19.12.10

लाइट हरायो ।

२०४८ मा प्रहरी निरिक्षक ज्ञानेश्वर वैध्यको हत्या हुनुभन्दा अघिसम्म ज्यामिरघाटमा ज्यादै ठूलो मेला लाग्दथ्यो, माघे सक्रान्तीको दिनमा । मेला भर्न जानेहरूको लर्को लाग्थ्यो राङ्गखानी देखि लिएर ज्यामिरघाट सम्मै । बाजा-गाजा र भजन-किर्तन सहीत कालीगण्डकीमा तोरण लानेहरूको जलेशा हुन्थ्यो । बाटोको किनार र खेतका फाँटभरी गाउँलेहरूले सेलरोटी,चना,मासू र रक्सीका पसल राख्थे । तन्नेरी-तरूनीहरूको डम्फु-मादल र झ्याम्रेले पूरै ठेउले खोला घन्किन्थ्यो । समूह-समूहमा केटाकेटीहरू नाचगान र खानपीन गर्थे ।
यो क्रम माघे सक्रान्तीको आजजसो र भोलीपल्ट समेत गरेर तीन दिनसम्म चल्दथ्यो । हामी ठेउले बजार,रूम्टा र जाडी सम्म पुगेर रमाइलो मान्थ्यौं । हाम्रो दोकान हुन्थ्यो ठेउलेमा लुगा तथा खुद्रा सामानको । ती तीन दिन मारामारी चल्थ्यो । घरका सबै ठूला मान्छेहरू त्यहिँ व्यस्त हुन्थे । हामी केटा-केटीलाइ बुवाले खोलो त-यौ कि खुट्टा काट्दिन्छु भनेर डराउन दिनुहुन्थ्यो तर हामी कसरी-कसरी मेला भरेरै छोड्थ्यौं ।

यहाँ त यति रमाइलो हुन्छ भने ज्यामिरघाट नै जान पाए कस्तो हुँदो भनेर हामी सधैँ कल्पिन्थ्योँे । यस्तै २०३८ साल तिरको कुरा हो यसपाली हामीले ज्यामिरघाट नै जाने सल्लाह ग-यौं । गाउँघरका दाजु-भाइ,दिदि-बहिनीहरू अबेर राती टर्चलाइट,राँका बालेर होहल्ला गर्दै फर्किन्थे । हामीसंग टर्चलाइट हुने कुरा थिएन । राँका बाल्न डर लाग्थ्यो । बेलुका कसरी फर्कने भन्ने चिन्ता प-यो । जे होला होला भनेर घरमा भएका ठूला मान्छेका टर्चलाइट लुकाएर लिएर जाने निधो गरियो । मैले बुवाको टर्चलाइट सुटुक्क लुकाएर लिएर गएँ ।

ज्यामिरघाटको जलेसा देखेर हामी बालकहरू आश्चर्य चकित भैइयो । रमिता हेर्न गएको हराइएला भन्ने डरले हात गाँसेर गाउँका ठूला मान्छेहरूका पछि-पछि दगुर्दा-दगुर्दै दिन बित्यो । होहल्ला र डम्फु-मादल र झ्याम्रेको कोलाहलले कान घाट्टिएर सुन्नै नसक्नु भयो । साँझ ठेउले खोलो तरेर बिनामारेको उकालो लागे पछि बल्ल होश खुल्यो । त्यहाँबाट ज्यामिरघाटको फाँटमा हेर्छम त आकाश नै झरेजस्तो । त्यस्तो झिलिमिली मैले पहिलो पल्ट देखेको थिएँ । दिनभरी खान पनि केहि खाइएन,पीउने होश पनि रहेन । सिम्ले पुगेपछि बल्ल भोक र तिर्खाको याद भयो । हात-खुट्टा गलेर लत्र्याक-लुत्रुक्क भए । सबैले सोली,झोला,पोका-पन्तुराहरूमा तरूल,पिँडालु,सेलरोटी र मीठामीठा खानेकुरा लिएर जाने रैछन,कोदाको रक्सी र उसिनेको अण्डा पनि । हामी त रित्तै । तै गाउँका दाइ-दिदिहररूले माया गरेरर दिए र खायौं । अनि उकालो लागियो ।

ज्यामिरघाटबाट हाम्रो गाउँ पुग्न २ घण्टा लाग्छ । माथी फाँटमा पुगेपछि दिदिहरू एउटा घरमा पसेर पानी पीउन थाले । हामी पनि तँछाड-मछाड गर्दै पानी पीउने भीडमा मिसियौं । हत्पतमा मैले बुवाको टर्चलाइट त्यो घरको गारोमा राखेर पानी पीउन थालेछु । सबैले पानी पीइसके पछि लाइट खोज्छु त छैन । टर्च-लाइट हरायो । मेरो त सातो-पुत्लो उड्यो । दाइ-दिदिहरूले खोजतलाश गरे,भेटीएन । मे बेसरी रोएँ । त्यहाँबाट घरसम्म कसरी आइपुगेँ होशै भएन । लाइट हराएकोमा भन्दा अब बुवाले पिट्नुहुने भयो भनेर म डराएको थिएँ । त्यो लाइट हरायो । बुवाको गोदाइका त के कुरा गर्नु,एक वर्षसम्म उहाँको नजिक पर्ने हिम्मत जुटाउन सकिन ।
अहिले सम्झन्छु,ज्यामिरघाटबाट उकालो लागेपछि रूपा दिदि मेरो अघि-अघि लागेकी थीइन् मेरै टर्चलाइटको भरमा । तर मेरो लाइट हराए पछि उनि मेरो पछि लागिन । म अघि-अघि उनैले बालेको लाइटको भरमा घर पुगेँ । पहिले त दिदिसंग लाइट थिएन,पछि उनिसंग कहाँबाट आयो भन्ने कुरा मैले त्यतिबेला सोच्दै सोचिन ।
बेल्जियम ।

No comments: