13.12.11

गाउँको ठेक्दार-किस्ने हल्दार

हाम्रो गाउँमा एकजना समाजसेवी दाइ थिए-नाम थियो कृष्ण बहादुर लाम्छाने । उनले इण्डियाको फौजमा हवल्दारको पेन्सन पकाएको हुँदा उनलाइ गाउँघरमा किष्ने हल्दार भनेर चिनिन्थ्यो । उनले आफ्नो परिचय दिँदा पनि "यो किस्ने हल्दार परो" भनेर शानसँग चिनाउँथे । गाउँघरमा जन्म,मरण,कार्जे,बिहे,ब्रतवन्ध,पूजा इत्यादि जुनसुकै अनुष्ठानका हर्ता-कर्ता उनै हुन्थे । आपद-बिपदमा उनकै नाम उच्चारण हुन्थ्यो । बिकाश र सुधारका काममा पनि उनि अग्रपँक्तिमै हुन्थे । १० कक्षासम्म पढेका र देश दुनियाँ देखेका हुनाले उनको बिचार अलिकति प्रगतिशील हुन्थ्यो । लाहूरे भएर पनि उनि जुवातास र जाँड-रक्सीको सख्त बिरोधी थिए । समयको महत्व राम्रोसँग बुझेकाले उनको दिनचर्या र कृयाकलाप पल्टनकै तौर-तरिकामा हुन्थे । सबै कुराबाट उनि समाजका हितैषी थिए । त्यसैले उनलाइ लिएर एउटा कहावत नै चलेको थियो-“गाउँको ठेक्दार किष्ने हल्दार” ।


मानिस देउता त हैन नि । उनमा पनि एउटा अवगूण चाहीँ थियो । आफूले भनेको मात्र राम्रो हो र त्यहि हुनुपर्छ भन्ने हठधर्मिता उनमा थियो । गाउँघरमा बिहेबारी हुँदा बाजा बजाउनु हुन्न,दाइजोमा तडक-भडक गर्नु हुन्न भन्ने उनको दृढता हुन्थ्यो र यसमा अन्तिम सम्म पनि अडान लिन्थे । यो उनको ज्यादै राम्रो पक्ष थियो तर समाजको चलन,देखाउनको लागि भए पनि बिहेमा घर तर्फ र माइति तर्फ गरेर जोरबाजा बजाउनै पर्ने-ऋण काढेर भए पनि तडक-भडकपूर्ण दाइजो नदिए र नलिए तूच्छ सम्झिइने । यस कुरामा समाज र उनको सधैँ महाभारत चल्थ्यो । त्यस महाभारतमा उनको सधैँजसो हार हुन्थ्यो ।

मलाइ याद हुन्छ,बाजा बजाउनु हुन्न-दाइजो दिनुहुन्न भन्ने कुरामा सम्वन्धितसँग उनको तँतँ र मम नै हुन्थ्यो । केहि नलागे पछि ल अब म हिँडेँ-जे मन लाग्छ गर,मेरो सहयोग रहँदैन भनेर कड्केर हिँड्थे । उनि हिँडे पछि आयोजकहरू हतास हुन्थे अनुष्ठाननै रोकिने भो जस्तो गरि । उनलाइ मनाउन गण्यमान्नेहरूको भागाभाग चल्थ्यो । तर यस कुरामा उनि मरिगए नमान्ने । अन्ततः उनको असहयोगले अनुष्ठान त कहाँ रोकिन्थ्यो र ? बरियाँत त बाजा बजाउँदै पारी भीरमा लर्को लागेर आउँथ्यो नै,माइति बाजा घन्काएर केटा-केटीहरू  त नाच्थे नै ।

तिनताका रातीमा बिहे गर्ने चलन थियो । पुरेतबाले पूरै विवाह पद्दति पढेर त्यस अनुसारको रीत पूरा गर्दा बेँसीमा घाम ओर्लिसकेको हुन्थ्यो । अहिले जस्तो दुइघण्टमा विवाह कहाँ सम्पन्न हुन्थ्यो र । रात भर ठिटा-ठीटीहरूको नाच हेर्न लायकको हुन्थ्यो । पालो पालो गरि तरूनी-तन्नेरीहरू हात गाँसेर खूब नाच्दथे-असाध्यै रमाइलो हुन्थ्यो । यो रमाइलोले किष्ने हल्दारलाइ पो कहाँ छोड्थ्यो र । उनलाइ खुसुक्क एउटा कुनामा बर्को ओढेर खुट्टा जुरूक-जुरूक पारेको देख्न सकिन्थ्यो-उनलाइ नाच-गानमा गहिरो रूचि जो थियो । तर आफ्नो मान्यता बिपरित भएको हुँदा अरू जस्तो खुलेर नाच्न उनलाइ सँकोच लाग्ने नै भयो । अतः उनले एउटा तर्कीब निकालेका थिए । उनको त्यो तरिकालाइ अरूहरू “नगारा उत्रेको” भन्थे । झाँक्री उत्रँदा जस्तो । जब बाजा घन्कीरहेको हुन्थ्यो-नरनारीहरू मस्तिको उत्कर्षमा नाचीरहेका हुन्थे-साइडबाट चर्को स्वरमा कसैले भन्थ्यो-“किष्ने हल्दारलाइ नगरा लाग्यो-उनि हल्लन थाले” । बुज्रुकहरूमा किष्ने हल्दारलाइ बाजा लाग्दछ भन्ने विस्वास थियो । त्यसैले नाचिरहेका नर-नारीलाइ साइड लगाएर किष्ने हल्दारलाइ बीचमा ल्याइन्थ्यो । अनि किष्ने हल्दार आँखा चिम्लेर,हात कसेर बाजाको तालमा जोर-जोरले हल्लिरहेका हुन्थे, धीत मरूञ्जेल । किष्ने हल्दारलाइ एकघण्टा सम्म बाजा लाग्दथ्यो । नियमजस्तो के भएको थियो भने-उनलाइ बाजाले नछोडेसम्म बीचमा बाजा रोक्न पनि नपाइने र अरू नाच्न पनि नपाइने । त्यसैले दर्शकहरू उनको वरिपरि घेरा बनाएर हेरि बस्थे भने-बाजा बजाउनेहरू खल्खलि पसिना काढुञ्जेल बाजा बजाइ रहन्थे । जब उनलाइ बाजा उत्रन छोड्थ्यो-सबैले राहतको सास फेर्दथे । अनि उनि ल अब नाच केटा हो भन्दै लुसुक्क हिँड्दथे । यो उपक्रम प्रत्येक बिवाह अनुष्ठानमा दोहोरिन्थ्यो ।

No comments: