13.12.11

चन्द्रे

मेरो काहिँलो भाइ हो चन्द्रे । मैले जुन स्कूलमा पढेँ र पढाएँ त्यहि स्कूलमा अहिले उ शिक्षक छ । उ म भन्दा यस्तै ५ वर्ष कान्छो छ । उ सँग मेरो बाल्यकालका धेरै अविस्मरणीय सम्झनाहरू छन् । उ अहिले बुज्रुक छ,शिक्षक छ,मलाइ धेरै कटाक्ष पनि गरिरहन्छ,मुग्लान पसेर हरायो भन्छ । मलाइ याद हुन्छ जव उ सानो थियो,म अल्लि ठूलो थिएँ,उ मेरो पछि-पछि लुत्रुक-लुत्रुक हिँडिरहन्थ्यो-जहाँ जाँदा पनि । म आफ्नै धूनमा हुन्थेँ,उ आफ्नै धूनमा । त्यतिबेला कुन्नि के हुन्थ्यो उ मेरो पछि लागेको मलाइ बिल्कूलै मन पर्दैन्थ्यो । हप्कायो,ट्वाल्ल परेर हेर्थ्यो,अनि फेरि पछि छोड्दैन्थ्यो । मैले यसो फर्केर अतित तिर हेर्छु,वास्तवमा म पनि उसलाइ धेरै नै मायाँ गर्थेँ र गर्छु पनि । अहिले पनि उसले भनेका कुरा र गरेका तर्कहरू म निःसँकोच स्विकार्दछु । घर-व्यवहार देखि लिएर दुनियाँ सँसार बारे उसले देखाएको व्यवहार मलाइ मन पर्छ ।


       उ यस्तै चार वर्षको थियो होला । पहिले नै हाम्रा तीनवटा घर हुन्थे । एउटा बेँसीमा थियो ठेउले बजारमा-बेपार गर्ने घर,अहिले पनि छ तर बेपार छैन । अर्को अल्लि माथि छ-बुढो घर भन्छौँ हामी जसलाइ- गहतेमा र अर्को घर झन माथि छ हर्रापाटामा । चन्द्रे र म त्यहि माथिको हर्रापाटाको घरमा हुर्क्यौँ । बुवा बेपारमा बाहिर-बाहिर हिँडि रहनुहुन्थ्यो । घर आएको बेला तल-माथि सबै तिरको व्यवस्था मिलाएर जानुहुन्थ्यो । यसै क्रममा त्यो वर्ष गहतेको घरमा दुइवटा लैनो भैँसी भए । ती मध्य एउटा माथिको घर लानु पर्ने र माथिबाट एउटा कात्तिकमा ब्याउने भैँसी तल लानु पर्ने भयो । तल भैँसी लान त कुनै अप्ठेरो भएन तर जब माथि भैँसी ल्याउन लागियो,सँकट खडा भयो । भैँसी फर्कँदै तल गोठतिरै भौँतारिने । आमा र बुवाले दाम्लो समातेर उँभोतिर तान्नु भएको छ उ फर्केर तलैतिर फराल्न खोज्ने । म भैँसीको पछि लागेको थिएँ खेद्न । स्वभावैले चन्द्रे मेरो पछि थियो त्यतिबेलाको चुनावको पम्प्लेट पढ्दै...गासस-नसस-गासस-नसस । शायद गाउँ पञ्चायतको चुनाव हुँदै थियो त्यतिबेला । धेरै पल्ट भैँसीसँग आमा बुवाको मुँग्रा-मुँग्री प-यो । एकपल्ट यस्तो अवस्था आयो भैँसी फुत्कियो । म त कान्लो च्यापेर जोगिएँ तर चन्द्रे त भैँसी मुनि परि हाल्यो । मलाइ त कहालि लाग्यो-चन्द्रेलाइ भैँसीले कुल्च्यो । म त भक्कानिएर रून थालेँ-भाइलाइ भैँसीले मा-यो भनेर । भैँसी कुदेर चौतारा तल पुग्दा हेर्छु त भाइ केहि पनि भएको छैन-उहि पम्प्लेट टिपेर फेरि पड्दैछ-गासस-नसस,गासस-नसस । जनावरले सिति-मिति मानिसलाइ कुल्चिँदो रहेनछ-भाइ बच्यो । म त आश्चर्य चकित भएँ ।

त्यसै गरि चन्द्रे कुनै कुरामा मग्न भए पछि अरू केहि थाहा हुँदैनथ्यो उसलाइ । उ म सँगै हुन्थ्यो मैले अण्डा फुराउँथेँ-खान्थेँ तर उसलाइ त्यो हेक्का नै रहँदैन्थ्यो । मैले दही निकालेर खान्थेँ-त्यो पनि उसले थाहा पाउँदैनथ्यो । मदुसको चापी खोल्ने तरकीब जानेको थिएँ मैले-त्यहाँबाट दुइ-चार रूपैयाँ उसकै अगाडी निकाल्थेँ-त्यो पनि उसलाइ थाहा हुँदैनथ्यो । यसै क्रममा एउटा घटना छ उसँगको मेरो । म ९ कक्षामा पढ्थेँ शायद । त्यतिबेला स्कूलमा चिया र बिस्कूट खानु पर्ने तर म र मेरा दौँतरीहरू सँग पैसा नहुने । गाउँमा एउटा पसल थियो धान-चामल भए पनि चिया-बिस्कूट खान पाइने-नगदमा पनि बेच्न पाइने तर चल्तिको मूल्य भन्दा आधा दाम पाइने । हामी घरबाट पाथीका पाथी धान-चामल चोरेर बेच्न पल्केका थियौँ । एक दिन साँझ पख मैले आँटीमा धान झिक्न थालेको थिएँ-चन्द्रे कताबाट घर आइपुग्यो र “आमा” भन्दै भित्र पस्यो । मेरो त सातो पुत्लो उड्यो । थैला भरि धान भरेको हिँड्ने बेला बजियो आइपुग्यो । अब खत्तम हुने भो भनेर म निसास्सिएँ । मैले झल्याँस्स कम्झेँ-आमाले आँटीमा आँटी बुढी हुन्छे त्यो देख्यो भने मरिन्छ भनेर डराउन दिनुहुन्थ्यो । चन्द्रेले सोध्दै थियो-को छ भित्र ? मैले आँटीबाट धोद्रे स्वरमा भनिदिएँ-म छु आँटीमा आँटी बुढी...। उसले फेरि सोध्यो हँ....को रे....???? मैले फेरि उस्तै स्वरमा भनिदिएँ...म आँटीबुढी...हँ....। अबुइ....भन्दै उ डराएर कुलेलम ठोक्यो । भरे फलामेढुँगा (ठूलाबाको घर) गएर लुकेर बसेको उसलाइ आँटीबुढी त आएकी रैछे आमाले लौरै लौराले गोदेर भगाइदिनु भयो भनेर बल्ल-तल्ल फकाएर मैले नै घरमा लिएर आएँ ।

No comments: