युरोप काँग्रेसमा राजनैतिक नरसँहार


-इन्द्र क्षत्री
२६ मे २००७ का दिन नेपाली काँग्रेस विदेश विभाग प्रमुख सुजाता कोईरालाको उपस्थितिमा जर्मनीको बर्लीन शहरमा सम्पन्न भेलाले युरोप महादेशका विभिन्न मुलुकहरुमा कार्यरत जनसम्पर्क समितिहरुका बीच समन्वय र सहकार्य गर्ने र जनसम्पर्क समितिहरु स्थापना नभएका देशहरुमा यथाशिघ्र समितिहरु खडा गर्ने जनादेशका साथ नेपाली काँग्रेस युरोपको गठन भएको हो । सोहि भेलाले ६ महिनाभित्र युरोपीयन सम्मेलन बोलाउने म्यण्डेटका साथ १५ सदस्यीय समन्वय समिति बनायो । त्यसैगरि भेलाले सबै देशका समितिका अद्यक्षहरु पदेन सदस्य रहने र पदेन सदस्यहरु आगामी युरोपीयन सँरचना अन्तरगत अद्यक्ष देखि कोषाद्यक्ष सम्मका पदहरुमा नबस्ने निर्णय भएको थियो । त्यसै निर्णयका कारण संयोजक दिल गुरुङले जर्मनीको नेतृत्व हस्तान्तरण गरेका थिए । भेलाले बर्लीन घोषणपत्र जारी गरि सँठनको अवधारणा,उद्देश्य,अन्तरिम विधान र कार्यविधी तय गरेको थियो ।
यस दौरान यो सँगठन आफ्नै प्रकारले युरोपभरी सकृय रहनुका साथै निरन्तर पार्टी केन्द्रको प्रत्यक्ष सम्पर्कमा रहि आएको छ । तर पार्टी केन्द्रले अहिले सम्म युरोपीयन सँगठनको मान्यता प्रदान गरेको छैन । कार्यवाहक सभापति श्री शुशील कोईरालाले बेल्जियम समितिको महाधिवेशनका अवसरमा यो पङतीकारले युरो काँग्रेसको मान्यताको बारेमा विज्ञासा राख्दा यसको कुनै औचित्य नरहेको र कुनै पनि महादेशमा यसप्रकारको सञ्जाल बनाउने पार्टीको कुनै सोचाइ नरहेको तर साथीहरु संगठन गर्न चाहान्छन भने आफ्नो ढँगले सकृय रहेमा आपत्ति पनि नहुने भन्ने निर्देशन दिनु भएको थियो भने उपसभापति रामचन्द्र पौडेलको गत डिसेम्बरमा भएको बेल्जियमको भ्रमणका बेला उहांले पनि यस बारे कुरा नगर्न भन्नुभएको थियो । सुजाता कोईरालाको अनुमतिको भरमा टिकेको यो सँगठन पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको उपस्थितिमा भएको भनिएको लिश्बोन साधारण सभाको वैधानिक सून्यता सँगै विधिवत रुपमा विघटीत हुने सम्भावना बढेर गएको छ ।
लिस्वन साधारण सभाको सन्दर्भमा कुरा गर्दा कुनैपनि राजनैतिक दल, भार्तृ संगठन, सरकारी वा गैरसरकारी संघ—सँस्थाहरुले साधारण सभाको लागि अनिवार्य रुपमा अपनाउनु पर्ने निम्नलिखित सामान्य शर्तहरुका बारे ध्यान दिनु वाञ्छनीय छः—
१) प्रचलित कानून र स्थापित मान्यता अनुसार कुनै पनि सँघ—सँस्थाको साधारण सभा हुनको लागि साधारण सदस्यहरु वा निजहरुले चुनेका प्रतिनीधीहरुको उपस्थिति अनिवार्य हुन्छ, तोकिएको मितिमा गणपुरक संख्या नपुगेर वा अन्य कुनै कारणले सम्पन्न हुन नसकेमा अर्को सुचना जारी गरी पुनः अर्को स्थान,मिति र समय तोक्नु पर्दछ ।
२) साधारण सभा हुनको लागि साधारण सभा हुने स्थान,मिति र समय सम्बन्धि सूचना वा जानकारी कमसेकम एक महिना अगावै सम्बन्धित पक्षले पाइसकेको हुनु पर्छ ।
३) नियमित साधारण सभा सम्बन्धि सम्पुर्ण तयारी संस्थागत निर्णयबाट मात्र तय गरिएको हुनुपर्छ वा विशेष परिस्थिति हो भने त्यसको उल्लेख गरि अद्यक्षले वा एक तिहाइ साधारण सदस्यहरुको हस्ताक्षरमा कार्य समितिले विशेष साधारण सभा बोलाउन सक्दछ ।
४) नयां कर्यसमितिको निर्माणार्थ निर्वाचन समिति,आयोजक समिति,सदस्यता वितरण वा अद्यावधिक समिति लगायत विभिन्न उपसमितिहरुको गठन गरि कार्य विभाजन हुनुपर्दछ ।
५) नयां समितिमा चयन हुनको लागी दरखास्त दिने,प्रचार—प्रसार गर्ने, छलफलमा सहभागि हुने र आवस्यक परे मतदानमा सहभागी हुने अधिकारबाट वञ्चित हुनेगरि साधारण सभा गरिनुहुंदैन ।
६) साधारण सभा हुने मिती,समय र स्थान सकभर सबैलाइ पायक पर्ने गरि तोकिनु पर्दछ ।
७) साधारण सभाको पूर्वसन्ध्यामा अधिवेशनको समग्र तयारीको अन्तिम समिक्षा गर्ने,प्रगति प्रतिवेदन पारित गर्ने,विधान समितिले पेश गरेको मस्यौदा विधान पारित गर्ने र त्यसैका आधारमा निर्वाचन समितिले तय गरेको कार्यकारिणीको निर्वाचन प्रकृया र कार्यविधी अनुमोदन गर्ने र निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन सम्बन्धि कार्य तालीका र मतदान सम्बन्धि नियमावली र आचारसँहिता पारित गर्ने उद्देस्यको लागि कार्यकारिणी समितिको अन्तिम बैठक बस्नु पर्दछ ।
नेपाली जनसम्पर्क समन्वय समिति युरोपले उपरोक्त कुनै पनि प्रकृयाको अनुशरण नगरेको हुनाले युरोप कांग्रसको नाममा त्यहां गरिएको कार्यक्रमलाइ कुनै पनि विधि र कानूनले साधारण सभा भन्न सक्ने आधार दिंदैन । यस्तो अवस्थामा एकले अर्कोलाई कमशः अद्यक्ष र महामन्त्रीमा प्रस्ताव गरेर चयन भएको अद्यक्ष र महामन्त्री रहेको दुइ सदस्यीय थकुल्लो कार्य समितिको वैधानिक अस्तित्व पनि सून्य हुन्छ ।
निश्चित उद्देश्यका लागि गठीत नेपाली कांग्रेस इयू जनसम्पर्क समन्वय समिति विभिन्न देशमा समितिहरु गठन गर्ने कार्यमा केहि हदसम्म सफल भए पनि बर्लिन भेलाले निर्दिष्ट गरेको समयावधिमा आफ्नो अधिवेशन बोलाउन असफल भएको सन्दर्भमा तुरुन्तै अर्को भेला बोलाउन वा साधारण सभा आह्वान गर्न वा समितिको विघटन गर्न अत्यावस्यक भैसकेको थियो । उपरोक्त कदमहरु चाल्नुको सट्टा संस्थापनले एक हप्तामा दुई वटा सूचना जारी गरेर भ्रम सिर्जना गर्ने काम गर्यो । समितिले ०७ जुलाइ २००९ का दिन पोर्चुगलमा समितिको बैठक बस्ने सुचना जारी ग¥यो भने १२ जुलाइ २००९ का दिन हचुवाका भरमा साधारण सभा गरिने इमेल फरवार्ड गर्यो । ज्ञातब्य छ ईमेल सर्कुलरहरु सिमित व्यक्ति सम्म मात्र पुग्न सक्दछन् । साधारण सभाको तयारी सम्बन्धि कुनै पनि सुचना वा जानकारी कुनै पनि सञ्चार माध्यममा सार्वजनिक गरिएन । समितिको कुन बैठकको निर्णयबाट वा कुन प्राधिकार प्रयोग गरेर साधारण सभा बोलाइएको हो भन्ने कुरा कहिं पनि उल्लेख छैन । साधारण सभामा कुन देशबाट कति प्रतिनीधि रहने, संगठनको गठन प्रकृया के हुने, पदपूर्ति कसरि गरिने र उम्मेदवार बन्ने प्रकृया र समयावधि बारे केहि पनि खुलाइएन । यीनै कारणले साधारण सभामा कार्यकर्ताहरुको उपस्थिति नगण्य रहन गएको कुरा प्रष्ट छ ।
केहि अनौठा झलकहरु र उठेका प्रश्नहरु
१) चार दर्जन बढि (४९) कार्यकारी सदस्य रहेको समितिको कथित साधारण सभामा १० जना ( संयोजक,सचिव र सदस्यहरुः—ध्रुव पौडेल,जानकी गुरुङ,पुर्ण हमाल, ओम शर्मा,स्पेनका एक जना र पोर्चुगलका तीन सदस्य) को मात्र उपस्थिति रह्यो ।
२) डेनमार्क,जर्मनी,नेदरल्याण्ड,बेल्जियम,लक्जम्बर्ग,फ्रान्स,स्पेन,पोर्चुगल,स्वीट्जरल्याण्ड र बेलायत गरि १० वटा देशमा जनसम्पर्क समितिहरु सकृय रहेकोमा दुइ वटा ( पोर्चुगल र बेल्जियम) समितिहरुको मात्र सँस्थागत प्रतिनीधित्व रह्यो ।
३) दुइटा देश का अद्यक्षहरु (पोर्चुगल—पुर्ण हमाल र बेल्जियम—गँगाधर गौतम आका युरो सचिव ) उपस्थित भए ।
४) एउटा अद्यक्ष ( पोर्चुगल ) तथा समितिका संयोजक र सचिव बसेर थोपरिएको निर्णय मान्न कोहि बाध्य होला ?
५) युरो समितिका उपस्थित सबै सदस्यहरुको राय सुनियो त ? ध्रुव पौडेल,ओम शर्मा,जानकी गुरुङ आदिले उठाएका जायज आवाजहरुलाइ हूलहुज्जतका भरमा दबाइयो । स्पेन,फ्रान्स,पोर्चुगल आदि देशमा पुगेर समिति गठन गर्ने बेल्जियमका सँस्थापक अद्यक्ष ध्रुव पौडेलले अर्को मिति तोक्न गरेको आग्रह र नोट अफ डिसेण्टको बेवास्ता मात्र गरिएन बेल्जियमको कार्यकर्ता भेलामा वरिष्ठ नेताकै अगाडी निकृष्ट ढँगले उहाँको अपमान गरियो भने युरोपीयन अवधारणा अघि सार्ने, तिब्र बिरोधका बावजुद बर्लीन भेलाको लागि जनमत तयार पार्ने, बर्लीन घोषणापत्र तयार गर्ने,सँगठनका हरेक कृयाकलापको डकुमेण्टेशन गर्ने र रातोदिन यसको बिकासको लागि खट्ने यो पङितकारले प्रस्तुत गरेको कार्यपत्रको समिक्षा गर्नुको सट्टा पङतीकार माथि दुर्व्यवहार गरीयो ।
६) बेल्जियममा १० अगस्तमा भएको कार्यकर्ता भेलामा अद्यक्षहरुको एसएमएस र तारमा सहमति लिइएको भन्ने हाँस्यास्पद तर्कहरु प्रस्तुत गरियो । एकातिर विधानमा सबै पदहरु साधारण सभाले चयन गर्ने भनेर शँशोधन गरियो भने अर्कातिर अद्यक्ष र महामन्त्री बाहेक अन्य पद खाली राखियो । यसबारे जिज्ञासा राख्दा जवाफ आयो,“उम्मेदवारी नै परेन,अब राखिन्छ”। मतदानको त कुरै छाडौ“, उम्मेदवार नै नहुने यो कस्तो साधारण सभा भयो ? दुईजनाको मात्र उम्मेदवारी परेको र ती निर्विरोध चयन भएको भन्ने तर्कलाइ सत्य मान्ने हो भने त्यहाँ तेश्रो व्यक्ति उपस्थित नभएको र भए पनि यो कृत्यसँग असहमत भएको कुरा स्पष्ट हुन्छ । यस्तो जगहँसाइ हुने कार्यको प्रत्यक्षदर्शी हुनुभयो नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवा र श्रीमति देउवा । बेल्जियममा प्रस्तुत कार्यपत्रमाथी उहाँहरुको मौनता देख्दा कि त उहाँहरु वशिभूत हुनुहुन्थ्यो कि कुनै ग्राण्ड डिजाइन अन्तरगत युरोप भ्रमणमा आइपुगेको हुनुपर्छ । अव पदको हरियो देखाएर विरोध मत्थर पार्ने कुचेष्टा हुने कुरा निर्लज्जतापुर्वक कार्यकर्ता भेलामै नवनिर्वाचित भनिएका महामन्त्रीले “ कुनै समितिले विरोध गरेर देखाउन चुनौति दिन्छु” भनेर प्रष्ट पारे ।
६) बेल्जियमका अद्यक्ष युरो समितिको पदेन सदस्य पनि हुने,महामन्त्री पनि हुने,एनआरएन बेल्जियमको सँरक्षक बस्न पनि पुग्ने र अब हुने एनआरएन ग्लोबल सम्मेलनमा आइसीसी सदस्यमा पनि -याल काढ्ने होला ! यसरी कसरी सँगठन सुदृढ हुन्छ ? भनि यहाँ उठेको आवाजलाई हल्लाका भरमा दबाइयो ।
६) केहि व्यक्तिहरु बसेर पारित गरिएको (भनिएको) विधान सबैलाई मान्य हुन्छ ? नेपाली कांग्रेसको विधानको अनुशरण गरि मस्यौदा गरिएको विधानमा कुन तर्कको आधारमा हेरफेर गरियो ? आ—आफ्ना देशका समितिहरुमा पचास प्रतिशत सदस्य र सबै पदाधिकारीहरु स्वविवेकमा मनोनित गरेका अद्यक्षहरुले युरो समितिको सन्दर्भमा दोहोरो मापदण्ड अपनाउन मिल्छ ? युरोपमा सबै पदहरु साधारण सभाले चयन गर्ने व्यवस्था गर्नेहरुले आ—आफ्ना समितिहरुमा पनि यो व्यवस्था लागू गर्ने हिम्मत देखाउने कि नदेखाउने ?
७) बर्लिन भेलाको म्याण्डेट अनुसार पदेन सदस्यहरु ( राष्ट्रिय अद्यक्षहरु) पदाधिकारी नबस्ने भन्ने समझदारी के असान्दर्भिक भएको हो ? के अरु अयोग्य भएका हुन वा राजनीतिबाट पलायन भएका हुन ? यसलाई राजनैतिक नरसँहार नभने के भन्ने ??
८) २००७ देखि हालसम्म युरोपभरीका विभिन्न तह र तब्काका साथिहरुले आ—आफ्नो क्षेत्रबाट लगानी गरेको समय,श्रम र साधनको यहाँ भन्दा ठूलो दुरुपयोग अरु के हुन सक्छ ?
९) जुन—जुन देशका अद्यक्षहरुको मौखिक वा एसएमएस सहमति लिइएको भनेर दावी गरिएको छ,उनिहरु के पपेट अद्यक्षहरु हुन ? के उनिहरुमा राजनैतिक विवेक छैन ? जो आफु अनुपस्थित रहेको र दुइजनाको खुशामदले साधारण सभाको नाममा गरेको मनोमानीको जिम्मा लिन तयार हुन्छन ! कसैको यहाँ भन्दा ठूलो राजनैतिक अवमूल्यन अरु के हुन सक्छ ? ति अद्यक्षहरुले आ—आफ्नो समितिको संस्थागत म्याण्डेट लिएर कसैलाइ यस्तो मनोमानी गर्ने अनुमति दिएका हुन वा ब्यक्तिगत झुकावको भरमा ? अथवा उहांहरुको दुरुपयोग गरिएको हो ? उहांहरु स्पष्ट हुन जरुर छ । के एसएमएस र टेलिफोन वार्ताका आधारमा दुनियाँमा कहिँ कुनै राजनैतिक सँगठनको महाधिवेशन वा साधारण सभा हुने गरेको छ ? यो हैकमबाद नभए के हो ?
१०) तीन—तीन दिनको बेल्जियम बसाइमा असन्तुष्ट पक्षले श्री देउवासँग १० मिनेटको लागि पनि समय नपाउनु र कार्यकर्ता भेला चल्दाचल्दै बीचैमा नेताहरु उठेर हिँडनु अनिष्टको सँकेत हो ।
यी यावत कारणहरुले गर्दा लिश्वन जमघटलाइ साधारण सभा मानेर अगाडी बढ्न सक्ने कुनै पनि वैधानिक तथा नैतिक आधार छैन । आदरणीय नेताहरुको उपस्थितिमा भएको यस्तो मनोमानीपूर्ण कार्यले युरोपभरि छरिएर रहेका आम कांग्रेसीहरुको नूर गिरेको छ । कुनै गोप्य स्वार्थ छैन भने हचुवाका भरमा गरिएको यस्तो बदनीयत पूर्ण कार्यको किनाराको सांक्षी बस्न वरिष्ठ नेता श्री शेरबहादुर देउवालाइ सुहाउने कुरा होइन । उहांले शुशील कोईराला वा रामचन्द्र पौडेलले जस्तो अडान किन लिनुभएन ? के पार्टीले युरो समितिलाइ मान्यता दिने मन बनाएको हो ? यदि त्यसो हो भने उत्तरहरु स्वतः उजागर भएर आउंछन् ।
महिनादिन अघिको सुजाता कोइरालाको ३ दिने पोर्चुगल बसाइ, दुइ हप्ता अघि भएको तरुण दल अद्यक्ष महेन्द्र यादवको बर्लीन र ब्रसेल्सको तुफानी दौडाहा र उहांद्धारा युरोपमा तरुण दलको प्रतिनीधिको रुपमा उल्का घिमिरे कृयाशील हुँदाहुँदै तरुण दल केन्द्रिय सदस्यको लागि खोलिएको टेण्डर आह्वान, दुई वर्ष सम्म हात बांधेर काम गर्न नदिने युरो सचिव र काम गर्न खोज्ने संयोजकको अस्वभाविक गठवन्धन, पोर्चुगलमा मञ्चन गरिएको नौटङ्की, बेल्जियम कार्यकर्ता भेलामा उठेका प्रश्नहरुमाथी प्रदर्शित वरिष्ठ नेताको रहस्यमय मौनता,ध्रुव पौडेल र ईन्द्र क्षेत्री माथि गरिएको दुर्व्यवहार, वार्ता र समझदारी प्रतिको अरुचि,आदि सबै घटनाक्रमहरुले एउटा अमुर्त चित्र उपस्थित हुन्छ । गदि यो अमुर्त चित्रले आकार ग्रहण गर्न थाल्ने हो भने युरो काँग्रेस विघटन हुन सक्ने र युरोपका हरेक मुलुकका रावणहरुको लँकामा अग्निदहन शुरु हुने पनि निश्चित हो । भन्नैपर्ने हुन्छ, नेपाली काँग्रेसमा जन्मेको धुन्धकारी कालो छायाँले युरोपमा पनि नयाँ शिराबाट विभाजनको रेखा कोरेर गएको छ । वरिष्ठ नेता शेरबहादुर देउवालाई भयँकर गुमराहमा राखेर विवादमा मुछ्ने र यो कलँकको टीका उहाँको चाँदोमा पोत्ने ग्राण्ड डिजाइन गरीएको पनि उत्तिकै यथार्थ हो ।
१२ अगस्त २००९ । निवर्तमान अद्यक्ष
नेपाली जनसम्पर्क समिति,बेल्जियम ।
Published @ Europeko Nepalipatra

Comments

Popular posts from this blog

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू

गिरिजाप्रसादका १० बिवादास्पद भनाईहरु

रुम्जाटार,टारेली गुरुँग र पहिचानका कुरा