सभ्यताको उल्टो पिरामीड
सभ्यताको उल्टो पीरामीड
—ईन्द्र क्षेत्री
प्रकृतिले
मानव जातीलाई सबैभन्दा निर्धो प्राणीको रुपमा रचना गरेको छ । मानव बाहेक अन्य
जीवजन्तुहरु मार हान्न,प्रतिरक्षा गर्न र भक्षण गर्न
शारीरिक रुपले नै सक्षम छन । हरेक जीवजन्तुको शरीरमा जीवन यापन गर्ने अँग,तागत र कला प्रकृतिले प्रदान गरेको छ । शिक्षा वा प्रशिक्षणको
दरकार तिनलाई छैन । प्रकृतिकै काखमा जन्मने,जीवन यापन गर्ने,वंश वृद्धि गर्ने
र समाधिस्थ हुने सम्पूर्ण व्यवस्था प्रकृतिले नै मिलाइदिएको छ । सबै कुरा यथोचित छ,सम्पूर्ण छ र ती सबै प्रकृतिमा रमाएका छन् । परिवर्तनको खाँचो
तिनलाई परेको छैन ।
तर मनुष्य
अन्य जीवजन्तुहरुले प्राप्त गरेका यस्ता शारीरिक सक्षमताहरुबाट वञ्चित छ । त्यसैले
सबै कुराको जरुरत उसैलाई परेको छ,परिवर्तन र बिकाश
उसैलाई चाहिएको छ । खाना,नाना र छानाको
लागि मानिसले सानो सँघर्ष गर्नु परेको होइन । मानव जाती अन्य जीवजन्तुले पाए जस्तो
दार्हा,नँग्रा,सिँग,ढाल,भेनम,मोटो छाला,बाक्लो भुवा,पखेटा आदि जस्ता जीवन यापनका
अत्यावस्यक अङ्गहरुबाट वञ्चित छ । तर
मानिससँग अन्य प्राणीमा नभएको अलौकिक क्षमताले युक्त मष्तिष्क छ । त्यसमा बिचार,विवेक र प्रतिभा छ । स्वार्थ र संभावनाहरु छन् । ईच्छा र
आकाँक्षाहरु छन् । स्नेह,घृणा र भावनाहरु
छन् । त्यसैले मानव अन्य जीवहरु भन्दा भिन्न छ । द्धन्द्धग्रस्त र बिकाशशील छ । बैज्ञानिक र कलात्मक छ ।
विकाश
क्रममा भौगोलिक अवस्थिति,हावापानी,जीजिविषाको अनुकुलता,श्रोतहरुको
उपलव्धता तथा मानव नश्ल र सोचको विविधता सँगै मानिसका फरक जीवनशैली,कला,विस्वास,परम्परा,मान्यता र सँस्कृतिहरु विकसित भए । मानव जातीको व्यवस्थित
बसोवाससँगै मानव समाज विभिन्न नश्ल,समूह,गण,कबिलाबाट धर्म,वर्ण,जाती,सम्प्रदाय हुँदै वर्ग,सिद्दान्त र
बादमा विभाजित भयो । सिमानाहरु कोरिए,गणराज्यहरु बने र
राष्ट्रियताहरु विकसित भए । विविधता र विभाजनका कारण समाजमा क्रमशः बहूआयामिक
द्धन्द्धहरुको जन्म भयो । यीनै द्धन्द्धहरुको कारणबाट मानव जातीले भयानक अशान्ती र
युध्द–विभिषिकाहरुको प्रकोप भोग्न बाध्य
भयो/भैरहेको छ । समाज–व्यवस्था,राज्य–प्रणाली,विधि–विधान र सन्धि–सम्झौताहरुको बन्दोबस्त यिनै द्धन्द्धहरुको कुशल व्यवस्थापनका लागि भएका
हुन् । धर्म,दर्शन,सिध्दान्त,शास्त्र र बादहरुको उत्पत्ति युध्दको
त्रासदीबाट समाजलाई जोगाएर शान्ती र समृध्दि हाँसील गर्नको लागि भएको हो ।
मानिस
स्वभावैले असन्तोषी छ त्यसैले ऊ प्रगतिशील छ । उसका आवस्यकता,ईच्छा र आकाँक्षाहरु अनन्त छन् । मनुष्य हर पल अतृप्ति,द्धन्द्ध र प्रगति बाँचेको छ । सुख,शान्ति र समृद्धि प्राप्तिको सँघर्षका दौरान मानव जातीले धेरै चोला बदलेको
छ र ठूल्ठूला फड्को मारेको छ । पुराना कुसँस्कार र बेठिक मुल्य–मान्यताहरु भत्केर नवीन मुल्य मान्यताहरु स्थापित भएका छन् ।
मानव जीवन क्रमश: वैज्ञानिक र सुविधा सम्पन्न हुँदै गैरहेको छ । परिवर्तनलाई
आत्मसात गर्न नसक्ने र समयको साँचोमा आफुलाई ढाल्न नसक्ने थुप्रै सभ्यताहरु लोप
भएर गएका छन् । बिकाशको क्रममा उत्पन्न द्धन्द्ध र सँघर्षहरुले मानिसलाई निरन्तर
परिवर्तन र प्रगतिको दिशामा अग्रसर गराएको छ । मानवले आºना आनुवाँशिक गुणहरु बाहेक अन्य कुराहरुमा परिवर्तन गर्दै लगेको छ । नाक–नक्शा,रँग,जात,नश्ल,लिँग आदि
यस्ता तत्वहरु हुन् जसलाई उसले चाहेर पनि बदल्न सक्दैन । त्यसो हुनाले यसबारे ऊ
एउटा खास निचोडमा पुगेको छ । त्यो हो सह–अस्तित्व,सहमति र सहकार्य अर्थात लोकतन्त्र । लोकतन्त्र फगत
राज्य-यन्त्र होइन जीवन-मन्त्र पनि हो ।
साम्राज्यवाद
र सामाजिक अधिनायकबादको पतन सँगै धार्मिक,राजनैतिक,आर्थिक,सामाजिक,जातीय र साँस्कृतिक जञ्जीरहरु क्रमश: चुँडिदै गएका छन् । ठूल्ठूला
क्रान्तिहरु सम्पन्न गरेर मानिस सह–अस्तित्व,सहकार्य,भार्तृत्व,सदभाव र समानताको युगमा प्रवेश गरेको छ । पूँजीवाद र
साम्यवादको बीचमा चलेको शतक लामो द्धन्द्ध र घर्षणले प्रजातान्त्रीक समाजवादलाई
मानव विकाशको नवीनतम् कडीको रुपमा स्थापित गरिदिएको छ । साम्यवादको असफलता सँगै
पूँजीवाद पनि सामाजिक न्याय,लोक कल्याण र
न्यायपूर्ण वितरण प्रणालीलाई अङ्गिकार गर्न वाध्य भएको छ । तसर्थ यो युग लोकतन्त्र,समाजवाद र सर्वोदयको युग हो ।
विश्वब्यापीकरणको
यस युगमा ब्यक्तिले जव लोकतन्त्रलाई आत्मसात गर्दछ तव उ धर्म,जात,क्षेत्र र सम्प्रदायबाट
नागरिकमा परिणत हुन्छ । विचार,ज्ञान,स्वाभिमान,समर्पण र सौर्यले
उसलाई वास्तविक पहिचान प्रदान गर्दछ । उसको ब्यक्तित्व सिमाना,घेरा र वन्धन पार गरेर विश्वब्यापी बन्न पुग्दछ ।
लोकतान्त्रीक,स्वतन्त्र र स्वाधीन नागरिकको लागि
अन्य परिचयको आवस्यकता पर्दैन । मानिसले नागरिकको हैसियत प्राप्त गरिसके पछि उ
निश्चित खाले काम,कर्त्तब्य र अधिकारबाट परिपोषित
हुन्छ । जीवन र जगत प्रति उत्तरदायी बन्छ र “सर्वजन हीताय” उ कृयाशील रहन्छ । स्वतन्त्र,स्वाभिमानी र विचारशील नागरिकहरुको समाज स्वत:चलायमान,सधैँ प्रगतिशील र अग्रगामी हुन्छ ।
नागरिक
हैसियत हाँसील गर्नको लागि मानिसले धेरै ठूला सँघर्ष,कुर्बानी र रुपान्तरणहरु गर्नु परेको छ । ज्यादै खतरनाक र कष्टसाध्य
द्धन्द्ध र संघर्षहरुको घोडा चढेर मानव जाती वर्तमान अवस्था सम्म आइपुगेको हो ।
नागरिकको ईतिहाँस सतत् सँघर्ष र सफलताको ईतिहाँस हो । निरन्तर प्रगति र अग्रगमनको ईतिहाँस हो । आदिम साम्यवाद देखि अन्तरिक्ष युग सम्मको
यस लम्बे यात्रामा मानिस कहिल्यै हारेन,कहिल्यै
थाकेन र कहल्यिै पश्चगमन गरेन ।
तर
नेपालमा अहिले जुन उपक्रमहरु भैरहेका छन् तीनले हामीलाई उल्टो यात्रा गराउने छाँटछन्द
देखाएका छन् । दुनियाँ सँसारमा साम्यवाद असफल भैरहँदा हामीकहाँ सास्त्रीय
साम्यवादीहरुलाई रातो गलैँचा ओछ्याएर भब्य स्वागत गरिएको छ । अपराधमा मुछिएकाहरु “सेलिब्रिटी” बन्न पुगेका छन्
। मानिस मारेर शान्ति प्राप्त हुँदैन भन्नेमा विश्व जनमत एकमत भैरहँदा नेपालमा १७
हजार निर्दोषहरुको ज्यान लिनेहरुलाई सत्ता सुम्पिएको छ । मालेमावाद भन्छ, “धर्म अफिम हो,जात वकवाश हो ।”
तर हामीकहाँ मालेमावादीहरुले नै जातीय राज्यको राग
अलापीरहेछन् र हामी मदहोश नाचीरहेछौँ । लोकतान्त्रीक दलहरुको चामल बिक्दैन खोटा
शक्तिहरुले पीठो बेचिरहेका छन् ।
राजनीतिले
वरियता गुमाएको छ,जातीय,साम्प्रदायिक र क्षेत्रीय सँकीर्णताले अग्रता हाँसील गरेको छ । लोकतन्त्र
तानाशाही तन्त्रमा परिणत हुन थालेको छ । संविधान छैन,संसद छैन । विधायिकाको अभावमा संवैधानिक निकायहरु खाली हुने अवस्थामा छन्
। जव कानूनका झ्यालहरु बन्द हुन्छन् तव अधिनायकबादका ढोकाहरु स्वत: खुल्दछन् । विधी
सून्यता र बिकल्पविहिनताले अराजकता,अव्यवस्था र
भद्रगोल जन्माउँछ । नेपालमा त्यो तारतम्य मिलाईएको छ । भनिरहनु नपर्ला माओबादी
पार्टी अधिनायकबादमा विश्वास राख्दछ र प्रचण्ड–बाबुरामहरु भद्रगोलमै क्रान्ति संभव देख्दछन् । नेपाली जनता सर्पको
बाहूपाशबाट फुत्केर अजिङ्गरको कब्जामा परेको आभास हुन थालेको छ ।
नेपाली
नागरिकलाई अहिले सिद्दान्त र बिचारबाट स्खलित बनाएर शनै:शनै जात,धर्म,भाषा,क्षेत्र र सम्प्रदायमा घटुवा गरिन थालिएको छ । हामीमा बाइसे–चौबिसे र भुरे–टाकुरे
राज्यहरुको ख्वाब पलाउन थालेको छ । यहि गति र यहि मति रहिरहने हो भने हामी कबिला,गण र नश्ल हुँदै राज्यविहिन फिरन्ते जातीमा रुपान्तरण नभैईएला
भन्न सकिँदैन । देशको एकता,ईतिहाँस र
अग्रजहरुको उच्च योगदानलाई नकारात्मक चित्रण गरेर हामीले आफुलाई बाउन्ने सावित
गर्न लागी परेका छौँ । ईतिहाँसदेखि वर्तमान सम्म निरन्तर जित्दै आएको नेपाली
नागरिक दुर्भाग्यवश यहाँनेर हारको सँघारमा उभिएको छ । मानव जातीले बिकाशका जुन
अपरिहार्य चरणहरु पार गरेर यस बिन्दूसम्म आइपुग्यो हामी तीनै चरणहरुको पुरावृत्ति
गर्ने असंभव प्रयत्न गरिरहेका छौँ । ईतिहाँस बन्दछ,दोहोरिँदैन । हाम्रो मनोबिज्ञान मानव सभ्यताको उल्टो पिरामीड खडा गर्ने
तर्फ अग्रसर देखिएको छ । लाग्दछ,हाम्रो दिमाख उल्टो घुम्न थालेको छ । आखिर किन ?
बेल्जियम
।
Comments