लोकतन्त्रको अल्पविराम
-इन्द्र क्षेत्री ।
बितेको डेढ दशकमा बडे-बडे विष्मयकारी घटनाहरू
घटाएको र तीनलाइ प्रत्यक्ष रूपमा देखे-भोगेको वर्तमान पुस्ताले प्रधान न्यायधिशको
सत्तारोहणलाइ आश्चर्यजनक रूपमा ग्रहण गर्नु अर्को विष्मयकारी घटना हुन गएको छ । प्रजातन्त्रको विरूद्धमा लालकिताब,आँसी र घन च्यापेर निष्पट दण्डकारण्यमा छिरेको कुनै पार्टी लडाकु,गन र धन बोकेर एकाएक् सिँहदरवार छिर्ला भनेर धेरै कम
मानिसले सोचेका थिए । सशस्त्र राज्य बिप्लवमा जुटेको एउटा सास्त्रीय साम्यवादी दल
सम्झौता मार्फत शान्ति प्रकृयामा सामेल हुनु आफैँमा एउटा विस्मयकारी घटना थियो ।
नेपालमा हिँसा र हतियारमा विस्वास राख्ने
कुनै दललाइ उसको निषेधात्मक सिद्धान्त,सेना,मिलिसिया र
सस्त्रास्त्र सहित रातो मखमल ओछ्याएर सत्ताको सोपानमा स्वागत गरिनु जति विष्मयकारी
घटना थियो त्यसभन्दा पनि बढी विष्मयकारी घटना आफ्नै घर-आँगनमा नरसंहार मच्चाएको दल
र मानिसहरूलाइ नै सर्वसत्ता सुम्पने नेपाली जनताको निर्णय थियो । सफाया,सत्ता कब्जा,अधिनयाकवाद र
फलामे साशन प्रतिको नेपालीहरूको अनुराग नयाँ त होइन तर "चोरलाइ चापी"
सुम्पिने जस्तो मूर्खतापूर्ण "“एडवेञ्चर”" हामीकहाँ
मात्र दोहोरिन्छ भन्ने कुरा नेपालीले देखाइदिएकै हुन ।
माओ विचारधारालाइ मार्गदर्शक सिद्धान्त मान्ने
पार्टीहरूले दीर्घकालीन जनयुद्धमा विस्वास राख्दछन् । बन्दूकले नै क्रान्तिको
छिनोफानो गर्ने हुँदा वास्तविक सम्वाद,सहमति र सम्झौताको गुञ्जायस त्यहाँ हुँदैन ।
खालि तिगडम,जालझेल र षड्यन्त्र हुन्छ । सत्ता अधिग्रहण वा
सर्वस्वहरण हुन्छ । तर हाम्रोमा माओवादले अपरिहार्य मानेका ती दुवै अतिकरण हुनबाट
रोक्ने अर्को विस्मयकारी घटना घट्न गयो । प्रजातन्त्रलाइ व्यवहारिक ढँगले बुझेका पाका
नेता गिरिजा प्रसाद कोइरालाले नेपालबाट माओवादीहरूको विश्व-इतिहाँस मात्र बदलेनन्
२४० वर्षे राजतन्त्रलाइ समेत हार्दिकतापूर्वक बिदाइ गरेर नयाँ इतिहाँस रचे । उनका
उत्तराधिकारी सुशील कोइरालाले अझ एक कदम अगाडि बढ्दै उनिहरूको चिन्तन र चरित्र
बदलिदिए । लोकतन्त्रको विरूद्धमा चालिएका प्रत्येक कदमलाइ दृढतापूर्वक रोकेर उनले तिनीहरूको
लक्ष र कार्यदिशा समेत बदलिदिए । यी बदलावहरूबाट तत्कालका लागि कसैले केहि पाए
जस्तो र कसैले केहि गुमाए जस्तो देखिए तापनि समग्रमा नेपाल राष्ट्रले जितेको छ ।
हिँसा,हत्या र हठधर्मिताको धार विधिवत रूपमा विसर्जित भएको छ । नेपाली जाती बर्वाद
हुनबाट बचेको छ भने प्रजातन्त्रले केरामीन प्राप्त गरेको छ । नेपालमा घटेका यी
विस्मयकारी घटनाहरूले राजनीति शास्त्रको मूल्य,मान्यता र परिभाषा नै बदलिदिएका छन्
।
यस दौरानमा विघटित संविधान सभा मार्फत
अभिब्यक्त परिणामले शान्तिप्रकृयाको मर्म र भावनामाथि खेलवाड गरेको मात्र होइन
यसले उपरोक्त ऐतिहाँसीक परिवर्तनहरूलाइ समेत दुरूपयोग गर्दै देशको अस्तित्व र
सार्वभौम सत्तामा समेत अडचन पैदा गर्ने काम गरेको हो । देशको एकता,अखण्डता र
लोकतन्त्रको मूल्यमा निकाश खोज्ने पात्र र प्रवृत्तिको बोलवालाले गर्दा लोकतन्त्र
र राष्ट्रियताका अवयवहरू ज्यादै नै कमजोर भएर गएका छन् । लोकतान्त्रीक शक्तिहरू
नेपथ्यमा धकेलिएका छन् । देशको मूलप्रवाहको नेतृत्व विद्रोहीको हातमा जानाले
राजनीति विकृत हुन पुगेको छ जसले गर्दा राज्यको चरित्रमा सहस्र असँगतिहरू पैदा
भएका छन् । "भाले भुक्ने र कुकुर बास्ने" जस्तो असँगत परिस्थितिले एउटा
साहसीक कदमको माग गरेको थियो । आए आँप गए झटारोको रूपमा अध्यक्ष प्रचण्डले प्रहार
गरेको प्रधान न्यायधिशरूपी झटारोलाइ स्विकार गरेर सभापति सुशील कोइराला र अध्यक्ष
झलनाथ खनालले अतिसय साहस देखाएका छन् । पहिलोपल्ट काँग्रेस-एमालेले एमाओवादीको
गर्धन अँठ्याएका छन् ।
प्रधान न्यायधिशलाइ अघि सारेर न्यायपालिकालाइ
गिजोल्ने र विपक्षीहरूलाइ थप सँकटग्रस्त बनाउने प्रचण्डको अँकगणीत उनकै लागि
प्रत्युत्पादक प्रमाणित भएको छ । बाबुराम सरकारको पतनको मार्ग यहि प्रस्तावले
खोलेको हो । यति सजिलै सत्ताबाट बाहिरिनुपर्छ भन्ने कुराको कल्पना सम्म गरेको भए
एमाओवादीको महाधिवेशनमा यो प्रस्ताव प्रस्तूत र पारित हुने थिएन । बाबुरामको साल-नाल
विघटित व्यवस्थापिका संसदसँग जोडिएको हुँदा एमाओवादी बाहेकका सबै शक्ति तथा
राज्यका अँगहरू अक्करमा परेका थिए । प्रचण्डको फर्मुला यस्तो छुरा सावित भयो जसले
तत्कालिन प्रधानमन्त्री डा.भट्टराइको विघटित व्यवस्थापिका मार्फत संविधानसँग
जोडिएको नाइटोको नशो त चुँडालिदियो तर राष्ट्रपति डा.यादवको संवैधानिक हैसियत छुन
सम्म सकेन । यस मानेमा प्रचण्डको प्रस्तावले बुम-याँग खाएको मान्नु पर्दछ ।
विपक्षीहरूको लागि कुचोले गर्ने काम बतासले गरिदिएको छ ।
वाधा अड्काउ फुकाउ र बाबुरामको वहिर्गमन सँगै
देशको राजनीतिमा कमरेड प्रचण्ड र एमाओवादीको एकलौटी पकड समेत खुस्केको अनुमान गर्न
थालिएको छ । क.प्रचण्डले के बोल्लान र फेरि ढाँटलान भनेर पर्खने दिन अब गए भन्दा
हुन्छ । विपक्षीले बाबुराम सरकारको वहिर्गमन चाहेका थिए त्यो पूरा भयो । सुशील
कोइरालाले उधारो प्रधानमन्त्री गुमाएका हुन् नखतमा सरकारको वहिर्गमन र निर्वाचन
प्राप्त गरेका छन् । ढिलो वा चाँडो अब मुलुक चुनावमा गयो । लोकतन्त्रमा विस्वास
राख्नेहरूको लागि निर्वाचन महोत्सव हुन्छ र प्रजातन्त्रको लागि प्राणवायु पनि ।
सुस्त सुशीलले तिब्र प्रचण्डलाइ उछिनेका छन्
। बृहत्तर लोकतान्त्रीक उद्देस्यको लागि चालिएको यो कदम असफलै भयो भने पनि कोइरालाले
चाल्ने प्रतिकदम पहिले जस्तो जटील र जोखिमपूर्ण हुने देखिँदैन । बाबुरामलाइ
मिल्काउन जत्तिको बल खिलराजको विरूद्धमा निश्चित रूपमा प्रयोग गर्नु पर्ने छैन ।
त्यसबेला विपक्षीको ड्याँगमा उभिन एमाओवादी समेत बाध्य हुनेछ । शनैःशनैःसंवैधानिक
अँगहरू निकम्मा भएर देशमा संवैधानिक सून्यता कायम हुने र संवैधानिक रूपमै सत्ता
कब्जाको कृयाकर्म सम्पन्न हुने डरलाग्दो दृष्य टुलु-टुलु हेरिरहनु भन्दा निश्चित
अवधिको लागि राज्य शक्तिको पृथकीकरण,नियन्त्रण र सन्तुलनको सिद्धान्तमा समेत
सम्झौता गर्न कोइराला बाध्य भएको कुरा बुझ्न सकिन्छ । सँकट मोचनका खाँतिर
कोइरालाले हलाहल पीएका छन् ।
नेपालका प्रजातन्त्रवादीहरूले सँक्रमण कालमा
घटेका केहि तरल घटनाक्रमहरूका आधारमा लघुताभाष महसूस गर्नु पर्ने कुनै कारण देखिँदैन
। लोकतान्त्रीक प्रकृयाको अल्पविराम अधिनायकवादको पूर्णविराम बन्छ भने त्यसमा अधीर
हुने र आत्मग्लानी मान्नु पर्ने खण्ड रहँदैन । समाजको मनोविज्ञान लोकतन्त्र,शान्ति र
समृद्धिको पक्षमा पर्खर बनेर आएको छ । जुनसुकै वहाना वा शक्तिका कारण किन नहोस,सँघियता
र पहिचान जस्ता नितान्त लोकतान्त्रीक मुद्दाहरू स्थापित भएका छन् । हत्या,हिँसा र आतँकबाट
हायल-कायल भएका जनताले राहत महसूस गरेका छन् । हत्या,हिँसा र आतँकमा लीप्त पार्टी
मूलधारमा प्रवेश गरेको छ । उसका लडाकुको विधिवत विसर्जन भएसँगै उसका हात-हतियार
तथा खर-खजाना राज्यको नियन्त्रणमा पुगेका छन् । अन्ततोगत्वा एमाओवादीले दीर्घकालीन
जनयुद्ध र नौलो जनवादको लाइन् परित्याग गरेर लोकतन्त्रलाइ औपचारिक रूपमा स्विकार
गर्न बाध्य बनेको छ । नेपाली समाजमा कुनै न कुनै रूपमा सधैँ चलायमान रहेको
उग्रवादी धारको प्रतिवाद निवर्तमान उग्रवादी शक्तिबाट नै हुने एउटा सुखद आश्चर्य
उपस्थित भएको छ । यस रूपान्तरणले सार संक्षपमा शान्ति प्रकृयाको एउटा कोर्स पूरा
भएको छ ।
Comments