22.2.11

खनाल-दाहाल सात बुँदे सहमति

१.    राष्ट्रिय स्वाधीनता, अखण्डता र मुलुकको सार्वभौमिकताको रक्षार्थ दृढतापूर्वक उभिँदै सामन्ती व्यवस्थाका सबै रूपको अन्त्य गर्दै देशमा सामाजिक-आर्थिक रूपान्तरण गरी स्वाधीन अर्थतन्त्रको निर्माण गर्दै जनताको समावेशी लोकतन्त्रलाई सुदृढ गर्ने र समाजवादउन्मुख राजनीतिक, सामाजिक व्यवस्था निर्माण गर्न अगाडि बढ्न हामी दुवै सहमत छौं ।


२.    गणतन्त्रलाई संस्थागत गर्ने, राज्यको पुनर्संरचना गरी संघीय राज्य बनाउने, जनताको समावेशी लोकतन्त्रलाई सुदृढ गर्ने र सामन्तवादका सबै रूपको अन्त्य गरी राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने नयाँ संविधान निर्माण गर्न दुवै पार्टी सहमत छौं ।

३.    शान्ति प्रक्रियालाई उपलब्धिमूलक निष्कर्षमा पुर्‍याउन माओवादी सेनाका लडाकुहरूको स्वैच्छिक अवकाश, पुनःस्थापना र समायोजन कार्यलाई सम्मानजनक रूपमा सम्पन्न गरिनेछ । सुरक्षा निकायमा समायोजन गर्ने सम्बन्धमा अहिलेसम्म भएका कामहरूलाई निरन्तरता दिँदै माओवादी लडाकुको छुट्टै वा अन्य सुरक्षा निकायको समेतको संलग्नतामा छुट्टै फोर्स निर्माण गर्ने सहमति भएको छ ।

४.    संयुक्त सरकार बनाउन दुवै पार्टी सहमत छौं । सरकार सञ्चालनमा सहयोग गर्नका लागि उच्चस्तरीय संयन्त्र बनाइने छ । त्यसको नेतृत्व दुई पार्टीका अध्यक्षले पालैपालो गर्नुहुने छ । यस सन्दर्भमा सकेसम्म धेरै पार्टीलाई समावेश गरी नयाँ सरकार बनाइने छ । गृह र रक्षालगायत महत्त्वपूर्ण मन्त्रालयको उचित र सम्मानजनक बाँडफाँड गरिनेछ । यसको जिम्मेवारी दुवै पार्टीका अध्यक्षले लिनुहुने छ ।

५.    नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम र आचारसंहिता बनाई लागू गरिने छ ।

६.    आपसी सहमतिका आधारमा भविष्यमा सरकारको नेतृत्व आलोपालो गरी दुवै पार्टीको बीच दीर्घकालीन सहकार्य र सहयात्रालाई अगाडि बढाइने छ ।

७.    प्रधानमन्त्रीको चालू निर्वाचन प्रक्रियामा एनेकपा -माओवादी) ले नेकपा -एमाले) का प्रधानमन्त्री पदका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: २०६७ माघ २३ ०८:४२

No comments: