँ-उहाँ के भो-के भो भन्दै आइपुग्नु भयो । मैले भनिदिएँ-यामेलाटाले गोद्नु भयो । आमाको रौद्र रूप देखेर मेरो झन सातो उड्यो । उहाँले फरिया माथि सुर्किनु भयो घुँडासम्म,पटुकी कसक्क कस्नु भयो,हातको हँसिया खच्याक्क भूइँमा गाड्नु भयो र यामदाइ माथि जाइ लाग्नु भयो । केही नसोधी याम दाइलाइ गोद्न सम्म गोद्नु भयो । याम दाइले भागेर ज्यान बचाउनु भयो । अनि मलाइ मायाँ गरेर भन्नु भयो-मेरो बाबु, हेर कस्तरी गोदेछ कसाहीले । दाइलाइ किन त्यस्तो भनेको त तिम्ले ? अब मलाइ के थाहा यामदाइलाइ “यामे लाटा” भन्न हुन्न भनेर ? म हिक्क-हिक्क रूँदै आमाको काखमा लुट्पुटीएर सिँगान पुछेँ उहाँको पछ्यौरीले ।

बेल्जियम ।

No comments: