11.5.12



बेल्जियममा नेपाल गृह निर्माणका नयाँ चुनौतिहरू
-इन्द्र क्षेत्री पकवान
११ मे २०१२ ।
गैरआवासीय नेपाली सँघको विश्वब्यापी महत्वाकाँक्षी परियोजनाको रूपमा रहेको नेपाल गृह निर्माणको गृहकार्य बेल्जियममा पनि औपचारिक रूपमा प्रारम्भ भएको छ । यसको पूर्वाधार गत वर्ष यहाँ सञ्चालित भागवत ज्ञान महायज्ञले तैयार गरेको हो । उक्त महायज्ञमा साढे सात लाख युरो वकदान उठेको थियो । नेपाल गृह निर्माणको भ्रूण पूँजी ( Seads Money ) र अन्तिम बजेट दुबै यही सँकल्पदान हो । एनआरएन लगायत अधिकाँश सँघ-सँस्था र समाजसेवीहरूको वकदान यही साढेसात लाख भित्र समेटिएको सन्दर्भमा यसमा बढोत्तरि हुन सक्ने सँभावना अत्यन्तै न्यून रहेको छ । यसर्थ यो सकल परियोजना यसैमा निर्भर हुनुपर्ने अवस्था एकातिर छ भने अर्को तिर महायज्ञ पश्चात ८ महिनामा सम्पादित गतिविधी र अनुभवहरूले नयाँ खालका चुनौतिहरू थपिएको टड्कारै देख्न सकिन्छ । सँरचनागत चुनौतिहरूका बारे यथेष्ट चर्चा-परिचर्चा भैसकेको सन्दर्भमा यस आलेखमा हामी आफैँले निम्त्याएका केहि नयाँ खाले चुनौतिहरूका बारेमा बुँदागत रूपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
१-परियोजनाको नाम परिवर्तन र सँरक्षकत्व खारेज
यस दौरानमा उपरोक्त वकदानको स्वामित्व जयतु सँस्कृतम र महायज्ञ सञ्चालक समितिको हातबाट औपचारिक रूपमा एनआरएन बेल्जियमको हातमा सरेको छ । यसरि स्वामित्व हस्तान्तरण गर्ने बेलामा आम सहमतिमा भएको परियोजनाको नाम "Nepal House ( नेपाली साँस्कृतिक भवन )" राख्ने भन्ने पूर्व निर्णयलाइ उल्टाउँदै कोष्ठमा रहेको "नेपाली साँस्कृतिक भवन" भन्ने वाक्याँशलाइ हटाइ Nepal House मात्र राख्ने निर्णय भयो । रकम सँकलन गर्न प्रमूख भूमिका निभाएका वाचक पँ. दीनवन्धु पोख्रेललाइ सँरक्षक राख्ने निर्णयलाइ पनि बदर गरियो । यी दुइटा निर्णयलाइ उल्टाइए पछि केहि असहज परिस्थितिको सिर्जना हुन गएको पक्का हो । यसैलाइ कारण बनाएर राप्रपा बेल्जियमले औपचारिक रूपमा नेपाल हाउस निर्माण परिषदबाट हात झिकिसकेको छ । जयतु सँस्कृतममा रहेर महायज्ञ सम्पन्न गर्न अहम् भूमिका खेल्ने कतिपय ब्यक्तिहरू पनि असन्तुष्ट बनेका छन् । नेपाली सँस्कृति,परम्परा र वाङमयको जगेर्णामा सकृय रहेका केहि सँघ- सँस्था तथा ब्यक्तिहरू समेत यसबाट निराश छन् । दानदाताहरूमा एकखालको सँशय पैदा भएको छ । यो असजिलोलाइ हटाउन सम्वन्धित पक्षले निर्णय उल्टाउनु पर्नाको कारण,औचित्य र आवस्यकताको बारेमा उपयुक्त ढँगले यथाशिघ्र सम्वोधन गर्नु पर्ने देखिन्छ । अन्यथा शुरू देखि नै असहयोगी देखिएका र लोप्रे हात लाइरहेका केहि नकारात्मक तत्वहरूलाइ अझ मच्चिन प्रेरणा मिल्ने छ भने नामको लागि दाम बोलेर तामझाम देखाएकाहरूलाइ रकम नतिरेर आराम गर्ने गतिलो माध्यम पनि यसैबाट मिल्नेछ ।
२-एनआरएन बेल्जियम भित्रको राजनैतिक खिँचातानी
एनआरएन भित्र तीनवटा राजनैतिक शक्तिको बर्चस्व रहेको विदितै छ । यी तीन शक्ति मध्ये काँग्रेस र एमालेको पानी बारबारको अवस्था विद्यमान छ । माओबादीले यी दुइ शक्तिवीचको तिक्ततामा रणनैतिक लाभ लिने गरि खेलिरहेको छ । काँग्रेसलाइ उपयोग गरेर उसले सबैजसो ( एन्त्रोपेन क्षेत्र बाहेक-जुन काँग्रेसको भागमा परेको १ मात्र क्षेत्र हो जहाँ को खाइ को खाइ कोही नखाइ हुने अवस्था छ ) क्षेत्रीय समितिहरू तथा केन्द्रिय समितिका केहि नियुक्ति र मनोनयनहरूमा गुलियो चाटीसकेको छ । त्यसै गरि महायज्ञलाइ ठीँगा देखाइदिएको माओबादी पक्षले नेपाल हाउस निर्माण परिषदमा समेत बलियो उपस्थिति जनाएको मात्र होइन कि उसकै नक्सा-कदममा परियोजना अघि बढीरहेको छ भन्दा अत्युक्ति नहोला । उसले जसरि आफ्नो अनुपस्थितिमा भएका पूर्व निर्णयहरूलाइ भटा-भट उल्ट्याउन सफल हुँदै गएको छ त्यसै गरि विषम् परिस्थितिमा रणनैतिक लाभको लागि कुनै पनि बेला पीठ्युँ फर्कन कत्ति बेर लगाउने छैन । यो प्रष्ट छ कि उसले जति सजिलै एमालेसँगको सम्वन्ध तोडेर फाइदाको लागि काँग्रेससँग हात मिलाउन पुग्यो त्यस भन्दा झन् सजिलै काँग्रेससँग सम्वन्ध तोडेर सिद्दान्तको राग अलाप्दै फेरी एमालेसँग पीरति गाँस्न कुनै आइतबार पर्खने छैन । काँग्रेसबाट उसले सबै पाइसकेको छ अव उसलाइ दिन काँग्रेससँग सुलाकेको धुलो पनि छैन । अर्को कुरा उसले अझै पनि एनआरएनको विश्वब्यापी अवधारणा र कार्यक्रमहरूलाइ पूर्ण रूपमा आत्मसात गर्न सकेको छैन । त्यसमाथि उसको बिभाजनकारी द्वन्द्वको एक पक्षले खुला असहयोग गर्ने त निश्चितै छ । त्यस बेला क्षेत्रीय समिति लगायत सबै सँरचनामा सर्वस्व गुमाइसकेको एनआरएनको नेतृत्व र काँग्रेसको सँस्थापन पक्षको हातमा " न बा रहनेछन् न बाको समात्ने नै ।" एनआरएन भित्रको विवादमा एमालेलाइ हात हाल्न पुगेको काँग्रेसले त्यस बेला माओबादीलाइ हात हाल्ने कुरा त एकादेशको कुरा भो मूख मात्र छोडे लात खाने स्थितिको सिर्जना आफैले गरेको छ । यसमा एनआरएन नेतृत्व सचेत रहन जरूरी छ ।
३-निषेधको राजनीति
राष्ट्रिय-अन्तरराष्ट्रिय सवाल हुन्  वा एनआरएन, भागवत महायज्ञ होस वा नेपाल हाउस । सैद्दान्तिक रूपमा  काँग्रेस र एमालेले समान धारणा राख्दछन् । तर अहिले यी दुइ शक्ति भालेजुधाइ खेलिरहेका छन् । यो निषेधको राजनीतिको दुःखद परिणाम हो । निर्वाचन पछि जितेको काँग्रेस र हारेको माओबादी मिलेर नहारेको एमालेलाइ हरेक बिन्दुमा निषेध गरेकोमा रूवाबासी छ । जीवा लामिछानेको सम्मानमा आयोजित एक रात्रीभोजमा घटेको घटनालाइ लिएर एनडिएफ बेल्जियमले गँगाधर गौतमलाइ औपचारिक रूपमै बारबान्नो लाइदिएको छ । यो घटना सेलाउनुको सट्टा झन् झाँगिँदै गएको छ । अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष र केहि सदस्यहरू सहित उपस्थित काँग्रेस र उपाध्यक्ष,महासचिव र सदस्यहरू सहित उपस्थित एमालेले एनआरएन बेल्जियममा तीन चौथाइ पद ओगटेका छन् । यी दुइ शक्तिबीचको मल्लयुद्धले चरम रूप लियो भने न त एनआरएन चल्न सक्छ,न त नेपाल गृह नै बन्न सक्दछ । यो विवादमा एनआरएन यसरि नै रमिते बनीरह्यो भने त्यो दिन नआउला भन्न सकिँदैन । नेपाल हाउस निर्माणमा सबैभन्दा सक्कली चुनौति नै यही हो ।
बेल्जियमको सन्दर्भमा पछिल्लो समयमा काँग्रेस सँस्थापन पक्षबाट निषेधको राजनीति अघि बढ्दै जाँदा एमाले मात्र होइन यसको चपेटामा काँग्रेसको अर्को सशक्त पक्ष समेत परेको प्रष्ट देख्न सकिन्छ । एनआरएनको पूरै सँरचनामा त्यो पक्ष निषेधित भएको छ । त्यति मात्र होइन त्यो पक्षसँग निकटता जनाउने सँस्था र ब्यक्तिहरू समेत निषेधित भएका छन् । राप्रपा बेल्जियम तथा केहि स्वतन्त्र ब्यक्तिहरू ( नाम नतोकौँ ) त्यसको प्रत्यक्ष उदाहरण हुन् । बेल्जियमबाट एनआरएन केन्द्रमा भएको असन्तुष्ट पक्षको एउटै मनोनयन ( सीता सापकोटा ) लाइ लिएर केन्द्रिय अध्यक्ष जीवा लामिछाने झण्डै भाटे कार्वाहीमा परेका थिए । एनआरएन बेल्जियमका महासचिवले भने आफ्नै सल्लाहकारबाट अलिकति भेटि पनि हाले रे भन्ने गाइँ-गुइँ सुनिएको हो ।
काँग्रेस सँस्थापनको मात्र भर पर्दा एनआरएनले काँग्रेसकै अर्को पक्षलाइ सँरचनागत रूपमा समष्टिमै गुमाएको छ । उत्साहवर्धक रूपमा जुटेको त्यो पक्ष एनआरएनमा मात्र होइन पछिल्ला दिनमा नेपाल हाउस निर्माण परिषदमा समेत निषेधित जस्तै भएको छ । त्यसैले उ अचेल त्यतातिर झुल्किन छाडेको छ । ७ हजार ५०० युरो वकदान गरे वापत प्राप्त भएको पदेन पार्षद बाहेक अहिले सम्म बनाइएको परिषदको कुनै पनि सँरचनामा त्यो पक्ष अटाउन सकेको छैन । सबै सँघ-सँस्था पदेन सदस्य हुने भन्ने क्राइटेरियाको तपसीलमा बीपी कोइराला स्मृति प्रतिष्ठानको नाम अटाउन सकेको छैन जहाँ काँग्रेसका अधिकाँश हस्तिहरूले छहारी लिइरहेका छन् । अहिले त्यस पक्षसँग यस सम्वन्धमा सम्वाद गर्न र बैठकमा निमन्त्रणा गर्न समेत छोडिएको छ । यो क्रम रोकिएन भने निषेधित पक्षको लागि दर्शक दीर्घामा बसेर नौटँकी हेर्नु र साँप्रा ठटाउनुको अर्को बिकल्प रहने छैन । यसबाट एनआरएन बेल्जियम भित्र रहेको काँग्रेस भित्रैबाट अर्को पक्षको सिर्जना हुन सक्नेछ । त्यस अवस्थामा "युज एण्ड थ्रो"को रणनीतिमा रहेको उपयोगवादी सँस्थापन पक्षबाट त एनआरएनलाइ सहयोग हुने खण्ड नै छैन, इमानदार काँग्रेसी एनआरएनहरूलाइ समेत सहयोग गर्न असजिलो परिस्थिति सिर्जना हुन सक्दछ । त्यसो भयो भने तिब्र इच्छाका बावजूद सिँगो काँग्रेसबाट असहयोग हुन सक्ने डरलाग्दो सँभावना रहन्छ । यसको दुष्प्रभाव यहाँको नेपाली समाजको हरेक तह,तब्का र चन्दादातासम्म फैलिएर जाने पनि निश्चित छ । त्यस अवस्थामा नेपाल हाउसको चाहना पछाडि धकेलिएर जान सक्छ । तसर्थ काँग्रेस भित्रको जगरसाँढे निषेधको राजनीतिलाइ एनआएन भित्र छिट्टै निषेध गरिएन भने त्यहाँ निषेध गर्ने, हात हाल्ने, मूख छाड्ने र लात हान्ने काम मात्र हैन वर्तमान एनआरएन नेतृत्व लगायत नेपाल हाउस परियोजनालाइ समेत दुष्प्रभावित गरि नै रहने छ ।
४-घेराबन्दीमा जानकी गुरूँग
वर्तमान अध्यक्ष जानकी गुरूँग चौतर्फी स्वार्थ,जालझेल र बा-ह सत्ताइस चलखेलको घेराबन्दीमा पर्दै गएकी छिन् । उनिप्रति शुरूमा देखिएको सहानुभूतिको लहर यसै कारण एक वर्ष नपुग्दै शनैःशनैःफिक्का पर्दै गैरहेको छ । उनले प्रतिनीधित्व गर्ने दल नेपाली काँग्रेसको विवादमा सँरक्षकको भूमिका उचित रूपमा निर्वाह गर्न नसक्दा अर्थात दुवै पक्षलाइ खेलाउन नसक्दा अर्थात तटस्थता अपनाउन नसक्दा अर्थात एक् पक्ष वा दुबै पक्षबाट प्रयोग हुँदा अर्थात त्यो राजनैतिक पोर्टोकल छोड्न नसक्दा उनलाइ पार्टीपँक्तिबाट हुनुपर्ने सहयोग भएको छैन । उनलाइ दुःखमा साथ दिएकाहरू,काँग्रेसका असन्तुष्ट पक्षकाहरू तथा आफु प्रति ब्यक्तिगत सद्भाव राख्ने र समर्थन गर्ने केहि सुवेच्छुक योग्य ब्यक्तिहरू चयन गर्नबाट उनि चुकीसकेकी छन् भने बाँकी रहेका छोटा-मोटा जिम्मेवारी दिन सम्म हिचकिचाइरहेकी छिन् । उनिहरू उनिलाइ हार्न नसकेर लतारिइरहेका मात्र हुन् जाँगर चलेर होइन । एकाध अपवाद छाडेर सबैजसो मनोनयनहरू अपवित्र राजनैतिक भागबण्डाका शिकार भए । राजनीतिक रूपमा मनोनयन पाएकाहरूले निर्णायक अवस्थामा राजनैतिक "प्रभू"को लागि काम गर्नेछन् एनआरएन् र उनको लागि हैन । किनारामा धकेलिए पछि एमालेबाट उनलाइ आत्मिय होइन देखावटी सहयोग मात्र प्राप्त भैरहेको छ । निर्वाचनमा राम्रो नतिजा हाँसील गरेको तर नियुक्ति र मनोनयनमा रित्तो हात,भोको पेट र अमिलो मूख लाउनु परेको उसको कुण्ठा र बदलाभाव कुनैपनि बेला विष्फोट हुन सक्छ । हिसाव-कितावको कुरा सार्वजनिक रूपमा उठाएर र उस्तै परे नेपाल हाउस परियोजनाबाटै बाहिरिने बताएर उसले पहेँलो झण्डा देखाइदिइसकेको छ । काँग्रेसको सँस्थापनलाइ बहिस्कार गर्न सक्नेले कुनै बिन्दूमा एनआरएन् अध्यक्षलाइ नै बहिस्कार नगर्ला भन्न सकिँदैन ।  काँग्रेसको सँस्थापन पक्षले उनलाइ राजनैतिक उद्देस्यको लागि खेलाएको छ भलै यसलाइ उनले आफुले खेलाएको भन्ठानुन् । तथ्यहरू प्रष्टै छन् । माओबादीले धम्क्याउन थालेको अहिले होइन । उसै पनि दुइ ढाडे वाम पार्टी मिलेर उठाएको आफ्नो उम्मेद्वारलाइ धुलो चटाउने मान्छेले कृति राखोस भन्ने को चाहान्छ दुनियाँमा ? त्यसै गरि अधिवेशन सम्पन्न भएको १ वर्ष हुन लाग्दा समेत सम्वन्धित पक्षहरूले सदस्यता वापतको ठूलो धनराशी नबुझाएर उनलाइ चौँधारा रूवाएका छन् । १ वर्ष जान थाल्यो । अझ १ वर्ष दिएनन् भने रून कहाँ जाने ? अधिवेशनमा के जवाफ दिने उनले ? यसर्थ उनि अहिले चक्रब्युहमा परेकी छन् । यो चक्रव्युहलाइ तोड्न सकिन् भने उनि आधुनिक अभिमन्यु कहलाउने छिन्, नेपाल हाउसको पूवाधार निर्माण हुने छ र उनि सफल अध्यक्षमा दरिने छिन् अन्यथा उही महाभारतको अभिमन्यु उर्फ अर्को असफल अध्यक्षको रूपमा उनको सम्झना गरिने छ ।
५- अवसर र उपाय
जहाँ अँध्यारो हुन्छ त्यहिँ मणी चम्किन्छ । स्थिति जति प्रतिकूल भए पनि बेल्जियममा नेपाल हाउस बनोस भन्ने नेपालीहरूको तिब्र चाहना छ । एनआरएनका सबै अग्रजहरूको सहयोग र समर्थन सदैव जारी रहेको  छ । अध्यक्ष जानकी गुरूँग  लगायत उनको टीममा रहेका महत्वूर्ण ब्यक्तिहरूको दृढ इच्छा शक्ति र फिक्का परेको भए पनि उहाँप्रति रहेको ब्यक्तिगत सहानुभूति र समर्थन जीवितै छ । यी यस्ता अवयवहरू हुन् जसले नेपाल हाउसको सपनालाइ कुनै दिन साकार पार्न सक्दछन् । विगतका गतिविधीबाट असन्तुष्ट बन्न पुगेकाहरूलाइ मनाउन सक्ने हो र अहिले एनआरएनलाइ राजनीतिको कृडास्थल बनाएर कुण्ठा पोखिरहेका,राजनैतिक एट्याचमेण्टको ब्ल्याकमेलिँग गरिरहेका र भित्र देखि बाहिर सम्म निषेधको राजनीति गरिरहेकाहरूको पहिचान गरेर तिनलाइ निषेध गर्न सकियो भने नेपाल हाउस बनाउने कार्य असँभव छैन । सह-अस्तित्व,सहमति,सहकार्य र एकतामा नै तागत हुन्छ । जहाँसुकै कुटील राजनीति खेलेर साध्य हुँदैन । पूर्वाधार निर्माण भएर रकम जम्मा हुन थाले पछि बोलेको रकम भुक्तान नगर्ने नैतिक साहस बेल्जियमवासी अधिकाँश नेपालीमा छैन । भलै समय लाग्ला । हामीसँग समय,छ जाँगर छ,कर्मशील पाखुरा छन् यति भए पछि पैसा नहुने कुरै भएन । नहुनेले राम्रो कामको लागि विस्तारै कमाउँदै जान्छ,तिर्दै जान्छ किश्तामा । केहि भुक्का राजनैतिक सँस्थाहरूलाइ छाडेर बेल्जियममा रहेका अधिकाँश नेपाली सँघ-सँस्थाहरू त आर्थिक रूपले सम्पन्न नै छन् । तसर्थ सँकल्प दान असुल उपर हुने कुरामा शँका गर्नु त्यति उपयुक्त छैन ।
तर अहिले हामीले अवलम्वन गर्न थालेको जटील प्रकृयाबाट सहजै नेपाल हाउस बन्नेमा ढुक्क हुन सकिँदैन । यस बारेमा गएको परिषद बैठकमा पार्षद सोनाम लामाले दिएको उपाय नै उत्कृष्ट उपाय हुन सक्दछ । उहाँले सुझाउनु भएको रहेछ- "नेपाल हाउस बनाउन पहिला पैसा उठाउनु पर्दछ । जसका लागि हामी अहिले एउटा घर किनौँ र पैसा उठाउन थालौँ । पैसा उठ्दै गर्छ, घरको किस्ता तिर्दै गइन्छ, पैसा पनि उठछ अनि त्यो घर बेचेर पुँजी अनुसार जग्गा किनेर नेपाल हाउस निर्माण गर्न सक्छौ ।" यो अत्यन्तै व्यवहारिक र सम्भाब्य समाधान हो । अन्यत्रको नक्कल गरेर हावामा किला ठोक्न खोज्न बुद्दिमानी हुँदैन । नेपाली मा एउटा भनाइ छ "अरू घोडा चढे भनेर आफु कुकुर चढ्नु हुँदैन ।"

लुभेन,बेल्जियम ।

No comments: