4.1.11

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा

सुवास गुरुँग
भौगोलिक अवस्थिति
रुम्जाटार पूर्वी नेपालको सगरमाथा अञ्चलको ओखलढुँगा जिल्लामा अवस्थित छ । ओखलढुँगा जिल्लाका ५६ गाविस मध्य यो एक मनमोहक र रमणीय गाउं हो ।
जिल्ला सदरमुकाम ओखलढुँगा बजारदेखि ५ कि.मी. पूर्वमा यो गाविस रहेको छ । भौगोलिक रुपमा चारै तरफ अग्ला पहाडहरुको बीचमा समथर भूभाग रहेको यो गाउं सानो पहाडी उपत्यका हो । यसको लम्बाइ ३.९ कि.मी. रहेको छ भने चौडाई २ कि.मी छ । यहांको समथर भूमी सिँचाई सुविधाबाट वञ्चित नै रहेको छ ।

रुम्जाटार गाविस २६° १६४०देखि २७° १९१३उत्तर अक्षांश र ८६° ३५पूर्व देशान्तरमा फैलिएर रहेको छ । यस गाविसको कूल क्षेत्रफल करीव ६५ वर्ग कि.मी. रहेको छ । यसमध्ये १६,४२२,१४ रोपनी खेतीयोग्य जमीन रहेको छ । जँगल क्षेत्र ९७९ रोपनी र बांकी जमीन सार्वजनिक स्वामित्वमा रहेको छ ।

रुम्जाटारमा गुरुँग समुदाय

नेपाल एकिकरणको अभियानमा समग्र गुरुँग जातीहरुको योगदान महत्वपूर्ण रहेको छ । राजा पृथ्वीनारायण शाहको पालामा कास्की राज्य माथीको विजयमा झगल गुरुँग र सिन्धुलीमाढीमा भएको नेपालअँग्रेज युध्दमा सरदार वन्सु गुरुँगको वीरतालाई नेपालका ईतिहांसकारहरुले उच्च मूल्याङ्कन गरेका छन । त्यसै गरि रणबहादुर शाहको पालामा ई.सं. १८०३ देखि १८०६ सम्म नरसिँह गुरुँग काजी पदमा रहेका थिए । बहादुर शाहको कार्यकालमा गुरुँग फौज पूर्व तर्फ लड्दै पूर्व ३ नम्बर ओखलढुँगा रुम्जाटार पुगेको अनुमान गरिएको छ ।

रुम्जाटारमा प्रचलित किम्बदन्ती अनुसार तत्कालीन समयमा रुम्जाटारमा रुम राई भन्ने ब्यक्तिले वस्ती बसाइ त्यस ठाउँका अधिपति भै बसेका थिए भन्ने भनाई छ । पछि उनैको नामबाट त्यस ठाउँको नाम रुमराईटार रहन गयो । समयको परिवर्तनसँगै अपभ्रँस भएर रुम्राइटार हुँदै रुम्जाटारमा परिणत भै आधुनिक रुम्जाटारको नामाकरण हुन गएको जनश्रुती पाइन्छ ।  वस्ति बिकाशको क्रममा रुम्जाटारमा सर्वप्रथम गुरुँग समुदायका लामा गुरुँगहरु आएको विस्वास गरिन्छ । नेपाल एकिकरणको क्रममा लडाईँ लड्दै आईपुगेका गुरुँग फौजहरुद्धारा आवादी गर्न योग्य ठाउँ चयन गरि गुरुँग बस्ति बसालेको भन्ने भनाइ छ । रुम्जाटार आइपुगेको गुरुँग फौज मध्य लामा गुरुँगहरुले रुम्जाटारमा स्थायी रुपमा बसोवास गर्न थालेका थिए । अर्को एक किम्बदन्तीका अनुसार लामा गुरूँगहरूले त्यहाँ परापूर्व कालदेखि बसोबास गरेका रूम्जेली राइहरूलाइ पराजित गरि लघार्दै रूम्जाटार देखि पश्चिम रूम्टीखोला कटाइ छाडेका र त्यहि खोलामा तरबार धोइ फर्केका भन्ने भनाइ प्रचलित छ । त्यसो हुनाले अहिलेसम्म पनि त्यहाँका लामा गुरूँगहरूले त्यस खोलाको पानी पीउँदैनन् । तर प्रमाणीक रुपमा भने रुम्जाटारमा गुरुँग जाती कहाँ र कताबाट आई बसोवास गर्न शुरु गरे भन्ने कुरा अझै सम्म पनि पत्तो लाग्न सकेको छैन । तथापि यहाँ अहिले पनि गुरुँगहरुको बाहुल्यता रहेको छ ।

पहिचानको प्रश्न
टारेली गुरुँगहरु आफ्नो भाषा बोल्न सक्दैनन् । आफ्नो भाषा,भेषभुषा,रीतिरिवाज,परम्परा र चाडपर्वहरु टारेली गुरुँगहरुले बिर्सीसकेको अवस्था छ । यहाँका ब्राम्हण क्षेत्री र अन्य जातीहरुसँग यो जाती यसरि अन्तरघुलित भएको छ कि नामको पछाडी गुरुँग शब्द प्रयोग गर्ने र नाकनक्सामा रहेको अन्तर बाहेक अन्य भिन्नता भेटाउन कठीन हुन्छ । परापुर्व कालदेखि नै आफ्नो वर्चस्व राख्दै आएको यो ठाउँको गुरुँग समुदायले आफ्नो जातीय पहिचान कायम राख्न किन सकेन भन्ने कुरा एउटा पहेलीको रुपमा रहेको छ । वर्तमान पुस्ताको लागि यो विषय जति आश्चर्यजनक छ त्यति नै भावी पुस्ताको लागि खोजीको विषय हुन सक्दछ ।
सरकारले २०५६ सालमा आएर ६१ आदिवासी जनजातीहरु मध्य गुरुँग जातीलाइ पनि सामेल गरे पछि यहाँका गुरुँगहरुमा पनि जातीय सचेतना जागृत हुन थालेको छ । प्रजातन्त्रको पुनरस्थापना पछि देशमा आएको जागरणले यहाँका गुरुँगहरुलाई पनि नछोइरहन सकेन । हिजोआज टारेली गुरुँगहरु आफ्नो ईतिहाँस,भेषभुषा,रहनसहन,रितिरिवाज,धर्मसँस्कृति,परम्परा र समग्र जातीय पहिचानका बारे जागरुक हुन थालेका छन् । अचेल गुरुँग पोसाकमा सजिएका युवतीहरु फ्याट्टफुट्ट देखिन थालेका छन् । ल्होसार मनाउन शुरु गरिएको छ भने विभिन्न गुरुँग चाडपर्व र उत्सवहरु मनाउन थालिएको छ । गुरुँग भाषा र सँस्कृतिका बारे खोज-अनुसन्धानहरु हुन थालेका छन् । समग्रमा भन्नुपर्दा टारेली गुरुँगहरु आफ्नो जातीय पहिचानको लागि जुर्मुराउन थालेका छन् । यो अत्यन्तै खुशीको कुरा हो । 
जातीय प्रदेशको खिलाफमा टारेली गुरुँगहरु
यहाँका गुरुँगहरु देशको बदलिँदो राजनीति सँगै जातीयताको आधारमा सँघियता लागू गर्ने कुराको खिलाफमा छन् । जातीय आधारमा प्रदेशहरु बनाउने कुरा उनिहरुलाई मन परिरहेको छैन । यस्तो भयो भने पूर्वेली गुरुँगहरुको प्रादेशिक राजधानी पोखरा बन्ने कुराले उनिहरुलाई ज्यादा पिरोलेको छ । हुन पनि चारआलीमा बसोवास गर्ने गुरुँगको लागि पोखरा राजधानी तोकिनु बेतुकको कुरा हो । यस्तो कुराले यसै त जातीय पहिचान गुमाइसकेका गण्डक प्रदेश बाहेक अन्यत्र बसोवास गर्ने गुरुँगहरुलाई थप अप्ठेरोमा पार्दछ । त्यसैले समग्र पुर्वेली गुरुँगहरुको माँग छसँघियता जातीय आधारमा होइन,भौगोलिक आधारमा दिइनु पर्दछ । 

माओबादीले यस गाउँलाई लिम्बुवान राज्यको राजधानी बनाउने योजना गरेको छ भने एमालेले सगरमाथा प्रान्तको मूलद्धार बनाउने घोषणै गरेको छ । यी दुबै कुराहरु अतिशयोक्तिपूर्ण र असंभव तर्कहरु हुन् । टारेली गुरुँगहरुको रहेसहेको पहिचान मेटाएर उनिहरुलाई थप जातीय उत्पिडनमा पार्ने षड्यन्त्र अन्तरगत हालिएको हरियो घाँस मात्र हो यो । आफ्नो जातीय पहिचान गुमाइ सकेका टारेलीहरुलाई उनिहरूको थात-थलोबाट समेत विस्थापित गर्ने ग्राण्ड डिजाइनको तहत यो कुरा उछालिएको हुन सक्छ । त्यसैले यस कुरामा टारेली अगुवाहरु अहिल्यै सजग हुन आवस्यक छ । 
आफ्ननो गाउँआफैँ बनाउँ
टारेली गुरुँगहरु दशकौँदेखि नेपाली,भारतीय र बेलायती सेनामा कार्यरत छन् । हाल सम्म प्राप्त अनौपचारिक तथ्याङ्क अनुसार ९०० देखि १००० सम्म टारेलीहरु तेश्रो मुलुकमा कृयाशील रहेका छन् । रुम्जाटारको नाममा देशबिदेशमा थुप्रै सँघसँस्थाहरु खुलेका छन् । तर रुम्जाटारको बिकाशमा खास टेवा पुग्न सकिरहेको छैन । सबै प्रयासहरुलाई एकिकृत ढँगले सञ्चालन गर्न सके फलदायी हुन सक्ने सम्भावना छ । यसको लागि गत वर्ष सम्पन्न रुम्जाटार महोत्सवमा मैले प्रवाशबाट रुम्जाटार बिकाश कोष स्थापनाको प्रस्ताव पठाएको थिएँ । त्यसको सान्दर्भिकता रहेको कुरामा म विस्वस्त छु । हामीहरुले प्रवाशबाट महिनामा १ डलर मात्र योगदान गर्न सक्यौँ  भने पनि १००० डलर प्रति महिना सजिलै जम्मा हुन सक्ने अवस्था छ । स्वैच्छिक योगदान त छँदै छ । प्रति महिना यसरि जमा हुने रकमलाई व्यवस्थित गरेर रुम्जाटारको बिकाशमा हामीले हात बँटाउन सक्दछौँ । म यो कुरामा रुम्जाटारका प्रवाशमा रहेका अगुवाहरुबाट पहल हुनेछ भन्नेमा आशाबादी छु ।

बेल्जियम ।

No comments: