द्वन्द्वले खनेको खाडल

-इन्द्र क्षत्री
बेल्जीयम ।
एनेकपा (माओबादी) ले सँयुक्त राष्ट्र सँघका आँखा छलेर केहि बढी लडाकुहरूलाइ उसको जनसेनामा घुसाउन सफल भएको रहेछ । टिका-टिप्पणी जे भए पनि सकल माओबादीको रूपान्तरण र पुनःस्थापनाको सन्दर्भमा यो सकारात्मक कुरा नै हो । प्रमाणीकरण भएका यी लडाकुहरू यो वा त्यो रूपमा अन्ततः राज्यको यो वा त्यो अँगमा समायोजन हुने नै छन । शिविरमा रहेका लडाकुहरू सेना समायोजन विशेष समितिको मातहतमा आइसकेको हुनाले यसमा राजनैतिक दलहरूले ज्यादा ध्यान दिइरहनु पर्ने जरूरत छैन । यो मुद्दा लडाकु प्रमाणीकरण भएको दिनदेखिनै एक प्रकारले समाप्त भैसकेको छ । त्यसैले दलहरूले जति उछाले पनि लडाकुहरूको समायोजन ठूलो समस्या होइन ।



अबको वास्तविक समस्या भनेको शिविर बाहिर रहेको,समाजबाट सम्बन्ध बिच्छेद भएको, शिक्षा,तालीम,रोजगारी र अवसरहरूबाट वञ्चित तर जनयुद्धमा आफ्नो सर्वस्व सुम्पेको ठूलो जनसमुदायलाइ समाजमा कसरी सम्मानजनक ढँगले पुनरस्थापना गर्ने र अन्तरघुलन गराउने भन्ने हो । माओबादी पार्टीभित्र उकुस-मुकुसको अवस्थामा रहेको यो वर्गलाइ सम्मानजनक र व्यवहारिक ढँगले समाजमा समायोजन गर्न नसक्ने हो र न्यूनतम जिविकोपार्जनको व्यवस्था मिलाउन नसक्ने हो भने निदानमा यो समुदाय फेरी राज्यको अस्तित्व र स्थिरताको बाधक बनेर उपस्थित हुन सक्नेछ ।


सशस्त्र बिद्रोहको एक दशकले द्वन्द्वमा प्रत्यक्ष सामेल हुने र नहुनेबीच पुर्नै नसक्ने खाडल खनिदिएको छ । माओबादीमा लाग्ने र नलाग्ने यूवा-युवतिहरूको जीवनस्तरमा ठूलो अन्तर देखिएको छ । यिनिहरूको खानपान-बोलीवचन,सोचन शक्ति-सोच्ने तरिका,आनीबानी-वरव्यवहार,जीवनशैली-बृत्ति बिकास जस्ता मानवीय पक्षहरूमा उल्लेखनीय असमानता छ । बितेका १५ वर्षमा यिनिहरूको शिक्षादीक्षा,तालिम,रोजगारी,इलम र सामाजीक हैसियतमा पट्यारलाग्दो विभेद देखापरेको छ । जीवन र जगतलाइ हेर्ने दृष्टिकोणका साथसाथै बर्गीय चेतना र आर्थिक क्षेत्रमा पनि वर्तमान पिँढीमा ठूलो बिभाजन रहेको छ । गैर माओबादी जमात उच्च शिक्षा हाँसील गरेर आकर्षक रोजगारी र अवसर उपभोगको चरणमा प्रवेश गरिसकेको छ भने माओबादीमा लागेको यहि पिँढी अत्यन्तै एकाग्र,हठधर्मी,आक्रामक,औपचारिक शिक्षा र अवसरहरूबाट वञ्चित तथा दयनीय आर्थीक स्थिति लीएर पार्टी काममा खटिरहेको अवस्था छ । द्वन्द्वको अवधिमा माओबादीमा नलाग्नेहरूले राजनैतिक आस्थालाइ परित्याग गरेर,दबाएर,मागे जति चन्दा तिरेर, विस्थापित भएर वा विदेश पलायन भएर भए पनि आफ्नो घर व्यवहार,कारोबार र आर्थिक स्तरलाइ कायम राख्न सफल भएको पाइएको छ । यो पिँढी राज्यबाट विभिन्न समयमा प्रदान गरिएका अनुदान लगायत बिभिन्न सुविधा र सहुलियतहरूको सदुपयोग गरेर झन सुदृढ अवस्थामा आइ पुगेको छ । नानीहरूको पालन पोषण ,शिक्षादीक्षा,कारोबार र घरव्यवहारमा गैरमाओवादी समुदाय जति सँवेदनशील रह्यो युद्धमा रहेको कारणले माओबादी समुदाय त्यति गम्भीर हुने खण्डनै रहेन । यस अवधिमा उनिहरूको एकमात्र ध्यय जनयुद्धलाइ उचाइमा पुर्याउनु र विजय प्राप्त गर्नु रह्यो । जीवनोपयोगी शिक्षा,सीप र तालीम हाँसील गर्ने उमेरमा माओबादीले यो पिँढीलाइ सैद्दान्तिक रूपले एकाग्र,व्यवहारिक रूपले कठोर,मानसीक रूपले हठधर्मी र सामाजीक रूपले कर्कश बनाएर युद्धउपयोगी कालीगढीमा ढाल्यो जुन परिवर्तित सन्दर्भमा अनुत्पादक, अनुपयोगी र सबैको लागि चुनौति बन्न गइरहेको छ । शोषित-पीडित,दलित,निम्न बर्ग र सामाजीक हैसियत गुमाएको तब्का माओबादीको आधारभुमी रहेको सन्दर्भमा अब गरिने सामान्य प्रयासले यो खाडल पुर्न सँभव हुने छैन । अपेक्षाकृत सम्पन्न र हुनेखाने गैर माओबादी तब्कासँग गरिखाने माओबादी तब्काले रित्तो हात प्रतिस्पर्धा गरेर स्थापित हुन सक्ने गुञ्जायस कम हुन्छ । तर यहाँनेर छुटाउन नहुने प्रसँग के छ भने माओबादीमा लाग्ने कतिपय टाँठा-बाठा र केहि उपल्लो दर्जावालहरूले अकुत सम्पत्ति जम्मा गर्नुका साथै राजधानी र देशका बिभिन्न शहरहरूमा महल-अट्टालिकाहरू खडा गर्न सफल भएका छन भने महँगा घर-घडेरी किन्ने र अत्याधुनिक मोडेलका गाडी चढ्नेमा पनि तिनिहरू पर्दछन । तर यो माओबादी भित्रको अत्यन्तै सिमित वर्ग हो ।


फिलहाल सँयुक्त राष्ट्र सँघ र नेपाल सरकारले जनसेनालाइ पालिरहेको छ भने अन्यलाइ माओबादीले वाइसिएल,जनमिलिसिया,अनधिकृत कर तथा चन्दा सँकलन,तारे होटल तथा क्यासिनोहरू र बिभिन्न पार्टी काममा लगाएर तिनिहरूको यनकेन भरणपोषण गरिरहेको छ तर यो अल्पकालीन समाधान मात्र हो । सेना समायोजन हुने र माओबादीले राजनैतिक मूलधार समात्ने बित्तिकै एउटा विशाल जनसमुदाय बेवारिशे भएर सडकमा झर्ने निश्चित छ । यसरि जनयुध्दमा सर्वस्व गुमाएर जालसाँजीमा परेको जनसमुदायमा उत्पन्न हुन सक्ने लघुताभास,आत्मग्लानी,हिनताबोध र आक्रोशले मास हिस्टिरियाको स्वरूप धारण गर्न कत्ति बेर लाग्दैन । नूर गिरेको यस्तो भीड कुनै धुन्धुकारीको हातमा पर्न सक्ने अत्यधिक सँभावना रहन्छ । दुःख-बेदना र बहानाहरूको कमी नभएको हाम्रो समाजमा बिकल्पविहीन अवस्थामा पुगेको यस्तै जनशक्ति हिँसा,अराजकता र भद्रगोल सिर्जना गर्ने र राज्य विरूध्द हतियार उठाउने काममा सजिलै प्रयोग हुने गरेको इतिहाँसबाट पाठ सिकेर अगाडि बढ्न जरूरी छ । अतः अब सेना समायोजनको रट लगाउन छाडेर सबैले यतातर्फ ध्यान मोड्न ढिलो गर्नु हुँदैन ।


जनयुध्दको भूलभुलैयामा नराम्रोसँग ठगिएको र मूलबाटो भूलीसकेको यो पिँढीलाइ राज्यको मूलधारमा फर्काउने र ससम्मान समाजमा पुनःस्थापित गर्ने कार्यमा सबैभन्दा बेशी माओवादी पार्टीले नै ध्यान पुर्याउनु पर्दछ । उसले यो पिँढीलाइ बदलीएको सन्दर्भमा पार्टी सँयन्त्र,अपानि,विभिन्न प्रशिक्षण,सभा-सम्मेलन,सम्बद्ध सञ्चार माध्यम र पार्टी प्रकाशनहरू मार्फत रूपान्तरणको लागि तयार पार्नु आवश्यक हुन्छ । यो पिँढी यति मुढाग्रही र एकाग्र छ कि माओबादीले भनेका कुरा र गरेका काम बाहेक अन्य कामकुरा सुन्ने र पर्गेल्ने मुडमै उ देखिँदैन । त्यसैले पनि यहाँनेर माओबादीको अग्रसरता ज्यादा महत्वपूर्ण देखिएको हो । राज्य,राजनैतिक दलहरू र समाजले माओबादीको यस प्रयासमा सहयोगी भूमिका खेल्नु पर्दछ । द्वन्द्वबाट बढी प्रभावित क्षेत्रहरूमा मेलमिलाप तथा क्षमादान केन्द्रहरू खोलेर प्रशिक्षण प्राप्त स्वयँसेवकहरू मार्फत द्वन्द्वकालको तिक्तता बिर्सन र एकअर्कालाइ क्षमादान दिन दुबै पक्षलाइ प्रेरित गर्न सकिन्छ । यस अभियानमा माओबादी पीडित सँघ र बेपत्ता परिवार सँघर्ष समिति जस्ता द्वन्द्वसँग प्रत्यक्ष सरोकार राख्ने सँघ-सँस्थाहरू तथा द्वन्द्वको प्रत्यक्ष प्रकोप भोगेका ब्यक्तिहरूलाइ नमुना र प्रेरणाको रूपमा सामेल गर्न सकिएमा प्रभावकारी हुन सक्दछ । त्यसैगरि सँयुक्त राष्ट्र सँघ तथा राष्ट्रीय-अन्तरराष्ट्रीय मानवाधिकारबादी सँघ-सँस्थाहरू पनि सहयोग गर्नको लागि उत्सुक नै रहेका छन । यस कार्यमा गैरआवासीय नेपालीहरूले पनि योगदान गर्न सक्दछन ।



द्वन्द्वका कारण विस्थापित भएका, घाइते तथा अँग-भँग भएका,कारोवार डुबेका,घरबार गुमाएका र परिवारको अभिभावक तथा सदस्य गुमाएकाहरूलाइ तत्कालीन राहत उपलव्ध गराउने तथा पुनःस्थापना सम्बन्धी तत्कालीन र दीर्घकालीन प्याकेज कार्यक्रमहरू तयार गरि क्रमशः कार्वान्वयन गर्दै लग्नु पर्दछ । विस्थापित भएर लाखापाखा लागेको गैरमाओबादी समुदाय र राजधानी र शहरबजारमा डोलिएको माओबादी पङतीलाइ गाउँ फर्किने वातावरण निर्माण गर्नु सबैको प्राथमिक कार्यभार हुनुपर्दछ । कब्जा गरिएका घरजग्गा फिर्ता गर्दा न्यूनतम क्षत्तिपूर्ति उपलव्ध गराउने र हाल त्यसको उपभोग गरेर जीविकोपार्जन गरिरहेका बिकल्पहीन बर्गको पुनरवास र रोजीरोटीको व्यवस्था पनि सँगसँगै गरिनु पर्दछ । लडाइँका कारण औपचारिक शैक्षिक प्रमाणपत्र हाँसील गर्नबाट बञ्चित भएका तर सो सरहको क्षमता भएकाहरूलाइ खुल्ला विश्विविद्यालय वा यस्तै अन्य उपयुक्त माध्यम मार्फत समकक्षी प्रमाणपत्र ( equivalent certificate) उपलव्ध गराउनु पर्दछ । युध्दकै क्रममा पनि माओबादीले आफ्ना पूर्णकालीन कार्यर्ताहरूलाइ युध्दकला मात्र सिकाएको छैन । उसले केहि हदसम्म जीवन निर्वाह र आय आर्जनको कौशल पनि सिकाएको छ । राज्यले तिनिहरूको सीप,दक्षता र प्रतिभाको पहिचान गरि पुनरनिर्माण र वृत्ति विकासको लागि विना पूर्वाग्रह समुचित अवसर प्रदान गर्नु पर्दछ । सरकारले पीडित परिवारलाइ १० लाख दिने घोषणा गरेर यसतर्फ सकारात्मक पहल गरेको छ । तर पैसा बाँडनु मात्र सबै कुरा होइन,समाजमा मित्रतापु्र्ण वातावरण निर्माण गर्नु र नागरिकहरूमा एकअर्काप्रति क्षमाशील भावनाको बिकास गर्नु अहिलेको प्रमुख चुनौति हो । बुरूण्डी,रूवाण्डा,सोमालीया,दक्षिण अफ्रिका,सियरालिओन,कम्बोडिया आदि देशहरूका मेलमिलाप,द्वन्द्व व्यवस्थापन तथा पुनःस्थापना सम्बन्धि अनुभवहरू हाम्रो सन्दर्भमा पनि उपयोगी हुन सक्दछन ।



तर यो सब हुनको लागि माओबादीले सर्वप्रथम आफ्नो स्थिति ( position) स्पष्ट पार्नु आवस्यक छ । यो पार्टी बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा पदार्पण गरेको हो कि परम्परावादी एकदलीयता र अधिनायकबादमा कायम रहने हो भन्ने फैसला हुन जरूरी हुन्छ । प्रमुख कुरा युध्द सकियो वा जारी छ भन्ने कुरा माओबादीले बुझिने शव्दावलीमा अबिलम्व राष्ट्रका सामू राख्नु पर्दछ । उसले जसरी देखेजतिकासँग पार्टीएकता र भेटेजतिकालाइ पार्टीप्रवेश खुल्ला गरिरहेको छ यसबाट उ मूलधारमै जम्ने प्रयत्नमा रहेको प्रतित हुन्छ भने उसका दस्तावेज,स्कूलिङ र शिर्ष नेतृत्व वर्गका स्पष्टोक्ति र बक्तब्यहरू हेर्दा यो पार्टी पुरानै मन्सुबामा अडिग रहेको देखिन्छ । यहि द्विविधा नै माओबादी पार्टी, नेपाली समाज र वर्तमान राजनीतिको असँगतिको प्रमुख कारण हो भने भविष्यको बर्बादी र भयावहताको सूचक पनि ।



दशक लामो रक्तपातपूर्ण द्वन्द्वले समाजको एक पक्षलाइ पीडक र अर्को पक्षलाइ पीडित बनाएर चौबाटोमा लक्षविहीन अवस्थामा छाडिदिएको छ । रगतको भेलबाढीमा खुट्टाले लाश पन्छाएर भविष्यको अनिश्चित यात्रा तय गरेका यी दुबै पक्षका बीच चर्को अन्तरविरोध,आशँका, घृणा,असहिस्णुता,प्रतिस्पर्धा र बदलाभाव रहनु अस्वभाविक होइन । यस्तो मनोबैज्ञानिक पृष्ठभूमीमा प्रियजन र आफन्त गुमाएको पीडा बोकेर घिस्रिरहेको समाजले कुनै पनि बेला अप्रिय निष्कर्षमा पुग्न सक्ने र बाटो बिराउने सँभावना हरदम रहिरहन्छ । न त जितेको न त हारेको ! हजारौँ नागरिकको ज्यान लिएको,ज्यानमारा कोहि नभएको ! जनताले हत्यारा सनाखत गरिसकेको तर राज्य र कानूनले आँखामा पट्टी बाँधेको !! पीडक पुरस्कृत भएको र त्यसको चुरीफुरी टुलु-टुलु हेरेर पीडितले नूनिलो अश्रु पीइरहेको !!! बिचित्रको अवस्था विद्यमान छ नेपालमा अहिले । यस्तो अधकल्चो र पक्षपातपूर्ण युध्दको असर दीर्घकालिन, भयँकर र विकृत हुने गर्दछ । जिम्मेवार पक्षहरूले बेलैमा बिचार नपुर्याउने हो र यसको व्यवहारिक समाधान खोज्न पट्टि नलागेर यसरिनै यसैलाइ सत्ताप्राप्ति र सत्ता कब्जाको माध्यम बनाउने हो भने अन्ततः नेपाली समाज अभूतपूर्व विश्रृँखलता र बिखरावको दुस्चक्रमा फस्नबाट कसैले रोक्न सक्ने छैन ।


युरोपको नेपाली पत्र,वर्ष ३,अँक १६० ( ७-१३ साउन २०६६/ 22 -28 July 2009 )मा प्रकाशित ।Kshetriindra@yahoo.com 15 July 2009

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा