13.12.11

बादशाको नयाँ लुगा

 -इन्द्र क्षेत्री ।
एकादेशमा एकजना बादशाह थिए-लुगाका ज्यादै शोखिन । उनले राज्यकोषको सबैजसो पैसा पोशाकमा खर्चिन्थे । उनको ध्यान पोशाकमा बाहेक अन्य केहिमा थिएन । "अन्य शासकहरू सभामा हुन्छन यी बादशाह चाहिँ ड्रेसिँग रूममा हुन्छन्" भन्ने कहावत नै चलेको थियो । उनि बस्ने सम्वृद्ध शहरमा सहस्र अपरिचित मानिसहरूको आवत-जावत भैरहन्थ्यो । तीनै मध्य एक दिन दुइजना ठगहरू पनि त्यहाँ आइपुगे । उनिहरूले आफुलाइ बुनकर भनेर परिचय दिए । सँसारमा सबैभन्दा सुन्दर,अलौकिक र असाधारण कपडा आफुहरूले मात्र बुन्न सक्ने भनेर उनिहरूले दावा गरे । लुगाको रँग र ढाँचा मात्र असाधारण होइन कि ति कपडामा अयोग्य र मूर्खहरू देखि अदृष्य हुने विलक्षण क्षमता पनि हुन्छ भनेर उनिहरूले बढाइ-चढाइ गरे ।

बादशाहले सोचे यो कपडा मेरो लागि उपयुक्त हुन्छ ।  "यी कपडा लगाएर मैले मेरो राज्यमा को अयोग्य र निकम्मा छ भन्ने पनि छुट्याउन सक्ने भएँ"-भनेर उनि मक्ख परे । उनले तुरून्तै ति बुनकरहरूलाइ बोलाएर उनको लागि त्यो अलौकिक पोशाक तुरून्तै तैयार गर्ने हुकुम दिए । यसको लागि बादशाहले उनिहरूलाइ ठूलो धनराशी भुक्तान गरे ।

ठगहरूले दुइटा तान लगाए र कपडा बुनिरहेको अभिनय गर्न थाले जवकि तानमा केहि पनि थिएन । उत्कृष्ट रेशम र प्राचिन सुद्ध सूति-धागोहरू उनिहरूले मगाए । ती सबै बहूमूल्य वस्तुहरू उनिहरूको अटाइचीहरूमा भरिन थाले जवकि उनिहरू कतै टाढा एकान्तमा रात-रात भर खाली तानहरूमा ब्यस्त थिए ।

कपडा कस्तो बनिरहेको होला भनेर बादशाहलाइ एकपल्ट हेर्ने इच्छा भयो तर उनले मनमनै अयोग्य र मूर्ख मानिसले देख्न नसक्ने भन्ने कुरा झट्ट सम्झिए अनि आफ्नो योग्यता र बुद्धिमत्ता प्रति सशँकित भए । त्यसैले आफ्नो पुरानो र सबैभन्दा विस्वासिलो मन्त्रीलाइ हेर्न पठाउने निधो गरे । उक्त विलक्षण पोशाकको बारेमा शहरमा हल्ला फैलिइसकेको थियो । शहरवासीहरू आ-आफ्ना छिमेकीहरू को-कति अयोग्य र मूर्ख रहेछन त भनेर जान्न ब्यग्र थिए ।

इमान्दार र वफादार मन्त्री बादशाहको हुकुम तामेलीमा लागे । तर उनले जव ती ठगहरूले लुगा बुनिरहेको देखे उनि छक्क परे । उनी ती ठगहरूको कैरन देखेर हैरान भए । उनले केहि पनि देखेनन् तर त्यो कुरा उनले भन्न सकेनन् । दुबै ठगहरूले माननीय मन्त्रीज्यू अलौकिक कपडाको रूपरँग निरिक्षण गर्न पाल्नुभएकोमा बडो अनुग्रह प्रकट गरे । उनिहरूले खालि तानलाइ देखाएर पोशाकको बारेमा नाना थरिका बढाइ-चढाइ गर्न लागे । तर मन्त्रीले केहि पनि देख्न सकेनन् । त्यहाँ केहि भए पो देख्नु ! उनले मनमनै गुने – हे भगवान के म निकम्मा हूँ-के म मूर्ख हूँ ? के म मन्त्री हुन लायक छैन ? बाबै ! उनि मूर्ख र निकम्मा सावित हुन कदापी चाहन्नथे । अतः उनले पोशाक नदेखेको कुरा लुकाउने निश्चय गरे ।

एकजना ठगले सोधिहाल्यो- "कृपया पोशाक कस्तो लाग्यो ? निःशँकोच हामीलाइ भन्नुहोला ।" अहो सुन्दर,अति सुन्दर,अवर्णनीय ! वाह ! क्या रँग ! क्या बनोट !! बादशाहलाइ म यो देखि कति गद्-गद् भएँ भनेर भन्नेछु ।" बुढो मन्त्रीले बेजोड अभिनय ग-यो ।  "हामी धन्य भयौँ प्रभू !" ठगले भने । त्यस पछि बुनकरहरूले सबै रँग,कताइ,सिलाइ र डिजाइनको बारेमा एक-एक गरेर वर्णन गरे । बुढा मन्त्रीले ध्यानपूर्वक निरिक्षण गरे ताकि बादशाहलाइ यो सबको बारेमा सविस्तार बताउन सकियोस् । ठगहरूले पोशाकको लागि अरू रूपैयाँ,बहूमूल्य रेशम,थप सूती र सूनको धागोको लागि अनुरोध गरे जुन तानमा हैन कि उनिहरूको खजाना भण्डारमा जम्मा भयो । र पनि उनिहरूले तानमा कडा परिश्रम गरिरहेका थिए ।  मन्त्रीले बादशाह सामू अाफ्नो योग्यता र बुद्धमानीमा चार चाँद लाग्ने गरि कपडाको बडो गून गाए ।


बादशाहको अधिरता बढीरहेको थियो । उनहले अझ विस्वसनीय कर्मचारीलाइ पोशाक कहिले सम्म तैयार हुन्छ भनेर फेरि निरिक्षणमा पठाए । उ सँग पनि त्यहि कथा दोहोरियो जो बिचरा मन्त्रीसँग भएको थियो । उ पनि आफुलाइ निकम्मा मूर्ख सावित गर्न कहाँ चाहान्थ्यो र ? उसले पनि बादशाह समक्ष पोशाकको बारेमा बढाइ-चढाइ बखान ग-यो- "कुरै नगरूम् प्रभो,पोशाक देखेर म त स्तब्ध नै भएँ" ।


पूरा शहर त्यस चमत्कारी लुगाको बारेमा चर्चा गरिरहेको थियो । बादशाह पनि एक पटक तानमा गएर आफैँ हेर्न उत्सुक थिए । कपडाको निरिक्षण गरेर फर्केको विस्वासपात्र कर्मचारि र अर्को एकजना वफादार कर्मचारी सँलग्न एउटा टुकडी लिएर बादशाहको सवारी चल्यो-बेजोडको कपडाको निरिक्षणको लागि । बुनकरहरू बिना धागोको तानमा ज्यू-ज्यानले बुनाइमा तल्लीन भएको उनले पाए ।  "अति उत्तम" ! दुबैजना विस्वासिला अधिकृतहरूले जाली कुरा गरि हाले । " नजर लाइबक्स्योस मौसूफ, क्या रँग,क्या डिजाइन वाह !" खालि तान तिर देखाउँदै सबैजनाले देखेको जस्तो गरेर उनिहरूले प्रसँशा गाए ।  सम्राटले मनमनै सोचे- " यो के अचम्म हो ? मैले केहि देखिरहेको छैन ? बिनाश ! महाबिनाश !!

के म मूर्ख हूँ ? के म सम्राट हुन लायक छैन ? बाफ्रे बाफ ! तर प्रकटमा उनले गफ दिए-"अहो,अति सुन्दर ! " खालि तान हेरेर उनले सहमतिमा टाउको हल्लाए । उनले केहि देखिरहेका छैनन भन्ने कुरा बताउन सक्ने माइकालाल को त्यहाँ ? उनको पूरै टुकडी हे-या हेरै भयो । कसैले केहि देखिरहेको थिएन तर बादशाह सँगै सबैले स्वरमा स्वर मिलाइरहेका थिए- "सुन्दर,अति सुन्दर !" अनि सबैजनाले बादशाहलाइ उनले गर्न लागेको भब्य शोभायात्रामा यो बेजोड कपडा लगाउने बिन्ति चढाए ।  सबका मूखमा कपडाको वाहवाही फैलियो । बादशाहले दुबै बुनकरलाइ एक-एक वटा तक्मा प्रदान गरे जसमा बुनकरको प्रसस्ति कुँदिएको थियो ।

शोभायात्रा अघि रातभरी बडा परिश्रम गरेर उनिहरूले कपडा तैयार गरे,कपडा तानबाट निकाले जस्तो गरे,ठूलो कैँचीले हावामा काटे र अन्तमा घोषणा गरे-" बादशाहको नयाँ लुगा तैयार भयो ।" अनि राजालाइ बडो यत्नसँग त्यो पोशाकले सुशोभित गरे । सम्पूर्ण भारदारहरूका समक्ष उनिहरूले नयाँ लुगाको बारेमा सविस्तार गफ दिए । सबै भारदारहरूले "बिल्कूल बिल्कूल" भनेर सही थापी रहे ।

भब्य तैयारी पछि बादशाहको शोभायात्रा शुरू भयो । सवारी मन्त्रीले सवारी चलाए । गल्ली र घरका झ्याल-ढोकाबाट नरनारीहरूले नारा लगाए-" अहो,क्या राम्रो बादशाहको नयाँ लुगा ।" निकम्मा र मूर्ख हुने डरले बादशाह नाँगै हिँडीरहेको कुरा भन्ने हिम्मत कसैमा थिएन । यस्तो अजिबको कपडा पहिले कसैले देखेको थिएन ।
शोभायात्रा अघि बढीरहेको थियो । भीडबाट एकजना बालक फ्याट्ट करायो-"महाराज त नाँगै छन् ! खै कहाँ छ नयाँ लुगा ?

एकले अर्कोलाइ अर्कोले अर्कोलाइ कानेखुशी ग-यो- "बालकले भन्यो बादशाह त नाँगै छन् ।"

अनि एक कान दुइकान मैदान हुँदै सबैतिर फैलियो-"बालकले भन्यो बादशाह त नाँगै छन् ।"

अन्तमा पूरा शहर करायो-"बादशाह त नाँगै छन् ।" 

 बादशाह लगलगी काँप्न थाले । तर पनि उनको अभिमानले उनलाइ पछि हट्न के दिन्थ्यो-उनले तन्नम नाँगै झन छाती फुलाएर शोभायात्रा अघि बढाए ।

                                  ( भाव साभारः डेनिश साहित्यकार हान्स सी एण्डरसनको लघुकथा "एम्परर्स न्यू क्लोथ" ) 


(द्रष्टब्यः यस्ता सहस्र बादशाहहरू बजारमा नाँगै घुमिरहेका छन् । निकम्मा र अयोग्य भैइने भयले सबै ताली ठोकिरहेका छन् । नग्न बादशाहहरूले यत्र-तत्र टाँग अडा्इरहेका छन्-ह्याँकुलाले पेलीरहेका छन् । बालकहरूलाइ साँचो नबोल्न घर देखि पाठशाला सम्म सिकाइएको छ रे भन्ने सुनिएको छ । ) 

No comments: