एनआरएन बेल्जीयममा बरिष्ठहरू ‘ब्ल्याक आउट’!
गैर आवासीय नेपाली सँघ अन्तरराष्ट्रीय समन्वय परिषदको आगामी अक्टोबर १३ गते देखि १५ सम्म काठमाण्डौँमा सम्पन्न हुन गैरहेको चौथो ग्लोबल सम्मेलनमा राष्ट्रीय समन्वय परिषद बेल्जीयमको आइसीसी सदस्य पदका लागि सेप्टेम्बर ७ गते भएको उम्मेद्वारहरूको मनोनयन दर्ता सँगसँगै एनआरएन बेल्जियमको चुनावी माहौल एक्कासी तात्न पुगेको छ । साधारण सदस्यहरू साधारण सभामा उठ्न सक्ने गम्भिर विषयहरूमा भन्दा जनमतको जोडघटाउमा बढी ब्यस्त देखिन थालेका छन ।
तीनजनाको मात्र उम्मेद्वारी दर्ता
उम्मेदवारहरुको मनोनयनको लागि तोकिएको समय सेप्टेम्बर ७ तारीख साँझ १७.०० बजे सम्ममा प्रेम गुरूँग,अर्जुन श्रेष्ठ र श्रीप्रसाद सापकोटा गरि तीन जनाको मात्र उम्मेदवारी परेको कुरा निर्वाचन समितिले जनाएको छ । एनआरएन बेल्जीयमको यस निर्वाचनलाइ ब्यापक रूपमा राजनीतिकरण गरिएको चर्चा-परिचर्चा चलिरहँदा नेपाली काँग्रेस निकटको जनसम्पर्क समितिले एनआरएन बेल्जीयमका अग्रजहरू क्रमशः वर्तमान आइसिसि सदस्य रविन्द्रमान श्रेष्ठ,निवर्तमान अद्यक्ष युवराज गुरूँग,युरोपीयन उपसँयोजक जानकी गुरूँग,भु.पु उपाद्यक्ष द्वय पुष्पराज अधिकारी र अनन्ता गुरूँग तथा महिला आइसिसि प्रतिनीधि रजनी प्रधान मध्य एक जनालाई सर्वसम्मत बनाउने र त्यसैलाइ समर्थन गर्ने भनेर गरेको प्रयास असफल भएपछि अन्ततः नयाँ अनुहार प्रेम गुरूँगलाइ समर्थन जनाउने निधो गरेको जनाएको छ । स्मरणीय छ यहाँस्थित एमाले निकटको लोकतान्त्रीक मञ्च र माओबादी निकटको जनप्रगतिशील मञ्चले हप्तादिन अगाडि नै आ-आफ्ना आधिकारीक उम्मेदवारहरू सार्वजनिक गरिसकेका थिए ।
उम्मेद्वारहरुको प्रोफाइल
१-प्रेम गुरुँगः- १० वर्ष देखि बेल्जीयममा बस्दै आएका प्रेम बहादुर गुरुँग सफल युवा व्यवसायी हुन । यी उत्साही युवा व्यवसायी यहाँस्थित नेपाली व्यवसायी सँघका सँस्थापक उपाद्यक्ष तथा वर्तमान सल्लाहाकर रहेका छन । नेपाल तरूण दल बेल्जीयमका भु.पु. उपाद्यक्ष रहेका श्री गुरूँग हाल नेपाली जनसम्पर्क समितिका पनि उपाद्यक्ष नै हुन । जनसम्पर्क समिति उहाँको प्रचार-प्रसारमा निक्लीसकेको अवस्था छ ।
२-अर्जुन श्रेष्ठः-लामो समय देखि बेल्जीयममा रहँदै आएका अर्का युवा उम्मेदवार अर्जुन श्रेष्ठ सफल रेष्टुराँ व्यवसायी हुन । नेपालमा रहँदा विभिन्न गैरसरकारी सँघ-सँस्थाहरूमा सकृय रहेका श्रेष्ठ नेपाली व्यवसायी सँघका अद्यक्ष रहनुका साथै एनडिएफ बेल्जियमसँग सम्बद्ध छन । उहाँलाइ एनडिएफ बेल्जीयमको समर्थन प्राप्त छ ।
३- श्रीप्रसाद सापकोटाः- हाल एनआरएन बेल्जीयमका उपाद्यक्ष रहेका अर्का उम्मेद्वार श्रीप्रसाद सापकोटा सफल दिवा पसल व्यवसायी हुन । लामो समयदेखि बेल्जीयममा रहँदै आएका सापकोटा गएको एनआरएन साधारण सभादेखि सामाजिक क्षेत्रमा निकै सकृय देखिएका छन । उनलाइ जनप्रगतिशील मञ्चको समर्थन रहेको छ ।
बरिष्ठहरू ब्ल्याक आउट !
यस चुनावबाट बिगतमा एनआरएन बेल्जियममा महत्वपुर्ण भूमिका निभाउने प्रमुख हस्तिहरू किनारा लाग्ने निश्चित भएको छ । वरिष्ठहरू मध्य रविन्द्रमान श्रेष्ठले कुनै पनि दलको समर्थन जुटाउन सकेनन् भने युवराज गुरूँगले अन्य वरिष्ठहरूको समर्थन प्राप्त गर्न नसकेपछि अन्तिम अवस्थामा काँग्रेसले पनि उनको साथ छोड्यो । पुष्पराज अधिकारीलाइ उनकै सँगठन लोकतान्त्रीक मञ्चले नै साथ दिएन । अनन्ता गुरूँगको पक्षमा स्वतन्त्र व्यक्तिहरू देखिएका भए पनि कुनै बलियो सँगठनले रूचि राखेन भने अन्तिम अवस्थामा आएर युवराज गुरूँगको समर्थनले पनि रजनी प्रधानलाइ उद्दार गर्न सकेन । जानकी गुरूँग आफ्नो युरोपीयन उप-सँयोजकको पद थमौति राख्ने धुनमा आफै पाखा लागिन् । चर्चामा रहेका मध्य ईन्द्र क्षेत्री,कृष्ण खतिवडा र सुवास जोशीले अनिच्छा प्रकट गरे भने गँगाधर गौतम जनसम्पर्क समितिको अद्यक्ष रहेका कारण पछि हट्न बाध्य भए । यसरि यस चुनावबाट सबै वरिष्ठहरू एकैचोटी ‘ब्ल्याक आउट’ भएर नयाँ अनुहार नेतृत्वमा आउने स्थिति बन्न पुगेको छ ।
हिसाब-किताब साधारण सभाले नै गर्ने
एनआरएन बेल्जीयम भित्र भने अग्रज एनआरएनहरूलाइ निषेध गर्ने काम गत वर्षदेखि नै प्रारम्भ गरिएको हो जुनबेला साधारण सभाले कार्य समितिमा मिश्रित परिणाम प्रदान ग-यो । यो अमिल्दो कम्बिनेशनले यो सँगठनलाइ यति थिल्थिलो र निकम्मा बनायो कि उपलव्धिमूलक कार्य प्रगतिको त कुरै छाडौँ समिति आफैँले पूर्णता सम्म प्राप्त गर्न सकेन । गएको साधारण सभाले आइसिसि सदस्य चयन गर्ने जिम्मेवारी कार्यसमितिलाइ सुम्पेकोमा त्यो जिम्मेवारी पूरा गर्नु त कता हो कता सल्लाहकार सँरक्षक र मनोनित कार्यकारी सदस्यहरु नियुक्त गर्दै र खारेज गर्दैमा एक वर्ष खेर फालियो । आसन्न साधारण सभामा गएको साधारण सभाले तोकेको जिम्मेवारी पूरा गर्न नसक्ने र राजनैतिक पुर्वाग्रह साँध्ने पक्षहरुको अस्तित्व माथि निश्चित रूपमा सवालहरू त उठ्ने नै छन् साथसाथै समितिको कार्यशैली, प्रवृत्ति र न्युन कार्य प्रगति प्रति ब्यापक असन्तुष्टीहरु राखिने छन ।
वैधानिक सँकट उत्पन्न हुन सक्ने
विधानमाथि छलफलको लागि फ्लोर खुला गरिनासाथ विधानबाट निःसृत सम्पुर्ण कुराहरूमा बहस हुनबाट कसैले रोक्न सक्ने छैन । साथै साधारण सभाले पारित गरेको वैधानिक व्यवस्थालाइ केन्द्रबाट पत्र मगाएर निरस्त गराउने कार्यको पनि स्पष्टीकरण खोजिने छ । यसै मेसोमा भूलवश वा जानाजान हो विधानमा विशेष महाधिवेशन आह्वान गर्नको लागि एकाउन्न प्रतिशत साधारण सदस्यको हस्ताक्षर आवस्यक पर्ने प्रावधान राखिएको छ जुन प्रचलित कानून र विश्वब्यापी लोकतान्त्रीक मान्यताको खिलाफमा छ । एकाउन्न प्रतिशत भनेको विश्वास वा अविश्वासको लागि आवस्यक बहुमत नै हो भन्ने तथ्यलाई नजरअन्दाज गरिएको छ । समावेदन वा प्रत्याव्हानको लागि विशेष साधारण सभा बोलाउनको लागि दुनियाँ भरिमा आवस्यक गणपुरक अँक भनेको एक तिहाई वा एक चौथाई सदस्य सँख्या हो । यसमा एनआरएन बेल्जियम अपवाद हुन सक्दैन । यो धारा यसै साधारण सभामा शँशोधन हुन जरुरी छ । राष्ट्रीय समन्वय समितिको साधारण सभा र ग्लोबल समितिको सम्मेलनको आयोजनामा एकरुपता ल्याउन वर्तमान कार्यसमितिको कार्यकाल १ वर्ष थप गर्नु पर्ने हुन्छ । यसको लागि विधानमा पनि सँसोधन गर्न जरुरी छ । विद्यमान विधान अनुसार अर्को साधारण सभा हुनु अगावै यो कार्यसमितिको कार्यकाल समाप्त हुने हुँदा यो सँसोधन यहि साधारणसभाबाट अनिवार्य रुपमा गरिनु पर्ने छ । यसरि विधान सँसोधन सम्बन्धि प्रस्तावहरू सत्रमा टेबल हुने भए पछि यो कार्य समितिको एक्जिस्टेन्सी माथि समेत सदस्यहरूले प्रश्न उठाउन सक्ने बाटो खुल्न सक्दछ । यसबारेमा कार्यसमितिका पदाधिकारीहरु प्रयाप्त गृहकार्यका साथ उपस्थित हुन आवस्यक छ ।
जनमत सर्वेक्षणमा प्रेम गुरूँगको अग्रता कायम
गैर आवासीय नेपाली सँघ अन्तरराष्ट्रीय समन्वय परिषद सदस्य पदका लागि आगामी सेप्टेम्बर १३ तारीखका दिन बेल्जीयममा हुन लागेको निर्वाचनमा युवा उम्मेद्वार प्रेम गुरूँग अगाडि देखिएका छन । नमस्ते युरोप डट कमले सञ्चालन गरेको अनलाइन ओपिनियन पोलमा अहिले सम्म सहभागी हुने जम्मा १८४ जना सहभागी मध्य ६५ जनाले प्रेम गुरुँगलाइ रोजेका छन भने ५५ जनाले अर्जुन श्रेष्ठलाइ आफ्नो अभिमत प्रदान गरेका छन । त्यसै गरि ४१ जनाको मत श्री प्रसाद सापकोटाको पक्षमा गएको छ भने २४ जनाले उपरोक्त तीनै उम्मेद्वारलाइ अस्वीकार गरेका छन । यो नतिजा प्रारम्भिक भएकोले यसै भन्न सकिने स्थिति छैन । तर प्रतिस्पर्धा भने कडा हुने निश्चित देखिएको छ ।
Comments