5.1.11

पुनःमुसिको भवः

-इन्द्र क्षेत्री



मैले जनता मावि सर्कुवामा पढाउने ताका भवानी सर हुनुहुन्थ्यो शास्त्रमा पोख्त । उहाँ सँस्कृत साहित्यका प्रकाण्ड विद्वान हुनुहुन्थ्यो तर उहाँले पढाउने विषय थियो गणित । त्यसै गरि हाम्रो हेडसर हुनुहुन्थ्यो नारायण पौडेल । उहाँको त विषय नै सँस्कृत । उहाँले सँस्कृतमा आचार्य गर्नु भएको थियो र नेपाली पढाउनुहुन्थ्यो । उहाँहरू बीच जो शास्त्रार्थ हुन्थ्यो,त्यो सुन्न लायक हुन्थ्यो । सँस्कृतका शास्त्रहरू त मानौँ उहाँहरूले खर्लप्पै खानु भएको थियो ।
 उहाँहरू र उहाँहरूको शास्त्रार्थको प्रसँगमा पछी कतै लेखौँला आज भवानी सरले सुनाएका दुइटा नीति कथाको प्रसँग उल्लेख गर्न जाँदैछु । आज मलाइ कसरि-कसरि ती प्रसँगको याद आयो । उहाँले त श्लोक हालेर भन्नुहुन्थ्यो,आफुलाइ त्यो आउँदैन, याद गरेर भावार्थ मात्र प्रस्तूत गर्दछु । जस्ताको तस्तै नहुन पनि सक्छ,त्यसको लागि बिद्वान मित्रहरूसँग अग्रिम माफी चाहान्छु । बरू कसैलाइ यी दुइ कथाको सँस्कृतमा श्लोक याद भएमा कृपया राखिदिनुहोला ।

१-पुनरमुसिको भवः


एकजना ऋषिले आफ्नो कुटीमा एउटा मुसो पालेका थिए । मुसालाइ बिरालोको सधैँ डर रहने । आँखा चिम्ल्यो कि बिरालोको शिकार भैहाल्नु पर्ने । यस्तो त्राहीमाम् जीवन देखि आजित भएर उसले ऋषिको तपस्या गर्ने निधो गरेछ,बिरालो बनाइदेउ भनेर । उसको कडा तपस्या देखेर ऋषि खुशी भएछन् र आफ्नो अलोकिक शक्ति प्रयोग गरेर उसलाइ बिरालो बनाइदिएछन् । बिरालो लाइ कुकुरको सधैँ भय हुने । भेट्यो कि झम्टीहाल्ने । बिरालोको भयाक्रान्त जीन्दगी देखि वाक्क लागे पछि उसले ऋषिको कठोर तपस्या गरेछ-कुकुर बनाइदेउ भनेर । ऋषिले यसपल्ट पनि उसको तपस्या देखि खुशी हुँदै तथास्तू गरिदिएछन् । कुकुरलाइ पो हाइसञ्चो कहाँ थियो र ? कुकुरहरू पनि सिँहबाट पीडित थिए । हर बखत सचेत रहनुपर्ने । केहि स-याक्क ग-यो कि झस्किनु पर्ने चैनसँग सुत्न त पाइँदै नपाइने । उसलाइ कुकुरको जीवनसँग पनि चित्त बुझेन । उसले फेरी तपस्या शुरू ग-यो-सिँह बनाइदेउ भनेर । यसपल्ट पनि ऋषिले उसको पुकार सुने र उसलाइ सिँह बनाइदिए ।

अब चाहीँ उसलाइ ढुक्क होला भन्ठानेको किन त्यस्तो हुँदो हो । असन्तुष्ट मन न हो, अव उसमा ऋषि प्रति इर्स्या जागेर आयो । सँसारमा अब उसलाइ कसैको डर थियो त खालि मुसोबाट सिँह बनाइदिने तिनै ऋषिको मात्र । उसको मनमा एउटा कलुसित बिचारले जन्म लियो । उसले ऋषिलाइ नै सिद्दाइदिने योजना ग-यो । न रहेगा बाँस नबजेगी बाँसूरी भन्ने सोचेर ऋषि छेउ उपस्थित भएर  उसले भन्यो - "माफ गर्नु मालीक अब म तिमीलाइ खान्छु ।" ऋषि झल्याँस्स भए र आफुबाट ठूलो भूल भएको महसूस गरि तुरून्तै मुसोलाइ श्राप दिए-"पुनः मुसिको भवः ।" अर्थात फेरी मूसो नै भैजा ।  क्षणभरमै गर्जीरहेको सिँह निर्धो मुसोमै परिणत भयो र चिँ-चिँ गर्दै कुटीको दुलो भित्र पस्यो ।


२-भारण्डी चरा



भारण्डी पँक्षीलाइ इश्वरले दुइतिर फर्केका दुइवटा चुचा प्रदान गरेका थिए । तर दुइवटा चुचाको कत्ति मिलती थिएन । एक-अर्काको असाध्य डाह गर्ने । झन अर्कोले मीठो खाएको त देखि नसहने । विचरणको क्रममा एकदिन भारण्डी चरा एउटा यस्तो वृक्षमा पुग्यो जहाँ पुष्प-विषको मध्यमा मीठो अमृत फल फल्थ्यो । त्यहि फलखाने क्रममा दुइ चुचाहरूको स्वभावतः स्पर्धा चलिहाल्यो । एउटाले अमृत फल के खाएको थियो अर्कोले अति क्रोधीत भएर पुष्प-विष खाइ दियो । यसरि भारण्डी चराको दुइ चुच्चाको कुबुद्दिले उसको इहलिला समाप्त भयो ।







No comments: