5.1.13

मेलमिलाप दिवस यसपल्ट । २०१३ जनवरी १ ।


बेल्जियममा ३६ औँ राष्टिय मेलमिलाप दिवस भब्यतापूर्वक सम्पन्न ।
-विष्णु सापकोटा ।
जनवरी ०१,लुभेन । बेल्जियममा ३६ औँ राष्ट्रिय मेलमिलाप दिवस तथा अँग्रेजी नयाँ वर्ष २०१३ को उपलक्षमा विशेष चियापान तथा अन्तरकृयात्मक शुभकामना आदान-प्रदान कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ । नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला मुलुकको राष्ट्रियता खतरामा परेको औँल्याउँदै २०३३ साल पुष १६ गते ८ वर्षको भारत प्रवाश त्यागेर स्वदेश प्रवेश गरेको दिनलाइ नेपाली काँग्रेसले विभिन्न कार्यक्रमहरूको आयोजना गरि मेलमिलाप दिवसका रूपमा मनाउने परम्परा बसालेको छ । काँग्रेसको त्यो परम्परालाइ बेल्जियममा नेपाली काँग्रेसका महासमिति सदस्य इन्द्र क्षेत्रीले बिगत तीन वर्ष देखि निरन्तरता दिँदै आउनुभएको छ ।
कार्यक्रममा प्रमूख अतिथीको आसनबाट बोल्दै बिपि कोइराला स्मृति प्रतिष्ठान बेल्जियमका संयोजक ध्रुव राज पौडेलले प्रतिष्ठान कसैको विरूद्धमा सकृय भएको नभै बैचारिक अभ्यास सञ्चालन गर्ने हेतुले स्थापना भएको बताउनु भयो । उहाँले,"देश र प्रजातन्त्रको लागि योगदान गर्ने युगपुरूषहरूको सम्मान गर्ने,उहाँहरूको बिचार र सिद्दान्तलाइ प्रवर्द्वन गर्ने तथा बेल्जियम स्थित नेपाली समाज र सँघ/सँस्थाहरूसँग सहकार्य र एकता कायम गरि उपलव्धिमूलक कार्य गर्ने उद्देस्यका साथ प्रतिष्ठान सकृय रहेको हुँदा हामीले बिपिको मेलमिलापको नीतिलाइ बेल्जियम स्थित नेपाली समुदायमा पनि व्यवहारमै लागू गर्न खोजेका छौँ भन्नु भयो ।"
गैरआवासीय नेपाली सँघ अन्तरराष्ट्रिय समितिका सदस्य रविन्द्रमान श्रेष्ठले लोकतन्त्रमा सबैभन्दा ठूलो हक शिक्षाको हक भएको औँल्याउँदै शिक्षाले नागरिकमा ज्ञान र विवेकको अभिवृद्धि हुने,ज्ञान र विवेकले चेतना बढाउने,चेतनाले जागरण ल्याउने,जागरणले बिकाशमा टेवा पु-याउने,विकाशले सम्वृद्धि ल्याउने र समृद्ध समाज सधैँ नम्र र मिलनसार हुने हुँदा आजको दिनले हामी सबैमा एउटा नयाँ उर्जा पैदा गरोस भन्नु भयो । त्यसै गरि गैर आवासीय नेपाली सँघ बेल्जियमका अध्यक्ष जानकी गुरूँगले बिपी कोइराला र सुवर्ण समशेरको निकटमा रहेर आफ्नो परिवार सकृय रहेको र त्यहि पारिवारीक वातावरणले आफुलाइ नेपाली काँग्रेस प्रति आवद्ध तुल्याएको स्मरण गर्दै आफ्ना हजुरबा शहीद बखान सिँह गुरूँगले मेलमिलाप अभियान अघि सान्दाजुको प्रतिनीधिको रूपमा नेपालमा माहौल बुझ्ने क्रममा सहादत प्राप्त गर्नु भएको यथार्थ उल्लेख गर्नु भयो । एनआरएन बेल्जियममा आर्थिक अपचलन भएको भन्ने भ्रमपूर्ण समाचारको खण्डन गर्दै गैरआवासीय नेपाली सँघका उपाध्यक्ष बोधराज पौडेलले गत डिसेम्बर २३ तारीखका दिन सम्पन्न भएको साधारण सभाबाट अनुमोदन भएको आयव्यय विवरण प्रस्तूत गर्दै चाहेको बेला २४ सै घण्टा सो प्रतिवेदन जोकोहीलाइ उपलव्ध गराउन सकिने बताउँदै यस्ता भ्रामक समाचार र केहि ब्यक्तिका अहँकार पूर्ण कृयाकलापले गर्दा नेपाली समाजमा मेलमिलापको सट्टा तिक्तता पैदा भएको छ भन्नुभयो । त्यसै गरि एनआरएन बेल्जियमका महासचिव शिव बरूवालले बिपी तथा मदन भण्डारी जस्ता नेताहरूबाट सिक्न सके सँकटग्रस्त देश र समाजले निकाश पाउने बताउनु भयो ।
बिपी कोइरालाको जीवनी र मेलमिलाप दिवसको सान्दर्भिकता तथा औचित्यको बारेमा विहँगम चर्चा गर्दै बिपी प्रतिष्ठान बेल्जियमका कार्यकारी सदस्य पूर्ण तिमिल्सिनाले नेपाल राष्ट्र सधैँ बिदेशी शक्तिहरूको कृडास्थल रहको र तिनको विरूद्धमा बिपी कोइराला र नेपाली काँग्रेस सधैँ चट्टान बनेर खडा रहेको बताउनु भयो । नेपालको लोकतन्त्र र नेपाली काँग्रेसलाइ कमजोर नतुल्याए सम्म आफ्नो हीत संरक्षण नहुने देखेका लोकतन्त्र र राष्ट्रियता विरोधी देशी-विदेशी शक्तिहरू नेपालको लोकतन्त्र र नेपाली काँग्रेसको विरूद्धमा लागि परेका छन् भन्दै उहाँले काँग्रेसलाइ कमजोर बनाइसके पछि अब उनिहरूको ध्यान नेपाली समाजलाइ कसरी बिभाजित गर्न सकिन्छ भन्नेमा केन्द्रित भएको छ भन्नु भयो । उहाँले यस्तो अवस्थामा राष्ट्रप्रेमी सबै शक्तिहरूबीच एकता,मेलमिलाप र सहकार्यको आवस्यकता झन् बढेर गएको छ भन्नुभयो। 
एनडीएफ बेल्जियमका महासचिव गोपाल सिँखडाले विभिन्न पक्षहरूमा मात्र नभै सबै सँगठनहरूमा पनि आन्तरिक मेलमिलाप कायम हुनुपर्नेमा जोड दिनुभयो । जनप्रगतिशील मोर्चाका बदन योङहाङले नेपाली दुतावासको नेपाली सँघ/सँस्थाहरू प्रतिको पक्षपातपूर्ण व्यवहारको चर्चा गर्दै यस्तो व्यवहारले नेपाली समाजमा मेलमिलाप कायम गर्नुको सट्टा उल्टो बिभाजन ल्याउनेमा सतर्क पार्नु भयो । कार्यक्रमका अन्य वक्ताहरूमा व्यवसायी सँघका अध्यक्ष हरी थपलिया,तमुसमाज बेल्जियमका महासचिव खुशीमान गुरूँग,युरो नेपाल खेलकुद सँघका अध्यक्ष किसान केसी,समाजसेवी पुष्पराज अधिकारी,एनआरएन् बेल्जियमका सल्लाहकार युवराज गुरूँग,पत्रकार महासँघ युरोपका सदस्य दीपक ज्योति पौडेल लगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा विश्व साइकल यात्री सौरभ दहाललाइ सम्मान गरिनुको साथै उहाँको ५५ देशको भ्रमणबारे निर्मित वृत्तचित्र प्रदर्शन गरिएको थियो । उहाँलाइ उपस्थित बिभिन्न महानुभावहरूले सम्मान स्वरूप आर्थिक सहयोग समेत गरेका थिए ।
कार्यक्रममा आदिवासी जनजाती महासँघ बेल्जियमका महासचिव कुल मगर,युरो नेपाल कलाकार सँघका अध्यक्ष पदम गुरूँग,उपाध्यक्ष बलराम पुन,क्षेत्री समाज बेल्जियमका अध्यक्ष ओम थापा,बाग्लुँग समाजका उपाध्यक्ष कमला क्षेत्री,हेल्प नेपाल नेटवर्कका सहदेव गौतम,इन्द्र धनुष क्लबका उपाध्यक्ष यशोदा थापा,साँग्रिला समाजका परमानन्द सापकोटा,जनसम्पर्क समिति लुभेन क्षेत्रका अध्यक्ष नरहरी सापकोटा,जनसम्पर्क समिति एन्त्रोप क्षेत्रका सचिव रविन्द्र घले लगायत उल्लेख्य उपस्थिति रहेको थियो । नेपाली काँग्रेस महासमिति सदस्य इन्द्र क्षेत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सदस्य सीता सापकोटाले गर्नु भएको थियो भने स्वागत मन्तब्य प्रतिष्ठानका कार्यकारी सदस्य माधव सापकोटाले राख्नु भएको थियो । यसपल्टको मेलमिलाप दिवस तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको सँयोजन बिपि प्रतिष्ठान बेल्जियमले गरेको थियो । अन्तरकृयात्मक औपचारिक कार्यक्रमको समाप्ति पश्चात सेलरोटी,आलु-चनाको अचार,समोसा,चिया लगायत हल्का पेय पदार्थले उपस्थितहरूलाइ स्वागत गरिएको थियो ।

No comments: