ओबामाको विजयले जन्माएका आशँकाहरु


-ईन्द्र क्षेत्री " पकवान "
बेल्जियम .
हालै अमेरिकाको चवालिसौँ राष्ट्रपतिको रुपमा विजयी भएका प्रथम ठिमाहा राष्ट्रपति बराक हुसैन ओबामाको विजयले जहाँ गैरसरकारी क्षेत्रमा अमेरिका तथा विश्वभरमा वाह-वाही पाईरहेको छ त्यहीँ उनले प्रस्तुत गरेको रोडम्यापले आधिकारिक क्षेत्रमा विश्वव्यापी रुपमा आशँकाहरु जन्माएको छ .
जर्मन चान्सलर एंगेला मार्केलले ईराकमा सैन्य सँख्या वृद्धि गर्न आह्वान गरेकी छन्,रसियन राष्ट्रपति मेड्वेडेवले ककेसस सम्बन्धी उनको अडानलाई लिएर कडा चेतावनी दिएका छन, ईरानसँग विना शर्त वार्ता गर्ने उनको योजनाले मिसाइल्स डिफेन्स सिस्टम अंतरगतका यूरोपीयन मुलुकहरु र नाटो अर्गनाइजेशन चिन्तित भएका छन ." मिशन् हण्टींग बिनलादेन " सफल पार्न पकिस्तानमा प्रत्यक्ष सैनिक कार्यवाही सँचालन गर्ने उनको भनाईले पकिस्तानी रिजीमको निन्द्रा हराम भएको छ . ईराकबाट यथासक्य चाँडो सैन्य फिर्ता गर्ने उनको घोषाणाले नूरी अल मलिकि र त्यहाँको लोकतान्त्रीक शक्तिलाई निराश तुल्याएको छ . उत्तर कोरियाको न्युक्लीयर कार्यक्रम र मध्यपुर्वको मुद्धा सदैव अमेरिकि प्रशाशनका शीरदर्द हुँदै आएका विषयहरु हुन . त्यसै गरि ई यू मुखिया जोसे म्यानुयल बोरोसोले सँरक्षणवादी ब्यापार नीति परित्याग गर्न दवाव दिई सकेका छन भने आन्तरिक रुपमा पनि उनलाई समाजवादी र मुस्लिम बँशजको भएको लाँछना लागेको छ . तालेवान र अल कायदाका जेहादीहरुलाई खाँदेर राखिएको ग्वाण्टानामोबे कारागार बन्द गर्ने उनको अभिब्यक्तिले उनलाई आतँकवादीहरुसँग साँठगाँठ भएको भन्ने सम्मको आरोप लाग्यो . कर कटौति गर्ने, धरासायी भएको मोर्गेज क्षेत्रलाई अनुदान उपलव्ध गराउने,आफ्नो घर गुमाउन पुगेकाहरुलाई सहयोग गर्ने जस्ता लोकप्रिय नाराहरुलाई सात सय बिलियनको मौद्रिक इंजेक्शन दिए पछी भर्खरै तँग्रिएको अर्थव्यवस्थाले कति तालमेल गर्न सक्ला ? यी सबै बुझेका राष्ट्रपति बुशले आफ्नो प्रथम प्रतिकृयामा व्हाइटहाउस छाड्नु अघि ओबामालाई "सबै कुरा" सम्झाउने बताएका छन . उनको बरबुझारथ कत्तिको कारगर सावित हुन्छ भविष्यले बताउला .
ओवामाले उठाएका केही प्रमुख मुद्धाहरु
1) ईराकबाट सैनिक फिर्ता
जसरी स्पेनमा जोसे लुइस रोड्रीगेज जापातेरोले ईराकबाट आफ्ना जावनहरु फिर्ता गर्ने वचन दिएर चुनाव जितेका थिए ठीक त्यसै गरि ओबामाले पनि राष्ट्रपति चुनाव जितेका छन . ओबामाले जापातेरोकै अनुसरण गरेका हुन भने जापातेरोले जस्तै वाचा पूरा गर्नु पर्ने चुनौति उनका सामू खडा छ. स्मरणीय छ जापातेरोले उनका पुर्ववर्ती प्रधानमन्त्री जोसे मारिया आज्नारले प्रतिस्ठित गरेको स्पेनको अंतरराष्ट्रीय व्यक्तित्वको सौदा गरेर दोश्रो पल्ट पनि चुनाव जित्न सफल भएका छन . अंतरराष्ट्रीय रँगमंचमा आजकल स्पेनको नाम कहीँ आउँदैन . ओबामा पनि जापातेरो जत्तिकै ईमान्दार बन्लान भन्ने कुरा पत्याउन अलि गार्र्हो छ . किनभने ओबामाले भने झैँ अमेरिकाले ईराकबाट सैन्य फिर्ता गर्ने कुरा त्यति सजिलो छैन . ईराकी विधायिकाले हालै एक विधेयक पारित गरि अरु केही समयको लागि अमेरिकी उपस्थितिलाई लम्ब्याइदिएको छ . ईराकको बिग्रँदो सुरक्षास्थितिलाई मध्यनजर गर्ने हो भने थप सैन्य शक्ति बढाउनुको बिकल्प छैन . यही तथ्यलाई मार्केलले इँगित गरेकी हुन . बाराकले बुझ्नु पर्ने के थियो भने अमेरिका ईराकमा रहर वा सनकले पसेको होइन . यसमा अमेरिकाको चौतर्फि स्वार्थ नीहित छ . ईराकमा रहेका तेलका जरीया र बुशले घोषणा गरेको "एक्सेस अफ इवील" राष्ट्र ईरान र सिरियालाई थर्काउने र समग्र अरवक्षेत्रलाई आफ्नो प्रभावमा राख्ने उद्देस्यले अमेरिका त्यहाँ उत्रेको हो . सद्दाम हुसैन अमेरिकाकै वरदपुत्र थिए . उनको काँधमा बन्दुक राखेर अमेरिकाले सातवर्ष ईरानलाई मार हानेर हेरेकै हो . यसबाट ईरानको रौँ नहल्लिए पछी र सद्दामको नतृत्वमा त्यस क्षेत्रमा अमेरिकि स्वार्थ पूरा नहुने देखिएपछी मात्र कुकुरले हाड छोडे सरी उसले सद्दामलाई छोडेको हो . पछी धेरै मात्तिन थालेपछी उनलाई सफाया नै गरी छाड्यो . सोवियत यूनियनको पतन र भताभुँगको मौका छोपेर सिनियर बुशले थालेको मिशन रस्सा ले खुट्टा टेक्न नपाउँदै जुनियर बुशले फत्ते गरेका मात्र हुन . ईराकमा सद्दामको पतनका साथसाथै तीनवटा शक्तिहरुको उदय भएको छ . एउटा लोकातांत्रीक शक्ति हो जो अहिले अमेरिकाको सहयोगमा मुलुकलाई लोकतान्त्रीक मुलुकको रुपमा विकाश गर्न चाहान्छ भने अर्को मुल्ला मुक्तदा अल सदरको नेतृत्वमा सिया कट्टरपन्थीहरुको विशाल जमात खडा भएको छ जो ईरानमा जस्तै धार्मिक शाशन लागू गर्न चाहान्छ . यो सँग मेहदी आर्मी नामको आफ्नो सैन्य सँगठन छ . त्यसै गरि आफ्नो स्वायत्तताको लागि टर्की र ईराकका सिमावर्ती क्षेत्रहरुमा सँघर्षरत कुर्दहरु पनि आफ्नै हिसावले अगाडी बढीरहेका छन . यी सबै शक्तिलाई सद्दाम हुसेनले आफ्नो शाशानकालभरी काबूमा राखेका थिए . यदि ओबामाले भनेको वाचा पूरा गरे भने मेहदी आर्मीले रातारात ईराकी सत्ता कब्जा गर्ने वा ईराक बिखण्डीत हुने बाहेक अर्को बिकल्प फिलहाल देखीँदैन . यसो भएमा अमिरिकालाई प्राप्त भैरहेको तेलको मुहान बन्द हुन जानेछ भने अरव राजनीतिमा रहेको लगाम पनि उसको हातबाट फुत्किने छ .मुल्लाहरुको कालिगढीमा ढालिएर ईराक अर्को ईरानको रुपमा परिणत हुनाले मध्यपुर्वको मुद्धा अझ बिकराल भएर जाने र अन्तरराष्ट्रीय आतँकवाद फेरि जुर्मुराएर उठन सक्ने सँभावना प्रवल हुनेछ . ओबामाको यस्तो आत्मघाती कदम चाल्ने कुराले विश्वभर आशँका जन्माएको छ .
2) रुस र ककेसस रिजन
रसियनहरुको महत्वकाँक्षा तिब्रगतिमा बढीरहेको छ .चेक रिपब्लिक,पोल्याण्ड,जर्जीया,युक्रेन र बाल्टिक गणराज्यहरुले रसियाको यही महत्वकाँक्षाको कटाक्ष खेप्नु परिरहेको छ . वहाना मिसाइल्स प्रतिरक्षा प्रणालिलाई बनाए पनि रुस सोवियतकालको आफ्नो गुमेको प्रतिष्ठा र प्रभावलाई पुन:स्थापित गर्न चाहान्छ भन्ने कुरा लुकेको छैन . नाक मुनी नाटो र आधारशिविरहरुमा अमेरिका नहुने हो भने सम्पुर्ण यूरोप सजिलै रसियन दवदवामा आउन सक्ने कुरा रसिया अमेरिका र यूरोपीयनहरुले भोगेकै कुरा हो . 90 को दशकमा ध्वस्त भएको रुसलाई पुतिनले दशै वर्षमा सम्पुर्ण रुपले पुनरुत्थान गरिभ्याएका छन . रुस अव विस्तारै आफ्नो पुरानो अवस्थामा अवतरण गर्दै छ . त्यसैले यसलाई नजर-अन्दाज गर्न खोज्नु वा पुरानो विष्लेशणमा कायम रहेर न्यून मुल्याँकन गर्नु गल्ति हुनेछ . दिन दहाडै जर्जीया माथी हमला गरेर रुसले यही कुरा सम्झाउन खोजेको छ. अत: ककेसस विवादमा ओबामाको टिप्पणी र ओबामाको विजयमा मेड्वेडेवद्वारा गरिएको टिप्पणी दुबैले दुरगामी अर्थ राख्दछन . चाहेर पनि ओबामा रुसी प्रकोपबाट भाग्न सक्ने अवस्था छैन .
3)मिशन-इम्पोसिबल-2 अन हण्टिंग बिनलादेन
बुशले अफ्गानिस्तानको गद्धीबाट लघारेर पाकिस्तान र अफ्गानिस्तानका बिकट पहाडी गुफाहरुमा पठाइदिएका ओसामा बिनलादेनलाई पक्रनु ओबामाको प्राथमिकतामा परेको एउटा मात्र त्यस्तो मुद्धा हो जसलाई उनले निरन्तरता दिनेछन . जतिवेला उनका पुर्ववर्ती डॆमोक्र्याट राष्ट्रपति बील क्लिण्टन व्हाईटहाउसमा रासलीला मच्चाईरहेका थिए त्यतिनै बेला बिनलादेनहरु खार्तुमको अमेरिकी दुतावास र ट्वीन्सटावरको ग्यारेजहरुमा सामरिक रियाज गरिरहेका थिए . हाल ओबामाको पक्षमा उर्लिएजस्तै गरि विश्वभरी क्लिण्टन चार्मिंगको वाह-वाही भैरहँदा मुल्ला ओमारहरु अफ्गान शत्तारोहरण गरिरहेका थिए भने अमेरिका भरी अमेरिकन जेहादी पाइलटहरु कसरी भीमकाय विमानहरुलाई मेघा-रकेट्को रुपमा परिणत गर्न सकिन्छ भनेर तल्लिन थिए . क्लिण्टनको स्त्रीलम्पटपना र आफ्नो प्रशँशा र सेलिब्रिटीमा रमाउने खुशमिजाज स्वभावको फाइदा उठाँउदै बिनलादेनहरुले ट्वीन्स टावर,व्हाइटहाउस र पेण्टागन एकै चोटी उडाउने "मीजा प्लस"(तयारी) पूरा गरे . यसको बदलामा क्लिण्टनलाई आफ्नो कार्यकाल आरामसँग पूरा गर्न दिएर तालेवान र अलकायदाले गुन तिरे . क्लिण्टन प्रशाशनको अमन-चयनको भारी बदला बुश प्रशाशनले एकैचोटी तिर्नु पर्यो "नाइन इलेभेनको रुपमा" . नाइन इलेभेन का खलनायक ओसामा बीनलादेन र हर्ता-कर्त्ता मुल्ला ओमारहरु पाकिस्तानमा लुकि बसेको र त्यहीँबाट आतँकवादी गतिविधीहरु ओपरेट गरिरहेको भन्ने आशँकाको आधारमा आवस्यक परे पाकभूमी भित्रै प्रवेश गरि सैनिक कार्यवाही सँचालन गरिने र त्यसको लागि एजेन्सीहरु मार्फत पकिस्तानि अधिकारीहरुलाई अवगत गराइसकिएको कुरा ओबामाले बताएका छन . यसबाट नवनिर्वाचित पकिस्तानी सरकारको सातोपुत्लो उडेको छ . सँभावित यस कदमले काबूल र हमिद कारजाईलाई केही राहत महसुस भए पनि आन्तरिक समस्या र आतँकवादबाट थिल्थिलो परेको पाकिस्तानको लागि यो कदम अत्यन्तै पीडादायक र भारीभरकम सावित हुने निश्चित छ .पाकिस्तानमा अमेरिकी उपस्थिति भारतको लागि रुचिकर हुने छैन भने चिनले सिधै यसको बर्खिलाप गर्नेछ . यसबाट क्षेत्रीय शक्ति सन्तुलनमा असहज परिस्थितिको सृजना हुन सक्नेछ .
4) अभुतपुर्व आर्थिक सँकट र राहत कार्यक्रम
ओबामाले अमेरिकी मतदाताहरुलाई कर कटौति,स्वास्थ्य सेवा सर्भसुलभ बनाउने,बेरोजगारी भत्ताको व्यवस्था गर्ने,ऋण तिर्न नसकेर घरबार बीहीन भएकाहरुलाई वित्तिय सहायता उपलव्ध गराउने आदि जस्ता वचन दिएका छन . ठीक यसैबेला लेहम्यान ब्रोदर्स ग्लोबल इन्भेष्टमेण्ट बेंकको पतनबाट शुरु भएको आर्थिक सँकटले विश्वव्यापी रुप धारण गरेको छ . बुश प्रशाशनले यस सँकटमोचनको लागि सात सय बिलियन डलर बेल आउट बिल पास गरेर बजार हस्तक्षेप गरेको छ भने यूरोपीयन युनियन लगायत बेलायत,जर्मनी,फ्रान्स जस्ता अग्रणी देशहरुले ट्रियलौँ डलर लगानी गरेर डुब्नु भन्दा अघि नै आ-आफ्ना प्रमुख वित्तिय सँस्थाहरुलाई बचाएका छन . यो आपात्कालिन आर्थिक परिचालनबाट अहिले वित्त बजार केही स्थीर देखिए पनि ढुक्क हुने अवस्था छैन . ईराक युद्धमा भएको खर्चको कारण यो आर्थिक सँकट आएको अधिकाँश अमेरिकी मतदाताहरुको विश्वास छ . चुनावको पुर्वसँध्यामा देखापरेको यस धुम्रकेतुको जीम्मेवार बुश प्रशाशन र रिपब्लिकन पार्टीलाई बनाइयो जसको भरपुर फाइदा ओबामा र डेमोक्र्याट पार्टीले उठायो . तर यस्तो अवस्थामा प्रशाशन सम्हाल्न आइपुगेका करिज्माइ ब्यक्तित्व बाराक ओबामाको लागि अगामी दिनहरु सजिला भने छैनन . अझ आफ्नो स्टाफमा ज्यादातर क्लिण्टन प्रशाशनकै अनुहारहरुलाई सामेल गर्ने छाँट देखिएपछी धेरै अमेरिकीहरु खिन्न भएका छन . त्यसै गरि भर्खरै मुश्कीलले उद्वार गरिएको जिर्ण अर्थतन्त्रले परिवर्तनको आकर्षक नाराले महत्वकाँक्षी बनाइएको जनचाहनालाई सम्बोधन गर्न सजिलो पक्कै हुनेछैन .
5)अवसरहरु
प्रथम एफ्रो-अमेरिकन यूवा राष्ट्रपति ओबामाका सामू चुनौति मात्र छैनन प्रचुर अवसरहरु पनि छन . उनको आत्मविश्वास, राजनीति र वीधि शास्त्रको गहिरो अध्ययन,नागरिक अधिकारको लागि उनले गरेको सँघर्षपुर्ण ईतिहाँस,उनको विजयका साथसाथै प्रतिनीधि सभा र सिनेटमा उनको पार्टीले प्राप्त गरेको स्पष्ट बहुमत, परिवर्तनको लागि लालायित विशाल जनसमुदाय र उनको विजयमा आस्वस्त विश्व समुदाय उनको भावी कार्यक्रमहरुलाई सफल पार्ने अवयवहरु हुन . हेर्न के मात्र बाँकी छ भने यस अघिका राष्ट्रपति जस्तै उनिपनि पार्टीनीति र विरासतद्वारा परिपोषित भएर विश्वपरिक्रमा गर्छन कि आफुलाई केन्द्रमा राखेर पुरै पद्धतिलाई नै घुमाउँछन अथवा समाज परिवर्तन गर्छन कि आफै परिवर्तित हुन्छन समयले नै बताउने छ .
र अन्त्यमा
पृथ्वीको अधिकाँश साधन श्रोतमा अमेरिकाको कब्जा छ . वातारणीय प्रदुशणमा सबैभन्दा बढी योगदान अमेरिकाकै छ . अमेरिकाले गरेको कुनै पनि निर्णयले यो वा त्यो रुपमा सारा विश्वलाई असर पारिरहेको हुन्छ . अमेरिकामा आएको वित्त सँकटले विश्वलाई चपेटामा पार्यो, कुनै देशमा तख्तापलट वा सत्तारोहण भयो भने अमेरिकाको मुख हेर्ने परम्परा छ . यसर्थ विश्वको नेतृत्व चाहे पनि नचाहे पनि उसैले गरिरहेको छ . अमेरिकाको राष्ट्रपतिमा एकजना चुनिन्छ स्याम्पेन फोरिन्छ जापानको ओबामा शहरमा,चर्चा चल्छ बैजिंगमा,युरोपका सडकमा विजय जुलुश निस्कन्छन,अफ्रिकामा उल्लास मनाइन्छ. यो यथार्थलाई कुनै पनि आग्रह-दुराग्रहले बदल्न सक्दैन . त्यसैले विश्वको सुरक्षा र श्वार्थमा उसको श्रोत उपभोगको अनुपातमा सहभागिता अनिवार्य छ . ओबामालाई यो हेक्का रहोस कि यस विश्व र मानवजातीको सुरक्षा जिम्मेवारीबाट अमेरिका उम्कन सक्दैन .
Published at :
http://www.nepaljapan.com/read.php?section=opinion&topic=headlines&id=16971


09/11/2008

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा